काठमाडौं । सरकारी लगानीमा निर्माण भइरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकिएको छ । आयोजनाको काम अब १० प्रतिशत मात्र बाँकी छ ।

चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम अघि बढी रहेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । “सिभिल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब इलेक्ट्रोमेकानिकलको काम सुरु हुने छ” उनले भने ।
यस्तै बाँधको ४ वटा ढोका मध्ये १, र २ को काम सम्पन्न हुन बाँकी छ । यस्तै भूमिगत विद्युत प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा १ हजार ३०९ मिटर भूमिगत लाइन बनाउनु पर्छ । त्यसमध्ये हालसम्म ६३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।प्रसारणलाइनको काम चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ ।
गत असोजमा ४ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको थियो । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न गर्ने नयाँ कार्ययोजना तयार पारिएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको हो । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ ।
चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ ।
सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवा ग्रुप लिमिटेडसँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।