फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् । नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् । आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ । आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।
यातायातविज्ञ आशीष गजुरेललाई रास्वपाले सिन्धुली–२ बाट उठायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ आशीष गजुरेललाई उम्मेदवार बनाएको छ । यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । रास्वपाबाट उम्मेदवार बनेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । गजुरेलले उम्मेदवारीबारे बोल्दै बाहिर बसेर सामाजिक सञ्जालमा वा मिडियामा आवाज उठाएर मात्र यातायात क्षेत्रमा ठोस सुधार नआउने निष्कर्षमा पुगेपछि आफै राजनीतिमा आएको बताए । ‘बाहिरबाट कराएर भएन, भित्रबाटै गएर सुधारमा लाग्नुपर्यो भन्ने सोचले अघि बढेको हुँ,’ उनले भने, ‘यो क्षेत्रलाई गाइड गर्ने भनेको नीतिले हो र नीतिलाई गाइड गर्ने राजनीतिले हो।’ यातायात पूर्वाधारलाई आफ्नो मुख्य विज्ञता र पढेको क्षेत्र बताउँदै उनले यसको दिगो विकासका लागि राजनीति नै निर्णायक हुने बताए । उनले भने, ‘आफ्नो पेशागत कर्मलाई विश्राम दिएको होइन, बरु त्यही कर्मलाई सार्थक बनाउन राजनीतिको मैदानमा आएको हुँ । मेरो मुख्य एजेन्डा नै नितान्त यातायात क्षेत्रको सुधार हो ।’ गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् । नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियन्ताका रूपमा चिनिन्छ । सिन्धुली–२ गजुरेलको गृहक्षेत्र समेत भएकाले स्थानीय समस्या, सम्भावना र आवश्यकताबारे उनी राम्रो जानकार छन् । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, प्रधानमन्त्रीले के भनिन् ?
काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार साँझ राजीनामा दिएका हुन् । प्रधानमन्त्री कार्कीले उनलाई अहिलेसम्मको योगदान र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् । सरकारका प्रवक्ता समेत रहेका खरेलले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिन लागेको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर–२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । त्यसैले पनि रास्वपाले सो क्षेत्रमा कसैलाई पनि टिकट दिएको छैन । आइतबार साँझ मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा लागिसकेका छन् ।
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
काठमाडौं । अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत जनसङ्ख्या भन्दा बढी रहेको छ, जसले करिब ११ लाख मानिसको जीवनभरको खर्च बराबर हुने देखाइएको अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्यामको प्रतिवेदनले जनाएको छ । त्यहीबीच, साधारण नागरिक दैनिक जीवनको खर्च, घर भाडा र महँगाईको समस्यासँग जुधिरहेका छन् । अष्ट्रेलियामा करिब तीन लाख ७० हजार मानिस गरिबीको सिमानामा रहेका छन्, जसमा १५ वर्षमुनिका करिब ७५ हजार बालबालिकापनि पर्छन् । प्रतिवेदनले हरेक तीनमध्ये एक घरपरिवारले विगत वर्ष खाना सङ्कटको सामना गरेको देखाएको छ । यस प्रतिवेदनले देशमा आम्दानी असमानता बढिरहेको र साधारण जनताको जीवनयापन चुनौतीपूर्ण भइरहेको तथ्यलाई स्पष्ट गरेको छ ।
मधेश पुगेर रास्वपाको उद्घोष : करोड पर्यटक उतार्नेदेखि मधेशको छोरा प्रधानमन्त्री बनाउनेसम्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको परिवर्तन उद्घोष सभा मार्फत मधेश केन्द्रित राजनीतिक रणनीति सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित सभामा पार्टीका शीर्ष नेताहरूले पूरानो राजनीतिक संरचनाप्रति तीव्र आलोचना गर्दै आफूहरूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरेका छन् । जनकपुरधाम–४ स्थित तिरहुतिया गाछीमा सम्पन्न सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन लगायत शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामा हजारौं समर्थक तथा कार्यकर्ताको सहभागिता रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सभालाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले पुरानो राजनीतिप्रति प्रश्न र नयाँ विकल्पको दाबी गरेका छन् । सभापति लामिछानेले मधेशको माटोबाट परिवर्तनको आवाज उठाउन जनकपुरधाम रोजिएको उल्लेख गर्दै मुलुकको राजनीतिमा दोहोरिँदै आएको असफल अभ्यासको अन्त्य आवश्यक भएको बताए । उनले भने, ‘देशले वर्षौसम्म उही अनुहार र उही शैलीको राजनीति भोगिसक्यो । अब परिणाम दिने राजनीति चाहिएको छ, नारा मात्रै होइन ।’ लामिछानेले रास्वपाले जात, क्षेत्र वा समूहभन्दा माथि उठेर सुशासन, जवाफदेहिता र अवसरको समान पहुँचलाई मूल एजेन्डा बनाएको दाबी गरे । मधेशका समस्या राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै उनले अब मधेशलाई केवल चुनावी भाषणको विषय होइन, नीति निर्माणको केन्द्रमा राखिने बताए । उनले मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाउन मधेशको ठूलो सहयोगको अपेक्षा रहने विश्वास व्यक्त गरे । सभामा पार्टीको तर्फबाट प्रस्तावित प्रधानमन्त्रीका उमेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले संयम, सुशासन र कार्यमुखी राजनीतिमा जोड दिए । सभालाई सम्बोधन गर्दै शाहले समर्थकहरूलाई संयमित रहन आग्रह गर्दै भावनाभन्दा परिणाममुखी राजनीतिमा लाग्न आह्वान गरे । उनले भाषणभन्दा पनि काममा जोड दिने गरेको व्यवहार प्रस्तुत गरे । काठमाडौं महानगरपालिकाको अनुभव सुनाउँदै बालेनले स्थानीय तहमा देखिएको सुशासनको अभ्यास अब संघीय राजनीतिमा पनि सम्भव रहेको दाबी गरे । उनले मधेशका युवालाई राजनीति हेर्ने होइन, बदल्ने भूमिकामा आउन समेत आग्रह गरे । यस्तै, उनले अहिले देशमै १० लाख पर्यटक आउने गरेको उदाहरण दिँदै अब जनकपुरमै वार्षिक एक करोड पर्यटक आउने वातावरण सिर्जना हुने धारणा राखे । रास्वपाले यस सभालाई मधेश प्रदेशमा पार्टी संगठन विस्तारको औपचारिक सुरुवातको रूपमा लिएको छ । पार्टी नेताहरूका अनुसार जनकपुरधाममा भएको सभा केवल शक्ति प्रदर्शन नभई स्थानीय तहसम्म संगठन निर्माण, सदस्यता विस्तार र आगामी निर्वाचनको आधार तयार गर्ने उद्देश्यसहित आयोजना गरिएको हो । सभामा उपसभापति डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेतृ सोबिता गौतम लगायत अन्य नेताहरूले पनि सम्बोधन गर्दै मधेशका आर्थिक, सामाजिक र प्रशासनिक समस्या समाधानमा रास्वपाको भूमिका रहने बताएका थिए । धनुषाबाट पार्टीको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका झाले परम्परागत दलहरूको बलियो पकड रहेको मधेश क्षेत्रमा रास्वपाको यो सभा आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण मानिएको बताए । झाका अनुसार जनकपुरधामबाट परिवर्तनको उद्घोष गर्नु पार्टीको रणनीतिक कदम हो । उनले आफू पनि उम्मेद्वार रहेकोले मधेशमा रंगशाला निर्माण, जनकपुर धामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने तथा मधेशको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता गरे । रास्वपाले आगामी दिनमा मधेशका अन्य जिल्लामा पनि यस्तै कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ।
सञ्चारमन्त्री खरेल पनि राजीनामा दिँदै, रास्वपाबाट चुनाव लड्ने
काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । सरकारका प्रवक्ता समेत रहेका उनले पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिन लागेका हुन् । उनले सोमबार साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिन लागेका हुन् । फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि उनले राजीनामा दिन लागेको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर-२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । त्यसैले पनि रास्वपाले सो क्षेत्रमा कसैलाई पनि टिकट दिएको छैन । आइतबार साँझ मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा लागिसकेका छन् ।
शाओमीले सार्वजनिक गर्यो रेड्मी नोट १५ सिरिज, ४ मोडेलसहित फ्ल्यागशिप फिचर
काठमाडौं । शाओमीले नेपालमा नयाँ स्मार्टफोन श्रृंखला रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी गरी चार मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न आवश्यकताका प्रयोगकर्तालाई लक्षित गर्ने कम्पनीले जनाएको छ । यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच सिलीकोन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १० प्रतिशत एसआईसी सामग्री रहेको छ । १०० वाट हाइपरचार्ज प्रविधिका कारण यो फोन करिब ४० मिनेटमै पूर्ण चार्ज हुने बताइएको छ भने २२.५ वाट रिभर्स चार्जिङ सुविधासमेत उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलो पटक प्रयोग गरिएको यस प्रविधिले सानो आकारमै बढी ऊर्जा क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । शाओमीका अनुसार प्रो मोडेलहरूमा प्रयोग गरिएको ब्याट्री शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम छ, जुन करिब ६ वर्षको सामान्य प्रयोग बराबर हो । यी मोडेलहरूले आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के प्रमाणीकरण प्राप्त गरेका छन् भने २.५ मिटर ड्रप प्रतिरोध क्षमताका लागि एसजीएस प्रमाणनसमेत हासिल गरेका छन् । रेड्मी नोट १५ प्रो+ ५जी स्न्यापड्रागन ७ एस जेन ४ प्रोसेसरमा आधारित छ र यसमा शाओमी हाइपरएआई, अफलाइन कम्युनिकेसन सुविधा तथा शाओमी सर्ज टी१एस ट्युनर समावेश गरिएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल प्राइमरी क्यामेरा, ओआईएस र २x तथा ४x अप्टिकल–लेभल इन–सेन्सर जुम सुविधा दिइएको छ । यसमा विश्वमै पहिलो पटक २०० मेगापिक्सेल एचपीई इमेज सेन्सर प्रयोग गरिएको कम्पनीको दाबी छ । यस फोनमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले दिइएको छ, जसले ३,२०० निट्स पिक ब्राइटनेस प्रदान गर्छ भने डुअल स्पिकरले ४०० प्रतिशतसम्म भोल्युम बुस्टसहित इमर्सिभ मल्टिमिडिया अनुभव दिने बताइएको छ । साथै, शाओमी आइसलुप कूलिङ सिस्टम प्रयोग गरिएको छ, जसले तातो नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ । रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० मेगापिक्सेल क्यामेरा, समान डिस्प्ले र आईपी रेटिङ दिइएको छ तर यसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन–कार्बन ब्याट्री, ४५ वाट चार्जिङ तथा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन र एआई रिफ्लेक्सन रिमुभ जस्ता एआई टुलहरू यसमा उपलब्ध छन् । त्यस्तै रेड्मी नोट १५ ५जी रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो मोडेल हो, जसको मोटाइ ७.३५ मिलिमिटर छ । यसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, आईपी६६ वाटर रेसिस्टेन्स, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा दिइएको छ । रेड्मी नोट १५ ४जी मोडेलमा भने ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले, आईपी६४ सुरक्षा र ३३ वाट चार्जिङ सुविधा समावेश गरिएको छ । शाओमीले रेड्मी नोट १५ सिरिजको लन्च अवसरमा २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा शाओमी बड्समा छुटसहितको बन्डल अफर तथा सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध गराइने जनाएको छ । रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी नोट १५ प्रो+ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी भेरियन्टका लागि ६६ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी का लागि ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। रेड्मी नोट १५ प्रो ५जी को १२ जीबी + ५१२ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य क्रमशः ५६ हजार ९९९ र ४९ हजार ९९९ रुपैयाँ छ। त्यसैगरी रेड्मी नोट १५ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी का लागि ४६,९९९ र ८ जीबी + २५६ जीबीका लागि ३९ हजार ९९९ रुपैयाँ तथा रेड्मी नोट १५ ४जीको मूल्य ८ जीबी + २५६ जीबीका लागि ३५ हजार ९९९ र ६ जीबी + १२८ जीबी का लागि २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
‘रास्वपालाई देशको एक नम्बर पार्टी बनाउँछु, भ्रष्टाचारीको एक-एक हिसाब गर्छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपालाई देशको ठूलो पार्टी बनाउने उद्घोष गरेका छन् । सोमबार जनकपुरमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले २०७९ मा आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने धारणा राखे । ‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले कार्यक्रममा भने । यस्तै, उनले अब मधेशले पहिलो प्रधानमन्त्री पाउने पनि दाबी गरे । बालेन काठमाडौं महानगरको प्रमुख हुँदा एउटा राम्रो प्रमुख प्रशासकिय अधिकृत पनि सरकारले दिन नसकेको उल्लेख गर्दै अब रास्वपाले त्यो गलत अभ्यास तोड्ने जिकिर गरे । उनले आजसम्म भ्रष्टाचार गरेर देशलाई भ्रष्टको अखडा बनाएको नेताहरुको पनि एक–एक हिसाब हुने धारणा राखे ।