विकासन्युज

मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक

काठमाडौं, ३० भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । वान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएरबापत आजबाट थप रु दुई हजार ८०० अतिरिक्त शुल्क कामदारबाट उठाउन थालिएकाले त्यो नरोकिएसम्म कामदारको राहदानी सो संस्थामा नपठाउन व्यवसायीलाई आग्रह गरिएको सङ्घका महासचिव रोहन गुरुङले जानकारी दिए । यसअघि मलेसियाको प्रवेशाज्ञाका लागि रु ७०० मात्रै तिर्नुपर्नेमा दुई वर्षअघि भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै रु तीन हजार २०० थप लिएर नेपालीबाट रु तीन हजार ९०० असुलिरहेको थियो । सो रकममा समेत वृद्धि गरी आजबाट ओएससीको नाममा कामदारबाट थप रु दुई हजार ८०० उठाउन थालिएकाले सो संस्थामा कामदारको राहदानी नपठाउने निर्णय गरिएको सङ्घका महासचिव गुरुङले बताए। महासचिव गुरुङले बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससीलगायतका नाममा कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिएको जनाउँदै तत्काल ती संस्था बन्द गर्नुपर्ने सङ्घको माग रहेको बताए । छ महिनाका लागि परीक्षणको रुपमा लागू गरिएको बायोमेट्रिक प्रणाली अवधि सकिएको आठ महिना नाघिसक्दा समेत अवैधानिक तरिकाले ३९ वटा संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण कार्य जारी राखेको र वार्षिक करिब रु ४५ करोड ठगी गरिरहेको सङ्घले जनाएको छ । भिएलएन नेपाल अवैध ढङ्गले सञ्चालन भइरहेको जनाउँदै व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्यसलाई खारेज गर्न श्रम तथा रोजगार मन्त्रालयलाई एक वर्षअघि नै निर्देशन दिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मलेसियाको प्रवेशाज्ञा शुल्क रु ७०० मात्रै भए पनि बिचौलियाको चलखेलका कारण प्रवेशाज्ञा बापतमात्रै ६ हजार ७०० कामदारले बुझाउनु परिरहेको छ । त्यस्तै बायोमेटिक प्रणाली लागू भएपछि स्वास्थ्य परीक्षणका लागि थप रु दुई हजार ५०० र माइग्रामको नाममा थप रु तीन हजार २०० कामदारले अतिरिक्त रकम तिर्नु परिरहेको छ । रासस

फिफा बरियातामा नेपाल २ स्थान उक्लियो

काठमाडौं, ३० भदौ । विश्व फुटबल महासंघ(फिफा)को बरियातामा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपालले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा पुग्न सफल भएको हो । दक्षिण एशियामा भने नेपाल चौथो स्थानमा कायमै छ । सार्क मुलुकहरुमा भारत १४८ औं बरियातासहित शीर्ष छ । चार स्थान सुधार गर्दै अफगानिस्तान दोश्रो स्थानमा पुगेको छ । फिफाका तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा फिर्फाले बर्खास्त गरेपछि नेपालको फुटबलमा सुधार हुँदै आएको छ । अझ कप्तान सागर थापा लगायतलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएपछि नेपाली फुटबलमा नयाँ युग आरम्भ भएको आँकलन गर्न थालिएको छ ।

भूकम्पपीडितलाई भारतीय कम्युनिस्ट पार्टीबाट रु आठ करोड बढी सहयोग

नयाँ दिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेपाली जनताको पीडामा भाकपा९मा०का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभएको थियो । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो । यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो । रासस

दशैँ तिहारको अवसरमा त्रिवेणी कम्पनीले ल्यायो नयाँ दुई योजना

नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनीले आगामी दशैँ तिहारको उपलक्ष्यमा आफ्नो लोकप्रिय ब्राण्ड यसुदाको लागि “यसुदा दशैँ तिहार उपहारै उपहार” नामक योजना बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत यसुदा रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी यसुदा एलइडी टिभीको खरिदमा इमर्जेन्सी लाइट पक्का पाइने छ । साथै यसुदा वासिङ् मेसिनको खरिदमा यसुदा राइस कुकर र यसुदा डिप फ्रिजको खरिदमा हन्डी कन्टेनर पाइने छ । त्यस्तै, त्रिवेणी व्यापार कम्पनीले दशैँ तिहारको उपलक्ष्यमा “सानसुई किनौँ उपहार पाऊँ धमाधम” नामक योजना पनि ल्याएको छ । जापानीज ब्राण्ड सानसुई रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी सानसुई एलइडी टिभीको खरिदमा इमरजेन्सी लाइट पक्का पाइने छ । साथै सानसुई वासिङ मेसिनको को खरिदमा यसुदा राइस कुकर र सानसुई डिप फ्रिजको खरिदमा पाइने छ । उक्त दुई योजना देशभर लागु हुने त्रिवेणी व्यापार कम्पनीले जनाएको छ ।

नेपाल बासु सेवा निगमको ट्रेड युनियनमा एमाले पहिलो

काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगममा भएको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी युनियन पहिलो भएको छ । भदौ २६ गते भएको आधिकारी ट्रेड युनियनको निर्वाचनमा एमाले निकट नेपाल वायु सेवा निगम कर्मचारी युनियनले ३४१ मत ल्याएर पहिलो बनेको हो । नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम कर्मचारी संघले २४१ मत ल्याएर दोश्रो स्थान प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम य कर्मचारी संगठनले १०८ मत ल्याएर तेश्रो भएको हो । निर्वाचनमा ७०१ मत खसेको थियो ।

भारतद्वारा अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहयोग गर्ने

भारत, २९ भदौ । भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ । यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो । पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्तानले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अफगान राष्ट्रपति असरफ घानीबीच भएको भेटपछि भारतले उक्त सहयोगको घोषणा गरेको हो । सहयोगको घोषणा दुवै नेताद्वारा हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमार्फत भएको हो । वक्तव्यमा दुई नेताले कसैलाई नतोकिकन तर पाकिस्तानलाई सङ्केत गर्दै इस्लामिक स्टेट पक्षधर समुदायमा आर्थिक लगानी तथा अन्य सहायता पु¥याएको बताएका छन् । तर उक्त सहयोग सही उद्देश्यका लागि प्रयोग नहुने गरेको दुवै देशको दावी छ । भेटका क्रममा दुई देशका उच्च नेताले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस/एएफपी

हुन्डाईद्धारा दशैँ तिहार ‘गेट सेट गो’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं, ३० भदौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार ‘‘गेट सेट गो’’ अफरको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले बिहीबार तिनकुने स्थित हुन्डाईको शोरुममा एक कार्यक्रम बीच विजेतालाई पुरस्कार वितरण गरेको हो । दशैं तिहारको अफर अन्तर्गत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छुट, एक वर्षको बिमा, ५६ जनाका लागि सामसुङ ग्यालेक्सी एससिक्स इडज स्मार्टफोन र बम्परमा उपहारमा हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । ‘सेट’ अफर अन्तर्गत ५६ जना भाग्यशाली ग्राहकहरुले सामसुङ ग्यालेक्सी एससिक्स इडज जित्ने अवसर पाएका थिए । सो अफरका विजेताको घोषणा हुन्डाईको थापाथली र भाटभटेनी स्थित शोरुममा आएका ग्राहकको हातबाट सो कार्यक्रम सम्पन्न गरिएको थियो । सामसुङ ग्यालेक्सी एससिक्स इडज स्माटफोनहरु विजेताहरुलाई वितरण गरिसकेको छ । कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले बम्पर उपहार विजेतालाई हस्तान्तरण गरेका छन् । ‘गो’ अफर अन्तर्गतको वम्पर उपहार बुटवलकी सुमी श्रेष्ठलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, ३० भदौ । गुडविल फाईनान्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने भएको छ । साथै, बोनस सेयर पश्चात कम्पनीले ६० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । सो निर्णय बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले गरेको हो । उक्त बैठकको निर्णय पारित गराउन कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ । हाल फाइनान्सको चुक्ता पूँजी ३६ करोड २९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ४५ करोड ३६ लाख रुपैयाँ हुने छ ।