काठमाडौं । अर्जेन्टिनी महान् फुटबलर लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन् । विश्वकपको फाइनललगत्तै लेखेको भावुक पत्र सार्वजनिक गर्दै उनले अर्जेन्टिनी राष्ट्रिय टोलीसँगको २० वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिकरूपमा अन्त्य भएको स्पष्ट पारेका हुन् ।
मेस्सीले फाइनल खेलको दुई दिनपछि (जुलाई २१ मा) नै संन्यासको सन्देश तयार पारिसकेका थिए । हालै आफ्ना बुबाको निधनपछि संन्यास लिने निर्णयलाई थप बल पुगेको उल्लेख गरेका छन् ।
मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास लिने विषय दु:खद भए पनि यो नै सही समय भएको बताएका छन् । साथै उनले आफूले टोलीका लागि दिन सक्ने सबै योगदान दिइसकेको पनि उल्लेख गरेका छन् ।
आफ्नो भावुक सन्देशमा उनले टोलीमा नयाँ र प्रतिभाशाली युवा खेलाडीहरू आइरहेकाले उनीहरूलाई स्थान दिनु आवश्यक रहेको पनि बताएका छन् । यो आफ्नो विश्वकप यात्राका अवधिमा समर्थकहरूबाट पाएको अपार मायाप्रति आभार व्यक्त गरेका छन् ।