विकासन्युज

फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २६ साउन । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, बैंकले शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको १०७औँ सञ्चालक समितिको बैठकले गरेको हो । समितिको यस्तो निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छन् ।

चन्द्रागिरी केबलकार सञ्चालनमा, भाडा सात सय रुपैयाँ

काठमाडौं, २६ साउन । बहुप्रतिक्षित चन्द्रागिरी केबलकार आंशिक सञ्चालनमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । केबलकारबाट दुई तर्फी यात्रा गर्न ७ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आवश्यक केही सुविधा सम्पन्न गरिसकेपछि केबलकार पूर्ण व्यवसायिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरमा सोमबार वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि व्यवसायिक सुरुवात गरिएको हो ।   सोमबार कम्पनीका सञ्चालकहरुले केबलकारको व्यवसायिक शुभारम्भ गर्नुभन्दा पहिले चन्द्रागिरी वरपरका स्थानीयवासिन्दाहरुलाई प्रसाद ग्रहणका लागि निःशुल्क केबलकार चढ्ने व्यवस्था गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीयवासिन्दाहरुलाई आमन्त्रण गरिएकोमा १० हजार ६४१ जनाले सोमबार केबलकारको निःशुल्क सेवा लिएको कम्पनीले जनाएको छ ।   के छ विशेषता ? काठमाडौंकै सबैभन्दा अग्लो स्थानचन्द्रगिरिको उचाइ २५५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् । १. धार्मिक महत्व देवादिदेव महादेवले आफ्नी प्रिय सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरीको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ। भाल पतनभएर उत्पत्ति हुनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्तिपाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँआकर्षक मन्दिर निर्माण गरिएको हो । २. ऐतिहासिक महत्व चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए । पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरी हुँदै फर्केको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको उनका उपदेशमा उल्लेख छ । उनको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा.डा. दिनेशराजपन्तले उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास समेत रहेको छ । ३. प्राकृतिक सौन्दर्यको अनुपम पहाड चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो। घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्तवातावरणले मन आनन्दित तुल्याउँछ। क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ । चन्द्रागिरि चुचुरोबाट सर्वोच्चशिखर सगरमाथाकोअवलोकनगर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ। करिब १८० डिग्रीको रेन्जमायहाँबाट हिमालश्रृंखलाको अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ । पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

सनराइज बैंकको रेमिट्यान्स सेवा अब कोरियाबाट पनि

काठमाडौं, २६ साउन । सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इन्डष्ट्रियल बैंक अफ कोरिया (आइबीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आइबीके को कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार आइबीकेको कोरियामा ६३७ शाखाको संजाल छ जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ । आइबीकेको कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपाल स्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली एनइटाइम रेमिटेन्स अथवा मोबाइल बैकिंग अथवा एटिएमबाट नेपालमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ । यसरी पैसा पठाउने ग्राहकलाई आइबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिने छ र आइबीके मै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्ने गरेको छ भने त्यस्ता ग्राहकलाई आइबीकेले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने छ । यसका अतिरिक्त सनराइज बैंकको खातामा पैसा जम्मा हुँदा सनराइज बैकले कुनै रकम नलिने जानकारी गराएको छ । सनराइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ चयन

काठमाडौं, २६ साउन । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले बैंक अफ काठमाण्डौ लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा चयन गरेको हो । साथै, ईन्ष्टिच्युटको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालकको पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उक्त बैठकले सञ्चालक समितिका निवर्तमान अध्यक्ष शोभनदेव पन्त र निवर्तमान सञ्चालक डा. बिनोद आत्रेयलाई संस्थाप्रति उनीहरुको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाको उद्देश्य अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको लागि बदलिँदो परिवेश अनुरुपको समय सापेक्ष कार्यक्रमहरु आयोजना गर्दै संस्थाले लिएको लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

परिसूचक १९ अंकले बृद्धि, कारोबार रकम २ अर्ब नाघ्यो, बीमा समूह १८० ले उक्लियो

काठमाडौं, २६ साउन । बुधबार सवा ३ बजेसम्म खुलेको बजारमा नेप्से परिसूचक १९ दशमलब १५ अंकले बढेर १७७९ दशमलब ५७ अंकमा पुगेको छ । सो दिन १४६ कम्पनीको ३५ लाख ८१ हजार कित्ता सेयर २ अर्ब २ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ । बजारमा होटल समूह र हाइड्रोपावर समूह बाहेक अन्य बाकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १८० अंकले उकालो लागेको छ । उत्पादनमूलक, विकास बैंक, बैंकिङ र फाइनान्स समूहको परिसूचक दोहोरो अंक क्रमशः ५८, ३२, १४ र १२ ले बढेका छन् । त्यस्तै अन्य समूहको परिसूचक सामान्य अंक ५ ले बढेको छ । होटल समूह र हाइड्रोपावर समूह भने क्रमशः ३६ र २८ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी नेपाल राष्ट्र बैंकको १५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ११ करोड र नेपाल बैंक लिमिटेडको ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

होण्डाको बिआरभी कार नेपाली बजारमा

काठमाडौं, २६ साउन । होण्डा मोटर्सले बिआरभी कार अर्थात बोल्ड रन अबाउट भेइकल नेपाली बजारमा भित्र्यिाएको छ । होण्डा कम्पनीको आधिकारीक नेपाली आयातकर्ता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको बिआरभी मोटर नेपाली बजारमा भित्र्याएको हो । नेपाल मै यो सेगमेन्टमा पहिलो पटक ७ सिट क्षमताको एसएयुभीबिआरभीले उत्तम क्लासको ग्राउन्ड क्लियरेन्स २१० एमए रहेको छ । बिआरभीमा बोल्ड र स्पोर्टी लुक्स, पावरफुल परफरमेन्स र उच्चकोटीको प्रिमियम इन्टेरियर डिजाइन रहेको कम्पनीले जनाएको छ । १६ भल्भ, ४ सिलिण्डर १.५ लिटर आइ भिटिइसी इन्जिन रहेको छ । ६ स्पिड म्यानुअल ट्रान्समिसन र फस्र्ट—इन—क्लास कन्टिन्युअस्ली भेराइबल ट्रान्समिसनको सुबिधाले कारदाई थप आकर्षक बनाएको छ । बिआरभी १.५एल आइ–भिटिइसी पेट्रोल इन्जिनले ११९ पिएस र ६६०० आरपीएमको अधिकतम पावर तथा १४५ एनएममा ४६०० आरपीएमको अधिकतम टर्क दिने कम्पनीले दावी गरेको छ । बोल्ड तथा स्पोर्टी लुक्स, स्मार्ट एन्ट्री सहितको पुस बटन स्टार्ट, इन्टिग्रटेड ह्यान्डस् फ्रि टेलिफोन रहेको ब्लुटुथ अडियो सिस्टम र अडियोको लागि स्टेरिंग माउन्टेड कन्ट्रोल, अटोमेटिक एअर कन्डिसनर रहेका छन् ।

तीज नजिकिदै जाँदा सुन बजारमा सुधारको सङ्केत, यस्ता छन् विक्री नहुँनाका कारण

काठमाडौं, २६ साउन । केही महिनायता सुस्ताएको सुन बजार तीज नजिकिदै जाँदा केही उकालो लाग्न शुरु भएको हो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन हम्मे हम्मे पर्दै आएकोमा यो सातादेखि बजार उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘ बजारमा तीजको चहलपहल बढ्न थालेको छ,’ उनले भने ‘तिजसम्म २० किलोसम्म सुन विक्री हुन सक्छ ।’ दुई महीनायता विक्री नभएको बैङ्कको सुन अहिले उठन थालेको बताइएको छ । अघिल्लो वर्ष भूकम्प गएपनि सुन बजार यसरी नसुस्ताएको उनले बताए । ‘भूकम्प गएको दुई महीना पछिनै दैनिक २० देखि ३० किलोसम्म सुन विक्री भएको थियो,’ उनी थप्छन् ‘ तिजमा त ४५ किलोनै सुन विक्री भएको थियो ।’ तर, यस वर्ष सुन व्यापारीलाई व्यवसाय छोड्नु बोक्नु भएको उनले गुनासो गरे । पछिल्लो समय बढेको कारोबारले केही आशा जगाएको उनले बताए । बजार सुस्ताउनुका प्रमुख चार कारण छन् । पहिलो कारण हो सुनको मूल्य वृद्धि, दोस्रो अन्तरराष्ट्रिय बजार उतार चढाव भइरहनाले ग्राहक पर्ख र हेरको अवस्थामा, तेस्रो सुनका लगानी कर्ता शेयर बजार तिर आकर्षित र चौथो कारण भने पुनःनिर्माणका लागि सुन विक्रीमा आउनु । यी कारणले गर्दा सुन बजार खुम्चिएको हो । गत वर्ष यति बेला प्रतितोला सुनको मूल्य रू.४७ हजारदेखि रू.४९ हजारको हाराहारीमा थियो । अहिले करिब १० हजारले प्रतितोला सुनको मूल्य बढेको छ । मूल्यका कारण सुन बजार ओरालो लागेको र नेपालीको क्रयशक्ति पनि बढ्न सकेका छैन । अहिले नेपाली बजारमा पुरानो सुनसँग नयाँ सुन साट्ने पुरानो सुन बेच्चेको सङ्ख्या बढ्दै गएको छ । विगत केही महीनायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएपछि साट्ने र बेच्नेको सङ्ख्या बढेको हो । ’अहिले नयाँ किन्ने र पुरानो सुन साट्ने ग्राहक बराबर भएका छन् , सुनको मूल्य प्रतितोला रू. ५० हजार नाघेपछि बजारमा यस्तो अवस्था आएको हो,’ शाक्यले भने । केही दिन अघिसम्म सुन बजार सुनसान जस्तै भए पनि सुनको मूल्य रू.६० हजारको हाराहारीमा पुग्न लाग्दा पुनः सुन बजार उकालो लाग्न थालेको हो । सुनको मूल्यवृद्धिका कारण तीजमा नयाँ गहना लगाउने परम्परालाई निरन्तरता दिनका लागि नयाँ सुन किन्नेभन्दा साट्नेको सङ्ख्या बढेको व्यवसायीहरूले बताएका छन् । अन्य समयमा सुनलाई सञ्चित धनका रूपमा राखिने हुनाले प्रायले हत्तपत्त सुन बेच्दैनन् । उपभोक्ताहरूले आफूसँग भएको सुन साटेरै भए पनि काम चलाउनका लागि यसो गरेको शाक्यले बताए । अहिले बजारमा पुनःनिर्माणका लागि पनि बजारमा विक्रीको लागि सुन आएको छ । महिलाको महान् चाड तीज नजिकिएको तथा सुनको मूल्यमा सामान्य कमी आएकाले पनि शुक्रवार सुनबजारमा करीब १ महीनाअघिको जस्तै चहलपहल बढेको थियो । अप्रत्याशित र अपत्यारिलो हिसाबले वृद्धि भएको सुनको मूल्यका कारण हाल बजारमा तीज आएको जस्तो नलागेको सुन व्यवसायीहरू बताउँछन् । ’अघिल्ला वर्ष यो समयमा सुनका गर÷गहना बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ एक व्यवसायीले भने, ’अर्डर दिने र रेडिमेट किन्नेले गर्दा तीज शुरू हुनु अघिदेखि तिहारसम्मका लागि नयाँ कर्मचारी भर्ना गर्ने अवस्था आउँथ्यो, तर अहिले भएकालाई पनि काम छैन ।’ सुनको मूल्य वृद्धिपछि यसको व्यवसाय साघुँरिएर २५ प्रतिशतको हाराहारीमा सीमित भएको उनको भनाइ छ । गत वर्षरूमा यतिबेला दैनिक ३५ देखि ४० केजीको हाराहारीमा सुन खपत हुने गरेको थियो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन पनि गाह्रो थियो ।

महालक्ष्मी फाइनान्सले पायो यूरोपको ‘बेष्ट इन्टरप्राइजेज’ अवार्ड, महालक्ष्मी विकास बैंक छिट्टै

काठमाडौं, २६ साउन । महालक्ष्मी फाइनान्स बेलायतको प्रतिष्ठित संस्था ‘इयुरोप विजनेस एसेम्ली’द्धारा सन् २०१६ को ‘बेष्ट इन्टरप्राइजेज’ अवार्डमा मनोनित भएको छ । साथै उक्त संस्थाले फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई ‘म्यानेजर अफ् द एअर’ पुरस्कारको लागि मनोनित गरेको छ । संस्थाका अनुसार यो पुरस्कार फ्रान्सको केन्स शहरमा ७ अक्टुबरमा आयोजित यूरोपियन अवार्ड नाइट्स सम्बन्धी विशेष समारोहमा प्रदान गरिने छ । यसैबीच महालक्ष्मी फाइनान्ससहित मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज अन्तिम अवस्थामा पुगेको छ । स्रोतका अनुसार नेपाल राष्ट बैंकले यस मर्जलाई अन्तिम स्वीकृति दिईसकेको छ । यी तीन संस्था एक अर्कामा मर्ज भई २०७३ भदौ महिनाभित्र राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक बन्ने कम्पनीले जनाएको छ ।