विकासन्युज

५० करोडका विकास योजना सम्पन्न

भद्रपुर, ३२ साउन । जिल्ला विकास समितिले गत आर्थिक वर्षमा ५० करोड नौ लाख ९९ हजार रुपैयाँ लागतका विकासका योजना सम्पन्न भएका छन् । सो आवमा एक हजार ६४ स्वीकृत योजनाका लागि कुल ६४ करोड ४६ लाख नौ हजार रुपैयाँ विनियोजन गरिएको थियो भने ९८३ योजना सम्पन्न भइसकेका छन् । अरु योजना सम्पन्न हुन नसक्दा १४ करोड ३६ लाख १० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको योजना शाखाका कर्मचारी डिल्ली नेपालले जानकारी दिए । सम्पन्न हुन नसकेका उन्नाइसवटा योजना चालु आवमा सम्पन्न हुने बताइएको छ । रासस

पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ उच्च जोखिममा

पाल्पा, ३२ साउन । बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ । एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैँडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यस क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ । धीरशम्शेरका सत्र भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको विसं १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्था नजिकै आएको छ । महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्न सक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउछन्। भारतको आग्रामा राजा शाह जहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् । “रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेका छन्, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्न सक्ने छ । पहिरो पहिला झैँ रानीघाटलाई छलेर दायाँबायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल सङ्कटमा पर्न सक्छ” उनको अनुमान छ । सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जतिबेला पनि त्यो थुम्को खस्न सक्ने देखिन्छ । सडक विस्तारका क्रममा जथाभाबी माटो फालेपछि खोलाले बगाएको माटोले समेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताए । करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ । विश्वमै विरलै बहने उत्तर बाहिनी नदीका रुपमा रहेको कालीगण्डकी नदी भएकाले समेत यस क्षेत्रको महत्व अझै रहे पनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाई समेत असर पर्नेछ । ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन् । खड्गशम्शेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रुपमा रहेको छ । ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशम्शेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ । तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशम्शेरका कोठीहरुले राणाकालीन कला संस्कृतिको बेजोड नमुनाको प्रस्तुत गर्छन् । दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन् । तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् । युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका रुपमा लिन्छन् । प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौँ युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् । युवा पुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीयवासी ताराबहादुर श्रेष्ठले बताए । रासस

सिद्धार्थ सिमेन्टद्वारा पोखरामा डिलर तथा इन्जिनियर भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं, ३२ साउन । सिदार्थ सिमेन्ट उद्योगले पोखरामा लेखनाथ, दमौली, तम्घास, पोखरा साथै स्याङ्जाका डिलर र इन्जिनियरहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थ ग्रुपको तर्फबाट जगदिश अग्रवाल, मोहित अग्रवाल, रोहित अग्रवाल, अर्पित अग्रवाल आदिको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा सिदार्थ ग्रुपका संचालक राहुल अग्रवालले आफ्नो उत्पादनको बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै सबै संगै अगाडी बढेमा सजिलै सफलता हात पर्ने कुरा उपस्थित सबैलाई सुझाव दिएका छन् । यसै क्रममा पोखरा उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष तथा बाबा हार्डवेयर एण्ड स्यानिटरी का संचालक दिलिपराज श्रेष्ठले नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएकोमा सिद्धार्थ सिमेन्ट लाई धन्यवाद ज्ञापन साथै आगामी दिनको लागि प्रगतिको कामना गरेका छन् । सोही क्रममा लेखनाथ नगरपालिकाबाट अधिकारी ग्लास एण्ड हार्डवेयर का संचालक भरत कुमार अधिकारीले नेपालको विकाससंगै सिद्धार्थ सिमेन्टको भूमिका बारेमा प्रस्ट पार्दै सिदार्थ सिमेन्टको प्रगतिको कामना गरेका छन् । त्यसैगरी तनहुँ सिंचाई कार्यालयका इन्जिनियर सुमन भट्टराईले सरकारी कार्यका लागि धेरै नेपाली सिमेन्टहरु टेस्ट गर्दा सिद्धार्थ सिमेन्टलाई आफूले सधैं उच्च गुणस्तरकोे पाएको जानकारी दिए । उनले प्राविधिक, डिलर कम्पनीहरु र सम्पूर्ण नागरिकहरुलाई नेपाली निर्माण कार्यमा पी. पी. सि र ओ. पी. सि को बारेमा जानकारी पु¥याउन अनुरोध गर्दै पी. पी. सि. र ओ. पी. सि. सिमेन्टको बारेमा प्रस्ट पारेका छन् ।

बंगुरपालनबाट मनग्य आम्दानी, मासिक झण्डै दुईदेखि पाँच लाख रुपैयाँ कमाइ

लम्जुङ, ३२ साउन । लम्जुङका एक यूवा बंगुरपालनमा व्यस्थ छन् । जिल्ला सदरमुकाम बेसीशहर स्थित मस्र्याङ्दी किनारमा बंगुर व्यवसाय गरेका मानध्वज आले मगर प्राय बंगुर फर्म मै भेटिन्छन् । करिब एक करोडको लगानीमा व्यवसायीक रुपमा बंगुरपालनमा लागेका मगर व्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । व्यवसायीक रुपमा बंगुलपालनमा लाग्ने उद्धेश्यले पाँच बर्ष अगाडी मगरले १९ वटा माउ खरिद गरी व्यवसाय शुरु गरेका थिए । अहिले मगरसँग २४ वटा भाले र २७ वटा पोथी बंगुर रहेको छ । आफुले बढी मात्रामा बंगुरको बच्चा उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको उनले बताए । उनले भने, “राम्रो खालको पोथी बंगुरले एक बेतमा १४ वटासम्म बच्चा जन्माउँछ, ३५ दिन देखी २ महिना सम्ममा बच्चा बेच्न शुरु हुन्छ ।” खसी पारेको बच्चालाई ४५ सय र नपारेकोलाई ४१ सयमा बेच्ने गरेको छु, उनले भने । मगरका अनुसार महिनामा ३० भन्दा बढी बच्चा उत्पादन हुने गरेको छ । हालसम्म ४ सय भन्दा बढी बच्चा बिक्री गरिसकेको उनले बताए । मगरले भने, “एउटा माउले १ सय १० देखी १४ दिनमा बच्चा जन्माउँछ, उन्नत जातको माउ भए ८ बेत सम्म बच्चा जन्माउने गरेको छ ।” मगरले ५ रोपनी जग्गा खरीद गरी बंगुर फर्म सञ्चालन गरेका हुन् । मिलाप बंगुर फार्मको नामबाट बंगुर पालन थालेका मगर अब बंगुर व्यवसाय सँगै माछा पालन व्यवसाय थाल्ने योजनामा छन् । मगरको व्यवसायमा जिल्ला पशु सेवा कार्यालयले ७२ हजार रुपैँया अनुदान सहयोग गरेको थियो । जिल्लामा बंगुर पालनको राम्रो सम्भावना रहेको र बजार क्षेत्रमा बंगुरको मासु खपत अत्याधिक हुने भएपछि मगरले फ्रेसहाउस समेत सञ्चालन गरेका छन् । बंगुर पालन व्यवसायमा लगानी अनुसार मासिक झण्डै दुईदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । राम्रोसँग फस्टाएमा एउटा बंगुर आठदेखि १० महिना पाल्दा २५ देखि ३० हजार रुपैंयाँमा बिक्री हुने गर्दछ । स्थानीय बजारमा बंगुरको मासु प्रति किलो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । कामको खोजिमा वैदेशिक रोजगारीका लागी खाडि मुलुक धाउनुभन्दा स्वदेशमा यस्तै व्यवसाय गरेर मनग्य आम्दानी लिन सकिने मगरको भनाई छ । मगरसँग हेमसायर, लेन्द्रास टेर्मोर्थ लगाएतका जातका बंगुर रहेका छन् ।

एभरेष्ट फाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, ३२ साउन । एभरेष्ट फाइनान्सले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १० लाख ४९ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय लिएको छ । उक्त निर्णय शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर करिब १९० रुपैयाँमा किनबेच भइरहेको छ ।

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, दुई बर्षमा ७० अर्ब लगानीको घोषणा

काठमाडौं, ३२ साउन । एनसेल प्रा. लि. र आजीयाटा ग्रुपबर्हादले साउन ३२ मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको, आधुनिक प्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित भएको र नयाँ प्रतिभाको विकास तथा दुरसंचार क्षेत्रमा नेपाली नेतृत्वको विकास गर्ने कार्यलाई गतिशिल बनाएको कम्पनीले जनाएको छ । आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दीर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउने जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।” “एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्डसहित नेपालमा प्रवेश गरेको छ ।” एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँलगानी गरेको छ । फोरजी/एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने छ । नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी/एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा एनसेल विश्वस्त रहेको जनाएको छ । सन् २०१६ का लागि एनसेलले घोषणा गरेको रु १२ अर्बको पुँजीगत लगानीबाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ । नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् । यो योजनाभदौ १४ गतेसम्मजारी रहने छ र योजनाअवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुने कम्पनीले जनाएको छ । एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजीमोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । चैत २९, २०७२ मा एनसेल आजीयाटा ग्रुपबर्हादसँग आबद्ध भएको हो । एसियाको एक अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजीयाटा हाल १० वटा देशमा उपस्थित छ र करिब २९ करोड ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । आजीयाटा ग्रुपको पुर्वाधार कंम्पनी ‘इडटको’ ६ वटा देशमा सञ्चालमा छ र यसले १६,००० भन्दा बढी मोबाईल टावर तथा १२,००० किमीफाइबरद्वारा दुरसंचार पुर्वाधार सेवाप्रदानगरिरहेको छ ।

बैंक खाताको गोपनीयता निरपेक्ष हुँदैन, विषेश अवस्थामा अर्काे देशले माग्दा दिन मिल्छः सर्वाेच्च

काठमाडौं, ३२ साउन । सर्वाेच्च अदालतले बैंक खाता सम्बन्धि विवरणको गोपनीयता निरपेक्ष नहुने ब्याख्या गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेसहितले बैंक खाताको विवरण अर्काे देशलाई दिन नमिल्ने माग दाबी गर्दै पेश गरेको निवेदन उपरको फैसलामा सर्वाेच्चले बैंक खाता सम्बन्धि विवरणको गोपनीयता निरपेक्ष नभइ कानुनी प्रक्रियाद्धारा नियमन हुने ब्याख्या गरेको हो । प्रधान न्यायधिश सुशीला कार्की र न्यायधिश इश्वर खतिवडाको संयुक्त इजलासले गत २३ साउनमा यस्तो फैसला गरेको हो । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको पोलिमर नोट छपाइ प्रकरणमा यस्तो फैसला भएको हो । राष्ट्र बैंकले सो दरको नोट छाप्नको लागि अस्ट्रेलियन कम्पनी नोट प्रिन्टिङ अस्ट्रेलिया लिमिटेडलाई दिएको थियो । सो नोट छपाइका क्रममा कम गुणस्तर कायम गरेको, नोट छाप्ने प्रतिस्पर्धामा गडबढी गरेर भ्रष्टाचार गरेको अभियोगमा अस्ट्रेलियन सरकारले आफ्नो देशका सम्बद्ध सवै अधिकारी माथि कारवाही गरिसकेको छ । सो प्रकरणमा नेपाली एजेन्ट पृथ्बीबहादुर पाँडेका दाजु हिमालयन पाँडे थिए । अस्ट्रेलिया सरकारले नेपाली एजेन्टलाई कारवाही गर्नको लागि नेपाल सरकारसँग पृथ्बीबहादु पाँडे र हिमालयन पाँडेसहितको बैंक खाताको विवरण मागेको थियो । अष्ट्रेलियन सरकारले यस्तो विवरण मागेपछि दिन मिल्ने कि नमिल्ने सन्दर्भमा नेपाल सरकारले जिल्ला अदालत काठमाडौंसँग राय मागेको थियो । जिल्ला अदालतले त्यस्तो विवरण दिन मिल्ने राय सरकारलाई दिइसकेको छ । जिल्ला अदालतको यस्तो राय विरुद्ध पाँडेले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको फैसलामा सर्वाेच्चले बैंक खाता सम्बन्धि विवरणको गपनीयता निरपेक्षा नभइ कानुनी प्रक्रियाद्धारा नियमन हुने ब्याख्या गरेको छ । ‘बैंक खाता सम्बन्धी विवरणको गोपनीयता निरपेक्ष नभइ कानुनी प्रक्रियाद्धारा नियमन हुने विषय भएकोले माग बमोजिमको सुचना, जानकारी प्रदान गरिएको कारणवाट बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ७९ समेतका कुनै पनि प्रावधान विपरित हुन जाने अवस्था पनि देखिएन । अतः रिट निवेदन माग बमोजिम उत्प्रेषण लगायतका कुनै पनि प्रकारको रिट आदेश जारी गर्नु परेन । रिट निवेदन खारेज हुने ठहर्छ,’ सर्वाेच्चको आदेशमा उल्लेख गरिएको छ । अस्ट्रेलिया सरकारले सो प्रकरणमा नेपाली एजेन्ट पनि दोषी भएको हुन सक्ने भन्दै अनुसन्धानको लागि बैंक विवरण दिन माग गरेको थियो । अष्ट्रेलिया र नेपालको विचमा पारसपारिक कानुनी सहायता सम्बन्धि सम्झौता भएको र सोही कानुनको आधारमा अस्ट्रेलियाले नेपाल सरकारसँग सुचना मागेको थियो । यस्तो सुचना दिन मिल्ने कि नमिल्ने भन्दै नेपाल सरकारले कानुन मन्त्रालय मार्फत जिल्ला अदालत काठमाडौंसँग राय मागेको थियो । जिल्ला अदालत काठमाडौंले १७ मंसिर २०७१ मा नै यस्ता सुचना दिन मिल्ने राय दिएको थियो ।

भूकम्प पीडितमाथि राजनीति, पहिलो किस्तामा १ लाख ५० हजार दिने प्रमुख दलबीच सहमति, ५० हजार मात्रै बाड्दै प्राधिकरण

काठमाडौँ, ३२ साउन ।  असार १६ गते सरकार र प्रमुख प्रतिपक्षीबीच भूकम्प पीडितलाई दुई किस्तामा अनुदान रकम उपलब्ध गराउने सहमति भयो । आर्थिक वर्ष ०७३/७४ को बजेट पारित भएपछि आवास निर्माण गर्न पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा थप ५० हजार रूपैयाँ उपलब्ध गराउने तथा मापदण्ड पूरा गरि घर निर्माण गरिसकेकालाई भने एकमुष्ट २ लाख रूपैया दिने सहमति भयो । पहिले नै ५० हजार रूपैया अनुदान लिएकाले थप १ लाख पाउने तर पहिले नलिएकालाई एक मुष्ट डेढ लाख रूपैया दिने सहमति भयो । यसका लागि घर निर्माणको प्रारूप पेश गर्नुपर्ने छ । दोस्रो किस्ताको बाँकी ५० हजार भने घर निर्माणको सबै काम सकिएपछि निरिक्षण गरेर उपलब्ध गराउने सहमति छ । उक्त सहमति पछि नेपाली काँग्रेसले अवरुद्ध गर्दै आएको व्यवस्थापिका संसद् खुल्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुबीच भएको सहमतिका आधारमा पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ भूकम्प पीडितलाई दिने जानकारी संसद्लाई गराए । तर साउन ३१ गते सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकार र प्रमुख दलबीच भएको उक्त सहमति आफूलाई जानकारी नभएको बताए । जुन सहमति प्रधानमन्त्रीले संसद्लाई जानकारी गराएका थिए र लामो समय अवरुद्ध भएको संसद् खुलेको थियो । भूकम्प पीडितलाई राहात वितरण गर्ने सम्बन्धि कार्यविधिमा तीन किस्ता गरि भूकम्प पीडितलाई राहात दिने व्यवस्था भएकोले उक्त व्यवस्था परिवर्तन नभएसम्म पहिलो किस्तामा ५० हजार रुपैयाँ भन्दा बढी रकम वितरण गर्न नसकिने उनले बताए ।  यतिबेला एकै पटक भूकम्प पीडितलाई दुई लाख दिनु पर्छ भन्ने नेपाली काँग्रेसको समर्थनमा सरकार बनेको छ । के काँग्रेस प्रमुख घटक रहेको नयाँ सरकारले भूकम्प पीडितलाई एकै पटक दुई लाख रुपैंयाँ दिन्छ ? अथवा तत्कालिन सरकारसँग भएको सहमति अनुसार पहिलो किस्ता वापत एक लाख ५० हजार रुपैंयाँ दिन्छ ? प्राधिकरणले ५० हजार भन्दा बढी दिन मिल्दैन भनिरहदा नेपाली काँग्रेस के हेरेर बसिरहेको छ ? काँग्रेसका चाहाना साँच्चिकै भूकम्प पीडितलाई छिटो राहात दिनु हो वा भूकम्प पीडितको नाममा लज्जास्पद राजनीति गर्ने हो ? सरकार परिवर्तन भयो । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ ४५ दिन भित्र उपलब्ध गराउने भन्दै आफ्नो पहिलो निर्णय गरेका छन् । नयाँ सरकार कार्यविधि परिवर्तन गरी भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार दिने निर्णयमा पुग्नसकेको छैन ।