राजमार्ग क्षेत्रका रूख काटेर ८१ लाखको हिनामिना, अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका २ हजार ७२४ वटा रूख अवैध रूपमा काटेर सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारका अनुसार भालुवाङ–लमही सडक खण्डको सडक क्षेत्रभित्र रहेका सिसौ, सिमललगायत विभिन्न जातका रूख २०७९ मंसिर र पुसमा अवैध रूपमा काटिएका थिए । काटिएको काठ ओसारपसार गरी ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको सरकारी नोक्सानी भएको अनुसन्धानबाट खुलेको छ । 

यो प्रकरणमा सडक डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्रीमाथि ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियारले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यस्तै राप्ती गाउँपालिका–१ का वडाध्यक्ष गेमे खड्का र वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

यसै प्रकरणमा अभिमान चौधरी, नन्दु गिरी, झविन्द्र प्रसाद भण्डारी र केशरबहादुर चौधरीविरुद्ध भ्रष्टाचारमा मतियार बनेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

अख्तियारका अनुसार सडक क्षेत्रभित्रका जोखिमयुक्त रूख हटाउने कानुनी प्रक्रिया पूरा नगरी रूख कटान गरिएको, सम्बन्धित निकायले रोक्न सक्ने अवस्था हुँदाहुँदै बेवास्ता गरेको र सरकारी सम्पत्तिको हिनामिना भएको पुष्टि भएपछि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।  

Share News