रास्वपाले मधेशलाई राष्ट्रिय समुन्नतिको इन्जिन बनाउँछ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले विकासको अवधारणा नै परिवर्तन गर्नुपर्ने बताएका छन् । मानव विकास सूचकांकमा पछाडि परेको मधेशलाई शिक्षा, स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ । वाग्लेले राष्ट्रिय समुन्नतिको इञ्जिनमा मधेश प्रदेशलाई ल्याउन आफूहरू लाग्ने बताए । उनले पार्टीले जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै रास्वपा अब मधेशको मसिहा बन्ने बताएका हुन् । उनले प्रदेश संरचना परिवर्तन गर्ने पनि बताएका छन् । उनले काठमाडौं सिंहदरबारको नक्कल गर्ने प्रदेश संरचना देशका लागि घाँडो हुँदै गएको दावी गरेका हुन् । नेपालको अर्थ राजनितिको पाटो माघ ५ बाट अग्रगमनतर्फ जाने वाग्लेको दावी छ ।
एनसेल र भाटभटेनीको नयाँ अफर : टी–२० विश्वकप मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । अफरअन्तर्गत कर सहित २९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्दछन् । यसरी प्राप्त हुने कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ । यसले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा अझ बढी जोड्ने अपेक्षा गरिएको छ । अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छन् । यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरमार्फत उपलब्ध छ । यसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ । एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफर अन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन् । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन् । त्यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेकआउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन् । अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिन्छ । यो अफर चैत १७ गते सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफर अन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ । ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड (कुपन) प्राप्त गर्छन् । प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ । यद्यपी यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन ।
नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश, यस्तो छ जनकपुरमा बृहत उद्घोष सभा (फोटो-फिचर)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार (आज) जनकपुरमा बृहत घोषणा सभा आयोजना गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका नेताहरूको सहभागितामा बृहत उद्घोष सभा भएको हो । सो कार्यक्रममा मधेशका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन् । अहिले नेताहरूले धारणा राखिरहेका छन् ।
अखिल क्रान्तिकारीका ८ र अनेरास्ववियुका ४ अध्यक्ष प्रतिनिधिसभाको चुनावी मैदानमा
काठमाडौं । विद्यार्थी राजनीतिबाट अखिल क्रान्तिकारीका ८ र अनेरास्ववियुका ४ पूर्व तथा बहालवाला अध्यक्ष प्रतिनिधिसभा निर्वाचन २०८२ को चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका ८ जना पूर्व अध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा एमालेले पनि अनेरास्ववियुका बहालवाला अध्यक्षसहित चार जनालाई प्रतिनिधिसभा निर्वाचनको मैदानमा उतार्ने भएको हो । अखिल छैटौं हुँदै अखिल क्रान्तिकारी बनेको माओवादी धारका पूर्वअध्यक्ष देवप्रसाद गुरुङदेखि रञ्जित तामाङसम्मलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । नेकपाले विद्यार्थी राजनीतिमा खारिएका नेताहरूलाई संसदीय राजनीतिमा स्थापित गर्ने रणनीति लिएको देखिन्छ । पुनका अनुसार अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू देवप्रसाद गुरुङ मनाङ, हितमान शाक्य काठमाडौं–१०, देवेन्द्र पौडेल नवलपरासी–२ बाट नेकपाको उमेदवार बन्दैछन् । नेकपाको उमेदवारी सूचीमा कृष्णध्वज खड्का प्युठान, लेखनाथ न्यौपाने गोरखा–२, हिमाल शर्मा काठमाडौं–६, रमेश मल्ल सल्यान र रन्जीत तामाङ झापा –५ बाट आफ्नो भाग्य कोर्दैछन् । नेकपा एमालेले पनि विद्यार्थी संगठन अनेरास्ववियुबाट नेतृत्वमा उदाएका नेताहरूलाई संसदीय चुनावमा अघि सारेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वसभापति तथा अनेरास्ववियुका पूर्वअध्यक्ष शंकर पोखरेलदेखि हालका अध्यक्ष दीपक धामीसम्मलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । नेकपा एमालेले शंकर पोखरेललाई दाङ – २ बाट उम्मेदवार बनाएको कार्यालय सचिव डा. अधिकारीले जानकारी दिए । यस्तै, खिमलाल भट्टराई रुपन्देही – ५ बाट, माधव ढुंगेल रामेछाप र बहालवाला अध्यक्ष दीपक धामी डोटीवाट प्रतिस्पर्धामा रहेको डा. अधिकारीले जानकारी दिए । पोखरेल हाल एमालेका महासचिव हुन् भने गुरुङ तत्कालीन नेकपा माओवादीका महासचिव थिए । पोखरेल र गुरुङ दुवै आम निर्वाचनमा खरो उत्रिएका नेता भने होइनन् । पोखरेलले २०५१ को आम निर्वाचनमा दाङवाट आम निर्वाचन जित्दै पहिलोपटक संसदको यात्रा तय गरेका थिए । त्यसपछि उनलाई अर्को विजयमाला लगाउन २०७४ को प्रदेशसभा निर्वाचन पर्खिनु परेको थियो । पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । पछिल्लो २०७९ को आमनिर्वाचनमा पोखरेल पराजित भएका हुन् । गुरुङ २०६४ को पहिलो संविधान सभामा मनाङबाट निर्वाचित भएयता फेरि अर्कोपटक विजयी बन्न नसकेका नेता हुन् । पछिल्लो आम निर्वाचन २०७९ मा गुरुङ लमजुङबाट उम्मेदवार बने पनि निर्वाचित हुन सकेका थिएनन् । देवेन्द्र पौडेल २०७९ मा बाग्लुङबाट पहिलोपटक निर्वाचित भएका थिए । भट्टराई यसअघि राष्ट्रिय सभामा विपक्षी दलको नेतासमेत रहेका थिए । पहिलोपटक माथिल्लो सदनमा प्रवेश गरेका भट्टराई अहिले प्रतिनिधि सभाका लागि जनतासँग पुगेका हुन् । क्रान्तिकारीका पूर्वअध्यक्षहरू न्यौपाने, मल्ल र तामाङ पहिलो पटक निर्वाचनको मैदानमा छन् । अखिलका ढुंगेल र धामीका लागि पनि संसदीय मोर्चाको महाभीडन्त पहिलो हो । क्रान्तिकारीका शर्मा र शाक्य पटकपटक अवसर पाएर पनि जनताको रोजाइमा नपरेका नेता हुन् । शर्मा र शाक्य दुवैले अहिले पार्टीको सिफारिसमा परेको निर्वाचन क्षेत्रबाट यसअघि पनि प्रतिस्पर्धा गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीले टुंगो लगायो उम्मेदवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आसन्न निर्वाचनका लागि देशभरका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार (भोलि) उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नै पार्टीले उम्मेदवार टुंग्याउँदै चुनावी तयारीलाई तीव्र बनाएको हो । पार्टी निर्णयअनुसार संयोजक पुष्पकमल दाहाल रुकुम–पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । रुकुम–पूर्वलाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा लिँदै आएका दाहाललाई त्यहीँबाट उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको जनाएको छ । उम्मेदवार टुंगो लागेसँगै नेकपाले प्रचार–प्रसार, संगठन परिचालन र चुनावी एजेन्डा सार्वजनिक गर्ने तयारीसमेत अघि बढाएको छ ।
टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सको डेब्यु सम्पन्न, ६० चालक प्रतिस्पर्धामा
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । टीभीएस अपाचे सिरिजको २० वर्षे यात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम सातुङ्गलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न भएको हो । छनोट चरणमा ६० भन्दा बढी चालक सहभागी हुँदा ३०० भन्दा बढी मोटरस्पोर्ट्स पारखी दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमअन्तर्गत सहभागी चालकहरूले व्यावसायिक रूपमा तयार पारिएको १० मोडयुक्त रेसिङ ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए । चालकहरूको मूल्यांकन सबैभन्दा छिटो एक फन्को समयका आधारमा गरिएको थियो । प्रतियोगिता १६० घनसेन्टिमिटर, २०० घनसेन्टिमिटर र ३१० घनसेन्टिमिटर गरी तीन वर्गमा सञ्चालन गरिएको थियो । प्रत्येक वर्गका शीर्ष तीन चालकलाई भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्रदान गरिएको छ । साथै, उनीहरूलाई २५ हजार रुपैयाँ नगद पुरस्कार र टीभीएस कम्पनीका विशेष सवारी सुरक्षात्मक सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । १६० घनसेन्टिमिटर वर्गमा सुजन थापा मगर, २०० घनसेन्टिमिटर वर्गमा अभिनव राज मल्ल र ३१० घनसेन्टिमिटर वर्गमा दिलिप दनुवार विजेता बनेका छन् । छनोट चरणका विजेताहरू अब सन् २०२६ को अप्रिलमा आयोजना हुने टीभीएस अपाचे रेसिङ अनुभवको ग्रान्ड फिनालेमा सहभागी हुनेछन् । कार्यक्रमका क्रममा टीभीएस रेसिङका अनुभवी चालकहरूद्वारा सहभागीहरूलाई व्यावसायिक रेसिङसम्बन्धी तालिम तथा मार्गदर्शन प्रदान गरिएको थियो । दिनभर सञ्चालन भएको कार्यक्रममा साहसिक प्रदर्शन, जिमखाना अभ्यास तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका थिए । टीभीएस मोटर कम्पनीका अधिकारीहरूले नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल संस्कृति र मोटरस्पोर्ट्सप्रतिको आकर्षणलाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता गतिविधिहरूलाई थप विस्तार गर्ने बताएका छन् ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा
महेन्द्रनगर । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाएका हुन् । मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उनले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन गर्न गठन गरेको ‘बोर्ड अफ पिस’ (शान्ति बोर्ड) मा सहभागी हुन विश्वका थुप्रै देशहरूलाई निमन्त्रणा गरेका छन् । बोर्डमा स्थायी सदस्यता पाउन एक अर्ब अमेरिकी डलर योगदान गर्नुपर्ने व्यवस्था गरिएको अमेरिकी अधिकारीले बताएका छन् । यो रकम गाजाको पुनर्निर्माणमा प्रयोग गरिने जनाइएको छ । तीन वर्षका लागि अस्थायी सदस्य बन्न भने आर्थिक योगदान आवश्यक नपर्ने बताइएको छ । हालसम्म हंगेरी र भियतनामले बोर्डमा सहभागी हुन सहमति जनाइसकेका छन् । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान राष्ट्रपति ट्रम्पका युरोपका निकट सहयोगी मानिन्छन् । भारतलाई पनि बोर्डमा सहभागी हुन निमन्त्रणा गरिएको छ, यद्यपि यसबारे भारत सरकारले औपचारिक घोषणा गरिसकेको छैन । अस्ट्रेलिया, जोर्डन, ग्रीस, साइप्रस र पाकिस्तानले पनि निमन्त्रणा प्राप्त गरेको पुष्टि गरेका छन् । यसअघि क्यानडा, टर्कीए, इजिप्ट, अर्जेन्टिना, पाराग्वे र अल्बानियालाई पनि बोलाइएको थियो । अमेरिकाले आगामी दिनमा बोर्डका आधिकारिक सदस्यहरूको सूची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । गाजाका युद्धविराम दोस्रो चरणमा केन्द्रित यो बोर्डले अक्टोबर १० देखि लागू भएको युद्धविरामको दोस्रो चरण अन्तर्गत गाजामा हुने प्रक्रिया हेर्नेछ । यसमाः गाजामा नयाँ प्यालेस्टिनी समिति गठन, अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनाथी, हमासको निशस्त्रीकरण तथा युद्धले क्षतिग्रस्त गाजाको पुनर्निर्माण जस्ता विषय समेटिएका छन् । संयुक्त राष्ट्रसङ्घको विकल्प ? ट्रम्पले यस बोर्डलाई ‘वैश्विक द्वन्द्व समाधानको नयाँ र साहसी प्रयास’ भनेका छन् । विश्लेषकहरूका अनुसार यो पहल संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को विकल्प वा प्रतिस्पर्धी निकाय बन्न सक्ने सम्भावना पनि देखिएको छ । इजरायलको आपत्ति बोर्डको कार्यान्वयन हेर्ने कार्यकारी समितिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ट्रम्पका दूत स्टिभ विटकोफ, जारेड कुश्नर, बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलगायतको सहभागिता छ । तर इजरायलले यस समितिबारे आफूहरूसँग समन्वय नगरिएको भन्दै आपत्ति जनाएको छ । रासस