विकासन्युज

गुणस्तरमा समस्या देखिएपछि पाँच वटा सिमेन्टको उत्पादन बन्द

काठमाडौं, ३० भदौ । न्युन गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्रि वितरण गरेपछि पाँचवटा सिमेन्ट उद्योगको उत्पादन बन्द गरिएको छ । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने पाँच उद्योगको उत्पादन बन्द गराएको हो । बाराको अरनिको सिमेन्ट, रुपन्देहीको रिलायन्स सिमेन्ट, पर्साको श्री सिमेन्ट, बाँकेको जयबागेश्वरी सिमेन्ट र जय मंगलम सिमेन्टको उत्पादनमा रोक लगाइएको हो । गुणस्तर तथा नापतौल बिभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार उत्पादन बन्द गरिएका कम्पनीले बजारमा पठाइसकेको समान समेत फिर्ता ल्याउन भनिएको छ । हालसम्म ८४ वटा सिमेन्ट उद्योग दर्ता भएका छन् । ती उद्योगमा कुल ५१ अर्ब ८७ करोड ७१ लाख २७ हजार ३ सय ३० रुपैंयाँ लगानी भएको छ । उद्योग विभागको तथ्यांक अनुसार दर्ता भैसकेका ८४ उद्योगमध्ये २ वटामा मात्रै विदेशी लगानी रहेका छन् । रुपन्देहीमा स्थापित अर्घाखाँची सिमेन्टमा एक अर्ब ९० करोड रुपैंयाँ कुल लगानी रहेको छ । सोमध्ये ८२ दशमलब ५ प्रतिशत स्वदेशी लगानी रहेको छ भने बाँकी १७ दशमलब ५ प्रतिशत लगानी विदेशी रहेको छ । ९७ करोडको लागतमा सिराहा जिल्लामा स्थापित मारुती सिमेन्टम ७९ प्रतिशत लगानी स्वदेशी छ भने बाँकी २१ प्रतिशत विदेशी लगानी रहेको छ । हाल नेपालको सिमेन्ट उद्योगमा ठुलो मात्रामा विदेशी लगानी आकर्षित भैरहेपनि पुराना उद्योगमा भने विदेशी लगानी न्युन देखिन्छ । सिमेन्ट उद्योगहरुले १० हजार ४ सय ५८ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

सनराइज बैंकले ३३.३३ प्रतिशत बोनश सेयर दिने, लाभांश कर सेयरधनी आफैले तिर्नुपर्ने

काठमाडौं, २९ भदौ । सनराइज बैंक लिमिटेडले ३३.३३ प्रतिशत बोनस सेयर दिने भएको छ । आज बसेको बैंक सञ्चालक समितिको २५० औं बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त बोनस सेयर दिने निर्णय गरेको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नारायणी नेशनल फाइनान्स प्राप्ति गरेपछि यस बैंकको चुक्ता पूँजी ३ अर्ब ९७ करोड ६० लाख ४९ हजार ७४१ रुपैयाँ छ । बैंकले २०७३ आषाढ मसान्त सम्म को जगेडा कोष र आ.ब. २०७२/०७३ को मुनाफाबाट समेत गरि जम्मा १ अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८०० रुपैयाँबाट ३३.३३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । साथै आयकर ऐनको दफा ४७ क अनुसार मर्जर तथा प्राप्ति गर्ने वित्तीय संस्थाहरुको हकमा दुईवर्षसम्म लाभांश बितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेको र गत आर्थिक वर्ष बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त गरेकोले उक्त व्यवस्था अनुसार शेयरधनीहरुको प्राप्ति अघिसम्म कायम शेयरमा लाभांश कर नलाग्ने र सो पश्चात् प्राप्त गरेको शेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरु स्वयंले ब्यहोर्ने गरि त्यस्तो कर रकम वोनस शेयर वितरण गर्ने वखत असुल गर्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ । उक्त लाभांश प्र्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी ९ औं वार्षिक साधारण सभामा अनुमोदनको लागि पेस गर्ने बैंकले जनाएको छ ।

एनबी बैंकमा अर्को लफडा, सञ्चालक दीपक कार्की बर्खास्त

काठमाडौं, २९ भदौ । एनबी (नेपाल बंगलादेश) बैंकको सञ्चालक समितिले सञ्चालक दीपक कार्कीलाई पद मुक्त गरेको छ । बैंक सम्बद्ध उच्च स्रोतका अनुसार कम्पनी ऐनको दफा १६० अनुसार अदालतबाट दोषी ठहर व्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नमिल्ने जनाउँदै नेपाल राष्ट्र बैंकले एनबी बैंकलाई पत्राचार गरेपछि बैंक सञ्चालक समितिले कार्कीलाई पद मुक्त गरेको हो । समाचार स्रोतका अनुसार दुई साताअघि बसेको बैंक सञ्चालक समितिले उनलाई पद मुक्त गर्ने निर्णय गरेको हो । बैंकको वेवसाईडबाट सञ्चालक दीपक कार्कीको नाम फोटो हटाईएको छ । तर दीपक कार्कीले आफूलाई पदमुक्त गरेको जनाकारी नभएको बताए । ‘भदौको दोस्रो साता बसेको बैंक सञ्चालक समितिको बैठकमा म सहभागि भएको छु । त्यसपछि बैंक सञ्चालक समितिको बैठक बसेको जानकारी मलाई छैन । मलाई हटाएको कुरा तपाईलाई कसले सुनायो ?’ उनले विकासन्युनसँग प्रश्न गरे । अहिलेसम्म कुनै पनि बैठकमा यो विषय उठेको छैन । पछिल्लो बैठकमा माईन्युटमा हस्ताक्षर गरेर, खाजा खाएर म निस्केको हुँ । त्यसपछि मलाई केही जानकारी छैन । बैंकको वेवसाईटमा नाम र फोटो हटाएको विषय पनि आफूलाई थाहा नभएको बताए । ‘मेरो चरित्र हत्या गर्न यस्तो यस्तो कार्य गरिएको हुनसक्छ । पुनरावेदन अदालतको निर्णय विरुद्ध म सर्वोच्च अदालत जाने तयारीमा छु । कानुनी उपचारको बाटो खुला छ, म प्रक्रियामा छु’ कार्कीले भने ‘अदालती प्रक्रियामा रहेको विवादको विषयमा अदालत बाहिर भएको निर्णय कसैलाई पनि मन्य हुँदैन ।’ नेशनल हाइड्रो पावरमा अनियमितता गरेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले उनलाई दोषी ठहर गर्दै २० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । यसअघि यस बैंकका अध्यक्ष महमद लुत्फर रहमान पनि विवादमा परेपछि हटेका थिए । उनी बंगलादेशभित्र विवादमा परेर प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रहमानले नेपालस्थित एनबी बैंकको अध्यक्ष पद छाडेका थिए । करिब ३ वर्षअघि गठन भएकाे यस वर्तमान सञ्चालक समिति दाेस्राे पटक विवादमा परेकाे छ ।

सिंगापुरबाट एक करोड डलर ल्याउने राष्ट्र बैंक निर्णय, बाणिज्य बैंकलाई पनि बाटो खुला

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले सिंगापूरबाट एक करोड अमेरिकी डलर नगद ल्याउने भएको छ । नेपालभित्र नगद डलरको माग अधिक भएको र नेपाल राष्ट्र बैंकसँगको मौज्दात कम हुन लागेपछि राष्ट्र बैंकले सिंगापुरको सीआईएमबी बैंकबाट आफ्नो खाताको डलर ल्याउने निर्णय गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । यसरी नगद डलर ल्याउँदा सिंगापुरबाट त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलसम्मको बीमा र पारवाहन खर्च सिआइएमबीले ब्यहोर्ने भएको छ । यस विषयमा दुई पक्षबीच अनौपचारिक सहमति भएपनि औपचारिक रुपमा सम्झौता बाँकी रहेको उनले बताए । राष्ट्र बैंक र सिआइएमबीबीच सम्झौता गर्नको लागि राष्ट्र बैंकको बैंकिङ्ग कार्यालयका प्रमुख जनकबहादुर अधिकारी सिंगापुर जाने तय भएको छ । दशै लगत्तै सिंगापूरबाट सो परिमाणको नगद डलर ल्याउने लक्ष्यका साथ तयारी भईरहेको छ । अहिले राष्ट्र बैंकसँग करिब ढेड करोड अमेरिकी डलर बराबरको नगद मौज्दात छ । साथै राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई पनि नगद डलर ल्याउन स्वीकृति दिएको छ । निजी क्षेत्रका बाणिज्य बैंकहरु हिमालयन, नविल, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकले विदेशवाट नगद डलर ल्याउने इच्छा गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पनि १ करोड अमेरिकी डलर नगद ल्याउने स्वीकृति मागेको राष्ट्र बैंकले जानकारी दिएको छ । निजी क्षेत्रका बाणिज्य बैंकहरुलाई पनि विनियम दर निर्धारण व्यवस्था अन्तरगत कारोवार गर्ने गरी नगद डलर ल्याउन स्वीकृति दिइएको पण्डितले जानकारी दिए ।

एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान सञ्चालन गर्ने, राजेश हमाल ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं, २९ भदौ । एनएमबी बैंक लिमिटेडले ‘एक घर एक खाता’ अभियानलाई प्रर्वद्धन गर्न महान् अभिनेता राजेश हमाललाई प्रवद्र्धक दूत (ब्राण्ड एम्बेस्डर)को रुपमा नियुक्त गरेको छ । यस बैंकले एक घर एक खाता अभियान गत साउनदेखि नै शुरु गरेको छ । एनएमबी बैंक एक घर एक खाता अभियानको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने–‘नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्बद्धक दूतका रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यान्तै हर्षित भएका छौं, हमालको लोकप्रिय छविले यस अभियानको उदेश्य पुरा हुनेमा हामी विश्वस्त छौ ।’ ‘बैकिङ साक्षरता र समावेशीता प्रवद्र्धन गर्न महान् अभिनेतालाई लिएर हामी गाउँ गाउँमा जाने छौं । विभिन्न कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई बैंकमा खाता खोल्न, बचत गर्न र भविष्य सुरक्षीत गर्न अपिल गर्ने छौ’ पौडेलले भने । अभिनेता राजेश हमालले बैंकमा खाता खोल्दा पैसा बचत हुने, व्याज आम्दानी हुने, अन्य बैकिङ सेवाको प्रयोग गर्न सकिने र त्यसबाट अन्य लाभ लिन सकिने विषयको जानकारी धेरै नेपालीलाई नभएको र अझै पनि ६० प्रतिशतभन्दा बढी नेपालीले बैंकमा खाता नखोलेको अवस्थामा एक घर एक खाता अभियानको प्रवद्र्धक दूतको रुपमा आफू काम गर्न मञ्जुर भएको बताए । ‘बैंकले धेरै राम्रो कार्यक्रम ल्याएको छ, बैंकमा खाता खोल्दा बचतकर्तालाई पनि फाइदा हुन्छ, बैंकलाई पनि फाइदा हुन्छ, अर्थतन्त्रलाई पनि फाइदा हुन्छ’ हमालले भने । एमएमबीका रिटेल बैकिङ प्रमुख सुष्मा शर्माले एक घर एक खाता अभियानमा खाता खोल्ने ग्राहकलाई बीमा, रेमिट्यान्स भुक्तानी सेवा लगायत सुविधा दिन सकिने र यो खोता खोल्ने प्रक्रिया सजिलो भएको बताइन् ।

दशैँको अवसरमा सामसुङको क्यासब्याक अफर

काठमाडौं, २९ भदौ । नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा सामसुङले आफ्ना उपभोक्ताहरुका “दशैँ आयो सामसुङ ल्याउँला क्यासब्याक पाउँला” नामक अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत सामसुङका टीभी र होम अप्लायन्सेसको खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म ईन्ष्टयान्ट क्याशब्याक (नगद फिर्ता) पाउने छन् । सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी ब्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो । ईन्ष्टयान्ट क्याशब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ ।

प्रभु मनि ट्रान्स्फर र घोडीघोडा लघुवित्तबीच रेमिटेन्स सम्झौता

काठमाडौं, २९ भदौ । प्रभु मनि ट्रान्स्फर प्रा.लि र घोडीघोडा लघुवित्त वित्तिय सस्था लि. बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महा प्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले हस्ताक्षर गरेका छन् । कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० वटा जिल्लाको स्वीकृति रहेको छ । हाल लघुवित्तले श्रीपुर बाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा क्रमैसँग कारोवार विस्तार गर्दै जाने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी गराएका छन् ।

युवाका लागि अवसरै अवसर

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालमा युवा जनशक्तिका लागि अवसरै अवसर भएकाले रोजगारीका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउने सोच त्याग्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्स र भारतको एलबीइएफ विद्यापिठ ‘स्कुल अफ स्कील’को समन्वयमा ‘लर्ड बुद्ध’ एजुकेसन फाउन्डेसनले विभिन्न क्षेत्रमा कार्यरत व्यवसायी र स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि क्षमता अभिवृद्धि सम्बन्धी व्यावसायिक तालिमको बुधबार उद्घाटन गर्दै उनले उद्यमशील व्यक्तिले क्षमता देखाउनुपर्नेमा जोड दिएका छन् । “व्यापार व्यवसाय नेवार र थकालीले मात्र गर्छ भन्ने भावना त्याग्नुपर्छ, देशभित्र रहेका अवसरहरु युवाले उपयोग गर्नुपर्छ,” नेपालले भने। दुई प्रतिशत व्याजदरमा ऋण दिए पनि युवा व्यवसाय सञ्चालन गर्न आकर्षित नभएको उनको भनाइ थियो । एलबीइ एफ विद्यापीठ स्कुल अफ स्कीलका संस्थापक अध्यक्ष प्रमानन्द केजरीवालले भारतको समन्वयमा नेपालका स्नातक उपाधि युवालाई दक्षता प्रदान गर्न तालिम प्रदान गर्न लागिएको बताए । मणिपाल फ्लोरको नेसनल सेफ हेडका प्रमुख देवतीर्थ दानरजीले नेपाल र भारतमा युवा शिक्षित भए पनि बेरोजगारीमा बस्नुपर्ने प्रमुख समस्या रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको विकासका लागि दक्ष जनशक्तिको विशेष महत्व रहेको र दक्षता अभिवृद्धि कार्यक्रमबाट प्राप्त सीपबाट विदेशमा गई काम गर्दा पनि पारिश्रमिक बढी पाउने काम युवाले पाउनसक्ने बताए । तालिममा आइटी, आइटीइएस, वित्त, फेसन टेक्नोलोजि, व्यवस्थापन, सर्टिफिकेट इन प्रजेक्ट मेनेजमेन्टलगायत विधामा एक महिनादेखि तीन महिनासम्मका ४५ वटा तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । रासस