एनआरएनले बनाउने लाप्राक उदाहरणिय बन्छः प्रधानमन्त्री
काठमाडौं, २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा बनाउनलागेको नमुना वस्ती नेपालको पुनःनिर्माण अभियानका लागि उदाहरणीय र अनुकरणीय हुने विश्वास ब्यक्त गरेका छन् । संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत बितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनःनिर्माण अभियानपनित्यस्तै अनुकरणीय हुने बिश्वास ब्यक्त गरेका हुन । सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको बताएका थिए । सो अबसरमा अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भईरहेको जानकारी गराएका थिए । भेटमा अध्यक्ष घलेले नेपाल सरकारसँग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर रहेको बताएका थिए । यसैवीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नै लाप्राक पुनःनिर्माण अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भएपनि सम्झौता अनुसार काम गर्न प्राधिकरण तयार रहेको बताएका थिए । गैरआवासीय नेपाली संघको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउन भएको सम्झौता अनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ ।
पोखरामा मोबाइल मेला सुरु, खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने
पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा आजदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल ब्रान्डेड कम्पनीका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान बिक्रीका लागि राखिएको सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिए। विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनि राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउन भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा ८० वटा कक्ष राखिएका छन् । मेलामा प्रत्येक सामान खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले जानकारी दिए । रासस
युनिलिभर नेपालले प्रतिसेयर १०२० रुपैयाँ नगद लाभांश दिने
काठमाडौं, २८ साउन । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई १०२० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । जसअनुसार युनिलिभरको एक कित्ता सेयर भएका सेयरधनीले १०२० रुपैयाँ नगद लाभांस पाउने भएका छन् । उक्त निर्णय शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णय कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रामा लाभांस पाउनेछन् ।
एफपिओको मुल्य निर्धारणका आधार तयार, यस्ता छन मापदण्ड
काठमाडौं, २८ साउन । नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीले जारी गर्ने एफपिओ(फर्दर पब्लिक अफरिङ)को मुल्य निर्धारणको आधार तयार पारेको छ । बोर्डको सञ्चालक समिति बैठकले विभिन्न चार वटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औषतलाई एफपिओको मुल्य निर्धारण गर्न सकिने व्यवस्था अघि सारेको हो । यस्ता छन एफपिओको मुल्य निर्धारणका आधारहरु -पूँजीकृत भएको आम्दानी -प्रति सेयर खुद सम्पतिको मुल्य -एक सय ८० दिनको औषत बजार मुल्य -भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य यसरी चार वटा विधि प्रयोग गरि प्राप्त भएको कुल मुल्यको सामान्य औषत गणना गरि एफपिओको मुल्य निर्धारण गर्न सकिने निर्णय बोर्डले गरेको हो । बोर्डले चार वटा विधिबाट प्राप्त हुने मुल्यको समेत औचित्य पुष्ठि हुने आधारहरु हुनुपर्ने सर्त अघि सारेको छ । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले औचित्य पुष्टि गर्ने कुरा घुमाउरो भएको बताए । उनले तथ्यांकमा जानुपर्ने बताउँदै बोर्डले औचित्य पुष्ठि गर्नु पर्ने मान्यता अघि सारेर एफपिओको मुल्य निर्धारणलाई अस्पष्ट पारेको आरोप लगाए ।
अष्ट्रेलियन ब्राण्डको बुटिक वाइन नेपालमा, ब्राण्ड एम्वेस्डरमा नायक रेश मरहठ्ठा
काठमाडौं, २८ साउन । नेपाली बजारमा अष्ट्रेलियन ब्राण्डका उच्च गुणस्तरीय वाइनहरु सार्वजनिक भएका छन् । फ्रेस फूड ट्रेडर्सले पहिलो पटक यस्ता वाईनहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । नेपालका लागि अष्ट्रेलिया राजदुत ग्लेन ह्वाइट, नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा,नेपाल–अस्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईँ र कम्पनीका ब्राण्ड एम्वेस्डर रेश मरहठ्ठाले एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक सुनिल साहले उक्त ब्राडको विभिन्न पाँच किसिमका बुटिक अष्ट्रेलियन वाइन पहिलोपटक नेपाली बजारमा भित्रिएको बताएका छन् । कम्पनीका अनुसार नेपाली बजारमा प्लान्टाजेनिट, विलअवार्ड पार्क, वाइरन एण्ड हेरोल्ड, पिएस इस्टेट र टेरा फ्लिक्स वाइन सार्वजनिक भएको छ । यी वाइनहरु गुणस्तरिय रहेको कम्पनीका सञ्चालक साहले बताएका छन् । साथै उनले अष्ट्रेलियाबाट आएका टेरा फिलिक्स र वायरन एण्ड हेरोल्ड वाइनका सञ्चालकहरुले नेपालमा आफ्ना कम्पनीका उत्पादनहरुको विक्रि तथा प्रबद्धन गर्न पाउँदा खुशी लागेको र नेपाली वाइनका पारखीले अष्ट्रेलियन वाइनलाई मन पराउने विस्वास व्यक्त गरेका छन् । कार्यक्रममा कम्पनीले नेपाली कलाकार रेश मरहट्ठालाई ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ । उनले अन्तराष्ट्रिय प्रोडक्टको ब्राण्ड एम्वेस्डर हुन पाउने नेपाली कलाकारका लागि गर्वको कुरा भएको बताएका छन् ।
जलवायु परिवर्तनको जोखिममा गण्डकी जलाधार क्षेत्र
काठमाडौं, २८ साउन । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर र त्यसबाट जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरणका लागि अध्ययन सुरु गरिएको छ । तिब्बतबाट उत्पत्ति भई नेपाल हुँदै भारततर्फ बग्ने गण्डकी नदी तराई, शिवालिक, पहाड, तल्लो हिमालय, उच्च हिमालय र ट्रान्स हिमालय क्षेत्रमा फैलिएको छ । नेपालभित्र १९ जिल्लाका करिब ३२ हजार वर्ग किमी क्षेत्रफल ओगटेको यस नदीको जलाधार क्षेत्रमा देशको कुल जनसङ्ख्याको १० प्रतिशत बासिन्दा बसोबास गर्दछन् । कृषि र पर्यटन नै जीविकोपार्जनको मुख्य आधार रहेको यस क्षेत्रका बासिन्दामध्ये ६६ प्रतिशत कृषिमै निर्भर रहेका छन् । जलविद्युत्को ५० प्रतिशत सम्भावना रहेको यस क्षेत्रमा जलवायु परिवर्तनको असरले कृषि, पर्यटन जलस्रोत, जैविक, विविधतामा प्रत्यक्ष असर पारेको एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले देखाएको छ । यसमा जलवायु परिवर्तनले गण्डक जलाधारमा पर्ने रसुवा, नुवाकोट र चितवनमा गरिएका अभ्यासको नमुना अध्ययन गरिएको छ । अध्ययनका बारेमा नीतिनिर्माता सरोकारवाला निकाय, स्थानीयवासीका प्रतिनिधिहरुलाई इसिमोडद्वारा आयोजित दुईदिने कार्यशालामा वक्ताहरुले जलवायु परिवर्तनको जोखिम, यसले पारेको प्रभाव र त्यसबाट बच्न अपनाइएका अनुकूलनका प्रयासहरुका बारेमा जानकारी गराइएको छ । कार्यशालामा इसिमोडका निर्देशक एकलव्य शर्माले जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर, त्यसबाट बच्न स्थानीयवासीले गरेको परम्परागत ज्ञान, अभ्यास र प्रविधिहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी खनाल, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले पनि जलवायु परिवर्तनबाट उपल्लो, मध्य तथा तल्लोतटीय क्षेत्रमा पारेको असर, ती क्षेत्रहरुबीचको सम्बन्ध र आगामी दिनमा अपनाउनुपर्ने उपायका बारेमा सरकारी, गैरसरकारी र सहयोगी संस्थाहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यशालामा इसिमोडका मन्दिरा श्रेष्ठले जलवायु नमुनाका पूर्वानुमान, प्रणिता उदासले गण्डक जलाधारको जोखिम पक्ष र विमल रेग्मीले अनुकूलनका अभ्यासहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
खानेपानीको शुल्क नउठ्दा अनुगमन गर्न कठिन, २ करोड बढी रकम उठ्न बाँकी
काठमाडौं, २८ साउन । खानेपानीका सेवा प्रदायक संस्थाले खानेपानी महसुल निर्धारण आयोगलाई उठेको शुल्कको एक प्रतिशत सेवा शुल्क नबुझाउँदा पानीको गुणस्तर अनुगमन गर्न अप्ठ्यारो भएको छ । खानेपानीका तीनवटा सेवा प्रदायक संस्थाले आयोगलाई आर्थिक वर्ष २०७२/७३ सम्मको रु दुई करोड २२ लाख ३२ हजार ५२८ बक्यौता सेवा शुल्क बुझाउन बाँकी छ । खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ अनुसार सेवा प्रदायक संस्थाले उपभोक्ताबाट उठाएको शुल्कको दुई प्रतिशत दिनुपर्ने व्यवस्था भए पनि एक प्रतिशत मात्र लिने निर्णय गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल खानेपानी संस्थानले बक्यौता सेवा शुल्क नदिँदा कार्यालय चलाउनसमेत नसकिएको अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए । भरतपुर र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले भने तिर्नुपर्ने सबै शुल्क तिरेको उनले जानकारी दिए । “आयोगले पाउनुपर्ने शुल्क नपाउँदा विगतमा कर्मचारीले नौ महिनासम्म तलब खान पाएनन्, पर्याप्त मात्रामा कर्मचारीको व्यवस्था नहुँदा आयोग कार्यालय जस्तो भएन” – अध्यक्ष अधिकारीले भने । संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ स्वास्थ्यसम्बन्धी हकको उपधारा ९४०मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भनी खानेपानी र सरसफाइको हक सुनिश्चित गरिएको छ । तर आयोगमा अध्यक्ष, लेखापाल, चालक र कार्यालय सहयोगी एक/एक गरी चारजनामात्र जनशक्ति हुँदा स्वच्छ पानी पिउन पाउने नागरिकको आधारभूत आवश्यकता पूरा हुन सकेको छैन । कार्यालयमा स्रोत नहुँदा कर्मचारी थप्न नसकिएको र कर्मचारी नहुँदा पानीको गुणस्तरीयताको अनुगमन गर्न नसकिएको आयोगको भनाइ छ । पानी गुणस्तरीयताको अनुगमन हुन नसक्दा वर्षायाममा पानीकै कारण विभिन्न रोगको सङ्क्रमण बढ्ने गरेको छ । आयोगलाई सरकारले बजेट नदिने भएकाले सेवा प्रदायक संस्थाबाटै उठेको शुल्कले खर्च जुटाउनुपर्ने बाध्यता छ । जनशक्तिको व्यवस्था नगरिँदा उपभोक्ता अधिकारबाट वञ्चित भएका छन् । संविधानको धारा ४४मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनी उपभोक्ताको हक सुनिश्चित गरिएको छ । सोही धाराको उपधारा ९२०मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी संवैधानिक उपचारको व्यवस्था गरिएको छ । रासस
माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ मोबाइल सार्वजनिक, मूल्य १६ हजार मात्र
काठमाडौं, २८ साउन । माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ (क्यानभास युनाइट फोर प्रो) मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । बजारमा सो मोबाइलको मूल्य १६ हजार २ सय ३६ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोबाइलमा एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा आधारित छ । मोबाइलमा २ जीबी र्याम, १६ जीबी रोम र थप ३२ जीबी विस्तार गर्न सकिने एसडी कार्ड प्रयोग गर्न सकिने छ । जसका कारणले कुनै तस्विर, डकुमेन्ट र भिडियो स्टोर गर्न समस्या नहुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो मोबाइलमा १.३ जिएचडी क्वाड कोर प्रोसेसर रहेको छ । यसमा १६ जीबी रोम रहेको र फोनमा शक्तिशाली ३९०० एमएएच ब्याट्री छ र ५.१ इन्चको एचडी डिस्प्ले रहेको छ । यो फोनमा ८ एमपी हाई रिजोलुसन अटोफोकश रियर क्यामरा र ८ एमपी फ्रन्ट क्यामरा रहेको छ जसको सहायताले उत्कृष्ट सेल्फी खिच्न सकिने कम्पनीले जनाएको छ । दुईवटा सीम लाग्ने उक्त मोबाइलमा हाइब्रिड सिम स्लट रहेको छ जसले थ्रीजी र फोरजी नेटवर्कमा सर्पोट गर्ने कम्पनीले जनाएको छ । मोबाइलमा वाईफाई, ब्लुटुथ लगायत फिंगरप्रिन्ट सेन्सर समेत छ । यो मोबाइलमा ३३५० एमएचको पावर ब्यांक निशुल्क पाउने कम्पनीको दावी छ ।