विकासन्युज

शिक्षामन्त्री महावीर पुनको पनि राजीनामा, चार मन्त्री क्याबिनेटबाट बाहिरिए

काठमाडाैं । शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । उनले सोमबार साँझ पदबाट राजीनामा दिएको बुझिएको छ । उनले आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।  शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो ।’ पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । उनले अब सो केन्द्रलाई नै आफ्नो नेतृत्वमा अगाडि बढाउने योजना बनाएका हुन् ।  यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । पुस २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले अब माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका–१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् ।

हाईल्याण्ड डिष्टिलरीको २६.३१ प्रतिशत लाभांश घोषणा, प्रिमियम वा बुकबिल्डिङ्गमा आईपीओ

काठमाडौं । हाईल्याण्ड डिष्टिलरी लिमिटिडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६३ करोड ८४ लाख रुपैयाँको २५ प्रतिशतका दरले १५ करोड ९६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले ८४ लाख रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत अर्थात् १६ करोड ८० लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते बिहान ११ बजे रजिस्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।  सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित, चालु आवको आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र प्रबन्ध संचालकको पारिश्रमिक पारित गर्नेछ ।  यस्तै सभाले कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सेयर प्रिमियम मूल्य, बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  यस्तै कम्पनी ऐन, २०६३ को दफा ९१(२) बमोजिम प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । साधारण सभाले विशेष प्रस्ताव पारित गरी कम्पनीमा पुरा समय काम गर्ने सञ्चालकहरुलाई प्रोत्साहन दिन कम्पनीले तिर्नु पर्ने आयकर तिरिसकेपछि बाँकी रहेको मुनाफाको तीन प्रतिशतमा नबढाई पुरस्कार दिन सक्ने उक्त व्यवस्थामा उल्लेख छ । तर प्रचलित कानून अनुसार अन्तिम रुपमा आयकर निर्धारण हुँदा कम्पनीले थप आयकर तिर्नु पर्ने भएमा कम्पनीले त्यस्तो थप करको रकम पुरस्कार प्राप्त गर्ने सञ्चालकहरुबाट निजहरुले पुरस्कार बापत प्राप्त गरेको रकमको हदसम्म समानुपातिक रुपमा असुल उपर गरी लिनु पर्नेछ ।

ट्रम्पको कर दबाबकाबिच चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक ५ प्रतिशतले विस्तार भएको छ । तर वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुस्तिँदै ४.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । सरकारका अनुसार यो सन् २०२२ को अन्त्य यताकै सबैभन्दा कमजोर त्रैमासिक वृद्धि हो । सन् २०२२ मा चीनले कडा कोभिड-१९ प्रतिबन्धहरू खुकुलो पार्न थालेको थियो । यसअघि तेस्रो त्रैमासिकमा अर्थतन्त्र ४.८ प्रतिशतले बढेको थियो । वार्षिक वृद्धिदर भने सरकारको ‘करिब ५ प्रतिशत’ को आधिकारिक लक्ष्यसँग मेल खान्छ । अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिक अवधिमा अर्थतन्त्र १.२ प्रतिशतले विस्तार भएको छ । यस अवधिमा बलियो निर्यातले कमजोर उपभोक्ता खर्च र व्यापारिक लगानीको क्षतिपूर्ति गर्दै चीनलाई करिब १२ खर्ब अमेरिकी डलरको रेकर्ड व्यापार अधिशेषमा पुर्‍याएको छ । रियल स्टेटको दीर्घ मन्दी र महामारीपछिको अवरोधले अर्थतन्त्रमा दबाब सिर्जना गरिरहेकाले चिनियाँ नेतृत्वले तीव्र वृद्धिलाई पुनः गति दिन प्रयास गरिरहेको छ । राष्ट्रपति ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकाले भन्सार शुल्क बढाउँदा चीनको अमेरिका–केन्द्रित निर्यात घटेको भए पनि बाँकी विश्वमा भएको ढुवानीले त्यसको असर कम गरेको छ । यद्यपि अमेरिकातर्फको निर्यात भने गत वर्ष करिब २० प्रतिशतले घटेको छ । चीनबाट बढ्दो आयातका कारण केही अन्य देशहरूले आफ्ना स्थानीय उद्योग जोगाउन शुल्क बढाउने वा त्यसको तयारी गर्ने सङ्केत गरेका छन् । यद्यपि ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्धमा अस्थायी युद्धविराम विस्तार गर्ने सहमतिले निर्यातमाथिको दबाब केही कम भएको छ । डच बैंक आइएनजीका ग्रेटर चीनका प्रमुख अर्थशास्त्री लिन सङले ‘निर्यातमा आधारित वृद्धिको इन्जिन कति समयसम्म टिक्छ भन्ने नै मुख्य प्रश्न हो’ भन्दै यदि थप अर्थतन्त्रहरूले चीनमाथि शुल्क बढाएमा अन्ततः कडा असर देखिन सक्ने चेतावनी दिए । चिनियाँ नेताहरूले घरेलु माग बढाउन नीतिगत जोड दिँदै आए पनि यसको प्रभाव सीमित देखिएको छ । ऊर्जा-दक्ष सवारीसाधनका लागि पुराना गाडी साट्ने कार्यक्रम र घरेलु उपकरणमा दिइएका सब्सिडीहरू पछिल्ला महिनामा अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन् । बिएनपी परिबास एसेट म्यानेजमेन्टका वरिष्ठ रणनीतिकार ची लोका अनुसार घरेलु सम्पत्ति बजारको स्थिरताले मात्र जनविश्वास पुनःस्थापित भई उपभोग र निजी लगानी बढ्न सक्छ । यसैबीच, कृत्रिम बौद्धिकता (एआई) र उन्नत प्रविधिमा लगानी चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख प्राथमिकता बनेको छ । तर सामान्य नागरिक र साना व्यवसायहरू भने रोजगारी र आम्दानीको अनिश्चितताका कारण कठिनाइमा छन् । गुइझोउ प्रान्तका ५३ वर्षीय नुडल रेस्टुरेन्ट सञ्चालक लिउ फेङ्ग्युनले ‘अहिले पैसा कमाउन निकै गाह्रो छ’ भन्दै ग्राहकहरू घरमै खाना पकाउन थालेको गुनासो गरे । चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सका प्रमुख काङ् यीले धेरै दबाबका बाबजुद सन् २०२५ मा अर्थतन्त्रले ‘स्थिर प्रगति’ कायम राखेको र जोखिम सामना गर्न पर्याप्त आधार रहेको बताए । तर केही विश्लेषकहरू वास्तविक वृद्धि आधिकारिक तथ्याङ्कभन्दा कम भएको अनुमान गर्छन् । रोडियम ग्रुपले गत वर्षको वृद्धि २.५ देखि ३ प्रतिशत मात्र हु सक्ने आँकलन गरेको थियो । सरकारी तथ्याङ्कअनुसार चीनको अर्थतन्त्र २०२४ मा ५ प्रतिशत र २०२३ मा ५.२ प्रतिशतले बढेको थियो । आगामी वर्षहरूमा भने वृद्धि दर थप सुस्त हुने अपेक्षा गरिएको छ । डाएचे बैंकले सन् २०२६ मा चीनको अर्थतन्त्र ४.५ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरेको छ । विश्लेषकहरूका अनुसार सामाजिक स्थिरताका लागि स्थिर आर्थिक वृद्धि चीनका नेताहरूको मुख्य प्राथमिकता हो । सन् २०३५ सम्म प्रतिव्यक्ति २० हजार अमेरिकी डलर कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को लक्ष्य हासिल गर्न चीनले दीर्घकालसम्म करिब ४ देखि ५ प्रतिशत वार्षिक वृद्धि कायम राख्नुपर्ने एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका फेलो नील थोमसले बताए । 

६ महिनामा वीरगञ्ज भन्सारले उठायो १ खर्ब १६ अर्ब राजस्व, २ खर्ब ७३ अर्बको लक्ष्य

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।  कार्यालयले गत साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मङ्सिरमा भने २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुसमा पनि २० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको  छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

पूर्वप्रधानमन्त्री देउवा उम्मेदवार नबन्ने

काठमाडौं । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।  विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । शिखर पावर डेभलपमेन्टले आज माघ ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो ।  स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँको २ लाख २२ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

१ करोड २ लाख मतपत्र छपाइ, प्रत्यक्षतर्फको चुनाव चिन्ह दिएपछि छापिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा १ हजार ४३१ बाकस मतपत्रको प्याकिङ समेत सम्पन्न गरेको छ । कूल ७ हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ । प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।