काठमाडौं । नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) लागू भएपछि धेरै बैंकहरुको वित्तीय विवरण सेयरधनीलाई बुझ्न कठिन भईरहेको छ । त्यसमाथि बैंकहरुले वित्तीय विवरण राम्रो देखाउनका लागि म्यानुपुलेशन गर्दा लगानीकर्ताहरुमाझ भ्रम फैलिएको छ ।
सिभिल बैंकको वित्तीय विवरण यस्तै विवादस्पद देखिएकाे छ । बैंकले असार मसान्तमा चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ भएको जनाएको छ । तर नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा सिभिल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ मात्र हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार पनि सिभिल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख नै हो । नियामक निकाय धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यलयको रेकर्डमा पनि सिभिल बैंकको चुक्ता पुँजी सवा ७ अर्ब रूपैयाँ मात्र छ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म बैंकहरुलाई चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । २०७५ असार मसान्तसम्म पनि न्युनतम् ८ अर्ब रूपैयाँ पुँजी पुर्याउन नसकेपछि सिभिलले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गलत तथ्याङ्क देखाएकाे छ ।
बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रूपैयाँ नै भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइअाे) गोविन्द गुरुङले बताए । ‘आर्थिक वर्ष २०७३/७४ को नाफा र जगेडा कोषमा रहेको वितरण योग्य रकमसहित करिव ७५ करोड रुपैयाँ सेयरधनीलाई बोनस सेयरको रुपमा वितरण गर्ने र पुँजी ८ अर्ब बनाउने बैंकको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । त्यसैको आधारमा हामीले पुँजी ८ अर्ब रूपैयाँ लेखेका हौ तर विधि अनुसार साधारणसभाबाट बोनस सेयर वितरण सम्बन्धि प्रस्ताव पारित नहुँदासम्म बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड नै हो’ गुरुङले भने ।
बैंकको साधारणसभा कहिले हुने ? साधारणसभाबाट पारित भएका निर्णय कम्पनी रजिष्ट्रर कार्यालयमा कहिले अध्यावधिक गर्ने ? नेप्सेमा बोनस सेयर कहिले सूचिकत गर्ने ? सेयरधनीको खातामा बोनस सेयर कहिले पठाउने ? यी सबै काम गर्न बैंकलाई अरू ५/६ महिना लाग्ने देखिन्छ । तर उसले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगिसक्यो भन्दै झूटो विवरण सार्वजनिक गरेको छ ।
बैंकले गत दुई वर्षयता वार्षिक साधारणसभा गर्न सकेको छैन । आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन राष्ट्र बैंकले स्वीकृत गरेको दुई महिना बितेको छ । तर ठूला प्रवद्र्धकबीचको आन्तरिक किचलो र नेतृत्व हत्याउने होडबाजीमा बैंकले साधारणसभा डाक्नै सकेको छैन ।
लेखापरिक्षणसहितको आर्थिक प्रतिवेदन स्वीकृत भएपछि अरु संस्थाले तत्काल साधारणसभा गर्ने गरेको जानकारी दिदै सिभिल बैंकले साधारणसभा नगरेकोमा राष्ट्र बैंकका अधिकारीले समेत आश्चर्य व्यक्त गरे ।
पछिल्लो समय बैंकको सञ्चालक समितिको बैठक बस्न नसकेको स्रोतले बतायो । प्रक्रियागत काम केही बाँकी रहेकोले साधारणसभा बोलाउन ढिला भएको सीइअाेे गुरुङले बताए ।
‘हामी असोज मसान्तसम्ममा आर्थिक वर्ष २०७३/७४ को साधारणसभा गर्छौ, पुस मसान्तसम्म आर्थिक वर्ष २०७४/७५ को साधारणसभा गर्ने लक्ष्य लिएका छौं’ गुरुङले भने ।
प्रतिसेयर आम्दानी पनि मिथ्याङ्क
सिभिलले प्रति सेयर आम्दानी पनि बढाई चढाई मिथ्याङ्क बनाएर सार्वजनिक गरेको छ । वित्तीय विवरण प्रति सेयर आम्दानी ११ रुपैयाँ २२ पैसा भनिएको छ । पुरानौ ढाँचाको वित्तीय वितवरण अनुसार खुद नाफा ६५ करोड ५७ लाख ८३ हजार रुपैयाँ छ । यसका आधारमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३ पैसा मात्र हुन्छ ।
एनएफआरएस अन्तरगत नियामकिय प्रोभिजन अनुसार समायोजन गर्नु पूर्व बैंकको नाफा ७२ करोड ५५ लाख रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार यहि अंकलाई सेयर संख्याले भाग गरेर आउने नतिजा प्रतिसेयर आम्दानी हो । नाफा ७२ करोड ५५ लाख रुपैयाँ र चुक्ता पुँजी ७ अर्ब २५ करोडको आधारमा प्रति सेयर आम्दानी ९ रुपैयाँ ९९ पैसा हुन्छ ।
बैंकले दावी गरे झै चुक्ता पुँजी ८ अर्ब पुँजी मान्ने हो भने प्रति सेयर आम्दानी ९ रुपैयाँ ६ पैसा मात्र हुन्छ । तर बैंकले प्रति सेयर आम्दानी वास्तविक भन्दा करिव २ रुपैयाँ बढाएर लगानीकर्तालाई झुक्याउने प्रयास गरेको छ ।
बैंकका फाइनान्स हेड सचिन नेवाका अनुसार गत वर्ष बैंकले तीन चरणमा पुँजी वृद्धि गरेको थियो । एनएफअाएसका आधारमा भारित अाैसतमा पुँजी ५ अर्ब ७५ करोड रुपैयाँ मानेर सोही आधारमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ २२ पैसा निकालिएको हो ।
ताक परे तिवारी नत्र गोतामे भने झै बैंकले एकातिर प्रक्रिया नै नपुर्याई चुक्ता पुँजी ८ अर्ब रुपैयाँ भएको दावी गरेको छ भने अर्कोतिर प्रतिसेयर आम्दानी उच्च देखाउन चुक्ता पुँजी ५ अर्ब ७५ करोड भएको दावी गरेको छ ।
बैंकको नियत सर्बसाधारण र नियामकलाई नै छल्ने र भुक्याउने देखिएको छ । यस्ता गलत अभ्यासलाई राष्ट्र बैंकले नियन्त्रण नगर्ने हो भने वित्तिय विवरणको विश्वसनियत गुम्दै जानेछ । साथै, पुँजी बजारका लगानीकर्ता फस्ने जोखिम बढेर जानेछ ।
नेतृत्वमा पकड जमाउने हाेडबाजी
२८ वटा वाणिज्य बैंक मध्ये सिभिल बैंकको वित्तीय अवस्था सबैभन्दा कमजोर छ । तर यहि बैंकमा काम भन्दा बढी राजनीति हुन थालेको छ । बैंकले साधारणसभाको मिति तय गर्न सकेको छैन । साधारणसभाको सूचना प्रकाशित गरेको छैन । तर साधारणसभामा गणपुरक संख्या नै नपुग्ने भयो भन्दै नेतृत्वमा पकड जमाउन अध्यक्ष इच्छाराज तामाङले बैंकका कर्मचारीहरु खटाएर प्रोक्सी संकलन लागि बैंकको जनशक्ति र स्रोत साधानको दुरुपयोग गरेका छन् ।
बैंकका कम्पनी सचिवदेखि दिनेश भुर्तेल, दीपा पोखरेल, ममता तामाङ, सिर्जना गुरुङ लगायतका कर्मचारीहरु प्रोक्सी संकलनमा सक्रिय रहेको पाइएको छ । उनीहरुले ‘विभिन्न कारणले कोरम नपुगेर साधारणसभा नहुने अवस्था आयो, प्रोक्सी पठाईदिनु पर्यो भन्दै फोन गरिरहेका छन् । प्रोक्सी संकलनका लागि बैंकका दजर्नभन्दा बढी ड्राइभर तथा म्यासेन्चरहरुलाई पनि परिचालन गरिएको छ’ स्रोतले भन्यो ।
खासगरी संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदहरुमा आफू अनुकूल व्यक्ति बैंकमा ल्याउन अध्यक्ष तामाङले बैंकका कर्मचारी लगाएर प्रोक्सी संकलन थालेका छन् ।
हस्तक्षेप माग गर्दै केही प्रवद्र्धक राष्ट्र बैंकमा
बैंकका अध्यक्ष तामाङले आफ्नो लगानीमा बनाएको सुन्धारास्थिति सिटिसी मलमा बैंकको केन्द्रीय कार्यालय सार्न लागेकोमा केही प्रवद्र्धकहरु त्यसको विरोध गर्दै नेपाल राष्ट्र बैंकसँग आवश्यक हस्तक्षेपको माग गरेका छन् । ‘बैंकभित्र प्रवद्र्धकबीच विवाद देखिन्छन् । सिटिसी मलमा केन्द्रीय कार्यालय राख्नु गलत हो भन्दै केही प्रवद्र्धक आएका छन् । गभर्नरलाई पनि भेटेका थिए’ स्रोतले भन्यो–‘प्रवद्र्धकको स्वार्थ जोडिएको भवनमा बैंकले केन्द्रीय कार्यालयमा होइन, शाखा पनि राख्न पाइँदैन ।’