विश्वप्रकाश झापा-१ बाट मतदानमार्फत महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा १५औँ महाधिवेशनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

झापा–१ मा भएको मतदानमा शर्मा ६३८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । प्रतिनिधि चयनका लागि भएको मतदानमा ७१० जना मतदाता सहभागी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

शर्माको गृहक्षेत्र झापा–१ मा महाधिवेशन प्रतिनिधि चयनका क्रममा मतदान भएको हो । झापामा यसपटक अधिकांश वडामा सहमतिका आधारमा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन भए पनि केही तहमा निर्वाचन भएको थियो । क्षेत्र नम्बर १ अन्तर्गत पनि विभिन्न वडामा निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

झापा–१ को क्षेत्रीय सभापतिमा भने इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । उनले ४१४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुवेश पनेरुले २०१ मत पाएका थिए । क्षेत्रीय सचिवमा दीपक काफ्ले र सहसचिवमा चन्दन गौतम निर्वाचित भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ । यसक्रममा केन्द्रीय तहका नेताहरू पनि आ–आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधि बन्न निर्वाचन प्रक्रियामा सहभागी भइरहेका छन् ।

यसअघि शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–१ बाट निर्वाचित भएका थिए । आम निर्वाचन २०८३ मा भने शर्माले उम्मेदवारी नै दिएनन् ।

Share News