एक वर्षमा ७४ अर्बको सेयर थपियो, ३३ अर्ब रूपैयाँ बराबरकाे बोनस सेयर वितरण

<p>काठमाडौं । एक आर्थिक वर्षमा ३३ अर्ब २ करोडको बोनस सेयर, २५ अर्ब ६० करोडको हकप्रद, ११ अर्ब ४२ करोडको आईपीओ/एफपीओ र ४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्काशन भएको छ । आर्थिक वर्ष ०७४/०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत विभिन्न क्षेत्रका ११२ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब ८ करोड ५९ लाख [&hellip;]</p>

काठमाडौं । एक आर्थिक वर्षमा ३३ अर्ब २ करोडको बोनस सेयर, २५ अर्ब ६० करोडको हकप्रद, ११ अर्ब ४२ करोडको आईपीओ/एफपीओ र ४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्काशन भएको छ ।

आर्थिक वर्ष ०७४/०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत विभिन्न क्षेत्रका ११२ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब ८ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् ।

ती कम्पनीले लगानीकर्तालाई ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर दिएका छन् ।

कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकरण भई कारोबार समेत भइसकेको छ । अधिकाँश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । बोनस सेयर वितरण गर्नेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यस्तै जलविद्युत, होटल र उत्पादनमुलक कम्पनीले पनि लगानीकर्तालाई बोनस सेयर दिएको बोर्डले जानकारी दिएको छ ।

यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई कम्पनीले बोनसका अतिरित्त अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चुत्तापुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् । बैंकले न्युनतम चुत्तापुँजी पुर्याएकाले आगामी वर्षदेखि लगानीकर्ताले बोनस सेयर पाउने संभावना न्युन छ । आगाामी वर्ष लगानीकर्तालाई बोनस भन्दा पनि नगद लाभांश वितरणको संभावना बढी छ ।

सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ ।

यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् । एनएमबी बैंकको बोनस सेयर सुचिकृत हुन बाँकी छ ।

नियामक निकायबाट विभिन्न ५५ कम्पनीले पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । त्यस्तै २७ कम्पनीले आईपीओ र एफपीओमा निष्कासन गर्न अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले २५ अर्ब ६० करोड ४१ लाख रुपैयाँ बराबरको २५ करोड ६० लाख ४१ हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । यी मध्य अधिकाँशले निष्कासन गरिसकेका छन् । भरखरै अनुमति पाएकाले निष्कासनको तयारी थालेका छन् ।

हकप्रद सेयर निष्कासन गर्नेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्र छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुत्तापुँजी बढाउन साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेका हुन् ।

अधिकाँश बैंक तथा वित्तीय संस्थाको न्युनतम चुत्तापुँजी पुगिसकेकाले आगामी वर्षदेखि हकप्रद सेयर निष्कासन कम हुने देखिएको छ । धेरै हकप्रद सेयर निष्कासन गर्नेमा मेगा बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, सिद्धार्थ बैंक र प्रभु बैंक रहेका छन् ।

यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत ५५ कम्पनीले अनुमति पाएका हुन् । हकप्रद सेयर निष्कासन भएपनि अधिकाँशको बिक्री नभएपछि पटक पटक लिलामी गरिएको थियो । पछिल्लो समयमा १०० रुपैयाँका हकप्रद सेयर बिक्री हुन छाडेको छ ।

साढे ११ अर्बको आईपीओ र एफपीओ

नेपाल धितोपत्र बोर्डले विभिन्न २७ कम्पनीलाई ११ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र सिमेन्ट उद्योगले २१ कम्पनीले आईपीओ र ६ कम्पनीले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । यी मध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेडलगायत २१ कम्पनी रहेका छन् ।

आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा राधी विद्युत कम्पनी लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, कालिका पावर लिमिटेड, पञ्चकन्यमाई हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रो लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, माउन्टेन हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् ।

यस्तै, बुटबल पावर कम्पनी लिमिटेड, एनएमबी बैंक, नेपाल बैंक, नेपाल ग्रामीण विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न अनुमति पाएका छन् । यी मध्ये केही कम्पनीले चालु आर्थिक वर्षमा एफपीओ र आईपीओ निष्कासन गर्ने छन् ।

धेरै एफपीओ निष्कासन गर्न अनुमति पाउनेमा अपर तामाकोसी हाइ«ोपावर रहेको छ । तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख र एफपीओमा नेपाल बैंक रहेको छ । बैंकको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ रहेको छ ।

४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्कासन

गत आर्थिक वर्षमा ४ वटा मर्चेन्ट बैंकरले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गरेका छन् । ती बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ करोड एकाई म्युचअल फण्ड निष्कासन गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार म्युचअल फण्ड निष्कासन गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँको सिद्धार्थ इक्विटी फण्ड, सानिमा क्यापिटल लिमिटेडले १ अर्ब ३० करोड रुपैयाँको सानिमा इक्विटी फण्ड रहेका छन् ।

यस्तै एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सीबीआईएल क्यापिटल लिमिटेडले १ अर्बको सिटिजन्स म्युचअल फण्ड निष्कासन गरेका छन् ।

सेयर बजार क्रमश घटदै गएपछि म्युचअल फण्डको बिक्री पनि हुन छाडेकोे छ । म्युचअल फण्ड बिक्री नभएपछि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँको ग्लोबल आईएमई ब्यालेन्स फण्ड र एनआईबीएल एस क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँको एनआईबीएल सहभागीता फण्ड निष्कासन हुन सकेन । अझै १ अर्ब ७० करोड रुपैयाँको म्युचअल फण्ड पाइपलाइनमा छ ।

Share News