काठमाडौं । गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह तालिम साउन ७ (आज)देखि शुरु गरिएको छ । जिल्लामा विपदको समयमा तत्काल व्यवस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस् भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालिम सञ्चालन गरिएको हो ।

उक्त तालिम साउन ७(आज) देखि साउन १२ गतेसम्म ६ दिन सञ्चालन हुने छ । उक्त तालिममा जिल्लाका १२ वटै स्थानीय तहका प्रतिनिधि, उद्योग बाणिज्य संधका प्रतिनिधि, नेपाल प्रहरी ,नेपाल आर्मी, शसस्त्र प्रहरी बल तथा रेडक्रसका स्वयंसेवक गरी २४ जनाको सहभागिता रहेको छ । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास गराइने र प्रशिक्षार्थीको विषयगत तथा व्यवहारगत मुल्याँकन हुनेछ ।
नेपाल रेडक्रसद्धारा सञ्चालित विपद उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।
तालिममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महेशचन्द्र गौतमको नेतृत्वमा प्रशिक्षक टोली खटाइएको छ । सो टोलीमा अन्जन आचार्य, उत्तम शर्मा , डिवि पछाई र कृष्ण खनाल रहेका छन् ।