अस्थायी शिक्षकका जायज माग पूरा हुन्छः प्रधानमन्त्री
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देशन दिने बताउएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अस्थायी शिक्षकका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले जायज र उचित माग सम्बोधन गर्न आफू प्रयासरत रहने र आवश्यक व्यवस्थाका लागि शिक्षामन्त्री र शिक्षा सचिवलाई आवश्यक पहल गर्न निर्देशन दिने बताए। प्रधानमन्त्रीले भने, ‘‘आफू पनि विगतमा शिक्षक पेसामा रहेका कारण त्यस क्षेत्रको समस्याका बारेमा जानकार छु । म तपाईंहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्छु । जायज र उचित माग सम्बोधन गर्न प्रयत्न गरिन्छ ।” शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । अस्थायी शिक्षकका प्रतिनिधिले औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न, शिक्षा ऐन पुनः संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका थिए । अस्थायी शिक्षकले ‘२०६३ सालकै शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने’, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुनुपर्ने’, ‘उमेर हदका कारण अवकाश भएका शिक्षकलाई समेत सुविधा दिनुपर्ने’ जस्ता माग प्रधानमन्त्रीसँग राखेका थिए । अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्ने र प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्नेमा जोड दिएका थिए । मुलुकभर करिब ३० हजार अस्थायी शिक्षक छन् । रासस
जि२० को बैठकले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने
मस्को, १३ भदौ । चीनमा आगामी साता हुन लागेको जि२० को बैठकले विश्वको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ । विश्लेषकहरुले यस बैठकले आगामी दिनमा कैयौँ मात्रामा थाँती रहेका प्रश्नहरुको जवाफ दिने अपेक्षा गरिएको पनि विश्लेषकहरुले बताएका छन् । रसियाका एकजना प्रमुख व्यापारिक नेताले पनि यस सम्मेलनले आर्थिक विषयमा बाँकी रहेका केही अनुत्तरित प्रश्नको जवाफ दिने जनाएका छन् । यस सम्मेलनको आयोजना चीनले गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनले अयोजना गरेको यस सम्मेलनबाट विश्वलाई नै फाइदा पुग्ने अपेक्षा गरिएको ती प्रतिनिधिले जनाएका हुन् । रुसको प्रत्यक्ष लगानी कोषका निर्देशक किरिल दिमित्रीभ्ले यस सम्मेलनले थप आर्थिक लगानीका क्षेत्रहरुको सम्भावना खोज्नुका साथै जि२० मा संलग्न विश्वका देशहरुको समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए। जि २० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ । यस संगठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशहरुको सहभागिता छ । दिमित्रेभले भने, चीनले विगतमा पनि विश्व अर्थतन्त्रको अवस्थाका साथै विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको समस्या समाधानका लागि पनि रचनात्मक भूमिका निर्वाह गरेको जानकारी गराए । विश्वका २० वटा यी आर्थिक सम्पन्न र औद्योगिक देशहरुको सहभागिता रहेको यस सम्मेलनले विश्वको अर्थतन्त्रको विकास, लगानीका लागि मैत्रीपूर्ण वातावरणको निर्माणका साथै आर्थिक बृद्धिका क्षेत्रमा आवश्यक पहल गर्ने बताइएको छ । रुस र चीन ठूला र आर्थिक सुविधा सम्पन्न मुलुक रहेका र यी दुई देशबीचको आर्थिक सम्बन्ध बिगतदेखि नै राम्रो रही आएको पनि उनले बताए । उनका अनुसार हाल यी दुई देशबीच करिब ६६ वटा आयोजना सञ्चालनमा रहेका छन् । ती आयोजनामार्फत करिब १०० अर्ब अमेरिकी डलर बराबरको लगानी भएको छ । रासस/सिन्ह्वा
रिलायबल डेभलपमेन्ट बैंकको हायर पर्चेज कर्जामा विशेष योजना
काठमाडौं, १३ भदौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले निजि तथा सार्वजनिक सवारीसाधनहरु जस्तै कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटर आदि खरिद गर्नको लागि कर्जा लगानी गर्ने जनाएको छ । बैंकका अनुसार कागजात पेश गरेको ५ कार्यदिन भित्र कर्जा उपलब्ध गराइने छ । यस योजना अन्तर्गत वार्षिक ब्याजदर ९५ देखि सुरु रहने छ । साथै, यो योजना बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
आईएमई ग्रुपले अशोक लेलैण्डका गाडीहरु भोलिदेखि बिक्री गर्ने
काठमाडौं, १३ भदौ । नाडा अटो शो २०७३ मा आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरुको प्रर्दशनी भोलिदेखि गर्ने भएको छ। उक्त शोमा ‘यू२५१८ टिपर’ र लाइट कमर्सियल भेकल ‘दोस्त’ प्रर्दशनीमा राखिने कम्पनीले जनाएको छ। नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानीकर्ताहरुको मन जित्न सफल रहेको दोस्त एलसिभी सेग्मेन्टको ‘दोस्त प्यासेन्जर’ नामक अर्को एलसिभी गाडीको पनि यस नाडा अटो शो प्रर्दशनीेबाट कन्सेप्ट लन्च भएको छ । साथै, दोस्त प्यासेन्जर गाडीको बुकिङ्ग पनि शुरु गर्ने कम्पनीले जनाएको छ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्ट अन्तर्गतको नयाँ गाडी ‘सनसाइन’ स्कुल बसको पनि यस नाडा अटो शो प्रर्दशनीेबाट नेपालमा कन्सेप्ट लन्च भएको छ र यसको बुकिङ्ग पनि लिन शुरु गरिने कम्पनीले जनाएको छ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका कर्मशियल गाडीहरुको यूएसपि भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको जानकारी गराए । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने उनले बताए । उनका अनुसार विगतमा स्पेयरर्स र सर्भिसको समस्याले उत्पिडित ग्राहकहरुलाई सुलभ र सहज तरिकाले बिक्रि पछिको सेवा दिने प्रतिवद्वता आईएमई ग्रुपको रहेको छ ।
असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल, नुन, चामल र ग्यासमा छुट पाइने
काठमाडौं, १३ भदौ । सरकारले असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आपुर्ति मन्त्री दिपक बोहराको अध्यक्षतामा आइतबार बसेको बैठकले दशैं, तिहार तथा छठ लगायतका पर्वहरुलाई लक्षित गर्दै उपत्यका भित्र ५०० वटा किराना पसल मार्फत सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सुपथ मूल्य पसलबाट खाद्य संस्थानले १५ प्रकारका चामल, फापर र सिमीमा प्रति किलो ५ रुपैंयाँ छुट दिनेछ । त्यस बाहेक २००० देखि २५०० वटासम्म खसी, बोका तथा च्याङग्रा ल्याएर सहुलियत मुल्यमा बेच्नेछ । त्यस्तै, साल्ट टे«डिङले चीनीमा प्रति किलो ५ रुपैंयाँ र नुनमा २ रुपैंयाँ छुट उपलब्ध गराउनेछ । नेपाल आयल निगमले ग्यासमा प्रति सिलिण्डर ५० रुपैंयाँ तथा मट्टितेलमा आवश्यक छुट दिने बताएको छ । दुग्ध विकास संस्थानले घ्युमा प्रति किलो १० रुपैंयाँ छुट दिने भएको छ भने पनिरमा पनि केहि सहुलियत दिने योजना बनेको जनाएको छ । यसरी सञ्चालन गरिएका सुपथ मुल्य पसलबाट उपलब्ध गराइएको सुहलियत वापतको रकमको सोधभर्ना भने अर्थ मन्त्रालयले उपलब्ध गराउने आपुर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।
सिद्धार्थ क्यापिटलले ४६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं, १३ भदौ । सिद्धार्थ क्यापिटलले सेयरधनीलाई ४६ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ मा लगानी गर्ने लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी ओरिन्टेड स्किममा लागानी गर्ने लगानीकर्तालाई पनि १६ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सिद्धार्थ क्यापिटलले जारी गरेको ५ करोड लाख कित्ता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ हाल प्रतिकित्ता करिब २८ रुपैयाँमा कारोबार हुँदै आएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले जारी गरेको १० करोड लाख कित्ता सिद्धार्थ इक्विटी ओरिन्टेड स्किम नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इक्विटी ओरिन्टेड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।
दक्षिण एशियाली मुलुकहरुमा नेपाल कम धान फल्ने दोस्रो मुलुक
काठमाडौं, १३ भदौ । दक्षिण एशियाली मुलुकहरुमा नेपाल अफगानिस्तान पछि कम धान फल्ने दोस्रो मुलुक हो । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा औसतमा प्रतिहेक्टर ३ दशमलव १ लाख मेट्रिक टन धान फल्दै आएको छ । अफगानिस्तानमा भने प्रतिहेक्टर साढे दुई मेट्रिक टन धान फल्नो गरेको छ । जवकि नेपालको उत्पादन अनुपातलाई बढाउन सक्ने प्रशस्त सम्भावना हुँदा हुँदै पनि सरकारले उत्पादन बढाउने कार्यक्रमहरु लागू गर्न नसक्दा अर्थात हालसम्म पनि यहाँको परम्परागत खेती प्रणाली कारण अन्य देशको तुलनामा नेपालमा धान उत्पादन कम भएको हो । नेपालकै झापामा प्रतिहेक्टर ५ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । सार्कमुलकमध्ये सबैभन्दा बढी धान उत्पादन श्रीलंका हुने गरेको छ । श्रीलंकामा प्रतिहेक्टर ३ दशमलव ८ लाख मेट धान उत्पादन हुने गरेको छ । भारत धान उत्पादन बढी हुने दोस्रो ठूलो मुलुक हो । यहाँ प्रतिहेक्टर ३ दशमलव ६ लाख मेट धान उत्पादन हुँदै आएको छ । पाकिस्तान र भुटानमा क्रमशः ३ दशमलव ५ र ३ दशमलव ४ धान उत्पादन हुँदै आएको छ । भेतनाम, थाइल्याण्ड, चीन, फिलिफिन्सको उत्पादकत्व सार्क मुलुको भन्दा बढी छ । हाल भएको उत्पादकत्वलाई वृद्धि गर्न सके नेपालमा खाद्य संकट नहुने कृषि विकास मन्त्रालयका सह प्रवक्ता शङ्कर सापकोटाल बताए । ‘अहिलेको उत्पादकत्वलाई बढाएर प्रतिहेक्टर ४ लाख मेट मात्र पु¥याउन सके नेपालमा खाद्यान्न पर्याप्त हुन्छ,’ उनले भने ‘उत्पादन बढाउन सरकारले सिंचाइँ, उन्नत विउविजन, मल तथा आधुनिक प्रविधिलाई परिचालन गर्न सक्नु पर्छ,’ उनले भने । गत वर्ष धानको उत्पादनमा गिरावट आएपछि देशमा खाद्य संकट हुन सक्ने अनुमान सरकारले गरेको थियो । ‘हामीलाई अहिले ७ लाख मेट्रिक टन चामल नपुग हुने देखिएको छ,’ सापकोटाले भने ‘ यसवर्ष धान उत्पादन बढ्ने देखिएकाले खाद्यन्न बचत हुन सक्छ ।’ गत वर्ष १० दशमलव २ प्रतिशतले धान उत्पादन घट्दा यसको प्रत्यक्ष असर आर्थिक वृद्धि परेको थियो । यस वर्ष भने समयमा वर्षा भएकाले शतप्रतिशत रोपाइँ सकिएको र धान लगाउने समयमा मलको समस्या तथा वाहिरी रोकावट पनि नआएकोले धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा माथि हुने अनुमान मन्त्रालयले गरेको छ । गत अािर्थक वर्ष २०७२/७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धानमात्र धान उत्पादन भएको थियो । गत वर्ष भएको धान उत्पादन अघिल्लो आवको तुलनामा ४ लाख ९० हजार मेट कम हो । धान उत्पादन क्षेत्रमा पनि ४ दशमलव ४ प्रतिशतले कमी आएको छ । धान उत्पादन घटेसँगै यसको प्रत्यक्ष असर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा परेको थियो । कुल गार्हस्थ्य कृषिक्षेत्रभित्र धानको भार २१ प्रतिशत रहेको छ । देशको अर्थतन्त्रमा ठूलो असर पार्ने धान उत्पादनमा वृद्धि हुने देखिए पछि चालू आवमा खाद्य संकट कम हुनका साथै अर्थतन्त्रमा कृषिको योगदान पनि बढ्ने मन्त्रालयले बताएको छ । कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुपर जोन कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण गरिसकेको छ । कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित ल्याइएको उक्त कार्यक्रमको कार्यविधि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारी मन्त्रालयले गरेको छ । सुपर जोनमा परेका बालीहरु लक्षित उत्पादन गर्नै पर्ने कार्यविधिमा उल्लेख छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्न यस वर्ष ५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । विगत १० वर्षमा औसतमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव ९ प्रतिशत रहेमात्र रहेकोले सरकारले यसलाई बढोत्तरी गर्न यस्ता कार्यक्रम ल्याएको हो । मौसमी अनुकूलता र प्रतिकूलतामा निर्भर हाम्रो कृषि प्रणाली अझैसम्म व्यवसायिक बन्न नसक्दा यस्तो परिस्थिति आएको हो । सरकारले वृहत्तर धान उत्पादन कार्यक्रमलाई चैतदेखिनै शुरु गरेको छ । सो कारणले पनि यस वर्ष धानको उत्पादन बढ्ने देखिएको हो । गएको वर्ष बन्दहडताल, नाकाबन्दी तथा प्रतिकूल मौसमका कारण अघिल्लो वर्षहरुको तुलनामा धान उत्पादनका कमी आएको थियो ।
एनएमबि बैंकको नयाँ शाखा पाल्पा, भैरहवा र दमकमा
काठमाडौं, १३ भदौ । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक तीन वटा शाखा स्थापना गरेको छ । बैंकले एकै दिन तीन वटा शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल एनएमबि बैंक पाल्पा र भैरहवा शाखाको उद्घाटन गरेका हुन् । बैंकका संचालक नन्द किशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा दमक शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका संचालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो । गर्भनर डा. नेपालले पाल्पा र भैरहवामा एनएमबि बैंकको नँया शाखाको सुरुवातले स्थानीयको सरल बैकिङ्ग पँहुचमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । बैंकले पाल्पा र भैरहवासँगै दमकमा पनि नँया शाखाको विस्तार गरेको बैंकले जनाएको छ । अब बैंकको शाखा संख्या ७१ पुगेको छ भने एटिएम ५० वटा र एक्सटेन्सन काउन्टरको संख्या ७ वटा पुगेको छ ।