बाग्लुङमा पनि रास्वपाको क्लिन स्विप, पूराना दलको गढ भत्कियो
काठमाडौं । बागलुङका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । बाग्लुङ–१ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए । यस्तै, बाग्लुङकै निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् । यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएका थिए । यो पूराना दलको गढका रुपमा पनि चिनिन्छ । तर, रास्वपाले पूराना दलको गढ भत्काएको हो ।
बागलुङ–२ मा रास्वपाका शर्मा विजयी
ढोरपाटन । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनले १२ हजार ६४७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेकी छन् ।
बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायमै राखेका छन् । ताजा मतपरिणामअनुसार भण्डारीले ६ हजार २९९ मत प्राप्त गरेका छन् । भण्डारीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले ५ हजार ८८९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार १८९ मत पाएका छन् । नेकपाका परमानन्द भट्टले २ हजार ४५५ र राप्रपाका भुपेन चन्दले ४५७ मत प्राप्त गरेका छन् । यो मत परिणाम २१ हजार ७७९ मत गन्दाको हो । प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
ललितपुर–१ रास्वपाका महर्जन विजयी
पाटन । ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् । प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् । यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बनेका थिए ।
ललितपुर-१ मा रास्वपाका महर्जनले २०७९ को बदला लिए, को हुन् उनी ?
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरालाई २३ हजार ३७३ मत पाउँदै पराजित गरेका हुन् । कांग्रेसका जबराले १३ हजार ५२० मत मात्रै पाए भने नेकपा एमालेका चेतनाग सञ्जलले ६ हजार ५४६ मत पाए । ४७ वर्षीय महर्जन ललितपुर महालक्ष्मी नगरपालिका, सिद्धिरोडका स्थायी बासिन्दा हुन् । उनी मंगलमान महर्जनका छोरा हुन् । बुद्धरत्नले रत्नराज्य क्याम्पसबाट बीएसम्मको औपचारिक शिक्षा लिएका छन् । राजनीतिमा आउनुअघि विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ । रास्वपाबाट स्थानीयस्तरमा सक्रिय रहेका बुद्धरत्न २०७९ को चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले ८ हजार ६६६ मत ल्याएका थिए ।
२८ वर्षको उमेरमा पूर्वअर्थमन्त्रीलाई हराएर संसदमा सुलभ
काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल विजयी भएका छन् । प्रतिनिधसभा निर्वाचनमा उनी ५६ हजार ५५० मत पाएर विजयी भएकाहुन् । उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै पाए भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ९ हजार ३९२ मत पाए । २८ वर्षीय खरेल अधिवक्ता हुन् । कानूनको विद्यार्थी रहेका उनले सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरुमा बहस र पैरवी गर्दै आएका थिए । उनले केपी शर्मा ओलीद्वारा गरिएको असंवैधानिक संसद विघटनको विरुद्ध कानुनको विद्यार्थी र सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गर्दै राष्ट्रिय तहमा व्यापक चर्चा कमाएका थिए । राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरुद्धमा दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरू विरुद्ध निर्वाचन आयोगद्वारा गरिएको अधिकार मिचाइ र जरिवाना कारबाही विरुद्ध बहस गर्दै उनले कानुनी हस्तक्षेपमार्फत न्यायको संरक्षण गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हाबी कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए । शैक्षिक उत्कृष्टताको मानक स्थापित गर्दै उनी विश्वविख्यात हार्वर्ड, मिचिगन र यूसी बर्केली विश्वविद्यालयहरूमा एलएलएमका लागि छनोटमा परे । उनले मिचिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर हासिल गरेका छन् ।
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्थनामा मतणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका संकलमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सङखुवासभा निर्वाचन क्षेत्र नं १, गोरखा क्षेत्र नं १, मुगु क्षेत्र नं १ र धनुषा क्षेत्र नं १ मा मतगणना सुरु हुन सकेको छैन । संखुवासभामा मतपेटिका संकलन भएको र सर्वदलीय बैठक बसेर केही समयमै मतगणना प्रारम्भ गर्ने तयारी छ । गोरखा १ मा पनि दुर्गम क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मटपेटिका सदरमुकाम ल्याइएको छ । त्यस्तै मुगुमा पनि मटपेटिका संकलन हुनेबित्तिकै गणना गर्ने तयारी छ । धनुषा निर्वाचन क्षेत्र नं १ भने मतगणनाका विषयमा सर्वदलीय सहमति खोज्ने प्रयास जारी रहेको र केही समयमै गणना प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
मोरङ- ३ मा रास्वपाका कार्कीको अग्रता कायमै
काठमाडौं । मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्की १३ हजार ४३७ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ८ हजार ९६३ मत, श्रम संस्कृतिका अमिर मगरले ७ हजार ३ सय र नेकपा एमालेका इरान राईले २ हजार ८३१ मत प्राप्त गरेका छन् ।