अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता आर्थिक सुधार, प्रशासनिक शुद्धीकरण र आगामी बजेटको तयारीमा तीव्र सक्रियता देखाएका छन् । पदबहालीका क्रममा गरेका नीतिगत निर्णयदेखि कर्मचारी प्रशासनमा मेरिट (योग्यता) को कार्यान्वयनसम्मका कार्यले मन्त्रालयमा नयाँ उत्साह सञ्चार गरेको देखिएको छ । गत चैत १३ गते पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वाग्लेले तीनवटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत चैत १२ सम्मको यथार्थ ‘आर्थिक स्थितिपत्र’ तत्काल सार्वजनिक गर्ने र निर्वाचनका वाचा पूरा गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने प्राथमिकतामा छन् । यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेजीको प्रक्रिया अघि बढाउने र निजी क्षेत्रको सुरक्षा एवं ठूला आयोजना सहजीकरणका लागि कानूनी मार्गचित्र बनाउने निर्णय उनले गरेका छन् । कर्मचारी प्रशासनलाई चुस्त बनाउन अर्थमन्त्रीले ३० जना उपसचिवको पदस्थापनमा नयाँ प्रयोग गरेका छन् । राजश्व समूहका ३० जना उपसचिवलाई कुनै राजनीतिक दबाब बिना उनीहरूको योग्यता र कार्यक्षमता (मेरिट) का आधारमा जिम्मेवारी तोकिएको छ । यसलाई अर्थ मन्त्रालयभित्रै सकारात्मक कदमका रूपमा हेरिएको छ । एक साताको अवधिमा मन्त्री वाग्लेले मन्त्रालयका ६ वटा महाशाखा, भन्सार र आन्तरिक राजश्वसहित २ विभाग, महालेखा नियन्त्रक कार्यालय र नेपाल बीमा प्राधिकरणको विस्तृत ब्रिफिङ लिएका छन् । उनले बजेट कार्यान्वयन, राजश्व सङ्कलनको अवस्था र चुहावट नियन्त्रणका उपायबारे कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन् । उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा उनले भने, ‘सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजश्व सङ्कलन गर्नुहोस् । चालु आर्थिक वर्षको लक्ष्य मात्र पुरा गरेर पुग्दैन, त्योभन्दा बढी राजश्व सङ्कलन गर्ने गरी काममा जुट्नुहोस् ।’ निजी क्षेत्रका छाता संगठनहरू (महासंघ, परिसंघ र चेम्बर अफ कमर्श) सँगको भेटमा अर्थमन्त्रीले नयाँ सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अघि बढ्ने आश्वासन दिएका छन् । उनले व्यवसायीहरूलाई ढुक्क भएर लगानी बढाउन र रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । यसैबीच, आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन भइसकेको छ। बजेटकै पूर्वसन्ध्यामा मन्त्री वाग्ले शुक्रबार देशकै ठूलो भन्सार नाका वीरगन्ज पुगेका छन् । त्यहाँ उनले भन्सार कार्यालयको अनुगमन गर्नुका साथै आगामी बजेटका लागि राजश्व परामर्शसम्बन्धी अन्तरक्रियामा सहभागिता जनाएका छन् । एक साताको अवधिमा तीन दर्जनभन्दा बढी मन्त्रिस्तरीय निर्णय गर्दै डा. वाग्लेले आफ्नो कार्यकालको प्रारम्भिक संकेत नतिजामुखी सुधार रहेको स्पष्ट पारेका छन् ।
सर्वोच्चको आदेश कार्यान्वयन गर्दै पोखरा महानगरले लगायो फेवाताल किनारामा डोजर, मापदण्डविपरीतका ३२ संरचना भत्काइयो
काठमाडौं । पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले आज नेपाल प्रहरीसहितको सहयोगमा डोजर लगाएर सेदिदेखि खपौदीसम्मका मापदण्डविपरीत विभिन्न ३२ वटा टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए । महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्न मापदण्डविपरीत रहेका संरचना भत्काएको उनले बताए । यसअघि महानगरपालिकाले पहिलो चरणमा ६५ मिटर सीमा क्षेत्रमा पिल्लर गाडेको उनले जानकारी दिए । नवगठित सङ्घीय सरकारले फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउन सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरेका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय पनि उल्लेख छ ।
लमजुङमा जिप दुर्घटनाः २ जनाको मृत्यु, १२ घाइते
काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो, तीमध्ये २ जनाको मृत्यु भएको हो । बाँकी १२ जना घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । उनलाई शुक्रबार सीआइबीले पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले पक्राउ गरेको जनाएइको छ । अहिले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।
लक्ष्यभन्दा बढी राजस्व उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन, ‘बेइमानी गर्नेलाई दण्डित गरिने’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार र आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । राजस्व परामर्श सम्बन्धी अन्तरक्रियाका लागि शुक्रबार वीरगन्ज पुगेका अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न र राजस्व वृद्धिका नयाँ सम्भावनाहरू पहिल्याउन आग्रह गरे । अन्तरक्रियाका क्रममा मन्त्री वाग्लेले राजस्व संकलनको नाममा सेवाग्राहीलाई अनावश्यक दुःख नदिन सचेत गराए । उनले भने, ‘राजस्व संकलन गर्ने बहानामा सेवाग्राहीलाई धाकधम्की दिने, त्रासमा पार्ने वा लामो समय लाइनमा राखेर सास्ती दिने काम तुरुन्त बन्द हुनुपर्छ । अनधिकृत क्रियाकलापमा संलग्न हुने जोकोहीलाई पनि छुट दिइने छैन ।’ अर्थमन्त्रीले इमानदारीपूर्वक काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूका लागि सरकारले प्रोत्साहनका कार्यक्रमहरू ल्याउने घोषणा गरे । साथै, कार्यसम्पादनमा बेइमानी गर्ने वा गलत काममा संलग्न हुने कर्मचारीहरूलाई निर्मम भएर दण्डित गरिने चेतावनी समेत दिए ।
स्थानीय तह र प्रदेशका स्वीकृत दरबन्दीको विवरण ३ दिनभित्र बुझाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशका स्वीकृत दरबन्दीको विवरण माग गरेको छ । मन्त्रालयको संगठन विकास शाखाले शुक्रबार सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ३ दिनभित्र दरबन्दीको एकमुष्ट विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र मुलुकभरको एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न यो तथ्याङ्क माग गरिएको जनाएको छ ।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दाहाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्त भएकी हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । उनले अब प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनको पत्रकारिताको लामो अनुभवलाई सरकारको मूलधारमा जोडन यो नियुक्ति गरिएको हो । दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ । उनले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहालले पत्रकारिता,सञ्चार सीप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षकसमेत हुन्। दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डहरूबाट सम्मानित भएकी छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा नियुक्त भए जनक शर्मा पौड्याल
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति बिहीबारदेखि लागू भएको कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए । उनलाई पूर्वस्वतन्त्र सञ्चालक सिद्धान्तराज पाण्डेको स्थानमा नियुक्त गरिएको उनले बताए । पौड्यालसँग ग्लोबल आइएमई बैंक र साबिक सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव छ । उनले बेलायतको लण्डन स्कुल अफ कमर्सबाट एमबीए डिग्री हासिल गरेका छन्।