गुल्मी–१ बाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस
काठमाडौं । नेकपा एमाले गुल्मीले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टीले आ–आफ्नो क्षेत्रीय कमिटीमार्फत उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरेको हो । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका प्रभावशाली नेता प्रदीप ज्ञवालीको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीको बैठकले ज्ञवालीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रमा नाम पठाएको जिल्ला नेताहरूले जनाएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीले केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट, पूर्वमन्त्री तथा केन्द्रीय नेतृ रामकुमारी झाँक्री, नेता राजेन्द्र अर्यालसहितको नाम उम्मेदवारका रूपमा प्रस्ताव गरेको हो । एमाले गुल्मीका नेताहरूका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया पार्टीको विधि अनुसार सम्पन्न गरिएको हो । क्षेत्रीय कमिटीको निर्णयपछि जिल्ला कमिटी हुँदै सचिवालयमा नाम पठाइएको छ। अब पार्टीको केन्द्रीय कमिटीले समग्र राजनीतिक परिस्थिति, संगठनात्मक अवस्था, विगतका निर्वाचन परिणाम र जित्ने सम्भावनालाई आधार मानेर अन्तिम उम्मेदवार तय गर्नेछ । गुल्मीमा उम्मेदवार सिफारिस टुंगिएसँगै एमालेको निर्वाचन तयारी थप तीव्र बनेको छ। अन्य राजनीतिक दलहरूले पनि आन्तरिक छलफल र उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइरहेका बेला एमालेले समयमै सिफारिस गरेर चुनावी रणनीतिमा अग्रता लिने प्रयास गरेको देखिन्छ।
रसुवागढी भन्सार कार्यालय : धमाधम सरसामान तथा सवारीसाधन आयात
रसुवा । यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् । सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ । यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् । गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिए । उनले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा रु ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए ।
नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्साको होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफलपछि पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गरिएको छ । सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गरेको छ। साधारण सभाले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँको २१.०५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यसअनुसार सेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गरिनेछ । सभाले संस्थापक समूहतर्फबाट गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ । अध्यक्ष संघईले कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई थप उचाइमा पुर्याउन संरचनात्मक सुधार, संस्थागत सुशासनको कडाइ, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण, नविन प्रविधिको प्रयोग, ग्राहक केन्द्रित योजना र डिजिटल रूपान्तरणमा जोड दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले जोखिम व्यवस्थापन ढाँचा तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमको उचित व्यवस्थापन भइरहेको जानकारी दिए । सभालाई सम्बोधन गर्दै सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल परिस्थितिका बाबजुद कम्पनीले अग्रस्थान कायम गर्न सफल भएको बताए । वर्तमान म्याक्रो–आर्थिक अवस्थाले बीमा व्यवसायलाई चुनौतीपूर्ण बनाएको उल्लेख गर्दै सबै सरोकारवाला एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८१/८२ मा सामना गरिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै हासिल गरिएका उपलब्धि र आगामी योजना प्रस्तुत गरे । आर्थिक अवस्था सहज नभए पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उनले बताए । कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म यसको कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ भने जीवन बीमा कोष २४५ अर्ब र सेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल लाइफले देशभर रहेका १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालसम्म ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको र १०३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ । ग्राहक हितलाई केन्द्रमा राख्दै समयसापेक्ष सेवा र सुविधामा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी
बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनका अनुसार आयोगकोे हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीकोे जग्गा दर्ता र दाबीविरोधका लागि एक हप्ताको म्याद दिइएको छ । 'राप्तीसोनारी–४ का आठ सय ६१ जना र बैजनाथ–७ का तीन सय ७२ जनालाई राजस्व तिर्नका लागि र कोहलपुर–१ का आठ सय ६८ जनालाई दाबीविरोधका लागि सूचना जारी गरिएको छ', आयोगका अध्यक्ष खनालले भने, 'हामीले धमाधम काम सुरु गरेका छौँ, राजस्व र दाबीविरोधको सूचनाअनुसार लालपुर्जा तयार र वितरणको काम हुनेछ ।' भूमि समस्या समाधान आयोग जिल्ला समितिले यसअघि करिब एक हजार १०० लालपुर्जा तयार गरी करिब नौ सय वितरण गरेको अध्यक्ष खनालको भनाइ छ । कोहलपुर नगरपालिका–१ का अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो । यसअघि सङ्कलन गरिएका निवेदनको स्थानीय तहबाट प्रमाणीकरण, अव्यवस्थित बसोवासीले भोगचलन गरिरहेको जग्गाको डिजिटल नापजाँच र सिमाना विवाद रहेका क्षेत्रमा वडा समितिको रोहबरमा मेलमिलाप र नापी गरिने छ । वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा पाउने आसमा रहेका स्थानीय बासिन्दा नापी सुरु भएपछि उत्साहित छन् । वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व नहुँदा सरकारी सेवा सुविधा र बैंकिङ कारोबारबाट समेत वञ्चित हुनुपरेको पीडा खेपिरहेका स्थानीय अब भने आफ्नै नाममा लालपुर्जा आउनेमा ढुक्क देखिएको कोहलपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको अध्यक्ष खनालले जानकारी दिए । बाँकेका आठवटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण अझै प्राप्त नभइसकेको आयोगले जनाएको छ । रासस
यस्तो छ आइतबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
विकास मिडियाले १० विकास नायक सार्वजनिक गर्दै
काठमाडौं । विकास मिडिया प्रालिले आज आइतबार ‘विकास नायक, २०८२’ सार्वजनिक गर्ने भएको छ । विकास बहस तथा विकाय नायक अवार्ड वितरण समारोह आयोजना गरी समाज र देश विकासमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न क्षेत्रका १० जना व्यक्तित्वलाई विकास नायकका रूपमा सार्वजनिक गर्न लागिएको हो । विकास नायक निर्णायक समितिले विभिन्न १० क्षेत्रलाई समेटेर विकास नायक छनोट गरेर सार्वजनिक गर्न लागिएको विकास मिडियाले जनाएको छ । राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासनमार्फत विकासमा योगदान पुर्याउने एक जना, उद्योग स्थापन सञ्चालन मार्फत बजार विस्तार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गर्ने एक जना, सिर्जनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक समृद्धिमा योगदान गर्ने एक जना विकास नायक सार्वजनिक गर्न लागिएको हो । यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण गर्दै उत्पादन तथा बिक्री व्यवस्थापनमार्फत कृषकको जीवनस्तर सुधारमा टेवा दिने एक जना, जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवर्द्धन गरेर जनतालाई लाभ पुर्याउने एक जना, शिक्षा, स्वास्थ्य र पर्यटन सेवा विकासमा महत्वपूर्ण योगदान गर्ने एक जना विकास नायक सार्वजनिक गर्न लागेको हो । त्यस्तै, बैक, बीमा लगायत वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गर्नेबाट एक जना, नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गर्नेबाट एक जना, खेलकुद, भाषा, साहित्य, कला, मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाउने र पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने पेशाकर्मीबाट एक÷एक जना गरी कुल १० जनालाई विकास नायक घोषणा गर्न लागिएको हो ।
देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, हिमालमा हिमपात
काठमाडौं । आज देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी महाशाखाले आज राति तराई भागका धेरै स्थानमा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै तराई भागमा कुहिरोको समेत सम्भावना रहेको छ । यसको प्रभाव रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ । पुस १६ गतेदेखि बिक्री खुला गरेको बैंकको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।