विकासन्युज

पानी बाँडफाँडमा कुरा नमिलेपछि नेपाल–भारत पञ्चेश्वर वार्ता विफल, भारतले अग्राधिकार खोजेपछि नेपालीले गरे अस्वीकार

काठमाडौं ।  पानीको बाँडफाँडमा कुरा नमिलेपछि नेपाल–भारतबीच पञ्चेश्वर वहुउद्धेशिय परियोजना अघि बढाउने विषयमा भएको वार्ता विफल भएको छ । पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा अन्य विषयमा प्रवेश नै नगरी दुई देशको सचिवस्तरिय प्राविधिक समितिको वैठक निश्कर्ष विहीन भएको हो । वैठक भारतको नयाँ दिल्लीमा भएको थियो । भारतले यसअघि शारादा व्यारेजमा उपयोग गरेको पानीको हिस्सा बाहेक बाँडफाँड गर्नुपर्ने अडान लिएर अग्राधिकार कायम गरेपछि वार्ता विफल भएको वार्तामा सहभागी जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासेले बताए । उनका अनुसार भारतले शारादा व्यारेजमार्फत पाइरहेको पानीको भोगचलन वर्तमान अवस्थामा पनि पाउनुपर्ने गरी अग्राधिकार कायम गर्न माग गरेको थियो । शारदा व्यारेजलाई दिइरहेको पानी बाहेक बाँटफाँट गर्न भारतीय पक्षले प्रस्ताव गरेपछि नेपालले अस्वीकार गरेको वेल्वासेको भनाई छ । शारदाको पानीमा अग्राधिकार कायम गरेपछि बाँकी पानीको स्रोत धेरै कम हुने भएपनि नेपालले अस्वीकार गरेको हो । महाकाली सन्धीअनुसार पञ्चेश्वर परियोजनाको पानी र जलविद्युत आधाआधी हुने भन्ने सन्धीको व्यवस्था विपरित भारतले पानीको माग गरेको छ । सचिवस्तरिय वार्ताबाट पञ्चेश्वरमा सहमति जुट्ने अपेक्षा नेपालले लिएको थियो । पञ्चेश्वर जलासय बनेपछि पनि भारतले वर्षादमा पनि पानी चाहिने भनेपछि वार्ता निश्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव तथा प्रवत्ता दिनेशकुमार घिमिरेले बताए । भारतले वर्षादमा पनि पानी मागेपछि जलासय नभरिने र बिजुली उत्पादन घट्ने भएपनि यसलाई अस्वीकार गरेको उनको भनाई छ । परामर्शदाता वापकोर्स इन्डिया लिमिटेडले तल्लो र माथिल्लो गरी पञ्चेश्वरको जडित क्षमता ५ हजार ४० मेगावाट हुने गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ । पञ्चेश्वरबाट वर्षैभरी ९२५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुने देखिएको छ । यसको आधा ४६२ मेगावाट बिजुली वर्षेभरी आउनुपर्ने गरी जलासय भर्न पाउनुपर्ने माग राखेको उनले बताए । नेपालले परियोजनको जलासयमा वर्षादमा पानी भर्नुपर्ने माग राखेको थियो । “पहिलो दिन धेरै कुरा मिलिसकेको थियो“ उनले भने दोस्रो दिनमा भारतीय अधिकारीले राजनीतिक कुरा भएको भन्दै सहमति लिन आवश्यक देखियो भनेर अर्को बैठकमा थप छलफल आवश्यक भएको भन्दै पछि हटे ।” वैठकमा सन् १९६२ देखि सन् २०१२ सम्मको ५० वर्षको जलवायुको प्रतिवेदनलाई दुवै पक्षले स्वीकार गरेको उनले जानकारी दिए । बैठकको प्राविधिक समूहका विभिन्न समूह र उपसमूह गठन गरेर सहमतिको प्रयास गरिएको थियो । सन् २००३ मा भारतीय पक्षले दिएको प्रतिवेदनमा पानीको वहाव कम देखाएको थियो । पानीको विषयमा कुरा नमिलेपछि लगानीलगायत अन्य विषयमा प्रवेश नै नपाएको उनले जानकारी दिए । बैठक पुनः बस्ने गरी सकिएको छ । विभिन्न कार्यसमूह बनाइ फेरी वार्ता गर्ने सहमति भएको छ । नेपालले सन्धीमा भएको प्रावधान बमोजिम पानी र बिजुली आधाआधा हुनुपर्ने अडान लिएको छ । नेपालले परियोजनामा कुल लागतको ३७ र बाँकी ६३ प्रतिशत भारतको लगानी हुनुपर्ने अडान कायमै राखेको छ । एकसाता अघि काठमाडौमा भएको सचिवस्तरिय प्राविधिक बैठकमा सहमति जुट्न नसकेपछि पुनः दिल्लीमा बैठक बोलाइएको थियो । बैठकमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्रकुमारले नेतृत्व गरेका थिए । नेपालले पानीको उपयोग गर्न नसक्ने नेपालले पञ्चेश्वरबाट बाँध बनेपछि प्राप्त हुने पानी पूरै उपयोग गर्न नसक्ने देखिएको छ । महाकाली सन्धीले पानी, बिजुली र लगानी आधा–आधा भने पनि नेपालतर्फ सिँचाइ गर्ने भूमि कम भएपछि यस्तो अवस्था आउने देखिएको हो । नेपालतर्फ कैलाली र कञ्चनपुर गरी कुल ९३ हजार हेक्टरमा मात्र सिँचाइ हुने देखिएको छ । बार्दिया र कैलाली सिमाना कर्णाली चिसापानीमा रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले कैलालीमा महाकालीको पानी आवश्यक पर्ने दखिँदैन । उता, भारततर्फ भने १६ लाख हेक्टर जमिन सिञ्चित हुने देखिएको छ ।

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

? चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज यहाँ सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताए । यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको छ । बैठकले कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ । त्यसैगरी सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नाका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रदेश नं ३ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । राजधानी काठमाडौँबाट दशै, तिहारसहितका चाडपर्वको समयमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तीन वर्षअघिको तथ्यांकअनुसार दशैँको बेला यो सडक हुँदै दैनिक १० हजार ६ सय ९१ वटासम्म सवारी साधन आवतजावत गरेका थिए । आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको हालसम्म ५४ प्रतिशतमात्रै काम भएको छ । रासस

१ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजारको रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ । कार्यक्रमले ५६ वटा चियासम्बन्धी परियोजनालाई २६ करोड ८० लाख ३३ हजार रुपैयाँ स्वीकृत गरेको छ । डेरीसम्बन्धी २९ वटा परियोजनालाई ९ करोड १३ लाख ६३ हजार रुपैयाँ र अलैँचीसम्बन्धी १५ वटा परियोजनालाई ३ करोड ७५ लाख ७५ हजार रुपैयाँ स्वीकृत गरेको हो । अदुवासम्बन्धी ३ वटा परियोजनालाई ६० लाख ७२ हजार रुपैयाँ स्वीकृत गरेको छ । चियाका २० परियोजनामा गत असार मसान्तसम्ममा ४ करोड २१ लाख ५१ हजार रुपैयाँ निकासा भई काम भइरहेको छ । सो अवधिमा डेरीका ८ परियोजनामा ६८ लाख ३३ हजार रुपैयाँ, अलैँचीका चार परियोजनामा २४ लाख ३८ हजार रुपैयाा र अदुवाका २ परियोजनामा १२ लाख ३४ हजार रुपैयाँ निकासा गरी काम भइरहेको छ । उन्नति समावेशी कार्यालयका कर्मचारी शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट १७ हजार १ सय १८ घरधुरी लाभान्वित हुने छन् । चियाका ५६ परियोजनाबाट सात हजार ८ सय ७० घरपरिवार, डेरीका २९ परियोजनाबाट ५ हजार ३ सय ७८, अलैँचीका १५ परियोजनाबाट २ हजार ७ सय ३० तथा अदुवाका तीन परियोजनाबाट १ हजार १ सय ४० घरपरिवार लाभान्वित हुने छन् । उन्नतिले प्रत्यक्ष अनुदान अन्तर्गत २३ वटा अदुवाखेती सम्बन्धी कार्यरत समूहलाई २१ लाख ९८ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो । रासस

सुन प्रकरणमा दुईजना सवारी चालक पक्राउ

रसुवा । अठासी किलो सुन प्रकरणमा रसुवाबाट २ जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । यी २ सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए । रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको ३ वटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नंको टाटा सफारीकार दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ । रासस

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु, लेनेभोको मोबाइल खरिदमा ३० प्रशित छुट

काठमाडौं । राजधानीको न्यूरोडमा ताम्राकार मोबाइल कम्प्लेक्समा बिहिबारबाट मोबाइल महोत्सव सुरु भएको छ । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको जानकारी दिएको छ । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरेकोे बताए । ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले बताए । चाडपर्वको अवसरमा विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुतुथ तथा पावर बैंक लक्की ड्र मार्फत बितरण गर्नेे व्यवस्था गरिएको मोबाइल बजारका अध्यक्ष जगत साउदले जानकारी दिए ।साथै, साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । बम्पर उपहारमा प्रदान गरिने सुजुकीको एउटा जिक्सर मोटरसाइकल र एउटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गर्ने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडीनै लक्की ड्र मार्फत बितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।    

असिमित नाफा लिन पाउनुपर्ने माग गर्दै दरबारमार्गका व्यवसायीले पसल बन्द गरे

काठमाडौं । राजधानीको ब्राण्डेड पसलहरुको हब दरबारमार्ग अहिले सुनसान छ । दसैंको मुखमा शपिङ गर्न आउने उपभोक्ता तथा पर्यटकसमेत रित्तो हात फर्कन बाध्य छन् । दरबारमार्गको किङ्स वेका सबै पसलहरु बन्द छन् । आपूर्ति मन्त्रालयले उपभोक्ता ठगी गरेको आरोपमा दरबारमार्गका चारवटा ब्राण्डेड पसलमा सिलबन्दी गर्यो । त्यसको विरोधमा क्षतिपूर्तिको माग गर्दै दरबार मार्गका व्यवसायीले अनिश्चितकालिन बन्द गरेका हुन् । दरबारमार्गका व्यवसायीले बेच्ने समानमा कानुनले २० प्रतिशतको मार्जिन नतोकेकाले बढी मूल्यमा सामान बेच्नु गलत नभएको दाबी गरेका छन् । “दरबारमार्गको सटर भाडा, स्टाफ खर्च लगायत गरी सबै महंगो पर्ने भएकाले हामीले उपभोक्तासँग जायज मूल्यमा सामान बेचिरहेका छौं” दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले भने, “कालोबजारी ऐनमा सरकारले तोकेका वस्तुहरुमा मात्र २० प्रतिशतको मार्जिन राखिएको छ । हामीले बेच्ने सामानबारे त्यस्तै कुनै मार्जिन नतोकिएकाले जबरजस्ती सिलबन्दी गर्नु गलत हो ।” व्यवसायीले सरकारलाई निराधार पसलको सिलबन्दी गरेको आरोप लगाएका छन् । “सरकारले गरेको जबरजस्तीले दरबारमार्गको गरिमामा ठेस पुगेको छ,” कक्षपतिले भने, “अनुगमन गर्न आउनु जायज छ । तर उहाँहरुले मागे अनुसार कागजपत्र जुटाउँदै गर्दा सिलबन्दी गर्नु बिल्कुलै गलत हो ।”दसैंका मुखमा पसल बन्द भएपछि दैनिक व्यापारमा ५० प्रतिशतले ह्रास आउने एक व्यवसायीले बताए । दरबारमार्गका व्यवसायीले उठाएका माग गैरकानुनी भएको उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्रले बताए । मिश्रले व्यवसायी कानुनले तोकेको भन्दा बढी मूल्यमा व्यापार गरेर उल्टो क्षतिपूर्ति माग गर्ने व्यवसायीमाथि कालोबजारी ऐन अन्तर्गत कारबाही हुने बताए । कालोबजारी ऐन अनुसार व्यवसायीलाई एक वर्षको जेलसम्मको सजाय तोकिएको उनले बताए । कालोबजारी ऐनमा उत्पादन स्थलबाट लिएको मूल्यभन्दा २० प्रतिशत मुनाफा लिनुपर्ने कुरा स्पष्ट उल्लेख छ । उत्पादन स्थलमा लिइने मूल्य भन्नाले उद्योगले लिने र भन्सार बिन्दुमा लिने मूल्य भन्ने बुझ्नुपर्ने उनको भनाई छ । “यसलाई विभिन्न चरणमा लिइने शुल्कका आधार लिन मिल्दैन । भन्सार बिन्दुबाट लिइने शुल्क र बेच्दाको मूल्यमा २० प्रतिशतको मार्जिन हुनुपर्छ । यसरी हेर्दा व्यवसायी गलत देखिन्छ ।” उनले भने ।

सेयर बजार १२ अंक घट्यो, बैंकले सेयर कर्जा खुला गरेपनि बजार बढ्न सकेन ।

  काठमाडौं । बुधबार बढेर लगानीकर्तालाई आशा जगाएको भोलिपल्ट सेयर बजार घटेको छ । बिहीबार बजार घटेर १२ अंक घटेर १ हजार १५४ अंकमा सीमित भएको छ । बुधबार पनि ११ अंक बढेको थियो । सेयर बजारका सबै परिसूचकमा गिरावट आएपछि राताम्मै भएका छन् । बैंकले सेयर कर्जा खुला गरेपनि बजारमा सेयर आपूर्ति बढेपछि बजार बढ्न सकेन । बैंकिङ, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा र उत्पादनमुलक सबै क्षेत्रको बजार घटेको छ । सबैभन्दा बढी बीमाका सेयरधनीले गुमाएका छन् । बिहीबार आरएसडीसी लघुवित्तका लगानीकर्ताले ७२ रुपैयाँ कमाएका छन । रिलायवल माइक्रोफाइनन्सका लगानीकर्ताले ८५ रुपैयाँ गुमाएका छन् । बिहीबार साढे ७३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नबिल बैंकको भएको छ । नबिलको प्रतिकित्ता १ हजार ६७५ रुपैयाँमा ४ करोड ८८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

चिलिमेका २ कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका २ महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् । रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको हो । साधारण शेयर जारी गरेर १ अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ । नेपाल–चीन सीमा नजिक कूल १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९.५ प्रतिशत र अन्यको ४ सय ५० प्रतिशत शेयर रहनेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण शेयर निष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लाबेल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताए । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ । सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण शेयर दिन लागेको हो । उक्त कम्पनीले १ सय ४८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४ सय २५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ । निजी प्रवद्र्धकको साधारण शेयर आउँदै बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक शेयर र थप निष्कासन एफपिओ गरी ५ अर्ब सात करोड रुपैयाँ भन्दा बढी शेयर बजारमा आउन लागेको छ । कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको शेयर यस वर्षभित्रै निष्कासन हुनेछ । बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्कासन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता ५ सय१८ रुपैयाँ प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको उक्त प्रस्तावअनुसार ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासन गर्न लागेको जनाएको छ । आयोजनाका प्रमुख विश्वनाथ कँडेलले साधारण शेयर निष्कासनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई २ करोड बराबरको २ लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई ९ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ । बोर्डकाअनुसार युनिक हाइडेल लिमिटेडले ५ करोड ५५ लाख रुपैयाँ बराबरको ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई ६ करोड बराबरको ६ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार कित्ता साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । रासस