विकासन्युज

एमाले महाधिवेशनका प्रतिनिधिलाई घरमै आवास व्यवस्था गरिने

काठमाडौं । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विभिन्न प्रदेशबाट काठमाडौं आउने प्रतिनिधिलाई खाना र आवास मिलाउन सम्पर्क समन्वय कमिटी सक्रिय बनेको छ । समन्वय कमिटी सँयोजक स्याम बस्नेतका अनुसार महाधिवेशन आयोजक कमिटिले यो वर्ष आवासको व्यवस्था नगरेका कारण टाढाबाट आउने खाने र बस्ने समस्या भएका प्रतिनिधिलाई समन्वयका नेता कार्यकर्ताको घर तथा कोठामा बसोबास मिलाइने व्यवस्था गरिएको हो । बस्नेतले अहिले प्रदेशगत रूपमा काठमाडौंमा बस्न कठिनाइ हुने प्रतिनिधिहरूको विवरण संकलन भइरहेको जानकारी दिए । उनका अनुसार, हामीले काठमाडौंमा आउने प्रतिनिधिलाई बासको समस्या नपरोस भनेर नेता कार्यकर्ताको घरमा राख्ने समन्वय गर्दैछौं । यसपटक महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ । उद्घाटन भक्तपुरको सल्लाघारीमा मंसिर २७ मा हुनेछ ।

महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक 'बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट' विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा डिसेम्बर ७, २०२५ मा आयोजित एक समारोहमार्फत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । समारोहमा प्रदान गरिएको क्षेत्रीय–स्तरको अन्तराष्ट्रिय अवार्ड बैंकले हालका वर्षहरूमा गरेको डिजिटल सुधार, ग्राहकमैत्री सेवा, संस्थागत सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा ब्रान्ड प्रतिष्ठा अभिवृद्धिका आधारमा दिएको जनाइएको छ । बैंकका वरिष्ठ अधिकृतहरूले महालक्ष्मी विकास बैंकको तर्फबाट सम्मान ग्रहण गरेका थिए । बैंकले पछिल्लो समय सीमा–पार वित्तीय सेवा सुगमनमा महत्वपूर्ण भूमिका खेलेको छ । विशेषगरी भारत–नेपाल भुक्तानी प्रणाली सहज बनाउन गरेको सहयोगका कारण पनि यो अवार्ड महत्वपूर्ण भएको बैंकको भनाइ छ । अवार्डले दुवै देशबीचको बैंकिङ सम्बन्ध मजबुत बनाउन, व्यापार तथा रेमिटेन्स प्रवाह वृद्धि गर्न थप मद्दत गर्ने बैंकको विश्वास छ । यसअघि पनि बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ, जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिति र विश्वसनीयता बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो । महालक्ष्मी विकास बैंकले निरन्तर सेवा विस्तार, ग्राहक विश्वास अभिवृद्धि तथा नवप्रवर्तनमार्फत बैंकिङ यात्रालाई थप सबल बनाइरहेको जनाएको छ ।

महिन्द्राका गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले गर्याे ७.१३ अर्ब रुपैयाँ आम्दानी

काठमाडौं । महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले एक वर्षमा ७ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्रयाक्टरहरू बिक्री गर्दै आएको छ ।  कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.२६ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबर आम्दानी गरेको कम्पनीले जनाएको छ ।  यसअघि सन् २०२३ मा कम्पनीले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१९ मा ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१८ मा १६ अर्ब २५ करोड ९० लाख रुपैयाँ र सन् २०१७ मा १६ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०१६ मा कम्पनीले १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आफ्नै १७ शोरूम तथा बिक्री आउटलेट र १६ क्षेत्रीय डिलरशिप आउटलेटमार्फत महिन्द्राका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा कम्पनीका सेयरधनीहरू हुन् । साथै सञ्चालक पनि रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालिन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । 

मलेसियाबाट फर्किएका धर्मेन्द्र अण्डा उत्पादन गरेर मासिक साढे २ लाख आम्दानी गर्दै

महेन्द्रनगर । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उनी एक वर्षमै स्वदेश फर्किए । 'एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।' रानाले भने, 'मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।' दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । 'अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् ।' उनले भने, 'मासिक नौ/दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।' व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताए । 'एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन् ।' उनले भने, 'तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।' अहिले दैनिक दुई हजार पाँच सय देखि तीन हजार अण्डा बिक्री हुने गरेको छ । मलेसिया रोजगारीका बेला मामा नातापर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए ।' मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि । लगानी नहुँदा केही समय भारत पनि पसेँ ।' उनले भने, 'धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे ।' कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उनले कञ्चनपुरमै पहिलो पटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । 'गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकौँ भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ ।' व्यवसायी रानाले भने, 'लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमूलुक जान पर्देन ।' हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् । उनले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताए । 'यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ ।' रानाले भने,'स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।' 'निम्न आयस्तर भएको युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ ।' उनले भने, 'वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन् ।' रासस

सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।  महासंघकाअनुसार आइतबार तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।  चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी सोमबार घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।   

पुटिनको भारत यात्रा सकिनेबित्तिकै अमेरिकाका उच्च अधिकारीको आगमन किन भयो ?

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण सकिएपछि तुरुन्तै अमेरिकन अधिकारीहरूको ताँती भारततर्फ लाग्न थालेको छ । अमेरिकाकी वरिष्ठ अधिकारी एलिसन हुकर भारत भ्रमणमा छिन् । उनी ७ देखि ११ डिसेम्बरसम्म नयाँ दिल्ली र बेंगलुरुमा रहनेछिन् ।  हुकर अमेरिकाकी उपविदेशमन्त्री (राजनीतिक मामिला) हुन् । यस भ्रमणको मुख्य उद्देश्य अमेरिका–भारत रणनीतिक साझेदारीलाई सुदृढ बनाउनु हो । साथै दुबै देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्न पनि यो यात्रा महत्त्वपूर्ण मानिएको छ ।  अमेरिका भारतसँगको आर्थिक सहकार्य विस्तार गर्दै भारतातर्फ हुने अमेरिकी निर्यात बढाउन चाहन्छ । त्यसैगरी, कृत्रिम बौद्धिकता (एआई) र अन्तरिक्ष अनुसन्धान जस्ता उदीयमान क्षेत्रमा सहकार्य थप बलियो गर्ने विषयमा पनि जोड दिइनेछ । यसका अतिरिक्त अमेरिकाको अर्को प्रतिनिधिमण्डल पनि १० डिसेम्बरसम्म भारत आउनेछ । यसले भारत–अमेरिका बीच द्विपक्षीय व्यापार सम्झौता (बीटीए) सम्बन्धी अर्को चरणको वार्ता सुरु गर्नेछ । नयाँ दिल्लीमा हुकरले भारतीय अधिकारीहरूसँग क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र हिन्द–प्रशान्त क्षेत्रमा साझेदार उद्देश्यमाथि विस्तृत छलफल गर्नेछिन् । उनले विदेश सचिव विक्रम मिस्रीसँग विदेश मन्त्रालयको परामर्श बैठकमासमेत सहभागी हुने अपेक्षा गरिएको छ ।  बेंगलुरुमा भने उनले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को भ्रमण गर्ने सम्भावना छ । साथै भारतका अन्तरिक्ष, ऊर्जा तथा प्रविधि क्षेत्रका शीर्ष अधिकारीहरूसँग भेटघाट गरी अनुसन्धान तथा द्विपक्षीय सहकार्यका नयाँ अवसरहरू अन्वेषण गर्ने केन्द्रित कार्यसूची रहनेछ। यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्राथमिकताहरूलाई अघि बढाउने अर्को कदम मानिएको छ, जसमा अमेरिका–भारत सम्बन्ध सुदृढ पार्नु र स्वतन्त्र तथा खुला हिन्द–प्रशान्त अवधारणालाई प्रवद्र्धन गर्नु प्रमुख छ । यस्तो समयमा अमेरिकन अधिकारीहरूको भ्रमण भइरहेको छ जब दुबै देश द्विपक्षीय व्यापार सम्झौतामा अन्तिम चरणसम्म पुगेका छन् । वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हालै दुबै पक्ष प्रस्तावित सम्झौता अन्तिम रूपमा नजिक पुगेको बताए । यस्तै, अमेरिकी उपव्यापार प्रतिनिधि रिक स्विट्जर तथा उनकी टोली पनि यही सातामा भारतमा रहने ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ । यी उच्चस्तरीय भ्रमणहरूभन्दा केही दिनअघि मात्रै राष्ट्रपति पुटिन दुई दिने भारत भ्रमण पूरा गरी फर्किएका हुन् ।  भारत सरकार ट्रम्प प्रशासनसँग व्यापार सम्झौता गर्न उत्सुक देखिन्छ, जसअन्तर्गत अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत ट्यारिफमा कमी आउने सम्भावना छ । यी ट्यारिफ भारतले रूसी कच्चा तेल किन्ने निर्णयको प्रतिक्रिया स्वरूप लगाइएको बताइन्छ । अमेरिका र भारत चरणबद्ध व्यापार सम्झौता बनाउने प्रक्रियामा छन् । पहिलो चरणको उद्देश्य अमेरिकाले लगाएको प्रतिकारी ट्यारिफको समस्या समाधान गर्नु हो । ट्रम्पले भारतले रूसी तेल आयात घटाएको कदमको प्रशंसा गर्दै सम्भावित ट्यारिफ राहतको संकेत दिएका छन् ।  गत महिना ट्रम्पले अमेरिकाले ‘केही समयपछि’ भारतीय उत्पादनमाथिको ट्यारिफ घटाउने बताउँदै दुवै देश ‘धेरै नजिक’ रहेको उल्लेख गरेका थिए । पछिल्ला महिनाहरूमा दुबै पक्षबीच धेरै चरणको वार्ता भएको छ र भारतीय अधिकारीहरू सतर्क आशावाद देखाइरहेका छन् । हाल अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात बजार हो । उच्च ट्यारिफले कपडा, छाला, जुत्ता, गहनाजस्ता श्रमआधारित उद्योगहरूलाई गम्भीर रूपमा प्रभावित पारेको छ, जसले व्यापारिक सहमतिमा पहुँचको आवश्यकता झनै बढाएको छ । त्यस्तै, रूस पनि भारतसँग व्यापार विस्तारका सम्भावना खोज्न सक्रिय छ । पुटिनले रूसी आयातकर्ताहरूलाई भारतबाट आयात बढाउन सीधा सन्देश दिएका थिए । केही दिनअघि नै रूसका उद्योगपति तथा उद्यमीहरूको संघ (आरएसपीपी) का उपाध्यक्ष सर्गेई क्रास्निल्निकोभले यसबारे जानकारी दिएका थिए । उनले रूसलाई ५० लाख सीपयुक्त कामदारहरूको आवश्यकता रहेको भन्दै यो अभाव पूरा गर्न भारतले ठूलो भूमिका खेल्न सक्ने बताए ।

विनिमय दर उक्लिँदा नेपाललाई नोक्सानी नै बढी हुन्छ : नरबहादुर थापा [अन्तर्वार्ता]

काठमाडौं । पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्सानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनकाअनुसार अर्थतन्त्रको तागत र आम नागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । नेपालको अर्थतन्त्र बलियो हुँदै गएपनि अहिले भने लाभ भन्दा नोक्सानी बढिरहेको उनको बुझाइ छ । पूर्वकार्यकारी निर्देशक थापाकाअनुसार नेपालबाट विदेश पढ्न जानेको ओइरो नै लाग्ने गरेको छ । नेपाली मुद्रा कमजोर भई विदेशी मुद्रा बलियो हुँदा नेपाली विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । विदेशी विनिमय बलियो हुँदा वैदेशिक ऋणको चपेटामा परेको देशलाई त्यसको दायित्व व्यवस्थापन गर्न कठिन हुन्छ । बजेटमा एउटा रकम दायित्व व्यवस्थापनका लागि छुट्याइने र नेपाली मुद्रा कमजोर बन्दा व्यवस्थापना छुट्याइएको रकम अपुग हुने खतरा बढ्ने र त्यसले बजेटसम्म असर गर्ने थापाको बुझाइ छ । विदेशी विनिमयदरको निर्धारण, भाउमा देखिएको उत्तारचढाव र त्यसले पार्ने प्रभावका बारेमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापासँग गरेको कुराकानीको सम्पादित अंश :   करेन्सीको मूल्य कसरी निर्धारण हुन्छ ?  अर्थतन्त्रको तागत र आमनागरिकको सेन्टिमेन्टको आधारमा करेन्सीको मूल्य निर्धारण हुने गर्दछ । हाम्रो अर्थतन्त्र बलियो हुँदै गएको छ । आम नागरिक, आयात, निर्यातकर्तासहितको सेन्टिमेन्टको आधारमा सेयर बजारको भाउ जस्तै मुद्राको भाउ तल माथि हुने गर्छ । भाउ बढ्दा कसलाई फाइदा हुन्छ ?  करेन्सीको भाउ तलमाथि हुँदा मूल्यको प्रभाव हुन्छ । यसको लागत कसैले न कसैले व्यहोर्नुपर्ने हुन्छ र यसबाट लाभ पनि हुन्छ । विनिमय दर तल माथि हुँदा त्यसको लागत कुनै क्षेत्रले व्यहोर्नुपरेझैँ मुद्राको भाउ तल माथि हुदाँ कुनै क्षेत्र कुनै व्यक्ति समूहलाई लाभ पनि भइराखेको हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यदि डलर बलियो भयो भने पर्यटन क्षेत्रले लाभ पाउँछ, नेपालमै भ्रमण सस्तो भएर विदेशीहरु सस्तो डिल गरेर आउन पाउँछन् । यसकारण नेपाल सिद्धान्त बढी पर्यटन आउन सक्छन् र पर्यटन क्षेत्रलाई लाभ हुन्छ । त्यस्तै, विनिमय दर बढ्दा नेपालमा वस्तु निर्यात गरिराखेका व्यवसायीहरूलाई पनि लाभ हुन्छ । वस्तु निर्यात गर्दा हिजो १४० रुपैयाँ पाउँथ्यो भने आज आज १ सय ४४ रुपैयाँ पाउँछ, ४ रुपैयाँ उसलाई फाइदा भयो । तेस्रो, विदेशमा काम गरिराखेका रेमिटेन्स पठाइराखेका नेपालीहरूलाई पनि लाभ हुन्छ । हिजो एक डलर पठाउँदा १ सय ४० रुपैयाँ घर परिवारले पाउँथ्यो भने अब १४४ रुपैयाँ पाउने भयो । त्यसैले विदेशी मुद्रा बढ्दा पर्यटन, निर्यात क्षेत्रसँगै विदेशमा काम गरेर नेपालीहरूले घर परिवारहरूलाई रेमिट्यान्स पठाउँदा लाभ हुन्छ ।    भाउ बढ्दा नेपालले कस्तो खालको नोक्सानी व्यर्होर्नुपर्छ ?  करेन्सीको भाउ बढ्दा हामीलाई नोक्सानी पनि हुने गरेको छ । भाउ बढ्दा यसको लागत पनि वृद्धि हुनेछ । हामी धेरै भन्दा धेरै वस्तुहरू आयात गर्छौँ । हामीलाई अत्यावश्यक औद्योगिक कच्चा पदार्थ, अत्याधुनिक मेसिन, प्रविधि, भित्र्याउनुपर्छ । नेपालबाट वैदेशिक अध्ययनमा विदेश जाँदा हाम्रो मुद्रा कमजोर हुँदा असर पर्छ, अनि नेपालको वैदेशिक ऋण पनि छ, जिडीपीको झन्डै २२ प्रतिशत नेपालको वाह्य ऋण छ, त्यसको सावा, ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । हिजो बजेट बनाउदा के आँकलन गरिएको थियो र एक्कासी विनिमयदर तल माथि हुँदा डलर बलियो र नेपाली रुपैयाँ कमजोर बन्दा दायित्व बढ्न जाने र दायित्व व्यवस्थापनका लागि छुट्टाइएको बजेट अपुग हुन पनि सक्छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋणको दायित्व भुक्तानीमा सरकारले बढी बजेट विनियोजन गर्नुपर्ने अनि त्यसको भुक्तानी गर्न उचित बजेटको व्यवस्था छैन भने हम्हेहम्मे पर्छ । विनिमय दर बढ्दा बजेटमा प्रतिकुल असर पर्नुका साथै पेट्रोलियम पदार्थको आयातको मुल्य बढ्न जान्छ । औद्योगिक कच्चा पदार्थको मूल्य पनि बढेर जान्छ । नेपालको वस्तु निर्यातको क्षमता छैन । रेमिटेन्स जीडीपको २८ प्रतिशत छ । स्वदेशी रोजगारी रेमिटेन्ससँग जोडिएको कारणले हामीलाई धेरै लाभ हुँदैन । वस्तु निर्यात गर्ने क्षमता यदि नेपालको भएको भए खास गरी तेस्रो मुलुकमा अहिले यो डलरको मूल्य १ सय ४० बाट १ सय ४४ सम्म पुग्दा देशलाई धेरै लाभ हुन्थ्यो । देश भित्र रोजगारी सिर्जना हुनुका साथै उत्पादन पनि बढ्थ्यो तर हाम्रो उत्पादन क्षमता अत्यन्त कमजोर भयो ।  जिडीपीको करिव साढे ४ प्रतिशत निर्यातको अवस्था देखाइएको छ । वास्तविक २.७ प्रतिशत हो । यो भटमासको त्यो तेल आयात गरेर फेरि भारतमा निर्यात गरेको कारणले साढे चार पाँच प्रतिशत निर्यात जिडीपीको तुलनामा देखिएको छ र अत्यन्तै न्युन छ । त्यसैले डलर बलियो हुँदा अर्थतन्त्रले सिद्धान्त जुन लाभ लिनुपर्ने त्यो लाभ लिनसक्ने स्थिति छैन । 

स्वास्थ्य बिमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रेपलाञ्चोक। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो । सेवाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रुपमा प्रारम्भ गरेका हुन्। कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको बताए । उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृत पाई सेवा प्रदान गर्दै आएका छन् । धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ । गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सूचीकृत जिल्लाका चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै यसअघि सेवा दिँदै आएका थिए ।