विकासन्युज

बालेन सरकार आएदेखि तातोपानी नाका बन्द

काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य बिन्दु मानिने तातोपानी नाका पछिल्लो चार दिनदेखि बन्द अवस्थामा छ । शुक्रबार नयाँ सरकार गठन भएदेखि बन्द भएको नाका आजसम्म खुल्न सकेको छैन ।  तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालका अनुसार चार दिनदेखि सो नाका अवरुद्ध छ । नयाँ सरकार आए लगत्तै बन्द प्रमुख व्यापारिक नाका बन्द हुनुलाई धेरैले संशयका रूपमा लिएका छन् । यसलाई कतिपय नेपाल र चीनबीचको कुटनीतिक चालका रूपमा बुझेका छन् ।  नजिकै कोदारी इको क्षेत्रमा गएको पहिरोका कारण विगत पहिरोले बाटो बिग्रिएपछि चीनबाट सामान लिएर आएका सयौं मालवाहक ट्रकहरू सीमा क्षेत्रमै रोकिएको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ ।  नेपाल–चीन सीमाभन्दा करिब २.५ किलोमिटर तल कोदारी इको क्षेत्रमा सडक भासिएकाले यो समस्या आएको हो । ‘अघिल्लो मनसुनमा समेत लामो समय बन्द भएको सोही स्थानमा अहिले पुनः पहिरो खस्दा बाटो अवरुद्ध भएको छ,’ उनले भने ।  ‘भूकम्पका कारण त्यहाँको जमिन निकै कमजोर भएको देखिन्छ । बालुवा र गिट्टी मिसिएको माटो भएकाले वर्षा नहुँदा पनि सुक्खा पहिरो जस्तो खसिरहेको छ । करिब १०० मिटरको क्षेत्र निकै जोखिमपूर्ण छ,’ उनले थपे ।  पहिरोले सडकको केही भाग करिब २.५ मिटर तलसम्म खसेको उनले जानकारी दिए । बाटो अवरुद्ध भएपछि चीनतर्फ सामान लोड भएका गाडीहरूको लामो जाम लागेको छ । थप जाम नहोस् भन्नका लागि बाटो नखुलेसम्म गाडीहरू नपठाउन चिनियाँ पक्षलाई समेत समन्वय गरिएको चुडालले बताए ।  ‘हामीले उताबाट आउने गाडीहरूलाई अलि ढिलो गर्न भनेका छौं, किनकि यहाँ बाटो नबनी गाडी भित्र्याउन सक्ने अवस्था छैन,’ प्रमुख भन्सार अधिकृत चुडालले भने ।  अहिले डोजर प्रयोग गरेर सडक मर्मत र पहिरो पन्छाउने काम भइरहेको छ । अब छिट्टै बाटोको ट्र्याक खोलेर गाडीहरूलाई सुरक्षित स्थान (यार्ड) सम्म ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।  मौसमले साथ दिएमा र थप पहिरो नखसेमा आज (मंगलबार) देखि नै सवारी साधनहरू सुचारु हुन सक्ने उनको अनुमान छ । सामानहरू मान्छेलाई बोकाएर तार्ने विकल्प भए पनि त्यो निकै महँगो र झन्झटिलो हुने भएकाले व्यवसायीहरू सडक खुल्ने नै पर्खाइमा छन् । 

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार डा. आचार्यलाई

काठमाडौं । विसं २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीतिलगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा योगदान पुर्याए वापत उनलाई नगद ५० हजार रुपैयाँ सहित सो पुरस्कार प्रदान गरिएको हो ।  काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्माले दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा आइतबार आयोजित कार्यक्रम प्रा. डा. आचार्यलाई पुरस्कार सहित दोसल्ला ओढाइ सम्मान गरेका थिए ।  सो अवसरमा  प्रा.डा. आचार्यले दण्डपाणि अर्ज्याल स्मृति केन्द्रबाट हालसम्म सम्मानित/पुरस्कृत व्यक्तिहरूको जीवनीलाई स्मृति केन्द्रकै मुखपत्र ‘ज्ञानविन्दु’  पत्रिकामा जीवनी विशेषाङ्कका रूपमा प्रकाशित गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।  पूर्वउपकुलपति प्रा.डा. शर्माले दण्डपाणि अर्याल स्मृति केन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको भनी खुसी व्यक्त गरे ।  प्राडा शर्माले पनि १५ वर्ष पहिले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।  त्यसैबीच जयराज आचार्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा  केन्द्रका सल्लाहकार हरिहर अर्याल तथा साहित्यकार राजेन्द्रप्रसाद अर्याल, अनेसास, बिओटिका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य, अन्य कवि, लेखक साहित्यकारलगायत संस्थाका पदाधिकारी उपस्थिति थियो ।  वक्ताहरूले जयराज आचार्य र दण्डपाणि अर्ज्यालको जीवनी व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै स्मृति केन्द्रको भूमिकाको प्रशंसा गरेका थिए । ती कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाँले गरेको थिए भने कार्यक्रम सञ्चालन महासचिव कपिलचन्द्र खनालले गरेका थिए । दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिषशास्त्र र संस्कृतिका अध्येता रहेका थिए । रासस

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । यो मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीहरुले सपथ तथा पदभार गरेको दिन नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।  मन्त्रिपरिषदको पहिलो बैठकले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने साशकीय सुधारका १०० काम पनि स्वीकृत गरेको थियो । 

पूर्णबहादुरको सदस्यता नवीकरण नहुने भएपछि देउवा पक्षले बोलयो केन्द्रीय समिति बैठक, दुई दिनसम्म चल्ने

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।  नेपाली कांग्रेसले खड्काको क्रियाशिल सदस्यता नवीकरण नगर्ने भउपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले उनको सदस्यता नवीकरण नगर्ने योजना बनाएको हो । त्यसपछि उनले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

काकडभिट्टा–लौकही सडक स्तरोन्नति सुस्त, पूर्वाधार व्यवस्थापनमै अवरोध

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) ले पाँच खण्डमा विभाजन गरी ९५ किलोमिटर सडकको स्तरोन्नति गरिरहेको भएपनि लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन ।  कुल ४६ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको यो सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ । पूर्वी खण्ड अन्तर्गत काकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत झापाको सितापुरीदेखि सुनसरीको लबीपुलसम्म ५० किलोमिटर लम्बाई रहेको छ । निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जे.भीका प्रतिनिधि अनिश रेग्मीकाअनुसार सन् २०२४ फेब्रुअरी २ बाट निर्माण टिम परिचालन गरिए पनि आयोजनाको पूर्वतयारीमा हुनुपर्ने कामहरू नहुँदा निर्माणमा अवरोध भएको छ ।  शहरी क्षेत्रमा सडक आसपास भएका विद्युतीय पोलहरू नयाँ रुटबाट सार्न कठिन भइरहेको उनको भनाइ छ । सडक खण्डमा विद्युतको पोल सार्न सबैभन्दा ठूलो समस्या भएको बताए । साथै खानेपानीको पाइपले पनि समस्या आउँदा काम गर्न ढिलाइ भएको उनको भनाइ छ ।  विद्युत प्राधिकरणले हालसम्म ३० प्रतिशत मात्रै पोल स्थानान्तरण गरेको छ । शहरी क्षेत्रमा विद्युतीय पोलसँगै खानेपानीका पाइपहरूका कारण पनि निर्माणमा अवरोध आइरहेको निर्माण कम्पनीका प्रतिनिधिहरू बताउँछन् । दमक बजारमा विद्युतीय पोलकै कारण फ्लाई ओभर निर्माण समेत रोकिएको छ । पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीले विद्युत प्राधिकरणलाई पटक–पटक ताकेता गर्दा समेत लक्ष्य अनुसारको पोल सार्न नसकिएको बताए ।  २०२७ जनवरीभित्र सम्पन्न गर्नुपर्ने यो आयोजनामा अझै १ हजार ५ सयभन्दा बढी पोल सार्न बाँकी छ ।    

गैँडाकोटमा ३ वटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक सोमबार बिहान नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । त्यसैगरी, बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ ।  हाल यातायात सञ्चालन सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ ।  

दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, ७५ प्रतिशतसम्म छुट

काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै दराज नेपालले बहुप्रतीक्षित ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ । नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यसहित आकर्षक छुट, भौचर, बैंक अफर तथा उपहार योजनासहित अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । दाराजका अनुसार ७५ प्रतिशतसम्मको मेगा छुट, निःशुल्क होम डेलिभरी तथा करिब ८३ लाख रुपैयाँ बराबरका भौचरहरू समावेश गरिएको यो सेल अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ । कम्पनीले यसलाई नेपाली ग्राहकका लागि एक सातासम्म चल्ने किनमेल महोत्सवका रूपमा प्रस्तुत गरेको छ । अभियान अवधिभर विभिन्न क्याटेगरीका सामानहरूमा दैनिक फ्ल्यास सेल सञ्चालन गरिनेछ । प्लाटिनम पार्टनर चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिभर र मिनिमलिस्टका उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यस्तै गोल्ड पार्टनर फोरया र एक्सएजका उत्पादनमा पनि ६० प्रतिशतसम्म छुट प्रदान गरिनेछ भने सिल्भर पार्टनर नाइक, फ्यानटेक र पीसेफका उत्पादनहरूमा ६५ प्रतिशतसम्म छुट रहने कम्पनीले जनाएको छ । किनमेललाई थप सहज बनाउन दराजले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकसँग सहकार्य गरेको छ । ग्राहकहरूले क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत (अधिकतम रु. ७५०) तथा डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशत (अधिकतम रु. ५००) छुट प्राप्त गर्न सक्नेछन् । साथै ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताका लागि ‘रश आवर’ विशेष अफरहरू पनि उपलब्ध हुनेछन् । यसका अतिरिक्त दैनिक रु. ४४, रु. ४४४, रु. १,४४४ र रु. २,४४४ का विशेष डिलहरू तथा नयाँ वर्षको थीमअनुसार रु. २,०८३ का क्याटेगरी अफरहरू पनि अभियानभर उपलब्ध गराइनेछ । उत्सवलाई अझ आकर्षक बनाउन दराजले विभिन्न उपहार योजनासमेत ल्याएको छ । मुख्य पुरस्कारअन्तर्गत फिलिप्सको सहयोगमा करिब रु. १ लाख ८० हजार मूल्य बराबरका १५ वटा साना होम अप्लायन्सहरू समेटिएको प्रिमियम बन्डल एक जना भाग्यशाली विजेताले प्राप्त गर्नेछन् । त्यसैगरी भिभो भी७० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मिर्याकल्सका डिस्प्ले तथा प्रिन्टर र्याक, स्टिलबर्ड हेल्मेट तथा एससीएस एसएण्डएक्स हेल्मेट ब्लुटुथ इन्टरकमलगायतका उपहार जित्ने अवसर पनि ग्राहकहरूले पाउनेछन् । सेल अवधिभर न्यूनतम रु. ५,००० बराबरको खरिद गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् । योग्य सहभागीहरूबाट विजेता छनोट गरिने कम्पनीले जनाएको छ । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ‘४.४ सेल’ले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता झल्काउने बताउँदै सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफर र पुरस्कारमार्फत ग्राहकलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए ।

पिँडालु किलोको ६० रुपैयाँ, यस्तो कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ७०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १३०, कोइरालो प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।