
काठमाडौं । आगामी वर्षदेखि वर्षादमा बढी भएको बिजुली बेच्ने नेपालले तयारी गरिरहेका बेला भारतमा माग भन्दा आपूर्ति धेरै हुने भएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले आगामी वर्ष सन् २०१८/०१९ मा बिजुली माग भन्दा बढी आपूर्ति हुने देखाएको हो ।
प्राधिकरणका अनुसार न्युनतम २.५ देखि अधिकतम ४.६ प्रतिशत बढी बिजुली आपूर्ति हुनेछ । प्राधिकरणले आगामी वर्ष बिजुली बढी आपूर्ति हुने संकेत देखाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
यता नेपालमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खामा कम हुने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणले गरेको छ । वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खामा आयात गर्नका लागि ऊर्जा बैंक अवधारणा कार्यान्वयनका लागि दुई देशबीच हाल छलफल चलिरहेका छ ।
छलफल चलिरहेका बेला भारतमै बिजुली बढी हुने प्रतिवेदन सार्वजनिक भएपछि नेपालको बिजुली बेच्ने योजना असफल हुने संकेत देखिएको हो । गत आर्थिक वर्षको सुख्खायाममा विद्युत प्राधिकरणले भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात गरिसकेको छ । यो वर्ष माथिल्लो तामाकोसीलगायत साना ठुला गरी एक दर्जन आयोजना सम्पन्न भई प्रणालीमा ७५४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ ।
भारतको केन्द्रीय प्राधिकरणले गत वर्ष नै बिजुली बचत हुने प्रक्षेपण गरेको थियो । तर यो वर्ष बिजुली पिक पावर २.१ र समग्रमा ०.७ प्रतिशत कम हुने भएको छ । तर आगामी वर्ष बढी हुने प्राधिकरणको माग र आपूर्ति सन्तुलन प्रतिवेदनले देखाएको हो ।
भारतमा जडित क्षमता बढेर ३ लाख ४४ हजार मेगावाट अर्थात ३४४ गिगावाट पुग्ने अनुमान त्यहाँको केन्द्रीय विद्युत प्राधिकरणको छ । यस्तै माग भने १ लाख ७० हजार मेगावाट मात्र अर्थात १७० गिगावाट मात्र हुने प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिवेदनका अनुसार भारतको पश्चिममा १.९, उत्तरमा १४.८, उत्तरपूर्वि क्षेत्रमा २२.९ प्रतिशत बिजुली बढी हुनेछ । यद्यपी दक्षिणी र पुर्वी क्षेत्रमा ऊर्जाको अभाव क्रमशः ४.२ र ०.७ प्रतिशत हुने छ । यी दुई क्षेत्रमा कम भएपनि अन्य क्षेत्रमा बढी हुने देखिएको हो ।
२०१८/०१९ मा भारतमा बिजुली १३ खर्ब ९८ अर्ब ७० करोड युनिट बिजुली आपूर्ति हुने छ । यो आपूर्ति जलविद्युत, खनिज इन्धन, कोइला र आणविक ऊर्जाबाट पूर्ति हुने छ । कोइलाबाट मात्रै १० खर्ब ४ अर्ब ४२ करोड युनिट बिजुली उत्पादन हुने छ ।