विकासन्युज

बाढीपहिरोका कारण निर्माणाधिन जलविद्युत् आयोजनाहरु समस्यामा

काठमाडौं,२४ असार । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्ण क्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन् । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ । यस्तै स्याफ्रुबेसीखण्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआए पनि निर्माण सामग्री आयातमा अवरोध भएको छ । “सुरुङ निर्माण तथा अन्य भौतिक पूर्वाधारको कामलाई विशेष जोड दिएका छौँ,” उनले भने । सान्जेन १४.८ मेगावाट क्षमता तथा तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको आयोजना हो । सान्जेनको करिब ५० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै एकहजार ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा निर्माण सामग्री आयात गर्न नसकिएको आयोजनाले जनाएको छ । पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्क, सानु भार्कु र खोपाङको भीर दुराअवस्थामा रहेको छ । रसुवाका नागरिक अगुवा बाबुलाल तामाङकाअनुसार नेपाल चीनको व्यापारिक नाकाको बीच भागमा पर्ने राम्चे गाविस– १ र स्यापु्र गाविस– ४ सानो भार्कु तथा खोपाङभीरको राजमार्गमा समस्या भएको छ । दिनानु दिन सडक जीर्ण हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न डिभिजन सडक कार्यालय नुवाकोटलाई आग्रह गरिएको छ । डिभिजन कार्यालयले अवरुद्ध सडक खुलाउने विषयमा पहल गरिरहेको भए पनि भूकम्पले चिराचिरा परेको पहाडमा पहिरो आउने क्रम रोकिएको छैन । दैनिक सरदर रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हुने सडकको उक्त खण्डमा सवारीसाधन सञ्चालनमा ल्याउन असहज भइरहेको छ । सवारी चालक दैनिक हैरानी खेप्न बाध्य छन् । कतिपय सवारी साधन पहिरोको बीच भागमा बिग्रिएर बाटोमै थन्किएका छन् । समस्यालाई गम्भीरतापूर्वक लिई यातायात नियमित गराउन रसुवावासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । काठमाडौंबाट छुटेका सवारी साधन मूलखर्क क्षेत्रमा थिक्निु पर्छ भने कतिपय सवारी साधन फर्काएर कालीकास्थान बास बस्नुपर्ने बाध्यता छ । कुन बेला कहाँ पहिरो खस्छ भन्ने चिन्ताले चालकलाई त्रसित बनाएको छ । मालबहाक ट्रक, बस र बिरामी बोक्ने एम्बुलेन्स चलाउन समस्या भएकाले मर्मतसम्भारका लागि पासाङल्हामु बस व्यवसायी समितिले आग्रह गरेको छ । सडक मर्मत गर्न नेपाली सेनालाई आग्रह गरिने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए । यस्तै रसुवाको लिङ/लिङको भीरमा ढुड्गा झर्ने क्रम निरन्तर जारी रहेका कारण रसुवागढी आयोजनाको निर्माणमा समस्या भएको छ । रसुवाढी नाकामा पहिरो खस्दा तीन दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । केरुङबाट सामान आयात गरेर रोकिएका ट्रक तथा कन्टेनरमा क्षति पुगेको हो । यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सामग्री आयातमा समस्या भएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले सिमेन्ट, रड, पेनस्टक पाइप आयातमा समस्या आएको बताए। नारायणगढ, मुग्लिन सडकखण्ड र सुनकोसीको पुलमा अवरोध हुँदा निर्माण सामग्री ढुवानी गर्न नकिएको बताइएको छ । रासस

कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, २४ असार । कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णय २०७२/८र/१९ गते नै बैंकको पाचौँ साधारणसभाले पारित गरिसकेको थियो । सो प्रक्रियाको लागि आउँदो साउन ३ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी करिब ५ करोड रुपैयाँ रहेको छ । बजारमा उक्त बैंकको सेयर करिब ६ सय २० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

नेप्सेले भारतीय कम्पनीकै सफ्टवेयर किन्ने

काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुर्व सम्झौता अनुसार भारतीय कम्पनीसँगै नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्ट वेयर खरिद गर्ने सम्झौता गरेको थियो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितो पत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्ट वेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ इन्कर्पाेरेशन अदालत गएको थियो । पुर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेप्सेले सफ्ट वेयर खरिद नगर्ने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो । नेप्सेको सम्झौता उल्लंघन गर्ने मनासाय नरहेको भन्ने आदेश दिएको थियो । ‘अदालतको आदेशको अर्थ पत्ता लगाउने प्रयास गरिरहेका छौं, अब सफ्टवेयर खरिद प्रक्रिया अघि बढ्छ’, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले विकासन्युजसँग भने । नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता भैसकेको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ । नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’ अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।

मासु पसलको नियमित अनुगमन आवश्यक: आपूर्तिमन्त्री गणेशमान पुन

काठमाडौं, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतको टोलीले आज गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट’ नाम गरेको बधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका हुन्। मन्त्री पुनले अनुगमनपछि सञ्चारकर्मीसँग भने, “ उपभोक्तालाई असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।” उक्त बधशालामा अव्यवस्थित रुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने तयारी गरिएको छ । तत्काल सिलबन्दी गर्दा उक्त बधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको छ । सफा गरेपछि आज साँझसम्ममा उक्त मासु पसल सिलबन्दी गर्ने विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले बताए । अनुगमन टोलीले आजनै कालिमाटीको माछा पसल र टेकुमा रहेको केही मासु पसलको पनि अनुगमन गरेको छ । उक्त सथानमा भने खासै समस्या देखिएन । झन्डै चार दिनदेखि आपूर्ति व्यवस्था विभागसहितको टोलीले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पहिलो दिन तरकारी, दोस्रो दिन पानी, तेस्रो दिन क्लिनिक र आज चौँथो दिन मासुको स्थलगत गनुगमन गरेको हो । रासस

क्यानाडामा नेपाली नृत्य र लोक धून आकर्षित

क्यानाडा, २४ असार । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष “ग्लोबल भिलेज फेस्टिवल“ आयोजना हुने गरेको छ । जसले गर्दा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाः गुठीका युवा सदश्यहरुले “सय थरि बाजा एउटै ताल’ बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो । दुइ दिनसम्म संचालन भएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिन हम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपाल बारे जानकारी लिए पछि नेपालको थप प्रचार हुन पुुगेको थियो । अर्का सांसद ग्यांग तानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडी स्थापित गैर नाफा मुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने विभिन्न मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा, अगस्त २७ र २८ मा हुँदै

अमेरिका, २४ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सहसंयोजकमा एसी शेर्पा, डा केशव पौडेल र तुलसी सापकोटा तथा सदस्यहरूमा नवराज गुरुङ, रतनकुमार झा, खगेन्द्र जिसी, कृष्ण पोखरेल र तिलक श्रेष्ठ रहेको नौ सदस्यीय आयोजक समिति र अन्य २० कमिटीसमेत बनाइएको छ । अगस्त २७ र २८ मा हुने उक्त सम्मेलन ‘एनआरएनए भिजन ट्वेन्टी एण्ड वियोण्ड’ भन्ने नाराका साथ हुन गइरहेको सहसंयोजक तथा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले राससलाई बताए । सन् २०१० मा टेक्सास राज्यको हिउज्टनमा क्षेत्रीय सम्मेलन गरेको संस्थाले अमेरिकी एनआरएन सशक्त भएर आएको हुँदा यसलाई महत्व दिनका लागि पुनः अमेरिकामा नै गर्न अवसर दिएको अध्यक्ष डा पौडेलले बताए । संस्था स्थापना भएदेखि हालसम्म आउँदा नेपाल र प्रवासमा रहेका नेपालीको अवस्थामा समेत परिवर्तन आएको हुँदा नयाँ ढङ्गबाट एनआरएनएलाई लैजाने तयारी भइरहेको छ । विश्वभरका ७३ एनआरएनबाट प्रतिनिधित्व रहने सम्मेलनमा पाँच सयभन्दा बढी प्रतिनिधि आउने आयोजकले जानकारी दिएका छन् । रासस

लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २४ असार । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध

बैतडी, २४ असार । अप्टिकल फाइबर काटिदा बैतडीलगायत सुदूरपश्चिममा स्काइ फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बर्दियामा अप्टिकल फाइबर काटिदा बिहीबार रातिदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरले बताए । उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन सेवा र इन्टरनेट सेवा सुचारु हुनेछ ।” रासस