काठमाडौँ । सरकारले आउदो मंसिरसम्म यातायात व्यवसायीलाई कम्पनीमा दर्ता गर्न भनेको छ । यातायात व्यवस्था विभागले आउदो मंसिरसम्म यातायात सेवाको नाम पञ्जीकृत गर्न व्यवसायीलाई जानकारी गराएको छ ।

मंसिरसम्म कम्पनीको रुपमा दर्ता नहुने सवारीसाधनको रुट इजाजत खारेज हुने विभागले स्पष्टपारेको छ । हाल यातायात सेवाको इजाजत नलिइ रुट अनुमति मात्र लिएर सवारीसाधन सञ्चालन गर्न नपाइने जानकारी गराउदै दर्ता हुनुपर्ने विभागको भनाई छ । सवारी तथा यातायात व्यवस्था ऐन मा सेवाको पञ्जीकृत नगरी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको विभागले जानकारी गराएको छ ।
यसअघि समितिमा दर्ता हुदै आएका सवारीसाधन अब विभागमा दर्ता हुनु पर्ने छ । यातायात व्यवसाय कम्पनीमा परिणत हुनुपर्ने व्यवस्था गरिएको छ । सिण्डिकेट हटेको ५ महिनाको अवधिमा २८२ वटा नयाँ यातयात कम्पनी थपिएका छन् । यो समेत गरी यातायात व्यवसाय गर्ने कम्पनीको संख्या ९२२ पुगेको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ । गत चैतसम्म ६४० वटा मात्रै यातायात कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका थिए ।
सरकारले यातायात समिति खारेज गरेर दर्ता गर्न र नयाँलाई धमाधम गाडी सञ्चालनका लागि रुट इजाजत दिन थालेपछि संगठित रुपमा व्यवसायी दर्ता हुने क्रम बढेको रजिष्टार कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो समयमा मयुर यातायात, अन्नपुर्ण यातायात, महानगर यातायात, सुर्यौदय, ऋणद्धिसिद्धी, हरिसिद्धी र सिटीलगायत यातायात दर्जनौं कम्पनीले काठमाडौं उपत्यका र बाहिर बस सञ्चालन गरिरहेका छन् । वस सञ्चालन गर्न नयाँ कम्पनी आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । यसैगरी अन्य व्यवसाय सञ्चालनका गर्नका लागि दर्ता गर्न आउने कम्पनीको संख्या बढेको छ ।