कार्यवाहक सभापति खड्काले गरे एकताका लागि आह्वान
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको वर्तमान राजनीतिक अन्योल र अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै पार्टीभित्र पूर्ण एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई आपसी मतभेद र गुटगत सोंच त्याग्दै संगठन सुदृढीकरणमा जुट्नसमेत आग्रह गरेका छन् । खड्काले पछिल्लो समय देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताए । राजनीतिक स्थिरता कमजोर हुँदै गएको, सरकार परिवर्तनको सम्भावना बारम्बार देखिनु र जनतामा निराशा बढ्नुले लोकतान्त्रिक शक्तिहरूबीच बलियो समन्वय आवश्यक रहेको उनको भनाइ छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले जिम्मेवार र एकताबद्ध भूमिका खेल्नुपर्नेमा उनको जोड छ। कार्यवाहक सभापति खड्काले पार्टीभित्र देखिने आन्तरिक असहमति स्वाभाविक भए पनि त्यसलाई संस्थागत ढंगले समाधान गर्दै अघि बढ्नुपर्ने बताए । ‘विचारको विविधता हाम्रो शक्ति हो, तर विभाजन हाम्रो कमजोरी बन्छ,’ उनले भने, ‘पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।’ खड्काले आगामी बैशाख अन्तिम साता हुने १५ औं महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने अवस्था रहेको बताउँदै सबैलाई संयमता कायम राख्न पनि आग्रह गरेका छन् ।
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न नवौँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिज्म एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन महोत्सवमा नेपाललाई पूर्वी हिमालय क्षेत्रमा अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा सफलतापूर्वक स्थापित गरेको भन्दै कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो । यस अवार्डले पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन पहिचान सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले निरन्तर गर्दै आएको प्रवर्द्धनात्मक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बोर्डले जनाएको छ । पूर्वी हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (ईएचटिटिओए) द्वारा आयोजित बीटीएम पूर्वी भारतकै महत्वपूर्ण पर्यटन व्यापार मञ्च मानिन्छ, जहाँ भारत, नेपाल, भुटान र बंगलादेशका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो । बीटीएम–२०२६ मा नेपाल पर्यटन बोर्डसँगै नेपालका ट्राभल ट्रेड कम्पनीहरू तथा कोशी र मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । तीनदिने कार्यक्रमका क्रममा नेपालका प्रदर्शकहरूले पश्चिम बंगाल लक्षित विशेष पर्यटन प्याकेज, सेवा र गतिविधिहरू प्रस्तुत गर्दै भारतीय र भुटानी खरिदकर्तासँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पाएका थिए । नेपाल स्टलमार्फत कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादनबारे प्रत्यक्ष जानकारी दिइएको थियो भने यात्रु सूचना, नक्सा, पोस्टर र स्मरणिकासहितका प्रचार सामग्री वितरण गरिएको थियो । नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्गविक्रम शाह तथा सहयोगी कर्मचारी सुरेन्द्र सिंह लामा सहभागी थिए। मार्ट सुरु हुनुअघि जनवरी ७ मा सिलिगुडी जर्नालिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ निर्देशक लामिछानेले स्थानीय सञ्चारमाध्यमलाई नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराएका थिए । कार्यक्रमको औपचारिक उद्घाटनका अवसरमा बोल्दै वरिष्ठ निर्देशक लामिछानेले नेपालका विविध पर्यटन उत्पादनबारे प्रकाश पार्नुका साथै ‘भिजिट कोशी वर्ष–२०८२’ र ‘भिजिट मधेश–२०८३’ को सन्दर्भ उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जनवरी १० को साँझ ‘नेपाल नाइट सांस्कृतिक कार्यक्रम’ आयोजना गरी भारतीय पर्यटकहरूका लागि नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो । कार्यक्रममा वरिष्ठ निर्देशक लामिछानेले स्वागत मन्तव्य दिँदै आगामी बिदामा नेपाल भ्रमण गर्न आग्रह गरेका थिए भने वरिष्ठ प्रबन्धक शाहले पश्चिम बंगालसँग जोडिने सीमावर्ती क्षेत्र, कोशी र मधेश प्रदेशसहित नेपालका प्रमुख आकर्षण र गतिविधिबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । मैत्रीपूर्ण सद्भावका रूपमा नेपाल पर्यटन बोर्ड, कोशी र मधेश प्रदेशका टोलीले सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागकी अतिरिक्त सचिव डा. प्रेरणा चाम्लिङ, भुटान पर्यटन विभागका मार्केटिङ प्रबन्धक कर्मा वाङ्दी, बीटीएमका अध्यक्ष सन्दीपा घोष तथा ईएचटिटिओएका अध्यक्ष सुरेश ठाकुरीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए । नेपाल पर्यटन बोर्डले बीटीएम–२०२६ मार्फत नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै पूर्वी हिमालय क्षेत्रमा नेपालको पर्यटन उपस्थिति विस्तार गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ ।
ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले जारी गरेको सूचनामा ग्राहकको खाताबाट काटिएको कर विवरण आयकर ऐन, २०५८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य रहेको उल्लेख गरिएको छ । ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com तथा मोबाइल बैंकिङ अनुप्रयोग (एनआईसी एसिया मोबाइल बैंक) मा रहेको ‘प्यान अद्यावधिक’ विकल्प प्रयोग गरी आफ्नो प्यान सहजै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, नजिकको कुनै पनि एनआईसी एसिया बैंकको शाखा कार्यालयमा गई आवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ। बैंकका अनुसार ब्याज भुक्तानीमा काटिएको कर विवरण विद्युतीय कर कट्टी विवरण प्रणाली (ई–टीडीएस) मा समावेश गर्न प्यान अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा सम्बन्धित प्यानमा प्रविष्ट हुने र यसले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ । प्यान अद्यावधिक नगरिएकै कारण ई–टीडीएसमा ब्याज कर दाखिला नभएमा वा पछि कर समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ । यसैगरी बैंकले ग्राहकलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकले बैंकको भिडियो ग्राहक पहिचान (भिडियो केवाईसी) सेवा, मोबाइल बैंकिङ अनुप्रयोगको ‘मेरो प्रोफाइल’ खण्डमार्फत ‘इमेल परिवर्तन’ विकल्प प्रयोग गरी इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । शाखा कार्यालयमार्फत पनि इमेल ठेगाना अद्यावधिकको सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ । यसअघि प्यान उपलब्ध गराए पनि कर विवरण अद्यावधिक नभएको वा इमेल ठेगाना परिवर्तन गर्न बाँकी रहेको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रका फोन नम्बर १६६०–०१–७७७७ र ०१–४७८९८९८ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६३५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राधी विद्युतको ३१ करोड, मन्जुश्री फाइनान्सको २७ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र शिवम् सिमेन्टको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको हो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ । विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४, अन्य ०.२९ प्रतिशतले घटेको छ ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले ‍विभिन्न निर्णयहरू गरेको छ । बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) को सदस्य राष्ट्रका रूपमा नेपालले सन् २०२४ का लागि बुझाउनुपर्ने वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यसैगरी, आर्थिक प्रणालीलाई सुदृढ र आधुनिक बनाउने लक्ष्यसहित वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३ देखि २०८६/८७) स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै, सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभिलेखालय तथा गङ्गा घाट मन्दिर पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने पनि निर्णय भएको छ । त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत गरिएको छ । गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए । आगामी माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने गरी संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।
गगन थापाको प्रतिवेदन भन्छ- जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा ठूलो मोड आयो
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले भदौ २३ र २४ गते भएको युवाको आन्दोलनपछि नेपालको राजनीति निर्णायक र चुनौतीपूर्ण मोडमा प्रवेश गरेको निष्कर्स निकालेका छन् । महाधिवेशनमा प्रस्तुत राजनितिक प्रतिवेदनमा थापाले यस्तो निष्कर्स निकालेका हुन् । महामन्त्री थापाका अनुसार उक्त आन्दोलनले भदौ २३ अघिको र पछिको राजनीतिक अवस्थाबीच धेरै भिन्नता देखाएको छ । उनले जेनजी आन्दोलनलाई एउटै र बारम्बार असफल भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुनु, कुशासन र भ्रष्टाचारजस्ता विकृतिविरुद्ध जनताको विस्फोटका रूपमा व्याख्या गरेका छन् । थापाको प्रतिवेदनमा संसदको पहिलो दल तथा सरकारको हिस्सेदार भएकाले ती विसंगतिहरूमा कांग्रेसको पनि कतै न कतै जिम्मेवारी रहेको स्वीकार छ । समयमै हस्तक्षेप गर्न नसकिएको यथार्थ आत्मसात गर्नुपर्ने थापाको धारणा छ । प्रतिवेदनले जेनजी आन्दोलनलाई आमूल परिवर्तनको मागका रूपमा लिँदै नीति, कार्यशैली, सोच र केही पात्रसम्म परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ । संसदमा सबैभन्दा ठूलो दल र सरकारमा सहभागी भएकै कारण कांग्रेसभित्र पनि परिवर्तनको माग मुखर बनेको प्रतिवेदनमा जनाइएको छ । तर केन्द्रीय तहमा निर्णय लिन नसक्ने अवस्था पार्टीका लागि चिन्ताको विषय भएको उल्लेख प्रतिवेदनमा गरिएको छ । इतिहासका विभिन्न चरणमा कांग्रेसले लिएका निर्णायक भूमिकाको स्मरण गर्दै स्थापना कालमा लोकतन्त्र, २०४६ सालमा बहुदलीय व्यवस्था र २०६२/६३ पछि लोकतन्त्र, गणतन्त्र, संघीयता तथा समावेशितालाई संस्थागत गर्न नेतृत्वदायी भूमिका खेलेको थापाको दाबी छ । यही परिवर्तनकारी परम्पराका आधारमा जेनजी आन्दोलनको सन्देश ग्रहण गर्दै विशेष महाधिवेशनबाट भावी यात्रा तय गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ । सोमबार भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो । कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मङ्सिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ । यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ । यसैगरी, ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण (एएमएल) सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम आइतबार लाजिम्पाटस्थित होटल र्याडिसनको हलमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख पदमप्रसाद सोडारी प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा कम्पनीका उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनबारे विस्तृत जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी केही संस्थापक सेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए ।