रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा भीषण क्षति, १६८ जना अझै सम्पर्कबिहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र सम्बद्ध आयोजनाहरूका अनुसार सञ्चालनमा रहेका ८ वटा (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा (३८८ मेगावाट) आयोजना बाढीबाट प्रत्यक्ष प्रभावित भएका हुन् । 

बाढीका कारण जलविद्युत् क्षेत्रमा कार्यरत तथा आयोजनास्थल वरपरका १६८ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन् । रसुवा र नुवाकोट जिल्लाका ११ वटा क्षतिग्रस्त आयोजनाहरूबाट मात्रै १६८ जना हराइरहेको विवरण प्राप्त भएको छ ।

रसुवा जिल्लाका प्रभावित प्रमुख आयोजनाहरूमध्ये २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ मा परामर्शदाता, ठेकेदार र कर्मचारी गरी ५७३ जना बेपत्ता रहेका छन् । 

उक्त आयोजनाबाट हालसम्म ८७३ जनाको उद्धार तथा सम्पर्कमा आएका छन् भने ३ जनाको मात्र सकुशल उद्धार सम्भव भएको छ । यस्तै, १११ मेगावाटको सञ्चालनमा रहेको रसुवागढी जलविद्युत् आयोजनाबाट ४९ कर्मचारीसहित ९३ जना हराइरहेका छन् ।

लाङटाङ भोटेकोशी (१२० मेगावाट) बाट ९३ जना, चिलिमे (२२ मेगावाट) बाट ४१ जना, मैलुङ खोला (५ मेगावाट) बाट ८ जना र परीक्षण चरणमा रहेको लाङटाङ खोला (२० मेगावाट) बाट ४ जना सम्पर्कविहीन भएका छन् । 

नुवाकोटतर्फ नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाहरूमध्ये २५ मेगावाटको सूर्य विद्युत् आयोजनाबाट १७६ जना तथा निर्माणाधीन मिड्ल त्रिशूली गंगा (१५.६ मेगावाट) बाट १२२ जना हराइरहेका छन्।

यसैगरी निर्माणाधीन माथिल्लो त्रिशूली-३ बी (३७ मेगावाट) बाट ४२ जना, माथिल्लो त्रिशूली-३ ए (६० मेगावाट) बाट १ जना र देवीघाट जलविद्युत् (१४.१ मेगावाट) बाट १ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

माथिल्लो त्रिशूली-३ बी आयोजनाका सम्पूर्ण संरचनासँगै २२० केभी त्रिशूली ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीपछि विभिन्न आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेकाहरूको उद्धारका लागि २४ सै घण्टा खोज तथा उद्धार कार्य जारी राखिएको छ ।

माथिल्लो त्रिशूली–३ ए को सुरुङमा फसेकाहरूको उद्धारका लागि केबल टनेल पोर्टल सफा गर्ने, क्राउन ब्लास्ट गरी पानी निकाल्न वाटर पम्प सेट प्रयोग गर्ने र ढुंगा-माटोको थुप्रो हटाउने काम भइरहेको छ । 

चिलिमे जलविद्युत् केन्द्रको २५० मिटर लामो सुरुङमध्ये ९० मिटरसम्म टोली पुगेको छ भने नेपाली सेना, पदतारोही र भारतीय प्राविधिक टोलीले मार्ग खुलाउने प्रयास गरिरहेका छन् । 

यस्तै, रसुवागढी र लाङटाङ खोला आयोजनामा नेपाली सेना, इन्जिनियर र ड्रोन टोलीले सुरुङभित्र निरीक्षण गरे पनि कसैलाई भेट्टाउन सकिएको छैन ।

Share News