प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप उचो बनाएको बताएका छन् ।

बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय वृत्तमा व्यापक चासो र सकारात्मक चर्चा पाएको दाबी गरे ।

परराष्ट्रमन्त्री खनालका अनुसार प्रधानमन्त्रीको सम्बोधन यस वर्षको संयुक्त राष्ट्रसंघीय महासभामा सबैभन्दा बढी हेरिएको र चासो लिइएको भिडियोमध्ये एक बनेको छ । राजनीतिक परिवर्तनपछिको नयाँ परिस्थितिमा युवा प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व कसरी गर्छन् भन्ने चासो नेपाल र अन्तर्राष्ट्रिय समुदाय दुवैमा रहेकाले यसपटकको सहभागिता विशेष रहेको उनले उल्लेख गरे ।

नेपालको कूटनीतिक सक्रियताका लागि यो महासभा एक महत्वपूर्ण अवसर बनेको मन्त्री खनालको भनाइ छ । प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको मुद्दालाई स्पष्ट र सशक्त रूपमा राख्न सफल भएको र यसले देशको कूटनीतिक छविलाई थप बलियो बनाएको सरकारको ठहर छ ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधनअघि नै नेपालले राजनीतिक परिवर्तनपछि विश्व मञ्चमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरमा विशेष चासो थियो । प्रधानमन्त्रीज्यूको सम्बोधनपछि विश्वभरका सञ्चारमाध्यममा त्यसले उल्लेख्य स्थान पाएको र संयुक्त राष्ट्रसंघका यस वर्षका सर्वाधिक हेरिएका सम्बोधनमध्ये एक बनेको देखिन्छ ।’

महासभाको साइडलाइनमा भएका विभिन्न छलफलमा नेपालले उठाएको जलवायु वित्त र न्यायको मुद्दाले निकै महत्त्व पाएको उनको भनाइ छ ।

महासभामा सहभागी भई फर्किने क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको कूटनीतिले क्षेत्रीय र वैश्विक स्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढ्नु र आकस्मिक विपद्का घटना निम्तिनुलाई नेपालले आफ्नो राष्ट्रिय सुरक्षा र विकासको मुख्य चुनौतीका रूपमा विश्व मञ्चमा राख्दै आएको छ ।

Share News