विकासन्युज

हेलिकप्टर उडानमा नागरिक उड्ययन प्राधिकरणले गर्यो नयाँ निर्णय

काठमाडौं २७ साउन। नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान भर्दा सुरक्षा मापदण्ड उल्लंघन गरे लाइसेन्स खारेज गर्ने भएको छ। मापदण्ड मिचेर चलाएमा प्राधिकरणले हेलिकप्टर उडाउने पाइलट र हेलिकप्टर कम्पनीको लाइसेन्स खारेज गर्ने सक्ने निर्णय गरेको हो। लगातार प्लेन र हेलिकप्टर दुर्घटना परी ज्यानसम्म जाने स्थिति आएपछि यस्तो निर्णय लिएको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए। गत सोमबार फिसटेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा क्याप्टेन सहित सातजनाको मृत्यु भएको थियो। केसीले प्राधिकरणले मंगलवार उक्त निर्णय गरेको र सवै हवाइ कम्पनीहरुलाई पत्राचार पनि गरिसकेको बताए। प्राधिकरणले हेलिकप्टरका लागि पहिलो पटक यस्तो निर्णय गरेको जनाएको छ। पाइलटले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको हुनुपर्ने, ‘फ्लाइट डिस्प्याचर’ ले प्रत्येक उडान योजनाअनुसार बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्ने, हेलिकोप्टर सेवा प्रदायकले वर्षायामका सबै उडान गतिविधिको समग्र सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको केसीले बताए। ‘हवाइ सुरक्षा उल्लङ्घन गरे चालकदल र कम्पनीको लाइसेन्स खारेज गरिनेछ’ उनले भने ‘घटना र सुरक्षाको प्रकृति हेरेर एओसी समेत खारेज वा रद्द गरिनेछ।’ प्रधिकरणको नयाँ निर्देशन अनुसार पाइलटले सुरुवात देखि गन्तव्यसम्मको बीच बाटोको मौसमबारे पूर्णरूपमा जानकारी लिनुपर्ने व्यवस्था रहेको केसीले बताए। खराब मौसमका कारण उडान गर्न सम्भव भए उडानलाई निरन्तरता दिनुहुँदैन र उपयुक्त कतै ल्याण्ड गरी मौसम सुधार भएपछि मात्र उडान गर्नुपर्ने उल्लेख रहेको उनले जानकारी दिए।

नवविवाहित दम्पत्तीलाई स्वागत गर्न पोखरामा हनिमुन लेक बनाईदै

पोखरा, २७ साउन । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवद्र्धन गर्न लागिएको छ । दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ ।  लेखनाथ नगपालिकाको चौंथौ ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल रहेका छन् ।   यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमल लगायतका फूलका साथै नाभो, गुँद जस्ता वनस्पति पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएका कारण यसलाई ‘भर्जिन’ तालका रुपमा समेत लिने गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । तालको सौन्दर्य बचाइराख्न समिति एवम् स्थानीयवासी क्रियाशील रहेको बताउँदै उनी भन्छन्– “पोखराका अन्य ताल भन्दा यो सुरक्षित छ । वरिपरि वस्ती छैन । चारैतिर सामुदायिक वनबाट घेरिएका कारण पनि यो ताललाई ‘भर्जिन’ मानिएको हो ।”  तालमा पछिल्लो समयमा बढिरहेको पर्यटकको आकर्षणलाई लक्ष्य गरी वरिपरि पदमार्ग निर्माण गरिएको छ । दिपाङ ताल संरक्षण समितिको विशेष सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा २९ लाख रुपैयाँको लागतमा आव २०६६÷६७ मा बाँध निर्माण गरिएको थियो ।  पछिल्लो समयमा पर्यटन मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डले विनियोजन गरेको ३० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको र सोही बजेटबाट ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल निर्माण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए । “दृश्यावलोकनका लागि प्रमी प्रेमिकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई आकर्षण गर्ने ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने लक्ष्य राखेको छौं,” उनले भने – “यहाँ आउने पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थल जस्ता पूर्वाधारको निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।” ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान हुनुका साथै तालको अवलोकनमा आउने पर्यटक विशेष लाभान्वित हुने विश्वास लिइएको छ ।  साइकल कुदाउन मिल्ने गरी निर्माण गरिएको पदमार्गको दायाँबायाँ विभिन्न जातका एक हजार २०० विरुवा रोपिएका छन् भने समितिले नजिकैको सार्वजनिक जग्गामा वनभोज स्थल समेत बनाएको छ । पछिल्लो समयमा तालमा बढिरहेको जालो गम्भीर चुनौतीका रुपमा देखिएको भन्दै दिपाङ ताल संरक्षण समितिले राष्ट्रिय ताल संरक्षण विकास समिति र रामसारको सचिवालयमा त्यसलाई हटाउन र समग्र तालको सुन्दरतालाई कायम गर्न बजेट समेत माग गरेको छ । दिपाङ तालको वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे वन सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत रहेका छन् । वरिपरिका सामुदायिक वनका कारण पनि दिपाङ ताल संरक्षित रहेको स्थानीय समाजसेवी एवम् पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व सचिव गोमानाथ लामिछाने बताए । उनका अनुसार तालको अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा वनभोज स्थल निर्माण गरिएको छ ।  लेखनाथ नगरपालिका कार्यालयको सिफारिसमा भवन तथा सहरी विकास कार्यालयबाट करिब नौ लाख रुपैयाँ र उपभोक्ता समितिको करिब एक लाख रुपैयाँ गरी लगभग १० लाख रुपैयाँको लागतमा दुई वटा ट्रस, खानेपानी, शौचालय लगायतका वनभोजस्थलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लामिछानेले जानकारी दिए । लगभग ४०० जना क्षमताको वनभोजस्थलमा रमाउँदै ताल र वरपरको दृश्यावलोकन गर्न पाउनु यहाँको विशिष्टता भएको उनको भनाइ छ । दिपाङसहित लेखनाथका सातवटै तालको संरक्षण र विकासलाई लेखनाथ नगरपालिकाको कार्यालयले आफ्नो प्राथमिकतामा राखेको छ । दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने स्थानीयवासी तथा संरक्षण समितिको सोचलाई मूर्तरुप दिन नगरपालिका कार्यालयबाट निरन्तर सहयोग गर्ने वचनबद्धता लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले प्रकट गरे । दिपाङ सहितका पोखराका नौ वटा ताल रामसार सूचीमा सूचीकृत भएसँगै यिनको संरक्षणको विषयले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासो पाउन थालेको छ ।  हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनलाई रामसारमा सूचीकृत पोखराका तालहरूको व्यवस्थापन गर्ने योजना तयार पार्ने जिम्मा दिइएकामा फाउन्डेसन सरोकारवालाबीच छलफल गराउँदै उक्त कार्यलाई निष्कर्षमा पु¥याउन क्रियाशील बनेको अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए । उहाँका अनुसार सरोकारवालासँगको छलफलपछि त्यहाँको आवश्यकता समेतलाई दृष्टिगत गरी व्यवस्थापन योजना तयार पारिने छ । आगामी सेप्टेम्बरभित्रमा योजनाको प्रारम्भिक मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ भने त्यस अघि विभिन्न विज्ञसहितको सहभागितामा तालसँग सम्बन्धित व्यक्ति र समुदायबीच अन्तरक्रिया गरिने भएको छ । कार्यक्रम अनुरुप आगामी सेप्टेम्बर १३ मा रुपा र बेगनास ताल, सेप्टेम्बर १४ मा खास्टे, न्युरेनी, गुँदे, मैदी र दिपाङ तालका साथै १५ र १६ मा फेवातालका सरोकारवालाबीच छलफल राखिने पोखरेलले बताइ । प्राकृतिक सुन्दरता बोकेका लेखनाथका दिपाङ सहितका तालको व्यवस्थापन योजना तयार भएसँगै यिनीहरुको दीर्घकालीन संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

जनशक्तिको अभावमा स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयनमा समस्या, २२ जिल्लाको कार्यक्रम ५ जिल्लामा मात्र

काठमाडौँ, २७ साउन । पर्याप्त जनशक्ति नहुँदा सरकारले सुरु गरेको बिमा थप २२ जिल्लामा केही ढिलो गरी सुरु हुने भएको छ । बाइस जिल्लामध्ये पहिलो चरणमा पाँच जिल्लामा मात्र कार्यक्रम सुरु गर्न लागिएको सामाजिक विकास सुरक्षा समितिले जनाएको छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको बिमा कार्यक्रम सुरु गरेको हो । सरकारले चरणवद्ध रुपमा सबै जिल्लामा लागू गर्ने गरी पहिलो चरणमा सुरुमा कैलाली, बागलुङ र इलाममा सो कार्यक्रम सुरु भइसकेको छ । अहिले झापा, सोलुखुम्बु, सुनसरी, महोत्तरी, रौतहट, पर्सा, मकवानपुर, चितवन, सिन्धुली, गोरखा, तनहुँ, कास्की, म्याग्दी, पाल्पा, जागरकोट, जुम्ला, बैतडी, बर्दिया, रोल्पा, सुर्खेत, भक्तपुर, अछाम, इलाम, बागलुङ र कैलालीमा बिमा कार्यक्रम लागू गर्ने घोषणा गरिएको छ । यीमध्ये कैलालीमा उक्त कार्यक्रम सुरु भई अहिलेसम्म पाँचसय तीन जनाले बिमा कार्यक्रमबाट सेवा लिइसकेका छन् भने बागलुङ र इलाममा भदौ १ गतेबाट सेवा सुरु हुँदैछ । अहिलेसम्म कैलालीमा आठ हजार ५४९, इलाममा तीन हजार ९३६ र बागलुङमा एक हजार ५८७ जनाले सदस्यता दर्ता गरिसकेका छन् । आगामी कात्तिकबाट बैतडी, अछाम, पाल्पा, म्याग्दी र कास्कीमा सदस्यता दर्ता गरी फागुनबाट सेवा प्रदान गर्नेगरी गृहकार्य भइरहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले जानकारी दिए । “एकै पटक २२ जिल्लामा काम सुरु गर्न हामीसँग पर्याप्त जनशक्ति छैन । त्यसका लागि हामीले पहिले नै जनशक्ति तयार गर्नुपर्छ । त्यो २२ जिल्लालाई पुग्ने गरी अहिले जनशक्ति तयार गर्ने अवस्था नभएकोले अहिले पाँच जिल्लाबाट यो कार्यक्रम सुरु गर्दैछौँ,” उनले भने । एउटा जिल्लामा बिमा कार्यक्रम सुरु गर्न एकजना दर्ता अधिकारी र तीनजना दर्ता सहयोगी गरी चारजना जनशक्तिलाई तालिम दिई तयार गरिएको हुन्छ । सरकारले स्वास्थ्य बिमा सुरु गरेसँगै विभिन्न अस्पतालसँग सहुलियत दरका उपचारका लागि सम्झौता पनि गरिसकेको छ । सम्झौतामा बिमाले निर्धारण गरेको शुल्कमा बिरामीको उपचार गराउने कुरालाई उल्लेख गरिएको सामाजिक सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिए । स्वास्थ्य बिमाका सदस्य गरेका बिरामीले आफ्नो पायकपर्ने नजिकका अस्पतालमा उपचार सम्भव नभए वा चिकित्सकको सल्लाहका आधारमा ठूला अस्पतालमा उपचार गर्न पाइने व्यवस्था छ । तर चिकित्सकको सल्लाहबिना उक्त बिरामीको उपचार स्थानीय वा नजिकको स्वास्थ्य केन्द्रमा सम्भव हुँदाहुँदै केन्द्रका ठूला अस्पतालमा उपचार गराउन चाहेमा भने बिमा कार्यक्रमबाट ५० प्रतिशत मात्र सेवा लिन सकिनेछ । हाल सम्झौता भएका अस्पतालमा वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, गङ्गालाल, मानसिक रोग अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, निजामती अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, प्रसूति गृहलगायतका काठमाडौँ उपत्यकाका १० अस्पतालमा सम्झौता गरिएको छ । सरकारले स्वास्थ्यलाई सबैको पहुँचमा पु¥याउन गत चैत महिनादेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । स्वास्थ्य बिमामा सहभागीले बिमा फारम भर्दा नै कहाँ उपचार गराउने हो त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पतालहुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ । स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले वार्षिक रु ५० हजारसम्मको उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । पाँचजना सदस्य भएका परिवारले बिमाका लागि सदस्य फारम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्छ । पाँचभन्दा बढी परिवारका सदस्य छन् भने प्रतिसदस्य रु ४५० थप तिर्नुपर्छ र उसको परिवारले थप रु १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाउँछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । तर सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् रहने बताइएको छ । रासस

३८ देशसँगको वैदेशिक व्यापार नाफामा, यी हुन् नेपालसँग व्यापार घाटा खाने मुलुकहरु

काठमाडौं, २७ साउन । नेपालले संसारका १८६ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । ती मुलुकहरुसँगको वैदेशिक व्यापार वापत नेपालले आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब ४४ अर्ब रुपैंयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । सो व्यापारबाट नेपालले ७ खर्ब ४ अर्ब व्यापार घाटा व्यहोरेको छ । नेपालले अघिल्लो आर्थिक वर्षमा जम्मा ७० अर्ब २५ करोडको निर्यात गरेर ७ खर्ब ७४ अर्ब मुल्य बराबरको समान आयात गरेको देखिन्छ । यति ठुलो व्यापार घाटाका वावजुद पनि नेपालले विभिन्न ३८ देशसँगको वैदेशिक व्यापारमा भने नाफा कमाएको छ ।नेपालले अफगानिस्तान, कंगो, पुवी टिमोर, इस्टोनिया, इरान, लिथुवानिया, माली, मंगोलिया, निकारागुआ, स्लोभेनिया, सुडान लगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरेको देखिन्छ । अचम्म त के छ भने नेपालले नर्वे, पोर्चुगल र बेलायतसँग पनि वैदेशिक व्यापारमा नाफै गरेको छ । यी हुन नेपालले व्यापार नाफा गरेको ३८ मुलुकहरु:  

केएल टावरमा एक महिने कार्निभल, ५० प्रतिशतसम्म छुटको अफर

काठमाडौं, २७ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक महिनमा सम्म कार्निभल संचालनमा ल्याएको हो । उक्त अवधिमा ग्राहकहरुले ५० प्रतिशतसम्मको छुटमा सपिङ गर्न सक्ने छन् । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइन तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणी तिमल्सीनाले जानकारी दिए । उक्त टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । श्रावण २८ गतेबाट संचालनमा आउने सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।

हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा

विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा सो सेन्टर सञ्चालन गर्न लागेको हो । उक्त थ्री एस् सेन्टर मार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस नव निर्मित थ्री एस् सेन्टर श्रीमती चन्द्रमाया थापा, न्यु अटो प्लाजा कन्सर्न प्रा. लि. र श्रीमान् निराकार श्रेष्ठ (कार्यकारी निर्देशक) लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि बाट संयुक्त रूपमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यस सोरुममा एकैचोटि ५–६ वटा हुन्डाइ ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ । आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ । कम्पनीका अनुसार एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता युक्त यो सर्भिस सेन्टर आफैमा विश्वस्तरीय छ । यसको साथै यहाँ हुन्डे जेनुयिन स्पेर पार्टस्को पर्याप्त मौज्दातको साथै बिक्री सेवाको पनि व्यवस्था छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि. ले सन् २००९ फेबु्रअरी देखि नेपालमा हुन्डाइ ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको हो । कम्पनीको मुख्य उद्देश्य हुन्डाइ गाडी बिक्री मात्र नभई, आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् उपलब्ध गराउनु पनि हो । यही उद्देश्य पूर्तिका लागि कम्पनीले नेपालको विभिन्न शहरहरुमा हुन्डे सोरुम, सर्भिस सेन्टर तथा स्पेर पार्टस् बिक्री कक्ष स्थापना गर्दै आएको छ । विर्तामोडमा निर्माण गरिएको यस नयाँ थ्री एस् सेन्टरले ग्राहकलाई उच्चस्तरीय सेवा दिने र ग्राहकको पहुँचका निम्ति सञ्जाल विस्तार गर्ने कम्पनीको प्रयासमा नयाँ आयाम थप्नेछ । कम्पनीले निकट भविष्यमै काठमाडौं तथा नेपालका अन्य शहरहरुमा थप सोरुम तथा सेवा विस्तार गर्ने लक्ष लिएको छ । विर्तामोडको नयाँ थ्री एस् सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा दिनुका साथै गाडी खरिदको नौलो अनुभूति प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं, २७ साउन । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा विद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका छन् । बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको बैंकले जनाएको छ । हाल सम्म बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

टाटा मोटर्सको चौथौँ कार मेला आजबाट शुरु

काठमाडौं, २७ साउन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन ४ (अर्थात चौथौँ कार मेला ) आजबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु भएको छ । यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । कार्यक्रम उद्घाटनको क्रममा टाटा मोटर्सका कन्ट्री म्यानेजर, हेमन्त पुरानिकले उक्त कार मेला टाटाको विभिन्न मोडलका अत्याधुनिक कारहरु अवलोकन, छनोट र टेस्ट ड्राइभको लागि ग्राहकहरुलाई एक उचित अवसर भएको बताए । साथै कम्पनीले उनीहरुको पुराना गाडीहरुको उच्च मूल्याङ्कन र खरिद गर्ने, नयाँ कारहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा समेत प्रदान गर्ने कुरा उनले जानकारी गराए । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि पूर्ण पारिवारिक र उमङ्गमय माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र मिष्ठान्न परिकारहरुका साथ संचालन हुने कुरा समेत उनले जानकारी गराए । कार्यक्रममा गाडीको ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । साथै उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिनेछ । शनिबार र आइतबार चर्चित कलाकारहरु इन्दिरा जोशी र जितु नेपालले समेत मनोरञ्जन गराउने उक्त मेलाका अन्य आकर्षणहरुमा बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल एवं खेल प्रतियोगिताहरु, साँगितिक कार्यक्रम, फेसबुक फोटो कन्टेस्ट र आकर्षक उपहारहरुले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरिनेछ । विशेष गरि टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७३ श्रावण २७ देखि ३० गतेसम्म संचालन हुने उक्त ४ दिने भव्य मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।