देउवा प्रत्यक्षतर्फको हस्ताक्षर छोड्न लचक, कानुनी प्रावधान खोज्न सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको भेटमा केही लचकता देखाएका छन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणका क्रममा आफ्नो हस्ताक्षरको सट्टा वैकल्पिक व्यवस्था गर्न मिल्ने कानुनी प्रावधान भए त्यसअनुसार अघि बढ्न आफू तयार रहेको देउवाले बताए । महामन्त्री थापा समूहबाट राखिएको उक्त प्रस्तावमा देउवा सहमत देखिए पनि महामन्त्रीहरूले तत्काल निर्णय नगरेको देउवाका एक सहयोगीले जानकारी दिए । देउवालाई उद्धृत गर्दै ती सहयोगीले भने, ‘राष्ट्रिय सभामा र समानुपातिक सूचीमा आफ्नै हस्ताक्षरबाट उम्मेदवारी दर्ता भइसकेको छ। प्रत्यक्षतर्फको टिकट वितरणमा कानुनी अड्चन नआउने अवस्था भए अर्को साथीको हस्ताक्षर प्रयोग गर्न सभापति तयार हुनुहुन्छ ।’ सहयोगीका अनुसार देउवाले आफू १५औं महाधिवेशनको प्रत्याशी नभएको स्पष्ट गर्दै करिब दुई महिनापछि हुने महाधिवेशनसम्म पर्खिन महामन्त्रीहरूलाई सुझाव दिएका छन् । उनका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया पारदर्शी र कानुनी रूपमा वैध हुनुपर्ने भएकाले यस विषयमा निर्वाचन आयोग तथा कानुनका जानकारहरूसँग परामर्श गरेर स्पष्ट निष्कर्ष निकाल्न आवश्यक छ । ‘कानुनअनुसार मिल्ने हो भने प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर हुनमा म सहमत छु,’ देउवालाई उद्धृत गर्दै ती सहयोगीले भने ।
नेरुडे मिर्मिरे लघुवित्तका सीईओलाई कर्मचारीले कार्यालयमै थुने (भिडियोसहित)
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवबहादुर पौडेललाई कर्मचारीहरूले कार्यालयमै थुनेका छन् । संस्थाभित्रका कर्मचारी संगठनहरूले विभिन्न माग राख्दै धर्ना कार्यक्रमसहित चरणबद्ध आन्दोलन घोषणा गरेपछि सीईओ पौडेललाई कार्यालयमा थुनेका हुन् । नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटकबहादुर शाहका अनुसार तल्लो तहका कर्मचारी (कार्यालय सहयोगी)लाई अपमानजनक शब्द प्रयोग गरिएको, सेवा-सुविधा कटौती गरिएको तथा कर्मचारीको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सामाजिक सञ्जालसम्बन्धी अव्यवहारिक कार्यविधि लागू गरिएकाले कर्मचारीहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन् । शाहले न्यून लागतमा सञ्चालन भइरहेको सफ्टवेयर विस्थापन गरी संस्थालाई आर्थिक भार पर्ने गरी अपारदर्शी ढंगले नयाँ सफ्टवेयर सम्झौता गरिएको आरोप पनि लगाए । उनका अनुसार कर्मचारी प्रशासनमा वरिष्ठता र कार्यक्षमताको बेवास्ता गर्दै पक्षपातपूर्ण ढंगले जिम्मेवारी बाँडफाँड गरिएको छ। त्यस्तै, प्रतिवद्धता कार्यान्वयनमा आलटाल गरिएको, जनशक्ति विभाग प्रमुखको जिम्मेवारी हेरफेर गर्ने सहमति अहिलेसम्म कार्यान्वयन नभएको तथा विभिन्न समयमा बुझाइएका मागपत्रलाई पूर्ण रूपमा बेवास्ता गरिएको कारण कर्मचारीहरू आन्दोलित भएको अध्यक्ष शाहले बताए । सीईओ तथा उच्च तहका व्यवस्थापकहरूको व्यवहारबाट कर्मचारीहरू त्रसित र अपमानित महसुस भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरी आन्दोलन अघि बढाइएको उनको भनाइ छ । कर्मचारी संगठनले संस्थाभित्रको भेदभाव तत्काल अन्त्य गर्नुपर्ने माग गर्दै विवादित सीईओ र मानव संसाधन (एचआर) प्रमुखको राजीनामासमेत माग गरेका छन् ।
सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, सुन तोलाको २ लाख ७८ हजार रुपैयाँ
काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम भएको रेकर्डलाई तोड्दै बुधबार सुनको मूल्यले नयाँ उच्चता छोएको हो । त्यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा ३ सय १५ रुपैयाँले बढ्दै नयाँ रेकर्डमा पुगेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो । अघिल्लो रेकर्डलाई तोड्दै चाँदीको मूल्यले पनि बुधबार नयाँ उच्च बिन्दु कायम गरेको हो ।
विश्वव्यापी ईभी बजारमा मन्दीको संकेत
काठमाडौं । विश्वव्यापी रूपमा विद्युतीय सवारी (ईभी) को दर्ता गत वर्ष २० प्रतिशतले बढेको भए पनि २०२६ मा यसको वृद्धिदर सुस्तिने सम्भावना देखिएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार चीनमा आएको मन्दी र विश्वभर विद्युतीकरण लक्ष्यहरू खुकुलो बनाइँदा डिसेम्बरमा बिक्री वृद्धिदर फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम भएको हो । ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिडसमेतका ईभीको मासिक दर्ता संख्या उत्तर अमेरिकामा अझै घटेको छ । अमेरिकामा ईभी कर छुट (ट्याक्स क्रेडिट) योजना अक्टोबरमा समाप्त भएपछि यस्तो गिरावट आएको परामर्शदाता संस्था बेन्चमार्क मिनरल इन्टेलिजेन्स (बीएमआई) ले जनाएको छ। बीएमआईका डेटा म्यानेजर चार्ल्स लेस्टरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विद्युतीकरण नीतिमा यू–टर्न र युरोपेली संघमा उत्सर्जन मापदण्ड खुकुलो पारिनुजस्ता आमूल नीतिगत परिवर्तनले २०२५ मा विश्व ईभी बजारलाई ‘झण्डै पहिचानै नहुने’ अवस्थासम्म हल्लाइदिएको छ । युरोपमा बढ्दो प्रतिस्पर्धा र चीनमा चिसिँदो मागका कारण सीओटू उत्सर्जन घटाउन विद्युतीकरण आवश्यक ठान्ने पक्ष र छिटो रूपान्तरणले रोजगारी र नाफामा खतरा ल्याउँछ भन्ने कार निर्माता कम्पनीहरूबीचको बहस अझ चर्किने सम्भावना छ । बिक्रीको सूचक मानिने विश्वव्यापी ईभी दर्ता संख्या डिसेम्बरमा ६ प्रतिशतले बढेर झण्डै २१ लाख पुगेको छ । सन् २०२५ मा कुल २ करोड ७ लाख ईभी दर्ता भएका छन् । चीनमा दर्ता संख्या २ प्रतिशतले बढेर १३ लाखभन्दा बढी पुगेको छ, जुन फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम वार्षिक वृद्धिदर हो । यसले २०२५ मा कुल १२.९ मिलियन एकाइ पुग्दै १७ प्रतिशत वृद्धि देखाएको छ । विश्वभर बिक्री भएका ईभीमध्ये ७१ प्रतिशत चीनमै उत्पादन भएका हुन् । उत्तर अमेरिकामा अमेरिकी कर छुट अन्त्यसँगै अक्टोबर र नोभेम्बरजस्तै डिसेम्बरमा पनि गिरावट देखिँदै दर्ता संख्या ३९ प्रतिशतले घटेर करिब १ लाखमा सीमित भएको छ । समग्र २०२५ मा यो क्षेत्र ४ प्रतिशतले घटेको छ । युरोपमा डिसेम्बरमा ३४ प्रतिशतले बढेर ४.५ लाखभन्दा बढी दर्ता भएको छ भने वर्षभर ३३ प्रतिशत वृद्धि भएको छ । विश्वका अन्य क्षेत्रहरूमा डिसेम्बरमा ४१ प्रतिशतले बढेर १.६ लाखभन्दा बढी र २०२५ मा ४८ प्रतिशत वृद्धि भएको छ । बीएमआईका अनुसार यस वर्ष विश्वभर २ करोड ३९ लाख ईभी बिक्री हुने अपेक्षा छ, जुन १५.७ प्रतिशत वृद्धि हो । चीनमा वृद्धिदर तीव्र भएर २१ प्रतिशत पुग्ने, तर युरोप र विश्वका अन्य क्षेत्रमा क्रमशः १५ र २६ प्रतिशतमा सुस्तिने अनुमान गरिएको छ । अमेरिकामा २९ प्रतिशतको ठूलो गिरावटका कारण उत्तर अमेरिकामा कुल बिक्री २३ प्रतिशतले घट्ने पूर्वानुमान गरिएको छ ।
यसरी भयाे एसबिआई बैंकको शाखामाथि लुटपाट
काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंकका कर्मचारी मंगलबार साँझ घर हिँडिसकेका थिए । बैंकमै बस्ने तीन जना कर्मचारी खाना खान हिँडेका थिए । बैंकका सुरक्षा गार्ड रुद्र कार्की बैंकको सुरक्षासँगै खाना पनि पकाउँदै थिए । साढे ६:३० बजेको समयमा ६ जनाको समूह बैंकमा प्रवेश गर्यो । त्यो समूहले सुरुमै सुरक्षा गार्ड रुद्र कार्कीलाई प्रहार गर्यो । उनको हातमा ठूलो चोट लाग्यो । उनी घाइते भए । त्यसपछि उनीहरूको टार्गेटमा कर्मचारीहरू परे । त्यो समूहले बैंकमा रहेका कर्मचारीको हात बाँधे । कर्मचारीहरू प्रतिवाद गर्न नसक्ने अवस्थामा पुगे । लुटेराहरूले धमाधम बैंकको नगद बोरामा राखे । बैंकका सुरक्षा गार्ड कार्कीले आफू भान्सामा खाना पकाइरहेको बेला आएर आक्रमण गरेको जानकारी दिए । उनका अनुसार उनी भान्सामा खाना पकाइरहेका थिए भने बैंकका तीन जना कर्मचारी खाना खान गएका थिए । ‘म भान्सामा खाना पकाइरहेको थिएँ । अचानक ६ जनाको समूह आयो, चार जनाले खुकुरी देखाए भने दुई जनाले पेस्तोल देखाए । मलाई खुकुरीले पनि प्रहार गरे, हात बानेर राखे । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर ढोका खोलेपछि हामी बाहिर आएका हौं । मुखुण्डो लगाएर आएका थिए । मान्छे पहिचान नै गर्न सकेनौं,’ कार्कीले भने । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार सुरक्षा गार्ड र कर्मचारीमाथि कुटपिट गरेपछि लुटेराहरूले स्वतन्त्र रूपले बैंक लुट्न पाए । लुटेराहरूले बैंकमा भएको नगद बोरामा लगेर जंगलतर्फ लागेको उनले जानकारी दिए । सुवेदीका अनुसार लुटपाट लगत्तै इलाका प्रहरी कार्यालय, बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । मंगलबार राति नै प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी गर्दा एक करोड ८० लाख रुपैयाँ नगद फेला परेको उनले जानकारी दिए । अहिले चार जना लुटेरा पनि पक्राउ भइसकेको सुवेदीले जानकारी दिए । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए । घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो । बैंकले भने ३ करोड बढी रुपैयाँ लुटपाट भएको जानकारी दिएको छ । १० वर्षअघि पनि रौतहटको चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकको शाखामा पनि लुटेराहरूले गोली चलाएर लुटपाट गरेका थिए ।
माघे संक्रान्तिका लागि चाकु बेच्ने र किन्नेको भीड, बजारमा चहलपहल (फोटोफिचर)
काठमाडौं । नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्त ऋतुको आगमनको सङ्केत मानिन्छ । यो पर्वमा चाकुको विशेष महत्व छ । उखुको रसलाई लामो समयसम्म उमालेर घिउ हालेर तयार पारिने यो मीठाइले शरीरलाई न्यानो राख्ने र स्वस्थ्यवर्द्धक मानिन्छ । विश्वासअनुसार माघे संक्रान्तिमा चाकु खाँदा रोगव्याधि भाग्छ र नयाँ वर्षमा शुभ हुन्छ । परम्परागत रूपमा यो दिन चाकुको साथमा तिलको लड्डु, घिउ, तरुल, सखरखण्ड र खिचडी खाने चलन छ । घरका महिला दिदीबहिनीहरू बिहानै उठेर चाकु बनाउँछन् भने बजारमा पनि चाकुको ठूलो व्यापार हुन्छ । यो पर्वमा चर्खा घुमाउँदै ऊन कातेर चाकु खाने पुरानो परम्परा अझै कायम छ । यो कामले शरीरलाई न्यानो राख्छ र चाकुको मीठासले मनलाई आनन्द दिन्छ भन्ने जनविश्वास छ । तराईको थारू समुदायमा यो पर्व माघीका रूपमा नयाँ वर्षको रूपमा धुमधामसँग मनाइन्छ । नयाँ अन्न, माछामासु र विशेष गरी चाकु तथा तिलका परिकारहरूले माघीको भोज भव्य बन्छ । यसरी माघे संक्रान्तिले नेपाली समाजको विविधता र एकताको मीठो सन्देश बोकेर आउँछ । चाकु केवल एउटा मीठाइ होइन, यो हाम्रो संस्कृति, स्वास्थ्य र मौसम परिवर्तनसँग जोडिएको परम्पराको प्रतीक हो । तस्बिरहरु:
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
चितवनमा ८औँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो माघ २ गतेदेखि सुरु
काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘८औँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको आयोजनामा एक्स्पो माघ २ देखि ४ गतेसम्म चितवन एक्स्पो सेन्टर, भरतपुरमा सञ्चालन हुनेछ । आयोजकका अनुसार एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ–बिजन, मल, कीटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहनेछ । एक्स्पोले किसान तथा व्यवसायीलाई एउटै स्थानमा आधुनिक कृषि प्रविधिको अवलोकन र प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । यो प्रदर्शनी केवल उत्पादन प्रदर्शनमा सीमित नरही कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यवसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रूपमा रहने बताइएको छ । विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि एक्स्पो उपयोगी हुने अपेक्षा गरिएको छ । एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।