पहाडी र हिमाली भेगमा असिनासहित वर्षा हुने, यस्तो छ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चटयाङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लहानमा आधुनिक ब्लड बैंक बन्ने: ४० लाख दान, डेढ करोडका उपकरण ल्याइने
काठमाडौं । सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर-आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ । रगतको अभावमा बिरामीले भोग्नुपरिरहेको सास्तीलाई दृष्टिगत गर्दै सोमबार लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाता परिवारबीचको त्रिपक्षीय समन्वयमा परियोजना अघि बढाइएको छ । ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौतासमेत भएको छ । यसका लागि लहान नगरपालिका-१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमती भएको छ । भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले ४० लाख रुपैयाँ सहयोग गर्ने र उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिने जनाइएको छ । यसैगरी, लायन्स क्लबले बैंकका लागि आवश्यक पर्ने एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापनाले यस क्षेत्रको स्वास्थ्य उपचारमा ठूलो योगडदान पुग्ने विश्वास व्यक्त गरे । ‘लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या छ’, उनले भने, ‘अब स्थापना हुने ब्लड बैंकले आपत्कालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई समाधान गर्नेछ ।’ समाजसेवी मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवामा लगानी गर्न पाउनु गौरवको विषय भएको बताए । उनका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडवाडी सेवा सदन जस्ता संस्थाहरूको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्लड बैंक सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्लाहरू सप्तरी, धनुषा र उदयपुरका बिरामीसमेत लाभान्वित हुनेछन् ।
आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सन्तुलित र समावेशी बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूसँगको छलफलमा उनले विशेषगरी कर्णालीलाई न्यायोचित सम्बोधन गरिने स्पष्ट पारे । ‘कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सल्यान क्षेत्र नं. १ का सांसद रमेश मल्लले जानकारी दिए । छलफलका क्रममा प्रधानमन्त्रीले सरकार यस वर्ष शासकीय सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने संकेत पनि गरेका छन् । सांसद मल्लका अनुसार बैठक मुख्यतः आगामी बजेट निर्माणमा केन्द्रित रहेको थियो । कर्णालीका सांसदहरूले भने आफ्नो प्रदेशलाई पहिलो प्राथमिकतामा राख्न माग गर्दै भौतिक पूर्वाधार, शासकीय सुधार र आधारभूत सेवामा लगानी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । छलफलमा जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली-भेरी-राप्ती सडक करिडोर, मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्ग, लुम्बिनी-रारा सडकजस्ता ठूला पूर्वाधार आयोजना प्राथमिकतामा राख्नुपर्ने विषय उठाइएको थियो । यससँगै स्वास्थ्य बीमा, मातृ-शिशु पोषण, दैलेखको पेट्रोलियम सम्भाव्यता अध्ययन, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन तथा सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन र शिक्षा क्षेत्रलाई बजेटमार्फत सुदृढ गर्नुपर्ने मागसमेत अघि सारिएको थियो । उक्त छलफलमा नेकपा, एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको थियो ।
लाइनको झन्झट हटाउँदै ‘इपिए’ सुधार अभियानमा लागे श्रममन्त्री साह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले भैंसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए) को आकस्मिक निरीक्षण गर्दै सेवाग्राहीमैत्री सुधारका लागि निर्देशन दिएका छन् । निरीक्षणका क्रममा मन्त्री साहले श्रमिकहरू घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै तत्काल टोकन प्रणाली लागू गर्न निर्देशन दिए । उनले सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था मजबुत पार्न, आवतजावतका बाटा सुधार गर्न र समग्र व्यवस्थापन चुस्त बनाउन कर्मचारीलाई सचेत गराए । ‘सेवाग्राहीलाई सेवा सहज र छिटो कसरी दिने भन्नेमा विशेष ध्यान दिनुपर्छ,’ मन्त्री साहले भने, ‘अनावश्यक लाइन बस्नुपर्ने झन्झट अन्त्य गरी टोकन प्रणालीमार्फत सेवा सरल बनाउन आवश्यक छ ।’ वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अझ प्रभावकारी बनाउनेतर्फ पनि मन्त्रालय गम्भीर रहेको उनले बताए । श्रमिकको हितलाई केन्द्रमा राखेर सेवा सुधार अभियानलाई तीव्र बनाइने मन्त्री साहको प्रतिबद्धता छ ।
प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ जना उपसचिव (सूची)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । सोमबार उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ । खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।
संविधान संशोधनको गृहकार्य सुरु, असिम शाहको नेतृत्वमा कार्यदल बन्ने
काठमाडौं । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुरूप संविधान संशोधनका लागि बहसपत्र तयार गर्न लागिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक सल्लाहकारमा असिम शाहको संयोजकमा कार्यदल बन्ने भएको हो । उनी प्रतिनिधि सभाका पूर्वसांसद समेत हुन् । प्रवक्ता पोखरलेलले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने पनि उल्लेख गरे। उनले भने, ‘राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ । राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुन्छ ।’
अर्थमन्त्री वाग्लेले गरे भन्सार विभागको अनुगमन, इमानदारीपूर्वक राजश्व संकलनमा लाग्न निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन गर्दै विभागको वस्तुगत स्थितिबारे ब्रिफिङ लिएका छन् । सो क्रममा विभागका कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको राजश्वको लक्ष्य प्राप्तिमा पूर्ण इमानदारीका साथ लाग्न निर्देशन दिए । मन्त्री वाग्लेले कर्मचारीहरूले पारदर्शी र जिम्मेवार भएर काम गरेमा मन्त्रालयले उनीहरूको वृत्तिविकास र मनोबल उच्च बनाउन विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउन सक्ने आश्वासन समेत दिए । राजश्व प्रशासनमा हुने सानो ढिलासुस्तीले पनि समग्र अर्थतन्त्रमा असर पर्ने भन्दै उनले कार्यसम्पादनमा कुनै सम्झौता नगर्न आग्रह गरे । अनुगमनका क्रममा मन्त्री वाग्लेले विभागमा रहेको भन्सार प्रयोगशाला (ल्याब) को समेत निरीक्षण गरेका थिए । सो अवसरमा उनले आयात-निर्यात हुने वस्तुहरूको वैज्ञानिक परीक्षण र गुणस्तर मापनलाई थप आधुनिक र विश्वसनीय बनाउन निर्देशनसमेत दिए ।
मुग्लिन-नागढुंगा सडक तीन दिन बन्द
काठमाडौं । राजधानी भित्रिने मुख्य प्रवेश मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि लगातार तीन दिनसम्म राति बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन चैत १७ गतेदेखि लागू हुने गरी प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले अत्यन्त जरूरी सूचना जारी गर्दै यात्रु तथा सवारी चालकलाई पूर्व तयारी गर्न आग्रह गरेको छ । प्रशासनका अनुसार सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभिर लगायत विभिन्न संवेदनशील स्थानमा निर्माण कार्य भइरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माका अनुसार पटक–पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले भोग्दै आएको असुविधालाई व्यवस्थित गर्न समय निर्धारण गरेर पूर्ण बन्द गर्ने नीति अपनाइएको हो । ‘अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ,’ उनले भने । प्रशासनले यात्रुहरूलाई वैकल्पिक समय मिलाएर यात्रा गर्न र सम्भव भएसम्म रातिको यात्रा टार्न आग्रह गरेको छ ।