काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको बाढीले देशको भौतिक पूर्वाधार क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीबाट सडक, पुल, र सार्वजनिक भवनसहित करिब २ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रवक्ता न्यौपानेले यो क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत हाराहारी रहेको बताए । ‘मुख्य क्षति पूर्वाधार र जनधनकै हो,’ उनले विकासन्युजसँग भने, ‘विशेषगरी जलविद्युत आयोजनाका टनेलहरू पुरिएका छन् भने सडक र पुलहरूमा व्यापक क्षति पुगेको छ । ’
उनका अनुसार सार्वजनिक विद्यालय, अस्पतालका भवन र सार्वजनिक आवासहरूमा पनि ठूलो नोक्सानी भएको छ । पूर्वाधारतर्फ सबैभन्दा धेरै क्षति सडक र पुलमा देखिएको छ ।
प्रवक्ता न्यौपानेले दिएको पछिल्लो तथ्यांकअनुसार देशभरका ४१ वटा पुलहरू बाढीले बगाएको (वास-आउट) छ ।
विशेषगरी त्रिशूली, बेत्रावती र तादी खोलामा रहेका पुलहरूमा ठूलो क्षति पुगेको छ । नुवाकोट, रसुवा र धादिङ जिल्लाहरू यसबाट बढी प्रभावित भएका छन् भने चितवनमा पुलमा क्षति नपुगे पनि सडक खण्डहरूमा ठूलो क्षति पुगेको जानकारी दिए । यसैगरी, ४० किलोमिटर सडक पूर्णरुपमा ध्वस्त भएको छ ।
हाल काठमाडौंबाट विदुरसम्मको पहुँच रहे पनि गल्छी र बेनीघाट क्षेत्रमा पुल बगाएका कारण सडक अवरुद्ध छ । बेत्रावती पुग्न करिब ३ किलोमिटर बाँकी छँदा सडक पूरै बगाएर भीर मात्र बाँकी रहेको उनले बताए ।
यस्तै, लाइफलाइन मानिने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएका कारण आवागमन पूर्ण रूपमा ठप्प छ ।
‘कृष्णभीरमा मान्छे हिँड्नै नसक्ने गरी सडक भासिएको छ, प्रवक्ता न्यौपानेले भने, ‘अब हामीले पृथ्वी राजमार्गको वैकल्पिक मार्गका लागि तत्काल योजना बनाउनुपर्ने देखिएको छ ।’
सडक विभागले अहिले तथ्यांक संकलनभन्दा पनि अवरुद्ध सडकहरू खुलाउन प्राथमिकता दिएको छ । राष्ट्रिय योजना आयोगले पोस्ट ड्यामेज निड एसेसमेन्ट गरेपछि मात्र पुनर्निर्माणका लागि लाग्ने वास्तविक खर्च र समयको टुङ्गो लाग्नेछ ।
तत्कालका लागि मेसिनहरू परिचालन गरेर पुराना र वैकल्पिक बाटोहरूबाट यातायात सञ्चालन गर्ने प्रयास भइरहेको र दीर्घकालीन रूपमा विपद् जोखिमलाई आकलन गरेर नयाँ ढंगले पूर्वाधारको योजना बनाइने विभागले जनाएको छ ।