सिभिल बैंकको नाफा ३३ करोड, प्रतिसेयर आम्दानी १० रुपैयाँ
काठमाडौं, ३२ साउन । सिभिल बैंकले गत आर्थिक वर्षमा ३३ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा बैंकको नाफा १० करोड रुपैयाँ बढी हो । बैंकले असार मसान्तसम्ममा संचित कोषमा ५३ करोड रुपैयाँ जम्मा गरेको छ । असार मसान्तसम्ममा बैंकको सेयर पुँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट करिब ८ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने सम्मभावना छ । बैंकले असार मसान्तसम्ममा निक्षेप ३१ अर्ब रुपैयाँ संकलन गरेको छ भने २५ अर्ब रुपैयाँ कर्जा सापटी र करिब ५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैकको प्रति सेयर आम्दानी १० रुपैयाँ, मूल्य आम्दानी अनुपात २३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११४९ रुपैयाँ रहेको बैंकले जनाएको छ । यो बैंकमा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स मर्ज हुँदैछ । त्यसपछि बैंकको सेयर पुँजी करिव ५ अर्ब रुपैयाँ हुनेछ ।
कालोबजारी र महंगी नियन्त्रणका लागी सरकारी प्रयास सुरु
काठमाडौं ३१ साउन। बढ्दो कालोबजारी, मंहगी र बजारमा हुने मिसावटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा अत्यावश्कीय बस्तुको कृतिम अभावका साथै मंहगी र उपभोक्ता ठगीका घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यसविरुद्ध आजदेखी कडा रणनीति अवलम्बन गर्ने तयारी गरेको हो । सोही तयारी स्वरुप प्रधानमन्त्री पुष्प कमल दाहालले आज अपरान्ह ३ बजे गृह, बार्णिज्य र आपुर्ति मन्त्रीसहितको उच्चस्तरिय बैठक बोलाएका थिए। बैठकमा सम्बन्धित मन्त्रालयका सचिवलाई समेत बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव मनहरी तिमिल्सेनाले जानकारी दिए। सुक्ष्म रुपमा अनुगमन तथा निगरानी गरेर उपभोक्ता मैत्री बजार बनाउने अभियान स्वरुप सरकारले बिशेष रणनीति तय गर्न लागेको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् । सरकारले आजदेखी नियमित रुपमा बजारको सुक्ष्म अनुगमन गर्ने र दोषीमाथी तत्काल कडा कारवाही गरि उपभोक्ताहितका लागी व्यवसायीलाई जवाफदेखी बनाउन बिशेष निर्णय गर्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री दाहालले बजार अनुगमनलाई नियमित गर्न र कालोबजारी र उपभोक्ता ठगी गर्नेविरुद्ध कडा कारवाही गर्ने संयन्त्रको बिकास गर्न गृह, आपुर्ति र बाणिज्य मन्त्रालयलाई निर्देशन दिनेछन् ।
पूर्व माओवादी लडाकुलाई २ लाख दिने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं साउन ३१। माओवादीका बहिगर्मित लडाकुलाई २/२ लाख दिने सरकारले निर्णय वैधानिक नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली कंग्रेसका सांसद एवं द्धन्द पीडित राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङ, दिलबहादुर शाह, विनयध्वज चन्द लगायत ८ जनाले उक्त निर्णय कार्यन्वयन नगराउन माग गर्दै रिट दायर गरेका हुन् । उनीहरुले द्धन्द पीडितको माग सम्बोधन नभएको अवस्थामा अयोग्य लडाकूलाई आर्थिक सहयोग गर्ने निर्णय मान्य नहुने भन्दै रकम वितरण नगर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका संसद, अर्थमन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई विपक्षी बनाईएको छ ।
ल्यापटपको ब्याट्री धेरै टिकाउनु छ ? ओपेरा ब्राउजर प्रयोग गर्नुस्
काडमाडौं ३१ साउन। तपाईको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडो ब्याट्री सकिने गरेको छ भने तपाइले एकपटक सोच्नुपर्नेहुन्छ। किन चाँडै व्याट्री सकिइरहेको छ। ल्यापटपको व्याट्री चाँडो सकाउनका लागि तपाईको ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ। विश्वकै सबैभन्दा चर्चित इन्टरनेट ब्राउजर बन्न गुगल क्रोमलाई धेरै समय लागेन। इन्टरनेट एक्स्प्लोरर र फाइरफक्स जस्ता टप ब्राउजरमा देखा परेका केहि असुविधाहरूलाई समाधान गरेर क्रोमले तिनीहरूको प्रयोगकर्ताहरूलाई समेत आफूतर्फ तान्न सफल भयो। गुगलको यहि नीतिलाई अहिले ओपेरा ब्राउजरले समेत पछ्याउन सुरु गरेको छ। कम्पनीले हालै गरेको एक घोषणाका अनुसार, यसको डेस्कटप ब्राउजरको पछिल्लो भर्जनमा नयाँ ‘पावर सेभिङ्ग मोड’ समावेश गरिएको छ, जसले ल्यापटपको चार्जलाई ५०% भन्दा बढिले बचत गर्ने कम्पनीले दाबी गरेको छ। गुगलको क्रोम ब्राउजरलाई छोडेर कुनै अर्को ब्राउजर चलाउन सुरु गर्नु भनेको जुनकुनै प्रयोगकर्ताहरूको लागि मुश्किल हुन जान्छ। नहोस् पनि कसरी? अन्य ब्राउजरहरू भन्दा क्रोम सुपरफास्ट छ। हेर्दा पनि सुन्दर छ, त्यसलगायत यसले हाम्रो सबै डाटाहरूलाई एकैठाउँमा सिन्क गरेर राख्दछ। तर यदि कथमकदाचित क्रोमलाई छोडेर ओपेरा तिर लाग्ने एउटा कारण खोज्ने हो भने, ल्यापटपको ब्याट्री ५०% ले भन्दा बढि बचाउने फिचर सायद राम्रो कारण बन्न सक्छ। किनभने क्रोमले प्रयोगकर्ताहरूको ल्यापटपको ब्याट्रीलाई अझसम्म ध्यानमा राखेर नयाँ फिचर थपेको छैन।
एड मिडिया २०औँ वार्षिकोत्सव मनाउँदै
काठमाडौँ, ३२ साउन । एड मिडिया प्रालि २० औँ वर्ष पार गरी २१ औँ वर्षमा प्रवेश गरेको छ । २०५३ सालमा विज्ञापन सेवा शुरु गरेको यस कम्पनी वार्षिक प्रतिवेदनका आधारमा नेपालको अग्रणी ५ एजेन्सिमध्ये एकमा पर्ने कम्पनीले जनाएको छ । एड मिडियामा प्रबन्ध निर्देशक मोहम्मद अख्तरका अनुसार कम्पनीले ३० जना कर्मचारीलाई रोजगारी दिएको छ भने ३ दर्जनभन्दा बढी सेवाप्रदायकहरूको आधिकारिक विज्ञापन एजेन्सिका रूपमा सेवा प्रदान गर्दै आएको छ ।
भाद्र २३ गतेदेखि २६ गतेसम्म क्यान कमटेक २०१६ आयोजना हुने
काठमाडौं, ३१ साउन । म्यान महासंघले आगामी भाद्र २३ गतेदेखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । क्यान कमटेक इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजीको प्रदर्शनी हुने आयोजकले बताएको छ । नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुुुस गरी क्यान महासंघले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेकुरिटी, सेफ्टी र सोलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यान महासंघको अध्यक्ष विनोद ढकालले जानकारी दिए । विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम नै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” राखिएको छ । मेलामा प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ तीनवटा कार्यक्रमहरुको नै क्रमशः टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेको समेत आयोजनकले जनाएका छन् । अफिसियलहरुमा बैंकमा सन्राइज बैंक, ईन्स्योरेन्समा प्रुडेन्सियल ईन्स्योरेन्स, आईएसपीमा सुबिसु, एफएममा नेपाल एफ. एम., अनलाईन टिकेटिङ्गमा एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्टमा ई–सेवा, नेपाली आईटी म्यागेजिनमा लिभिङ्ग वीथ आईसीटी., अंग्रेजी आईटी म्यागेजिन– पिसीईन्फो, वेव न्युजमा हाम्राकुरा डटकम, र एसएमएसमा रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेका छन् । नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको आकर्षणका रुपमा रहनेछ । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यान महासंघको महासचिव विश्वराम बलामी जनकारी दिए ।
साढे तीन लाख घरधनीसँग अनुदान सम्झौता, पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान
काठमाडौं, ३१ साउन । सोमबारसम्म तीन लाख ३९ हजार ४६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस्तै ४९ हजार ७४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ पुगेको छ । नयाँ आव सुरु भएपछि यही साउन २८ गतेदेखि अनुदान सहयोग रकम निकासा गरिएको थियो । भूकम्प अति प्रभावित काठमाडौँ उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौताको काम अगाडि बढेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ मध्यसम्म सर्वेक्षण सम्पन्न हुने जनाइएको छ । गाविसमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिविसमा पुग्नेछ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था छ । प्राधिकरण, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र त्यस अन्तर्गतका निकाय एवम् महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतका निकाय भूकम्पपीडित जनताको बैंक खातामा रकम उपलब्ध गराउने काममा लागेका छन् । अनुदान सम्झौता र अनुदान वितरणको कार्य स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा हुन्छ । घर बनाउनका लागि प्राविधिक सहयोग सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र सो अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसका लागि गाविस तथा नगरपालिकामा इन्जिनियर परिचालन भएका छन् । पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान भूकम्प गएको १६ महिनापछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पीडितलाई पुःनिर्माण रकम उपलब्ध गराउन एकमहिने विशेष अभियान सुरु गरेको छ । सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेपछि प्राधिकरणले विशेष अभियान सुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । “सरकारको घोषणा र प्राधिकरणको कार्ययोजनालाई पूरा गर्न हामीले आजदेखि एक महिनासम्म विशेष अभियान सुरु गरेका छौंँ, यो अभियान अन्तर्गत सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंँक खातामा पु¥याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनुवाइ गरिनेछ”–उनले भने । विशेष अभियान सफल पार्न प्राधिकरणले आवश्यकता अनुसार साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । अभियानका क्रममा प्राधिकरणको उपक्षेत्रीय कार्यालयमा रहेको जनशक्तिलाई सहयोग गर्न जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आवश्यकतानुसार थप कर्मचारी खटाइने भएको छ । प्रभावित जिल्लामा भएका काम र गतिविधिको अनुगमन गर्न कार्यकारी समितिका सदस्य, सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवम् अन्य कर्मचारी सहितको घुम्ती टोली बनाएर जिल्ला जिल्लामा पठाइने ज्ञवालीले बताए । भूकम्प अतिप्रभावित जिल्लामा हुने काम र गतिविधिलाई समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा सम्बद्ध मन्त्रालयका सचिव एवम् केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति समेत गठन गरिएको छ । विशेष अभियान सञ्चालनमा समस्या देखा परेमा उपक्षेत्रीय कार्यालय र जिल्लास्थित सम्बन्धित कार्यालयले केन्द्रमा गठित अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ । समस्यालाई केन्द्रबाट तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । रासस
सिविआईएलको १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित
काठमाडौं, ३१ साउन । साविक नेशनल इन्भेष्टमेण्ट एण्ड क्यापिटल मार्केट् (सि.वि.आई.एल. क्यापिटल लि.)को आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित भएको छ । उक्त निर्णय सोमबार बसेको कम्पनीको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिविआईएलको लेखापरीक्षकमा सुजन काफ्लेलाई नियुक्त गरेको छ । कम्पनी नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ अनुसार मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमति पत्र लिने प्रकृयामा रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।