काठमाडौं । नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा १ हजार ३०९ मिटर भूमिगत लाइन बनाउनु पर्छ । त्यसमध्ये हालसम्म ६३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाईनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ । निर्माणका लागि अहिले २७० श्रमिक परिचालित छन् ।
रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए ।
‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौ, रुख कटानमा रहेको समस्या समाधान गछौं’,मन्त्री पुनले भने,‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ ।’
मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारणलाइनको रुट केही परिर्तन हुँदा काट्नु पर्ने रुखको संख्या घटेर ३३६वटा पुगेको छ । रुख कटानका स्वीकृतिका लागि फाइन वन विभागका पुगेगको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेश गर्नु परेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ ।
भूमिगत लाइनका लागि सडक खनिएकाले वर्षादको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् ।
प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए को विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली ३ एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । त्यसले पनि प्रसारणलाइन सोही अवधिभित्र बनासक्नु दवाव छ । ४५ किलोमिटर प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए ।
यो प्रसारण लाइन आगामि दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।