मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा
पर्वत, १३ भदौ । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ । आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेका १५ घरसहितको बस्ती नै जलविद्युत्का कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीयले गुनासो गरेका हुन । विरेठाँटीको लुम्ले गाविसतर्फ पुल वारी क्षेत्रमा बाँध हाल्दा मोदीखोलाले ठूलो वर्षात् हँुदा वारीको पानीको बहावले गर्दा पारीको क्षेत्रमा असर पु¥याउँदा बस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको स्थानीय खगेन्द्र्र गौचनले बताए । मध्य मोदी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युत्को व्यवस्थापन पक्षसंँग विरेठाँटी क्षेत्रको मोदीखोला वारीपारी दुवै किनारामा बाँध बाध्न माग गर्दा पनि खासै माग सुनुवाइ नभएको बताए । तत्काल बाँध बाँध्न नसक्दा हाल मानव बस्ती जोखिममा पर्न गएको गुरुङले बताए । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाइड्रोपावर व्यवस्थापन पक्षले आफूखुसी काम गर्दा विरेठाँटीको बस्तीलाई मोदीखोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उनले बताए । उक्त आयोजनाका प्रमुख हरि देवकोटाले खोला वारी पहिला बाँध नभएकाले सो क्षेत्रमा बाँध लगाएको बताउँदै खोला पारी पहिला बाँध भएकाले बाँध नलगाएको बताए । बस्ती जोखिममा परेको कुरा आफूलाई थाहा नभएको बताउँदै यस विषयमा भने हिउँदमा मात्र सोच्न सकिने उनले उल्लेख गरे । सो आयोजना करिब दुई अर्ब ८० करोडको लागतमा निमार्ण कार्य सुरु भएको करिब दुई वर्षमा पाँच प्रतिशत मात्र काम पूरा भएको प्रमुख देवकोटाले बताए । रासस
टाटा मोटर्सको टिआगो नेपाली बजारमा, मूल्य २२ लाख ५५ हजार रुपैयाँ
काठमाडौं, १३ भदौ । टाटा मोटर्सको नयाँ उत्पादन टिओगो आइतबारदेखि नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याजव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको लागि बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका छन् । जोनी ओम्मेनले सबैले रोजेको र खोजेको ह्याचव्यक टिआगो नेपाली बजारमा बिक्री शुरु गर्न पाएकोमा खुशी व्यक्त गरे । अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ । गाडी बिक्रीपछिको सेवालाई निकै जोड दिएको कम्पनीले जनाएको छ । टाटा मोटर्सले गाडीका उपभोक्तालाई छिटो सुविधा दिन टाटा मोटर्स कनेक्ट एप्लिकेशन सुविधा समेत बनाएको छ । कार विग्रेको अवस्थामा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । सन् २०१६ को फेब्रुवरीमा भारतमा पहिलो पटक बिक्री शुरु भएको यो गाडी भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । यस कारको बारेमा नेपालमा गरिएको सर्बेक्षण रिपोर्टले अत्याधिक रुचाएको देखाएपछि नेपालमा भित्र्याउने निर्णय भएको श्रेष्ठले बताए । हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले लिएको उनले बताए । भारतमा करिव ९० लाख टाटा गाडी गुडिरहेको कम्पनीले जनाएको छ ।
दुधकोशी जलविद्युत् आयोजना ईआईए सर्वेक्षणमा, १०२ मेवाको आयोजना निर्माण तयारी
काठमाडौं १३, भदौ । एक सय दुई मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को सर्वेक्षण सुरु गर्ने भएको छ । यो आयोजनाले ईआईए प्रतिवदेन तयार गर्न क्षेत्र निर्धारण सम्बन्धि १५ दिने सूचना जारी गरेको छ । यो सूचना अनुसार यस आयोजनाले १५ दिन भित्र आयोजना प्रभावित क्षेत्रका स्थानियसँग आवश्यक रायसुझाव पनि माग गरेको छ । यो आयोजनाले वातावरण संरक्षण निमामावली २०५४ अनुसार ईआईए तयार गरी जनसंख्या तथा वातावरण मन्त्रालयमा प्रतिवदेन पेश गर्नुपर्ने प्रावधान रहेको छ । यस्तो प्रतिवदेन तयार पार्न अयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको बासा, वाकु, काकु र जुबिन गाविसका स्थानियलाई पर्ने प्रभावको जानकारी तथा सुझाव मागिएको छ । आयोजना कार्यान्वयनमा जाँदा स्थानियमा पर्ने असर तथा प्रभाव उल्लेख गर्न सूचना जारी गरिएको छ । यो आयोजनाले सामाजिक, आर्थिक तथा सांस्कृतिक प्रणाली, जैविक प्रणाली, भौतिक प्रणाली र मानवीय कृयाकलाप यिनको अवयवहरुको अन्तरक्रिया तथा अन्तरसम्बन्धको बारेमा १५ दिन भित्र सुझाव माग गरेको छ । यस्तो सुझाव विद्युत् विकास विभाग अनामनगर वा आयोजनाको परामर्शदाता सिल्ट इन्साइट राजदेबी जेभीको कार्यालय रातोपुलमा पेश गर्न आग्रह गरिएको छ ।
चालु अावको पहिलो महिनामा उद्योग विभागमार्फत ४७ अर्ब लगानी प्रतिवद्धता, उर्जा क्षेत्रमा बढि
काठमाडौं, १३ भदौ । नेपालमा लगानीको वातावरण विस्तारै विकास भएसंगै चालु आर्थिक वर्षको पहिलो महिनामै ठूलो मात्रामा लगानीको प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को पहिलो महिना साउनमा ४७ अर्ब ३८ करोडको लगानी गर्ने प्रतिवद्धता सहित ४७ वटा साना ठूला उद्योग दर्ता भएका छन्। गत वर्षको यहि अवधिमा हेर्ने हो भने जम्मा जम्मा ५ अर्ब ८७ करोड रुपैँया बराबरको स्वदेशी लगानीको प्रतिबद्धता आएको थियो। उद्योग विभागका अनुसार साउनमा आएको लगानी गत आर्थिक वर्षको भन्दा झन्डै आधा हो । गत आर्थिक वर्षभरी १ खर्ब २२ अर्ब कुल लगानीको प्रतिवद्धता आएको थियो । विभागका अनुसार साउन महिनामा निर्माण क्षेत्रमा १ अर्बको लगानीसहित निर्माण कम्पनी दर्ता भएको छ । उत्पादनमूलक क्षेत्रमा सात वटा कम्पनीले १ अर्ब ६६ करोड लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सेवा र पर्यटन क्षेत्रमा दुर्इ/ दुर्इवटा कम्पनीले क्रमश १ अर्ब २० करोड र ३२ करोड ९० लाख लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका छन् । उद्योग विभागले गत वर्ष करिब सवा १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता भएका ३ सय ४१ वटा विदेशी संयुक्त लगानीका परियोजनालाई स्वीकृति दिएको छ । अघिल्लो वर्ष करिब साढे ६७ अर्बका वैदेशिक लगानी प्रतिबद्धता भएका ३ सय ६८ वटा परियोजनाले स्वीकृति पाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सेवासम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ । तर, उत्पादन, पर्यटन र ऊर्जासम्बन्धी परियोजनाको संख्यामा कमी आएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए। गत वर्ष भूकम्प, नाकाबन्दी र तराई अान्दोलनका कारण लगानी कम भएको न्यौपानेको ठहर छ । गत वर्ष नाकाबन्दीका कारण लगानीकर्ता हत्तोसाहित भएर लगानी कम भएको र यो बर्ष मुलुकमा ठूलो केहि घटना नघटे लगानी बढ्ने उनले बताए। यो वर्षको पहिलो महिनामा विदेशी लगानीको प्रतिबद्धता भने ७९ करोड मात्रै भएको छ । अघिल्लो वर्षको पहिलो महिनामा पनि ७९ करोड नै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।यो वर्षको पहिलो महिनामा मात्रै स्वदेशी लगानी तर्फ २ हजार ८ सय ७८ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ भने विदेशी लगानी तर्फ १ हजार ४ सय ४ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । दर्ता भएका उद्योग र रोजगारी प्रतिवद्धता संस्थापक लगानी कर्ता २०७३ साउन महिनाको लगानी दर्ता भएका उद्योगको संख्या २०७३ साउनको रोजगारी संख्या नेपाली लगानी कर्ता ४७ अर्ब ३८ करोड ४७ (साना ३३ मध्यम ११ ठुला १३ ) २,८७८ जना विदेशी लगानी कर्ता ७९ करोड २ लाख ४६ (साना ४२ मध्यम ४ ) १,४०४ जना यो तथ्यांक उद्योग विभागको मात्र हो । लगानी बोर्ड मार्फत भएका विदेशी लगानी प्रतिबद्धता भने यस तथ्यांकमा समावेश गरिएको छैन।
दशैंमा जनतालाई उपहार, ग्याँसमा ५० रुपैयाँसम्म छुटको तयारी
काठमाडौं १३, भदौ । सरकारले आगामी दशैंमा जनतालाई सहुलियत पसल संचलान गर्ने र छुट दिने तयारी गरेको । आगामी दशैंमाा सरकारले ग्याँसमा ५० रुपैयाँसम्म छुट दिने तयारी अगाडि बढाएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । सरकारले नै दशैंका लागि सहुलियत पसल संचालन गर्ने र सर्वसाधारणलाई छुट दिने भएको छ । यस्तो छुट घरायसी प्रयोजनका अन्य सामानमा पनि दिने तयारी भएको छ । सहुलियत पसलमा भने प्रतिकेजी दुईदेखि १० रुपैयाँसम्म छुट दिने तयारी भएको मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो । चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए । सहुलियत पसल संचालन र छुट दिने विषयमा आइतबार साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल ट्रेडिङ, खाद्य किराना व्यापार संघ, खुद्रा व्यापार संघ लगायतका अधिकारीसित छलफल भएको थियो ।
यात्रुको मृत्युभए आजिवन सवारी चलाउन नपाउने, बढी यात्रु बोके ६ महिना लाइसेन्स रद्द
काठमाडौ २३, भदौ । चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा यात्रुको मृत्यु भएमा चालकको लाइसेन्स सदाका लागि रद्द हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरेको खबर आजको गोरखापत्र दैनिक र नयाँ पत्रिकामा छापिएको छ। संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उक्त व्यवस्थासहित सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णय गर्दै सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले कच्ची सडकमा प्रमुख जिल्ला अधिकारीले अस्थायी रुट परमिट दिनसक्ने बताए। नियमावलीको प्रस्तावित व्यवस्था अनुसार यात्रुवाहक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोकेमा चालकको लाइसेन्स ६ महिना रद्द र रुट परमिट खारेज हुने बताए। यस्तै मालवाहक सवारीसाधनले यात्रु बोकेमा वा यात्रुवाहक सवारीले सामान बोकेमा चालक अनुमतिपत्र ६ महिना निलम्बन हुने बताए। यस्ता सवारीको रुट परमिट खारेज गर्ने पनि नियमावलीमा प्रस्ताव गरिएको छ। पर्यटक बसले गैरपर्यटक व्यक्ति बोकेमा ६ महिना चालकको लाइसेन्स र सवारी दर्ता निलम्बन गर्ने व्यवस्था नियमावलीमा रहेको मन्त्री लेखकको भनाइ छ। यस्तै निजी सवारीसाधनले भाडामा मान्छे बोकेमा सवारी दर्ता निलम्बन गर्ने प्रस्ताव छ। रुट इजाजत नलिएको बाटोमा सवारी चलाएमा चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन हुनेछ । प्रस्तावित नियमावलीको व्यवस्थाअनुसार लामो रुटमा ६रु६ घन्टामा चालक परिवर्तन गर्नुपर्नेछ। मन्त्री लेखकले काठमाडौँमा मात्र भइरहेको चालक अनुमतिपत्र लिने, नवीकरण लगायतका काम अब कमसेकम चार ठाउँबाट हुने बताए। यातायात व्यवस्था निरीक्षक र भेहिकल टेस्टिङ सेन्टर चाँडै स्थापनाका लागि पहल गर्ने उनले बताए। सडकको अवस्था सुधार नहुनु, चालकको लापरबाही हुनु र सवारीको गुणस्तर नहुनुले दुर्घटना बढेको भन्दै न्यूनीकरणका लागि आवश्यक मापदण्ड तयार हुने उनको भनाइ छ । त्यसअघि सार्वजनिक महत्वको प्रस्ताव संसद्मा पेस गर्दै प्रस्तावक रवीन्द्र अधिकारीले अन्य देशमा सुरक्षित मानिएका सार्वजनिक बसहरू नेपालमा असुरक्षित भएको बताए। अधिकारीले ट्राफिक प्रहरीको भरमा मात्र सडक सुशासनको परिकल्पना गलत भएको बताए।
यात्रु मारिए सवारीसाधनलाई तीन लाख जरिवाना, जरिवाना कम हुँदा दुर्घटना बढेको निष्कर्ष
काठमाडौं १३ भदौ । दुर्घटनामा यात्रु मारेमा त्यस्ता सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। जरिवाना कम हुँदा दुर्घटना बढेको निष्कर्षसहित कडा नियम बनाउन लागिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। विगतमा कडा नियम बने पनि कार्यान्वयनमा आएका छैनन् । व्यवसायीको दबाबमा ऐन–नियम कार्यान्वयन नहुने गरेको हो । कडा प्रावधानसहितको सवारीचालक अनुमतिपत्र निर्देशिका दुई वर्षअघि निर्माण भएकोमा मन्त्रिपरिषद्ले पारित गरेर पनि उक्त निर्देशिका कार्यान्वयन गरिएन। व्यवसायीको दबाबमा राजपत्रमा निर्देशिका प्रकाशित नगरी रद्द गराइएको थियो । यसपटक दुर्घटना बढेपछि मन्त्रालयका कर्मचारी ताते पनि पछि व्यवसायीको दबाबमा झुक्न सक्ने ट्राफिक प्रहरीको आशंका छ।
इन्टेक्सको थ्रिजी सपोर्ट गर्ने ‘अक्वा प्राइड’ स्मार्टफोन, मूल्य आठ हजार
काठमाडौं। भारतीय स्मार्टफोन कम्पनी इन्टेक्स टेक्नोलोजिजले नेपाली बजारमा नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले यसलाई धेरै ब्याट्री व्याकअप भएको फोनका रुपमा रहेको जनाएको छ। लाईट सेन्सर भएको यो स्मार्टफोनमा पाँच मेगापिक्सलको रियर क्यामेरा रहेको छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। एक जिवी र्याम रहेको यो मोवाइलमा आठ जिवीको रोम रहेको छ भने यसमा डुअल फ्लास समेत रहेको छ। थ्रिजी सेवा सपोर्ट गर्ने यो मोवाइलमा क्वार्डकोर १ दशमलव ३ गिगाहर्जको प्रोसेसर रहेको छ भने एन्ड्रोइडको लेटेस्ट मार्समल्लो ६.० भर्सनमा रहेको छ। यसमा ३२ जिबीसम्म मेमोरीकार्ड एक्सपान्ड गर्न मिल्ने जनाइएको छ। २८०० एमएएच व्याट्री क्षमता भएको यो स्मार्टफोनमा व्याट्री धेरै समय टिक्ने जनाइएको छ। पाँच इन्चको डिस्प्ले रहेको यो स्मार्टफोनको १४१*७२ एमएम डाइमेन्सन रहेको छ। कम्पनीले यो स्मार्टफोनमा एक बर्षको वारेन्टि दिने जनाएको छ। कम्पनीले नेपालभरी चारहजार पाँचसय भन्दा धेरै आधिकारिक विक्रेताहरुमार्फत नेपालमा मोवाइलको विक्रि वितरण गर्दै आएको जनाएको छ। कम्पनीले यो स्मार्टफोनको बजार मूल्य आठ हजार दुईसय रुपैयाँ तोकेको छ।