विकासन्युज

निगमको जहाज आकस्मिक अवतरणबारे छानबिन गर्न समिति

काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगमको जहाज आपतकालिन अवतरण गरेकोबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरिय निर्णयबाट छानबिन समिति गठन भएको हो । मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरि ६ सदस्यिय समिति गठन गरेको हो । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पुर्व उप महानिर्देशक बिनोद कुमार गौतम, क्याप्टेन दिपक लामा, क्याप्टेन विश्वमान अमात्य तथा हिमालय एयरलाइसन्का इञ्जिनियर समिर बस्नेत सदस्य रहेका छन् । समितिको सदस्य सचिवको जिम्मेवारी इञ्जिनियर रितेश पन्तलाई दिइएको छ । भदौ २६ गते नयाँ दिल्लीबाट उडेको निगमको ९एन एकेडब्ल्यु ए३२० जहाज फ्याप्समा समस्या आएपछि दिल्लीमै आपतकालिन अवतरण गरिएको थियो । भदौ २८ गते दिल्लीबाटै काठमडौं उडान भरेको निगमकै ९एन एकेएक्स ए३२० त्रिभुवन विमानस्थलमा टायर पड्किएर आपतकालिन अवतरण गरिएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने मन्त्रालयले तयारी गरेको छ ।

दाहाललाई विदेशमन्त्रीको स्वागत

नयाँ दिल्ली, ३० भदौ । चार दिने भारत भ्रमणमा दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहालाई ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजबीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले दाहालको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेमा विश्वस्त रहेको बताइन् । स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताईन् । यता प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने दाबी गरे । भारतीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुने स्पष्ट पारेका छन् ।  

इन्टेक्स मोबाइलको अक्वा रिङ बजारमा, मुल्य ९१९९ मात्रै

काठमाडौं, ३० भदौ । इन्टेक्स मोबाइलको अक्वा रिङ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । अक्वा रिङमा १ जीबीको र्याम, ८ जीबीको रोम, ५ इञ्चको स्क्रिन, १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर लगायतको सुबिधा रहेको छ । नयाँ मोबाइलले नेपाली उपभोक्ताहरुका लागि उपयुक्त हुने इन्टेक्स टेक्नोलोजीका डेपुटी जनरल मेनेजर विश्वास अग्रवालले बताए । चौधरी ग्रुपका सिनियर जेनेजर मेनेजर रमेश श्रेष्ठले पनि दशैं तिहार लगायतका चाडबाडमा अक्वा अक्वा रिङले स्मार्ट फोनका पारखी नेपालीहरुको मन जित्ने दावी गरे । इन्टेक्स मोबाइलमा २१ वटा क्षेत्रिय भाषाको प्रयोग गरिएको छ । यसमा ओपेरा मिनी, क्लिन मास्टर, न्युजहन्ट, फ्रि चार्ज, आई स्टोर लगायतका एप्सहरुको उपलब्धता रहेको छ । अक्वा रिङको मूल्य ९ हजार एक सय ९९ रुपैंयाँ तोकिएको छ ।

भूकम्पपछिको पुननिर्माणमा फेरि अर्काे चुनौति, २६ सय इन्जिनियरले दिए काम नगर्ने चेतावनी

काठमाडौँ, ३० भदौ । सरकारी बेवास्ता र गाविस सचिवको असहयोगको कारण पुननिर्माणमा सहयोग प्राप्त गर्न नसकिरहेको भूकम्प पीडितको लागि फेरि अर्काे नराम्रो खबर आएको छ । पुननिर्माणको लागि सहरी विकास मन्त्रालयले भूकम्प अतिप्रभावित १४ जिल्लाको लागि खटाएको इन्जिनियरहरुले तत्काल तलब, भत्ता, यातायात, संचार जस्ता खर्च बृद्धि नगर्ने हो भने आफूहरुले कार्यक्षेत्रमा खटेर काम गर्न नसक्ने चेतावनी दिएका छन् । यस्तै उनीहरुले तत्काल प्राविधिक कार्यालय स्थापना माग गरेका छन् । भूकम्पपपछि सहरी विकास मन्त्रालयबाट नियुक्ति लिएका इन्जिनियरले उचित सेवा सुविधा दिनुपर्ने माग पनि गरेका छन् । चौध जिल्लामा खटिएका करिब दुई हजार ६ सय प्राविधिक (इन्जिनियर आर्किटेक्ट, सबइन्जिनियर, असिस्टेन्ट सब–इन्जिनियर) ले कार्यक्षेत्रमा रही काम गर्नका लागि आवश्यक पूर्वाधार र न्यूनतम सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्दै शहरी विकास तथा भबन निर्माण विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ज्ञापनपत्र पनि बुझाएका छन् । प्राविधिकहरुको प्रतिनिधिमण्डलले बुधबार सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक पदम मैनाली र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव कालीप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन् । इन्जिनियर सन्तोष क्षेत्री, रामकृष्ण आचार्य, विनोद पाल, रमेश सुवेदीलगायतको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा काम गर्दा विभिन्न जोखिम (भौगोलिक र मानवीय) भोग्नु परिरहेकोले उचित बीमा र सुरक्षाको व्यवस्थासमेत गर्न माग गरेको छ । यसअघि भूकम्प अति प्रभावित गाविसका गाविस सचिवहरुले तलब भत्ता बृद्धिको माग राख्दै काम ठप्प पारेका थिए । गाविस सचिवको आन्दोलनकै कारण पीडितलाई राहत वितरणमा समेत कठिनाइ उत्पन्न भएको थियो ।

यामाहाको नयाँ शोरुम लालबन्दीमा

लालबन्दी, ३० भदौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सर्लाहीको लालबन्दीमा आफ्नो सेवा विस्तार गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर लालबन्दी ट्रेड लिंकमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले लालबन्दीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्र र एमएडब्लु यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट – एजीएम दिपक रौनियारले गरेका थिए । उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको ¥याली आयोजना गरिएको थियो । पचास भन्दा बढी यामाहा मोटरसाइकल तथा स्कुटर सम्मिलित ¥यालीले फुलजौर, नवलपुर, हरिवन र बागमतीको परिक्रमा गरेको थियो । सर्लाहीको मुख्य बजारमा अवस्थित लालबन्दी ट्रेड लिंकबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको खरिद र सर्भिसिङ गर्न सक्नेछन् । ‘जिल्लामा यामाहा जस्तो विश्वासिलो ब्राण्डको शोरुम स्थापना गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ,’ ट्रेड लिंकका प्रोप्राइटर सन्तोष आचार्यले भने । त्यसैगरी, एमएडब्लुका एजीएम दिपक रौनियारले नयाँ डिलरसिप व्यापारिक हिसाबले महत्वपूर्ण स्थानमा खुलेको बताए । नेपालभरि यामाहाका ६० भन्दा बढी डिलरहरु छन् । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन हुनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् । लालबन्दी ट्रेडलिंकमार्फत ‘थ्रि एस’सहित फाइनान्सिङ र रिकन्डिसनको सेवा पनि उपलब्ध हुनेछ । नयाँ शोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनेछ । एमएडब्लुले भर्खरै ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर ३ को समेत विक्री गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा घिसिङ

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। प्राधिकरणकै ११औ तहका कर्मचारी घिसिङलाई निवर्तमान प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले पदबाट राजीनामा दिएपछि नियुक्त गरिएको हो । काफ्लेले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका थिए। काफ्लेले राजीनामा दिएको पाँच दिन पछि सरकारले घिसिङलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । प्रबन्ध निर्देशक नियुक्त गर्न उर्जा मन्त्रीले तीन सदस्यीय समिति बनाएका थिए। मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा बनेको समितिलाई तीन दिनभित्र नाम सिफारिस गर्न निर्देशन दिइएको थियो। समितिकै सिफारिसमा परेको घिसिङलाई सरकारले बुधबार प्रबन्ध निर्देशक बनाएको हो।

कर्मचारी सञ्चय कोषले तत्काल स्वास्थ्य बीमा लागू गर्ने, संचयकर्तालाई ५० हजार देखि १५ लाख रुपैयाँसम्म उपचार खर्च सुविधा

काठमाडौं, ३० भदौ । कर्मचारी संचय कोषले चालु आर्थिक वर्षभित्र छुट्टै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । सरकारले चालू आव २०७३/७४ को बजेटमार्फत घोषणा गरेको वृहत्तर स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत कोषले सो कार्यक्रम सञ्चालन गर्न लागेका कोषका कायम मुकायम मुख्य अधिकृत राजेन्द्र काफ्ले बताए । बृहत् स्वास्थ्य बीमा योजनामा सञ्चयकर्ताले बिरामी तथा औषधोपचार सुविधा, दुर्घटना मृत्यु वा अशक्तता सुविधा, प्रसूति सुविधा, आश्रित सुविधा पाउने काफ्लेले बताए । उक्त योजनाअन्तर्गत योगदानकर्ता, श्रीमान/श्रीमती र निजले तोकेको १८ वर्षभन्दा कम उमेरका २ जनासम्म छोराछोरीले बिरामी तथा औषधोपचार सुविधा पाउने छन् । वार्षिक ५० हजार रुपैयाँ सम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम हुन आउने रकम सञ्चयकर्ताले साधारण स्वास्थ्य सुविधाअन्तर्गत प्राप्त गर्नेछन् । सामान्य उपचार- ५० हजारसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम रकम, शल्यक्रिया- १ लाख ५० हजार रुपैयाँ वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम रकम, कडा रोग- १५ लाखसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम रकम त्यस्तै, शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि वार्षिक १ लाख ५० हजार रुपैयाँ वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम हुन आउने रकम कोषले उपलब्ध गराउनेछ । यस्तो सुविधा एक पटक उपयोग गरिसकेका सञ्चयकर्ताले भने पुनः उक्त सुविधा पाउने छैनन् । कडा रोग लागेको अवस्थामा भने १५ लाख रुपैयाँसम्म वा वास्तविक उपचार खर्चको अधिकतम ७५ प्रतिशतमध्ये कम हुन आउने रकम सञ्चयकर्ताले पाउनेछन् । नेपाल सरकारको कानूनबमोजिम अवकाश पाएका सञ्चयकर्ताले योजनामा सहभागी हुन चाहेमा तोकिएबमोजिम योगदान गरी योजनाबाट निरन्तर फाइदा लिनसक्ने छन् । यसका साथै कम्तीमा ५ वर्षसम्म नियमित योगदान गरेका र प्रचलित कानूनबमोजिम सेवा अवधि वा उमेरको आधारमा अवकाश भएमा थप १ वर्ष स्वतः योजनामा सहभागी गराइने योजना कोषको छ । योजनामा कम्तीमा १० वर्षसम्म योगदान गरी कुनै पनि स्वास्थ्य सुविधा नलिएका सञ्चयकर्तालाई रकमको तोकिएको प्रतिशत योगदान रकम फिर्ता गरिने कोषले बताएको छ । महिला वा पुरुष योगदानकर्ताले एकपटकमा १५ हजारदेखि अधिकतम ३० हजार रुपैयाँसम्म प्रसूति सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै योजनाअनुसार आश्रित भरणपोषणका लागि एकमुष्ट ७५ हजार रुपैयाँ र मृतक सञ्चयकर्ताको दाहसंस्कार काजकिरियाका लागि २५ हजार रुपैयाँ रकम प्राप्त गर्न सक्नेछन् । कर्मचारी र रोजगारदाताबाट ३/३ सय योगदान बृहत् स्वास्थ्य सुविधा योजनाअन्तर्गत कर्मचारीको तलबबाट मासिक ३ सय रुपैयाँ कट्टी गरी सोही बराबरको रकम सम्बन्धित रोजगारदाताबाट थप गरी कोषमा जम्मा गरिने छ । ‘कोषले सञ्चयकर्तालाई बृहत् स्वास्थ्य सुविधा दिन योगदानमा आधारित स्वास्थ्य बीमा योजना सञ्चालन गर्न लागेको हो,’ काफ्लेले भने । उक्त स्वास्थ्य सुविधा योजनाका लागि पहिलो वर्ष करिब साढे १ अर्ब दायित्व आवश्यक पर्ने प्रक्षेपण कोषले गरेको छ । छुट्टै कम्पनी खाेलिने कोषले अल्पकालीन रूपमा सो योजना कार्यान्वयन गर्न सञ्चयकर्ता स्वास्थ्य सुविधा योजना विभाग स्थापना गर्ने भएको छ । पछि सो विभागलाई कम्पनीको रुपमा विस्तार गर्ने योजना कोषले बनाएको छ । यसका लागि कानूनबमोजिम अलग्गै बीमा कम्पनी स्थापना हुने छ । कम्पनीमा नेपाल सरकार र कर्मचारी सञ्चयकोषले प्रारम्भमा गरेको योगदान २ अर्ब रुपैयाँ बीउ पूँजीलाई सेयर पूँजीमा रूपान्तरण गरिने भएको छ । उक्त शेयर पूँजीमा नेपाल सरकार र कोषको बराबर अंश रहनेछ ।

१४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी

काठमाडौं, ३० भदौ । १४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी जनगणना रिपोर्टका अनुसार ४ करोड ३० लाख अमेरिकी जनता गरिबीको रेखामुनी रहेका छन् । यो संख्या भनेको अमेरिकी जनसंख्याको १४ प्रतिशत हो । सन २०१४ मा पछल्लो १६ वर्षमा सबै भन्दा बढि गरिबी बढेको पनि सो रिपोर्टले उजागर गरेको छ । सन २०१४ मा भन्दा १ दशमलब २ प्रतिशतले १३ दशमलब ५ प्रतिशत अमेरिकीहरु गरिबीको रेखामुनी पुगेका हुन् । विश्वको सबै भन्दा ठुला अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा ४ करोड ३० लाख जनता गरिबीको रेखामुनी पुग्नु गम्भिर संकटको संकेत भएको बताईन्छ ।