बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छः स्वास्थ्य बीमा बोर्ड
काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभाव पूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएको प्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ । अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।
उदार अर्थतन्त्रलाई प्रोत्साहन हुन्छ, नियमन पनि कडाइका साथ गर्छाैं : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको भेटमा उनले वर्तमान सरकारलाई बलियो जनसमर्थन प्राप्त भएको उल्लेख गर्दै अबको समयलाई आर्थिक समृद्धितर्फ केन्द्रित गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता हासिल भइसकेको भन्दै अब आर्थिक गतिविधि विस्तारमा जोड दिनुपर्ने धारणा राखे । ‘हामी यो महत्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ उनले भने । अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री नीति ल्याउन प्रतिबद्ध रहेको जनाउँदै पदभार सम्हालेको पहिलो दिनमै १५ वटा कानुन खारेज गरेर उदार सन्देश दिएको उल्लेख गरे । उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गरिने तर नियमन भने कडाइका साथ गरिने स्पष्ट पारे । ‘निजी क्षेत्रका साथीहरू इमान्दारीपूर्वक उद्योग र व्यापार गर्नुस्, हामी दिल खोलेर सहयोग गर्छौं,’ उनले भने । त्यसैगरी, उनले नमूना औद्योगिक पार्क स्थापना गर्ने योजना अगाडि बढाइने जानकारी दिँदै ठूलो तथा बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याउन निजी क्षेत्रलाई सक्रिय भूमिका खेल्न आग्रह गरे । सरकारले स्वदेशी तथा विदेशी लगानीको सुरक्षा र सहजीकरणमा पूर्ण सहयोग गर्ने उनले बताए । अर्थमन्त्री वाग्लेले विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्न निजी क्षेत्रलाई अग्रसर हुन आग्रह गर्दै लगानी विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि सम्भव हुने उल्लेख गरे ।
श्रीलङ्कामा विद्युतको मूल्य ४० प्रतिशतले वृद्धि
काठमाडौं । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थप वृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, ‘हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि व्याप्त मूल्यको आधारमा गरिएको थियो ।’ अधिकांश मध्यम वर्गीय उपभोक्ताहरूको लागि, एक किलोवाट बिजुलीको प्रतिघण्टा लागत ८४ रूपैयाँ अर्थात् ०.२८ अमेरिकी डलर हुनेछ । यो मूल्य समायोजनका कारण सबैभन्दा कम विद्युत उपभोग गर्ने उपभोक्ताले एक किलोवाट बिजुलीको प्रतिघण्टाको लागत ६१ रूपैयाबाट ३९.३४ प्रतिशत वृद्धि भई ८४ रूपैँया हुनेछ । यसैगरी, महिनामा ३० किलोवाट प्रतिघण्टा भन्दा कम प्रयोग गर्ने उपभौक्ताका लागि ११.११ प्रतिशतले मूल्य वुद्धि हुनेछ । श्रीलङ्काले यस महिनामा ३ पटक इन्धनको मूल्य बढाइएको र यो एक तिहाइभन्दा बढीले बढेको छ । देशले ऊर्जा सङ्कट हुन नदिन इन्धनको बचत गर्नका लागि हप्तामा तीन दिन सार्वजनिक विदा तोकेको छ । सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म घरबाट काम गर्ने व्यवस्था पुनः लागू गर्न भनेको छ । गत महिनाको अन्त्यमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि शान्तिकालमा विश्वव्यापी कच्चा तेल र ग्यास निर्यातको २० प्रतिशत हिस्सा ओहोरदोहोर गर्ने प्रमुख जलमार्ग हर्मुज घाँटी भएर ओहोर-दोहोर गर्ने जहाजहरूलाई इरानले प्रभावकारी रूपमा बन्द गरेको छ। श्रीलङ्काले आफ्नो सबै तेल आयात गर्छ र बिजुली उत्पादनका लागि कोइला पनि खरिद गर्छ । उसले भारत, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियाबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्छ भने इरानमा निर्मित श्रीलङ्काली प्रशोधन केन्द्रका लागि कच्चा तेल मध्यपूर्वबाट आयात हुने गरेको छ । मध्यपूर्वमा लडाइँ र कुनै पनि लामो युद्धले सन् २०२२ को आर्थिक मन्दीबाट बाहिर निस्कने उसको प्रयासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने सरकारले बताएको छ। यसबाट बच्न सरकारले मितव्ययी कार्यक्रमहरूको घोषणा गरेको हो । श्रीलङ्कामा विदेशी मुद्रा सकिएपछि सन् २०२२ मा ४६ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसकेपछि त्यसयता कोलम्बोले आइएमएफको २.९ अर्ब डलरको ससर्त कर्जा सहयोग प्राप्त गरेको छ ।
हायर बन्यो विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइज
काठमाडौं । विश्व स्मार्ट होम प्रविधिको बजारमा हायरले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था युरोमनिटर इन्टरनेश्नलले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांक अनुसार हायर विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइजको रूपमा स्थापित भएको हो । कम्पनीको स्मार्ट होम तर्फको विश्वव्यापी आम्दानी र बजारमा उपलब्ध कम्पनीका स्मार्ट उपकरणका आधारमा यो र्याङ्क प्रदान गरिएको अनुसन्धान संस्थाले जनाएको छ । कम्पनीले स्मार्ट होम्सतर्फ स्मार्ट उपकरण, स्मार्ट सुरक्षा प्रणाली, स्मार्ट लाइटिङ र ऊर्जा व्यवस्थापन जस्ता व्यापक क्षेत्रमा आफूलाई विस्तार गरेको छ । जसले कम्पनीलाई घरेलु उपकरण निर्माता कम्पनीमा मात्रै सीमित नभई ‘स्मार्ट लिभिङ’ क्षेत्रको अग्रणी कम्पनीका रूपमा रूपान्तरित भएको देखाउँछ । कम्पनीले एआईलाई आफ्ना सबै उपकरणमा समावेश गर्दै करिब ७० भन्दा बढी स्मार्ट उपकरण निर्माण गरेको छ । जुन घरका भान्सा कोठा, सुत्ने कोठा र बैठक रुम, बाथरुममा प्रयोग हुन्छन् । यी सबै उपकरण एउटै सफ्टवेयर प्लेटफर्ममा जोडिने हुँदा एकअर्कासँग सहज रूपमा कम्युनिकेट गर्दै प्रयोगकर्ताको दैनिकीलाई थप सहज बनाउने छ । कम्पनीको हाल विश्वभर १३ करोडभन्दा बढी प्रयोगकर्ता छन्, त्यसमध्ये लाखौं प्रयोगकर्ताले स्मार्ट होम प्लेटफर्ममार्फत आफ्नो दैनिक कामकाजलाई व्यवस्थापन गरिरहेका छन् । यसलाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले स्मार्ट एआईको नयाँ भर्सन २.० सार्वजनिक गरेको छ, जसले उपकरणलाई प्रयोगकर्ताको आवश्यकता आफैं बुझि काम गर्न सक्ने बनाउँछ । उदाहरणका लागि, फ्रिजले भित्र रहेका सामग्री पहिचान गरी सोही अनुसारको चिस्यान व्यवस्थापन गर्न सक्छ । कम्पनीले हार्डवेयर, सफ्टवेयर र रोबोटिक्सलाई एउटै प्रणालीमा जोड्दै अझ उन्नत स्मार्ट होम प्रविधि विकास गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत कम्पनीले घरमा हुने काम रोबटले नै गर्ने गरि रोबोटसँग यी स्मार्ट उपकरणहरूलाई जोड्ने सिस्टम तयार गरिरहेको छ । जसले गर्दा सामान मिलाउनेदेखि सफाइ र हेरचाहसम्मका काम रोबटनले नै गर्नेछ । कम्पनीका अनुसार यस्तो प्रविधिले घरलाई ‘सुन्ने, देख्ने र सोच्ने’ क्षमतासहितको बनाउँदै प्रयोगकर्ताको जीवनलाई अझ सहज, स्मार्ट र आधुनिक बनाउन मद्दत गर्नेछ ।
एपोलो हाइड्रोले चैत २६ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, ९४ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँको ४ करोड ७० लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये ९४ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
काठमाडौं । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका(१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो-ओरालोमा दर्जनौं घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् । पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयबासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् । स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषि उपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार(व्यवसाय पनि विस्तार हुन थालेको छ । सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ । आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर-बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।
ब्लड बैंकका लागि मुरारका परिवारको ४० लाख सहयोग, डेढ करोडका उपकरण लायन्स क्लबले दिने
काठमाडौं । सिरहाको लहान नगरपालिकामा आधुनिक प्रमेश्वर-आत्माराम मुरारका ब्लड बैंक निर्माण हुने भएको छ । रगतको अभावमा बिरामीले भोग्नु परिरहेको सास्तीलाई दृष्टिगत गर्दै लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाताका परिवारबीच सोमबार त्रिपक्षीय समन्वयमा यो परियोजना अघि बढाइएको हो । ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौता भएको छ । यसका लागि लहान–१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको ३ कट्ठा जग्गा उपलब्ध गराउने सहमति भएको हो । भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले ४० लाख रुपैयाँ सहयोग गर्ने छ भने उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिनेछ । यसैगरी, लायन्स क्लबले ब्लड बैंकका लागि आवश्यक पर्ने १ करोड ५० लाख रुपैयाँ भन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरणहरू उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । नगरप्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापना यस क्षेत्रको स्वास्थ्य उपचारमा एउटा ठूलो उपलब्धि हुने बताए । ‘लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या थियो,’ उनले भने, ‘हाम्रो प्राथमिकता नागरिकको स्वास्थ्य हो र यो ब्लड बैंकको स्थापनाले आपतकालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई जरैदेखि समाधान गर्नेछ ।’ दाता पक्षका तर्फबाट मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवा गर्न पाउनु गौरवको विषय भएको बताए । उनका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडबाडी सेवा सदनजस्ता संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । ‘हाम्रो परिवारले शिक्षा र स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको ब्लड बैंक निर्माणपछि हामी अन्य सामाजिक क्षेत्रमा पनि सहयोग जारी राख्नेछौँ,’ मुरारकाले भने । यो केन्द्र सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्ला सप्तरी, धनुषा र उदयपुरका बिरामीले प्रत्यक्ष लाभ पाउनेछन् ।