विकासन्युज

कलर्सको दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा, मूल्य ६९ सयदेखि ७५ सय रुपैयाँ पर्ने

काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत दुई नयाँ मोबाइल सेट पि४५ र पि५५ लाई नेपाली बजारमा उपलब्ध गराएको छ । अति आकर्षक र उत्कृष्ट सुविधाको सेट पि४५को बजार मूल्य ६९९५ रुपैयाँ र पि ५५को मूल्य ७५९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । पि ४५ मोबाइलको पछाडी पट्टि ५ मेगा पिक्सल क्षमताको क्यामरा र अगाडी पट्टि २ मेगा पिक्सलको क्यामरा जडान गरिएको छ । त्यस्तै, पि ५५ मा पनि दुवै भागमा प्mल्यास सहित यही गुणस्तरका क्यामरा रहेका छन् । यसका अलावा यी सेटको प्याकेजिङ डिजाइन पनि अनुपम रहेका छन् । उत्पादनका प्याकेजिङहरुमा नेपालका स्मारकहरुको चित्रलाई आकर्षक तवरले सजाइएका छन् । कम्पनीका अनुसार यी दुई नयाँ सेटले हाल बजारमा पाइने उही मूल्य बराबरका मोबाइलहरुको दाँजोमा उत्कृष्ट सेल्फि फोटोको अनुभूति दिलाउने छ । कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने- “आज मोबाइल व्यवसायमा एक परम्परा नै बसिसक्यो कि हरेक मोबाइल सेटमा जडित क्यामराको गुणस्तर उत्कृष्ट हुनु पर्दछ । यसैगरी सेल्फि एक अर्को त्यस्तो अपेक्षा हो जुन आजका मोबाइल पुस्तामा विद्यमान छ । कलर्स मोबाइलले मोबाइलका उपभोक्ताहरुमा हिजोआज प्रचलित यी नै परम्परालाई मनन गर्र्दै खास सेल्फि फोटोको लागि पि४५ र पि५५ मोबाइल सेट प्रस्तुत गरेको छ ।”

सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबारको नेप्सेमा ८ अंकको गिरावट

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । केही दिन यता देखि निरन्तर ओरालो लागेको बजार बिहीबार पनि ८ अंकले ओरालो लागेको छ । त्यस्तै, नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबारको बजारमा ९२ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस मध्ये नागरिक लगानी कोषको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ हजार ७३० रुपैयाँ रहेको छ । बजारमा १६१ कम्पनीको २० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्ते, समूह परिसूचका आधारमा उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य ९.७८ प्रतिशतले घटेको छ । त्यस्तै, लक्ष्मी भ्यालू फण्ड १को पनि ९.५६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार यस फण्डको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ रहेको छ ।

हिमालयन पावर पार्टनरको एक करोड ६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । हिमालयन पावर पार्टनरको एक करोड ६ लाख ५४ हजार १७० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै कम्पनीको साे मात्राकाे साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।

मेलम्ची पुगेर प्रधानमन्त्रीले भने, ‘काठमाडौंको सपना छिटो पूरा गर्नुहोस्’

सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन गरेका छन् । बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा प्रगतिको ‘व्रिफिङ’ लिँदै प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । ‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० बर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो पूरा गरेर त्यो सपना साकार पार्नुपर्छ ।’ प्रधानमन्त्री देउवाले कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनामा मेलम्चीको पानी काठमाडौं लैजाने गरी आयोजनाको खाका कोरिएको स्मरण गर्दै छिटो काम सम्पन्न गर्न सरकारले जुनसकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘छिटो काम सम्पन्न गर्न सरकारबाट के कस्ता निर्णय गर्नुपर्छ त्यसका लागि म तयार छु’ प्रधानमन्त्रीले भने, ‘तर विभिन्न बहाना बनाएर काममा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौकों सपनासँग जोडिएको आयोजना हो ।’ प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गर्दै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । ‘यो आयोजना नेपालकै गौरवको आयोजना हो,’ प्रधानमन्त्रीले भने, ‘यसलाई समयमा सम्पन्न गरेर यस बर्षकै सुक्खायाममा पानीको हाहाकार हटाउनु पर्छ ।’ प्रधानमन्त्रीले मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनाका कामलाई तीव्रता दिन सरकारले छिट्टै तिनका लागि छुट्टै सहजीकरण प्रक्रिया र कानूनी झण्झट समेत हटाउनेगरी ऐन संशोधन गर्ने तयारी गरेको पनि बताए । प्रधानमन्त्रीले मेलम्ची आयोजनाको इन्टेक ड्याम र सुरुङभित्रै केही समय पैदल हिँडेर पनि सुरुङको अवलोकन गरेका थिए । परियोजनाका विषयमा प्रोजेक्ट म्यानेजर रामचन्द्र देवकोटाले जानकारी गराएका थिए ।

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा सङ्घाई र ढकाल नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । कम्पनीको २५३ औँ संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।

भैरहवा विमानस्थलः झलनाथ खनालका छोराले बिगार्दैछन नेपाल-चीन सम्बन्ध

काठमाडौं । ‘मसँग चिनियाँ राजदुतले भेटेर भैरहवा विमानस्थलको ठेक्का नतोड्न आग्रह गर्नु भयो, मैले हामी दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध बिगार्न चहाँदैनौं भनेँ, तर भैरहवा विमानस्थलको काममा २ महिनाभित्र प्रगति भएन भने चुप लागेर बस्न सकिन्न’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको बयान हो यो । उनले भैरहवा विमानस्थलमा पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनालका छोराका कारण चिनियाँ कम्पनीसँगको ठेक्का तोड्नुपर्ने अवस्था आएको बताए । झलनाथ खनालको नाम नलिई उनले भने–निर्भिक खनाल, राजु गुरुङ र फुर्वा शेर्पाले भैरहवा विमानस्थलमा निर्माण सामग्री सप्लाई गर्ने सम्झौता चिनियाँ कम्पनीसँग गरेका रहेछन्, ठेकेदार र उनीहरुको सम्बन्ध बिग्रिएपछि अहिले काम द्रुतगतिमा अघि बढ्न सकिरहेको छैन, उहाँहरुले धर्नादेखि अवरोधका गतिबिधी गरिहनु भएको छ ।’ उनले भैरहवा विमानस्थलका कारण चीनसँगको सम्बन्धमा असर पर्न सक्ने तर्फ पनि संकेत गरे ।‘भैरहवा विमानस्थलको ठेक्का नतोडिदिन चिनियाँ राजदुतले नै अनुरोध गर्नु भएको छ, तर उहाँको कम्पनीले निर्माण सामग्रीको अभाव र स्थानिय समस्याका कारण कामै गर्न सकिरहेको छैन, हामी चुप लागेर बस्ने अवस्था छैन’, मन्त्री देवले भने । उनले भनेको निर्माण सामग्रीको अभाव र स्थानीय समस्या चाँही झलनाथ खनालका छोरा निर्भिक खनाल, राजु गुरुङ र फुर्वा शेर्पाले सृजना गरेका हुन् । उनले निर्माण स्थलमा हाल दैनिक १०० कामदार मात्रै कार्यरत रहेको बताउँदै त्यो संख्यालाई बढाएर २५० पुर्याउन आग्रह गरेको पनि जानकारी दिए । ‘कामदारको संख्या बढाउनुस, मेसिन र उपकरण थप्नुस, २ महिना भित्र काममा केहि प्रगति गरेर पुरै काम गर्ने कार्ययोजना ल्याउनुस भनेको छु’, मन्त्री देवले भने । सन २०१८ को जुनमा सम्पन्न हुनेपर्ने आयोजनामा हालसम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको छ । बुटवलका स्थानिय बासिन्दा समेत रहेका राजु गुरुङ, झलनाथ खनालका छोरा निर्भिक खनाल र फुर्वा शेर्पाको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका नामबाट भैरहवा विमानस्थलमा निर्माण सामग्री सप्लाई गर्दै आएको थियो । भैरहवा विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनसँगको ठेक्का तोडिएमा चिन र नेपाल बिचको सम्बन्धमै समस्या आउन सक्ने तर्फ मन्त्रि देव सचेत देखिएका हुन् ।

एकैदिन दुई बैंकको दुई करोड २७ लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति?

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको दुई करोड २७ लाख ४६ हजार कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जनता बैंक नेपालको साधारण सेयर र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकको बोनस सेयर गरी सो मात्राकोसेयर सूचिकृत भएको हो । बजारमा जनता बैंक नेपालको २ करोड २७ लाख ६ हजार ६८१ कित्ता साधारण सेयर सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वाएर पछि जनता बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, जनउत्थान सामुदायिक विकास बैंकको ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

१२५ प्रतिशत हकप्रद सेयर पछि जनरल फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार जनरल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२५ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहने छ ।