विकासन्युज

लगानी अवसर गुम्दै गएका छन्, वित्तीय क्षेत्र मुख्य चुनौतीः डा. विश्वास गौचन

काठमाडौं । अर्थशास्त्री डा. विश्वास गौचनले पछिल्लो समय बाह्य क्षेत्रका आर्थिक सूचकहरु सकारात्मक देखिए पनि अन्य क्षेत्रमा चुनौतीहरू थपिँदै गएको र अपेक्षित रूपमा लगानी वृद्धि हुन नसकेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार हाल करिब साढे २१ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको भए पनि निजी क्षेत्रको लगानीमा उत्साह आउन नसकेको र नीति निर्माताहरूलाई उच्च सञ्चिति कसरी देश विकासमा परिचालन गर्ने भनेर सोच्न नसकेको बताएका छन्। परम्परागत रुपमा सोचे अनुरूप हाइड्रोपावर र पर्यटन क्षेत्रको विकासले मात्र देश समृद्ध बन्न नसक्ने उनको धारणा छ ।  डा. गौचनले युवाहरूको अत्यधिक विदेश पलायनका कारण रेमिट्यान्स वृद्धि भइरहेको उल्लेख गरे । उनका अनुसार ४-५ वर्षअघि नै बैंकिङ क्षेत्रको आकार देशको अर्थतन्त्रको आकारभन्दा ठूलो भइसकेको थियो । अहिले लगानीका अवसर हुँदाहुँदै पनि हामीले ती अवसर गुमाएका छौं । अबको मुख्य चुनौती वित्तीय क्षेत्रमा देखिएको छ । त्यसैले समयमै सजग हुन जरुरी छ । विशेषगरी अहिले नै खराब कर्जा (ब्याड डेब्ट) समस्याको समाधान गर्नुपर्छ,’ उनले भने । उनका अनुसार भारतमा यो शताब्दीको पहिलो दशकको २३ प्रतिशत कर्जा वृद्धिबाट दोस्रो दशकमा साढे ११ प्रतिशतमा खुम्चिँदा खराब कर्जा दुई अंक सम्म पुगेको थियो । तर नेपालमा भने बिगतको २० प्रतिशतबाट हाल ६ प्रतिशतमा घट्दा पनि खराब कर्जा करिब ५ प्रतिशत हाराहारीमा मात्र देखाइएको उनले जानकारी दिए । खराब कर्जालाई समयमै समाधान गर्नु आवश्यक छ । गैर-बैंकिङ सम्पत्तिहरू समयमै बिक्री गरेर समस्याको समाधानतर्फ अघि बढ्नुपर्छ । रोजगारीका लागि विदेश जानुपर्ने, अर्थतन्त्र वृद्धिका लागि जग्गामा लगानी गर्नुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने अवस्था देखिएको छ । यो समस्या कोरोना, जेनजी वा भूकम्पका कारण आएको होइन, हामीले अपनाउँदै आएको अभ्यासकै परिणाम हो,’ उनले स्पष्ट पारे । डा. गौचनले जो-कोही प्रधानमन्त्री वा अर्थमन्त्री बने पनि नेपाल कहिल्यै सिंगापुर वा स्विट्जरल्यान्डजस्तो बन्न नसक्ने यथार्थ स्वीकार गर्नुपर्ने बताए । साथै उनले कार्बन व्यापार लगायत अन्य नयाँ सम्भावनामा समेत जोड दिन आवश्यक रहेको उल्लेख गरे । लाखौंको संख्यामा विदेशिएका नेपालीलाई नेपालको विकासमा जोड्ने र राज्य आफै पनि एक उद्यमी जसरी सोचेर अगाडि बढ्नु पर्ने धारणा राखे  ।

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।        महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे । अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्दै निजामती सेवामा आफूहरुको आरक्षणको विषय सुनिश्चित गर्न माग गरे ।         प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखिन् । उनले भनिन्, 'संविधानले दिएको अधिकार कसले र किन रोक्यो ? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन । म यसप्रति चिन्तित छु । संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।'  

विशेष वा नियमित महाधिवेशनको बहस : शेखरको मध्यमार्गी प्रस्ताव– देउवालाई सांसद नहुन आग्रह गरौं

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको मिति र प्रकृतिलाई लिएर विवाद चर्किँदै जाँदा वरिष्ठ नेता डा. शेखर कोइराला समूहमा नयाँ राजनीतिक बहस सुरु भएको छ।  विशेष महाधिवेशनको विपक्षमा उभिँदै आएका कोइरालाको आह्वानमा बसेको समूहको बैठकले आगामी बैशाखको अन्तिम साता नै १५ औं महाधिवेशन गर्ने पक्षमा सहमति जनाएको छ ।  यससँगै पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनका पक्षधरबीच देखिएको ध्रुवीकरणलाई मध्यमार्गी बाटोबाट समाधान गर्ने प्रयासका रूपमा कोइरालाको सक्रियता बढेको देखिन्छ । पार्टीसंगठनभित्र एकातिर विशेष महाधिवेशनको माग तीव्र हुँदै गएको छ भने अर्कोतिर नियमित महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान पनि बलियो बन्दै गएको छ । यही पृष्ठभूमिमा बसेको कोइराला समूहको बैठकले राजनीतिक रूपमा विशेष महाधिवेशन अहिले उपयुक्त नहुने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी नेताहरूले अहिलेको प्राथमिकता राष्ट्रिय सभा निर्वाचनको तयारी, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने र आगामी आम निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । यस्तो अवस्थामा पार्टीलाई थप आन्तरिक विवादमा फसाउने विशेष महाधिवेशनको औचित्य नरहेको उनीहरूको निष्कर्ष छ । बैठकमा उपस्थित सहमहामन्त्री बद्री पाण्डेले विशेष महाधिवेशनको विषयमा कानुनी र राजनीतिक पक्ष फरक फरक रहेको बताएका छन् । उनका अनुसार विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्न सकिने प्रावधान भए पनि अहिलेको राजनीतिक सन्दर्भमा त्यो सही विकल्प होइन । ‘विधिवत रूपमा विशेष महाधिवेशनको आह्वान विधानसम्मत भए पनि राजनीतिक रूपमा त्यसलाई अहिले उचित मान्न सकिँदैन,’ पाण्डेले भने, ‘त्यसैले पार्टीको ध्यान विशेष महाधिवेशनभन्दा पनि बैशाखको नियमित १५ औं महाधिवेशनमै केन्द्रित हुनुपर्छ भन्नेमा बैठक एकमत छ ।’ बैठकमा अर्को महत्त्वपूर्ण प्रस्ताव पनि छलफलमा आएको छ, जसले कांग्रेसभित्रको नेतृत्व विवादलाई निकास दिन सक्ने संकेत दिएको छ । पाण्डेका अनुसार वर्तमान सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनमा सल्लाहकारको भूमिकामा बस्ने सार्वजनिक अभिव्यक्ति दिइसकेको सन्दर्भमा अब उनलाई प्रतिनिधिसभाको उम्मेदवार नबन्न आग्रह गर्ने प्रस्ताव बैठकमा उठेको हो । ‘यदि सभापति देउवाले प्रतिनिधिसभाको उम्मेदवार नबन्न सहमति जनाउनु भयो भने अहिले देखिएका धेरै समस्या आफै समाधान हुन्छन्,’ पाण्डेले भने, ‘१५ औं महाधिवेशनले त स्वभाविक रूपमा नयाँ सभापति छानिहाल्छ ।’ उनका अनुसार पार्टीभित्र केही नेताहरूलाई देउवाजी फेरि प्रधानमन्त्री हुनुहुन्छ कि भन्ने चिन्ता रहेको देखिन्छ । त्यसलाई पनि सामूहिक सहमतिमार्फत सम्बोधन गर्न सकिने पाण्डेको भनाइ छ । ‘यदि त्यही डर हो भने, सबै मिलेर उहाँलाई प्रतिनिधि सभाको उम्मेदवार नबन्न आग्रह गरौं,’ उनले भने, त्यसो भयो भने पार्टीले नयाँ सभापति पनि पाउँछ, संसदीय दलले पनि नयाँ नेता पाउँछ ।’ कोइराला समूहको यो धारणा पार्टीभित्र नेतृत्व पुस्तान्तरण र शक्ति सन्तुलनको बहससँग प्रत्यक्ष जोडिएको छ । नियमित महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सके पार्टी आन्तरिक रूपमा स्थिर हुने, निर्वाचनमा केन्द्रित हुन सक्ने र जनतामाझ स्पष्ट सन्देश जाने उनीहरूको ठम्याइ छ । कोइरालाले विशेष महाधिवेशनको विरोध नगरी मध्यमार्गी प्रस्ताव अघि सार्नुले पार्टीभित्र सहमतिको वातावरण बनाउन खोजिएको संकेत पनि दिएको छ । 

वर्षाको अद्यावधिक आकलन : अझै पनि कम वर्षा हुने

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए । यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उनले सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरे । कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उनले जानकारी दिए । देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको जलवायु आकलनमा उल्लेख छ । हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार गत डिसेम्बरमा देशभर सरदरभन्दा कम वर्षा मापन गरिएको छ । आकलनका आधारहरू विभागले यस आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको जलवायु प्रारुपका आकलनको आधारमा तयार गरिएको जनाएको छ । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एलनिनो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइको हालको अवस्थालाई समेत मध्यनजर गरी तयार गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए । हाल प्रशान्त महासागरमा लानिनाको अवस्थामा रहेको र हिउँद ऋतुको अन्त्यसम्ममा तटस्थतर्फ जाने विश्वव्यापी प्रारुपहरूको आकलन रहेको छ । त्यसैगरी, हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइक (आइओडी) हाल तटस्थ अवस्थामा रहेको र हिउँद अवधिभर तटस्थ अवस्थामै रहने विश्वव्यापी प्रारुपहरूको आकलन गरिएको छ । ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरू, भूउपयोगजस्ता विषयमा निर्भर हुने र जलवायु प्रारुपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विभागका सूचना अधिकारी कायस्थले उल्लेख गरे । रासस

डोङफेङ ईभी किन्न अब दाङमै सुविधा, एमएडब्लु वृद्धिको नयाँ शोरूम

काठमाडौं । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा अत्याधुनिक डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ । राप्ती अटोमार्ट प्रालिसँगको साझेदारीमा सञ्चालनमा आएको यो शोरूमलाई पश्चिम नेपालमा विद्युतीय यातायात विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । उद्घाटन कार्यक्रममा एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु समूहका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तसहित स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी, सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले डोङफेङको बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’को औपचारिक अनावरण पनि गरेका छन् । क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ किलोवाट क्षमताको मोटर र ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणाली रहेको छ । नामी भिगोमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट र लेभल–२ एडास प्रविधिजस्ता उन्नत सुरक्षा तथा सुविधा समावेश गरिएको छ । साथै, अल्ट्रा–फास्ट चार्जिङ सुविधामार्फत १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ । यस अवसरमा दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरिएको छ । क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो तथा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जरसहितको डुअल–चार्जिङ समाधान, निःशुल्क अटो प्लस बीमा तथा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन सुविधा प्रदान गरिनेछ । प्रिमियम इलेक्ट्रिक एसयुभी खोज्ने ग्राहकका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । दाङमा सञ्चालनमा आएको यो नयाँ शोरूमले डोङफेङ र सेरेस ब्रान्डका सवारी साधनका लागि बिक्री, सेवा तथा स्पेयर पार्ट्सको पूर्ण सुविधा उपलब्ध गराउनेछ । एमएडब्लु वृद्धिले दाङ तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव लिन र सीमित अवधिका विशेष अफरको लाभ उठाउन आग्रह गरेको छ ।  

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

चाँदीमा दक्षता, देशव्यापी पहुँच: टेक्नो जया ज्वेलरीले गर्याे डेढ अर्ब आम्दानी

काठमाडौं । चाँदीका गहना उत्पादन तथा बिक्री वितरणमा टेक्नो जया ज्वेलरी परिचित नाम हो । सन् २००५ मा सञ्चालनमा आएको टेक्नो जया ज्वेलरी सुरुमा घरेलु तथा साना उद्योग विभागमा दर्ता भएको थियो । व्यवसायको आकार र सञ्जाल विस्तारसँगै सन् २०१६ मार्चमा कम्पनीले निजी उद्योग खडा गर्‍यो । कम्पनीको मोरङको विराटनगरमा आधुनिक उत्पादन प्लान्ट सञ्चालनमा रहेको छ । जहाँ दैनिक ३० हजार ग्रामसम्म चाँदीका विभिन्न प्रकारका गहना तथा अलङ्कार उत्पादन कम्पनीले जनाएको छ ।  टेक्नो जया ज्वेलरीका हाल देशभर ६ वटा खुद्रा बिक्री केन्द्र सञ्चालनमा छन् । कम्पनीले ग्राहकको पूर्वअर्डर अनुसार गहना तयार पार्ने काम गर्ने मात्र नभई ६ वटा खुद्रा बिक्री केन्द्रमार्फत पनि प्रत्यक्ष बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार पूर्वी क्षेत्रलाई समेट्ने गरी विराटनगर २ वटा, मध्य क्षेत्रलाई समेट्ने गरी काठमाडौंमा एक र पश्चिम क्षेत्रलाई समेट्ने गरी भैरहवा, पोखरा, नेपालगन्ज एक/एक वटा आउटलेट सञ्चालनमा छन् ।  आधुनिक र परम्परागत शैलीलाई संयोजन गरी नयाँ-नयाँ गहना डिजाइन गर्ने टेक्नो जया ज्वेलरीले एक वर्षमै डेढ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत अर्थात् ६५ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चाँदीको मूल्य वृद्धिका कारण कम्पनीको सञ्चालन आम्दानी पनि बढेको जनाएको छ ।  ग्राहक संरचनामा गहना उत्पादक व्यवसायीक ग्राहक र खुद्रा ग्राहक दुवै समावेश छन्, तर बिक्रीको ठूलो हिस्सा भने थोक ग्राहकबाट आउने गरेको कम्पनीले जनाएको छ । कच्चा चाँदीलाई प्रशोधित गरी आकर्षक तथा गुणस्तरीय चाँदीका गरगहना उत्पादन गर्दै आएको टेक्नो जया ज्वेलरीले ग्राहकको अर्डर अनुसार गहना तयार गर्नुका साथै खुद्रा बिक्रीका लागि समेत उत्पादन गर्दै आएको छ । कलात्मक गहना उत्पादन गर्दै आएको कम्पनीले चाँदी केवल गहना वा भाँडाकुँडामा मात्र सीमित हुन्छ भन्ने सोचलाई पूर्ण रूपमा तोडिदिएको छ ।  टेक्नो जया ज्वेलरीको अध्यक्ष देवकिशन मुन्दडा रहेको छ । जसको मार्गदर्शनमा कम्पनी सञ्चालन भइरहेको छ । मुन्दडासँग विभिन्न व्यवसाय र उद्योग क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव रहेको छ । उनी बाबा भेगिटेबल आयल इन्डस्ट्रिजका निर्देशक पनि हुन्, जसले पाम, सोयाबिन, सनफ्लावर तथा तोरीको तेल उत्पादन गर्छ । साथै, उनी बाबा जुट मिल्स प्रालिका निर्देशक हुन्, जहाँ जुट, बोरा र विभिन्न जुटजन्य सामग्री उत्पादन गरिन्छ । यसका अतिरिक्त, उनी अनुराग अगरबत्ती धूप उद्योगका सञ्चालकको भूमिकामा समेत रहेका छन् । कम्पनीका सञ्चालक नन्द किशोर मुन्दडासँग पनि औद्योगिक क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव छ । उनी उद्योग र व्यावसायिक क्षेत्रमा आफ्नो दक्षता र अनुभवमार्फत कम्पनीको दीर्घकालीन रणनीति र सञ्चालनमा योगदान पुर्याउँदै आएका छन् ।  कम्पनीले कच्चा चाँदी दुबईबाट आयात गर्दै आएको छ । यसका अतिरिक्त जिंक र एलोयजस्ता अन्य आवश्यक उपभोग्य सामग्रीहरू भारतबाट आपूर्ति गर्दै आएको जनाएको छ । कच्चा चाँदीको मूल्य अन्तर्राष्ट्रिय माग तथा आपूर्तिको आधारमा निर्धारण हुने भएकाले बजारको उतार-चढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।  त्यसैगरी, कच्चा चाँदीको मूल्य अमेरिकी डलरसँग सम्बन्धित भएकाले कम्पनीले विदेशी विनिमय दरको उतार-चढावको जोखिमसमेत बेहोर्दै आएको छ । विनिमय दरमा हुने परिवर्तनले आयात लागतमा प्रत्यक्ष असर पार्ने हुँदा कम्पनीको लागत संरचना प्रभावित हुने गरेको कम्पनीले जनाएको छ ।  साथै घरेलु बजारमा कच्चा चाँदीको बिक्री मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा निर्धारण गरिने भएकाले कम्पनीले मूल्य निर्धारणमा सीमित लचिलोपन पाउँछ । मूल्यमा आउने अस्थिरताले नाफामा असर गर्ने गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण एक अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १३ करोड ९६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब २ करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १५ करोड ९० लाख रुपैयाँ बैंकबाट ऋण लिएको जनाएको छ । 

भेनेजुएलामाथि आक्रमण गरेसँगै ट्रम्पको ठाडो सन्देश- भेनेजुएलाको तेल अब अमेरिकी कम्पनीको हातमा

काठमाडौं । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ । मादुरो र उनकी पत्नीलाई अमेरिकातर्फ ल्याइँदै छ जहाँ उनीहरूमाथि न्यूयोर्कमा मुद्दा चलाइनेछ ।  यसैबीच अमेरिकाको नजर भेनेजुएलाका तेल भण्डारमाथि परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तेल कम्पनीहरूलाई भेनेजुएलाका विशाल कच्चा तेल भण्डारको दोहन गर्न अनुमति दिइने बताएका छन् । उनले अमेरिकाले भेनेजुएलाको तेल चीनलाई आपूर्ति गर्ने पनि स्पष्ट पारेका छन् । शनिबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाका ठूला ऊर्जा कम्पनीहरूले भेनेजुएलाको जर्जर भइसकेको तेल संरचना मर्मत गर्न र पुनः उत्पादन सुरु गर्न अर्बौं डलर लगानी गर्ने बताए ।  ट्रम्पले भने, ‘हाम्रो विश्वकै सबैभन्दा ठूला अमेरिकी तेल कम्पनीहरू त्यहाँ जानेछन्, अर्बौं डलर खर्च गर्नेछन्, निकै खराब भइसकेको तेल संरचना सुधार्नेछन् र देशका लागि आम्दानी सुरु गर्नेछन् ।’ एपीका अनुसार ट्रम्पले अमेरिकाले फेरि भेनेजुएलाको तेलको ‘ठूलो परिमाण’ अन्य देशहरूलाई बिक्री गर्ने पनि बताएका छन् । तेलबारे ट्रम्पले के भने? पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, ‘हामी तेलको व्यापारमा छौं । हामी यो उनीहरूलाई बेच्नेछौ ।ु उनले तेल कम्पनीहरूले भेनेजुएलाको तेल संरचना पुनर्निर्माणका लागि खर्च व्यहोर्ने पनि बताए । साथै अमेरिकाका प्रतिबन्धहरू यथावत् रहेको स्पष्ट पार्दै ट्रम्पले भने, ‘भेनेजुएलाको सम्पूर्ण तेलमाथिको प्रतिबन्ध पूर्ण रूपमा लागू छ ।’ एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले आपूर्ति अवरुद्ध हुन नदिने र चीनसँग सम्बन्धित कुनै पनि चिन्तालाई अस्वीकार गरे । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आफ्नो अत्यन्त राम्रो सम्बन्ध रहेको बताए । उनले बेइजिङसँग कुनै समस्या नहुने दाबी गर्दै भने, ‘उनीहरूलाई तेल प्राप्त हुनेछ । हामी मानिसहरूलाई तेल लिन दिनेछौं ।’ अमेरिकाले लगाएको प्रतिबन्ध एएफपीका अनुसार भेनेजुएला सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्धको दायरामा छ । हाल भेनेजुएलाले प्रतिदिन करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको छ, जसको अधिकांश भाग भारी छुटमा कालो बजारमार्फत बिक्री हुँदै आएको छ । ठूलो कच्चा तेल भण्डार हुँदाहुँदै पनि ट्रम्पले भेनेजुएलाको तेल क्षेत्रलाई वर्षौंदेखि ‘पूर्ण रूपमा तहसनहस भएको बताउँदै आएका छन् । केही दिनअघि अमेरिकी सेनाले कम्तीमा दुईवटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो, जसले प्रतिबन्ध उल्लंघन गरेको वाशिंगटनको दाबी छ । भेनेजुएलाका कच्चा तेल भण्डारमाथि अमेरिकाले कब्जा जमाएको असर छिमेकी मुलुक भारतमा पनि देखिन सक्ने अनुमान गरिएको छ । भारत पनि भेनेजुएलाबाट कच्चा तेल खरिद गर्ने देश हो, यद्यपि यसको मात्रा अन्य देशहरूको तुलनामा निकै कम छ । यदि अमेरिकाले भेनेजुएलाको तेल क्षेत्र नियन्त्रणमा लिएर सञ्चालन गर्‍यो भने भारतलाई पनि तेल आपूर्ति बढ्न सक्ने सम्भावना छ ।