विकासन्युज

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री बालेन

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सन्तुलित र समावेशी बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूसँगको छलफलमा उनले विशेषगरी कर्णालीलाई न्यायोचित सम्बोधन गरिने स्पष्ट पारे । ‘कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सल्यान क्षेत्र नं. १ का सांसद रमेश मल्लले जानकारी दिए । छलफलका क्रममा प्रधानमन्त्रीले सरकार यस वर्ष शासकीय सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने संकेत पनि गरेका छन् । सांसद मल्लका अनुसार बैठक मुख्यतः आगामी बजेट निर्माणमा केन्द्रित रहेको थियो । कर्णालीका सांसदहरूले भने आफ्नो प्रदेशलाई पहिलो प्राथमिकतामा राख्न माग गर्दै भौतिक पूर्वाधार, शासकीय सुधार र आधारभूत सेवामा लगानी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । छलफलमा जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली-भेरी-राप्ती सडक करिडोर, मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्ग, लुम्बिनी-रारा सडकजस्ता ठूला पूर्वाधार आयोजना प्राथमिकतामा राख्नुपर्ने विषय उठाइएको थियो । यससँगै स्वास्थ्य बीमा, मातृ-शिशु पोषण, दैलेखको पेट्रोलियम सम्भाव्यता अध्ययन, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन तथा सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन र शिक्षा क्षेत्रलाई बजेटमार्फत सुदृढ गर्नुपर्ने मागसमेत अघि सारिएको थियो । उक्त छलफलमा नेकपा, एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको थियो । 

लाइनको झन्झट हटाउँदै ‘इपिए’ सुधार अभियानमा लागे श्रममन्त्री साह

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले भैंसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए) को आकस्मिक निरीक्षण गर्दै सेवाग्राहीमैत्री सुधारका लागि निर्देशन दिएका छन् । निरीक्षणका क्रममा मन्त्री साहले श्रमिकहरू घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै तत्काल टोकन प्रणाली लागू गर्न निर्देशन दिए । उनले सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था मजबुत पार्न, आवतजावतका बाटा सुधार गर्न र समग्र व्यवस्थापन चुस्त बनाउन कर्मचारीलाई सचेत गराए । ‘सेवाग्राहीलाई सेवा सहज र छिटो कसरी दिने भन्नेमा विशेष ध्यान दिनुपर्छ,’ मन्त्री साहले भने, ‘अनावश्यक लाइन बस्नुपर्ने झन्झट अन्त्य गरी टोकन प्रणालीमार्फत सेवा सरल बनाउन आवश्यक छ ।’ वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अझ प्रभावकारी बनाउनेतर्फ पनि मन्त्रालय गम्भीर रहेको उनले बताए । श्रमिकको हितलाई केन्द्रमा राखेर सेवा सुधार अभियानलाई तीव्र बनाइने मन्त्री साहको प्रतिबद्धता छ ।

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ जना उपसचिव (सूची)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।  सोमबार उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ ।  खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।

संविधान संशोधनको गृहकार्य सुरु, असिम शाहको नेतृत्वमा कार्यदल बन्ने

काठमाडौं । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  उनका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुरूप संविधान संशोधनका लागि बहसपत्र तयार गर्न लागिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक सल्लाहकारमा असिम शाहको संयोजकमा कार्यदल बन्ने भएको हो । उनी प्रतिनिधि सभाका पूर्वसांसद समेत हुन् । प्रवक्ता पोखरलेलले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने पनि उल्लेख गरे।  उनले भने, ‘राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ । राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुन्छ ।’

अर्थमन्त्री वाग्लेले गरे भन्सार विभागको अनुगमन, इमानदारीपूर्वक राजश्व संकलनमा लाग्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन गर्दै विभागको वस्तुगत स्थितिबारे ब्रिफिङ लिएका छन् । सो क्रममा विभागका कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको राजश्वको लक्ष्य प्राप्तिमा पूर्ण इमानदारीका साथ लाग्न निर्देशन दिए । मन्त्री वाग्लेले कर्मचारीहरूले पारदर्शी र जिम्मेवार भएर काम गरेमा मन्त्रालयले उनीहरूको वृत्तिविकास र मनोबल उच्च बनाउन विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउन सक्ने आश्वासन समेत दिए । राजश्व प्रशासनमा हुने सानो ढिलासुस्तीले पनि समग्र अर्थतन्त्रमा असर पर्ने भन्दै उनले कार्यसम्पादनमा कुनै सम्झौता नगर्न आग्रह गरे । अनुगमनका क्रममा मन्त्री वाग्लेले विभागमा रहेको भन्सार प्रयोगशाला (ल्याब) को समेत निरीक्षण गरेका थिए ।  सो अवसरमा उनले आयात-निर्यात हुने वस्तुहरूको वैज्ञानिक परीक्षण र गुणस्तर मापनलाई थप आधुनिक र विश्वसनीय बनाउन निर्देशनसमेत दिए ।

मुग्लिन-नागढुंगा सडक तीन दिन बन्द

काठमाडौं । राजधानी भित्रिने मुख्य प्रवेश मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि लगातार तीन दिनसम्म राति बन्द हुने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन चैत १७ गतेदेखि लागू हुने गरी प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइने जनाइएको छ ।  जिल्ला प्रशासन कार्यालय, चितवनले अत्यन्त जरूरी सूचना जारी गर्दै यात्रु तथा सवारी चालकलाई पूर्व तयारी गर्न आग्रह गरेको छ । प्रशासनका अनुसार सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभिर लगायत विभिन्न संवेदनशील स्थानमा निर्माण कार्य भइरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माका अनुसार पटक–पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले भोग्दै आएको असुविधालाई व्यवस्थित गर्न समय निर्धारण गरेर पूर्ण बन्द गर्ने नीति अपनाइएको हो । ‘अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ,’ उनले भने ।  प्रशासनले यात्रुहरूलाई वैकल्पिक समय मिलाएर यात्रा गर्न र सम्भव भएसम्म रातिको यात्रा टार्न आग्रह गरेको छ । 

रेखा शर्मालाई ३ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश नवराज दुलालले इजलासले शर्मालाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । शर्मा गएराति धुम्बाराहीबाट पक्राउ परेकी हुन् । उनी बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी हुन् । १४ वर्षीया नाबालिकालाई घरमै ६ वर्षदेखि शोषण गरेको शर्मामाथि आरोप छ । उनी दलित कोटाबाट लुम्बिनी प्रदेशसभामा एमालेकी समानुपातिक सांसद हुन् । दाङ तुलसीपुर निवासी शर्मा प्राय: काठमाडौं धुम्बाराहीस्थित उघरमा बस्दै आएकी थिइन्  आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।

एनआईसी एशिया बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसरमा लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक, सरोकारवाला तथा आम नेपालीमा नयाँ आशा, भरोसा र उत्साह थपोस् भन्ने शुभेच्छासहित बैंकले नेपाली लोक बाजा संग्रहालयको सहयोगमा उक्त क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ । बैंकका अनुसार देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका लोकप्रिय एवं लोपोन्मुख लोक बाजा र तिनका बजाउने शैली झल्किने तस्बिरहरू समेटेर भित्ते तथा टेबल क्यालेन्डर तयार गरिएको हो । उक्त क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । नेपालका विविध समुदायमा प्रचलित लोक तथा सांस्कृतिक बाजा हाम्रो संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण प्रतीक हुनुका साथै अमूल्य सांस्कृतिक सम्पदा भएकाले यस पहलले तिनको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । क्यालेन्डरमा नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चाङ्ग तिथिसमेत समावेश गरिएको छ । ग्राहक तथा सरोकारवालाले बैंकको वेबसाइटमार्फत भित्ते र टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।