काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनस्र्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ग्रुपअन्तर्गतका कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
महासंघका निवर्तमान अध्यक्ष ढकालले प्राकृतिक विपत्तिले सिर्जना गरेको विषम परिस्थितिमा पीडित समुदायको घाउमा मलम लगाउन आइएमई ग्रुप हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकमका अतिरिक्त आइएमई फाउण्डेशनमार्फत प्रभावित क्षेत्रमा थप आवश्यक राहत तथा जिन्सी सामग्रीहरू निरन्तर उपलब्ध गराइने जानकारीसमेत दिएका छन् ।