२८ देशमा आईफोन सेभेन बिक्री सुरु, आईफोन लिनका लागि रातभर लाइन
काठमाडौं, १ असोज। एप्पलले शुक्रवारदेखि विश्वका २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरू गरेको छ । अमेरिका, चीन, अस्ट्रेलिया, जापान र हङकङ समेत २८ देशमा आईफोन सेभेन आइपुगेको हो । यो पटक पनि मानिसहरु आईफोनको नयाँ सेट किन्नका लागि विभिन्न देशका एप्पल स्टोर अगाडि पाल टाँगेर दुई दिन अघिदेखि बसेका छन् । समाचार अनुसार भारत, नेपाल र नेदरल्यान्डबाट मानिसहरु आईफोन किन्न लण्डन पुगेका छन् । तर एप्पल स्टोर अगाडि लामो लाइन लागेर पुगेकाहरु आफ्नो मन पर्ने जेट ब्ल्याक कलर बिकिसकेको खबरले भने निराश भइरहेका छन् । शुक्रवारदेखि २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरु भएको हो । ७ सेप्टेम्बरबाट आईफोन सेभेन र आईफोन सेभेन प्लस ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भएको सेट एप्पलले लन्च गरेको थियो । बिना हेडफोन ज्याकवाला आईफोनको अमेरिकामा मूल्य ६८ हजार सात सयबाट सुरु भएको छ । अमेरिकामा स्टोर बाहिर रातभर उभिएकाहरुलाई भेट्न एप्पलका सीईओ टिम कुक पनि पुगेर उनीहरुको हौसलाको प्रसंशा गरे । चीनको संघाईमा सयौं मानिस स्टोर बाहिर बसिरहेका छन् । उनीहरु कम्तिमा दुईवटा फोन किन्ने हेतुले एप्पल स्टोरबाहिर धर्ना हालेर बसेका हुन् । न्यूयोर्कस्थित फिफ्थ एभेन्यू इलाकामा एप्पल स्टोर बाहिर आईफोन प्रेमीहरु बिहीबार रातिदेखि लाइन लागेर बसेका छन् । जर्मनीको ह्याम्बर्ग र बर्लिनमा पनि मानिसहरु चसो मौसमको प्रवाह नगरी आईफोनकै लागि एप्पल स्टोर अगाडिको सडकमा बसेर रात बिताए । वासिङ्गटनमा पनि आईफोनको गजबको क्रैज देखियो । यहाँ पनि मानिसहरु लाइनबाट हट्न तयार छैनन् । टर्की जस्ता देशबाट पनि आईफोन किन्न मानिसहरु अमेरिका पुगेका छ्न । लण्डनमा वर्षातका बाबजुत आईफोन प्रेमीको जोशमा कमी देखिएको छैन । मानिसहरु साप्ताहिक विदामा रमाउन छाडेर एप्पल स्टोर बाहिर उभिएका छन् । यहाँ ४९ वर्षीया पोल ड्यु बफलाई आईफोनको पहिलो सेट मिलेको छ । एजेन्सीको सहयोगमा
सामसुङलाई फेरि झट्का, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !
काठमाडौं, १ असोज। कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पनि पड्केको छ। कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेलायतकी एक युवतीले ग्यालेक्सी एस७ एज पड्केको बताएकी हुन्। ३० वर्षीय सारा बेलायतको विथम शहरस्थित एक क्याफेमा उनले आफ्नो फोन तातेको र बेलुनजस्तो फुलेको महसुस गरिन्। उनको फोनबाट धुँवा आउन थाल्यो र केही छिनमै पग्लियो। यो घटना क्याफेको सिसिटिभी क्यामरामा पनि कैद भएको बताइएको छ। साराले बेलायती अखबार द सनलाई आफ्नो फोन तातेपछि टेबलमा राखेको र केही समयमा नै फोन पग्लेको बताएकी छन्। साराले यो विषयमा सिसिटिभी फुटेजसहित सामसुङलाई गुनासो पठाएको बताएकी छन्। यसबारे सामसुङले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
आजदेखि देशभर सुपथ मूल्यका पसल सञ्चालनमा, उपभोक्तालाई केहि छुट
काठमाडौं, १ असोज । सरकारले शनिबारदेखि दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ। आजदेखि खुल्ने यी पसल कात्तिक २१ गतेसम्म चल्ने जनाइएको छ। साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ। सुपथ मूल्को पसलको उद्घाटन आपूर्तिमन्त्री दीपक बोहोराले सिंहदरबार परिसको साल्ट ट्रेडिङको विक्री केन्द्रमा खोलिएको पसलबाट गरे। समानमा छुटको व्यवस्था सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ । चिनीमा ५ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट घोषणा भएको छ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ । त्योबाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको कर्पोरशेनका प्रवक्ता कुमार राजभण्डारीले बताए । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ । राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राख्नेछ भने खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी उपलब्ध गराएको छ । खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूलयमा उपभोग्य सामग्री बेच्ने भएका छन् । खुद्रा ब्यापार संघको समन्वयमा खुद्रा ब्यापारीले १ लाख लिटर खाने तेल, ५ हजार बोरा चिनी र ३ हजार नुन बोरा नुन दिइएको छ । राजधानीमा ११ वटा सुफत पसल, उपत्यका बाहिर पनि सञ्चालनमा राजधानीका थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु-कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । यो बाहेक उपत्यका मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्याउने व्यवस्था गरिएको छ । त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ग, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । मागअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पनि जिल्लाहरुका सुपथ मूल्यको पसल चलाउने आपूर्ति मन्त्रालयले जनाएको छ । माग भएमा साल्ट टे्रेडिङ कर्पोरेशनका अञ्चल कार्यालयमार्फत जिल्लामा सुपथ मूल्यका सामग्री आपूर्तिको व्यवस्था गरिएको छ ।
आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने विषयमा नेपाल चेम्वर र एशोचामबीच समझदारी
काठमाडौं, १ असोज । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पु¥याउने उद्देश्यले भएको समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र एशोचामका अध्यक्ष सुनिल कनौरियाले हस्ताक्षर गर्नु भएको हो । समझदारीले भारततर्फको निकासी सहज हुने र नेपालमा भारतीय लगानी तथा प्रविधि अभिवृद्धि गर्न थप मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ । त्यसैगरी दुई देशका निजी क्षेत्रको सम्बन्ध अभिवृद्धि भई समग्र नेपाल र भारतबीचको व्यापार तथा लगानी थप सहज हुने विश्वास चेम्वरले लिएको छ । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री प्रकाश शरण महतको समेत उपस्थिति रहेको थियो ।
१० लाख रुपैयाँमा कम्पनीको ब्राण्ड एम्बेसडर बन्छुः राजेश हमाल
हालसम्म कतिवटा कम्पनीको ब्राण्ड एम्बेसडर बन्नुभयो होला ? ठ्याक्कै यति वटा कम्पनीको ब्राण्ड एम्बेसडर बनिसकेँ भन्ने याद छैन । मैले संख्या गणना गरेर राख्ने गरेको पनि छैन । तर चलचित्रमा काम सुरु गर्दादेखि नै ब्राण्ड एम्बेसडर बन्न थालेको हुँ । मलाई याद भएसम्म मैले पहिलो पटक भने साबुनको विज्ञापनमा खेलेको थिएँ । अहिलेसम्म कति समय दिनुभयो होला कर्पाेरेट क्षेत्रलाई ? मुलभूत समय चलचित्र क्षेत्रकै लागि दिएको छु । त्यसपछि केहि समय कर्पाेरेट क्षेत्रले पाएको छ । मैले विज्ञापनमा मात्रै होइन सामाजिक अभियानलाई पनि समय दिएको छु । गृह मन्त्रालयको लागु औषध दुव्र्यसनी विरुद्धको अभियानदेखि डब्लुडब्लुएफको बन्य जन्तु जोगाउने अभियान होस् वा अन्य महत्वपूर्ण सामाजिक अभियानका लागि पनि मैले समय दिएको छु र मेहनत पनि गरेको छ । कर्पाेरेट सेक्टरका लागि पनि एकदेखि दुई बर्षको सम्झौता गर्छु । दुई बर्षपछि निरन्तरता दिनुहुन्न ? यो नितान्त व्यवसायिक पक्ष भएकाले कम्पनीसँगको सम्बन्ध र आवश्यकतालाई हेरेर सम्झौता नविकरण गर्छु । सबै भन्दा लामो समय दिएको ब्राण्ड कुन हो ? नेपाः टप कम्पनीलाई सबै भन्दा धेरै समय दिएको छु । यो कम्पनीसँग म लामो समयदेखि जोडिँदै आएको छु । नेपाः टप सब ठिकठाक कम्पनीसँगको एग्रिमेन्ट पुरानो हो र त्यो अझै कायमै छ । कहिले काँही भने केहि प्रडक्टहरुले मेरा लागि दर्शकसँग नजिकिने अवसर पनि दिएका छन् । सन २००४ मा टुपिएम चाउचाउको अभियान थियो । स्क्र्याच गरेर पैसा पाउने व्यवस्था थियो । जो जसलाई पुरस्कार पर्ने हो तिनै गाउँघरमा पुगेर पुरस्कृत गर्नुपर्ने व्यवस्था थियो । त्यसक्रममा म देशभर घुमेको थिए । जुम्ला, हुम्ला पुगेर दर्शकलाई पुरस्कृत गरेको थिएँ । रमपमले पनि यस्तै योजना ल्याएको थियो । मुलुक द्धन्द्धमा फसेका बेला पनि म कलाकारका रुपमा देशभर घुम्न पाएँ । कसैले पनि रोकतोक गरेनन् । राजनीतिले फुटाएको समाजलाई कलाकारिताले जोड्ने रहेछ भन्ने अनुभव पनि त्यसैबेला गर्न पाएको थिए । कुन ब्राण्डको एम्बेसडर बन्ने र कुन ब्राण्डको नबन्ने भन्ने छनौट कसरी गर्नुहुन्छ ? ब्राण्डको छवि र गुणस्तरमा ध्यान दिन्छु । मैले आफ्नो छवि खराब गरेँ भने पनि ब्राण्डलाई असर गर्छ । ब्राण्डले खराब काम गर्यो भने पनि मेरो छवि बिगार्छ । त्यसकारण ब्राण्ड छान्दा बिशेष ध्यान दिन्छु । सम्झौता गर्ने बेलामै सर्तहरु स्पष्ट पार्ने गरेको छु । सम्झौता अनुसार नभएर समस्या परेका उदाहरण छन् ? ब्राण्डको गुणस्तरमै समस्या त आएको भेटिएको छैन् तर एक पटक पब्लिकमा मैले काम गरेको ब्राण्ड माथि प्रश्न उठेको थियो । गुणस्तरमा म निश्चिन्त थिएँ तर पब्लिकममा गलत सन्देश गएको थियो । कम्पनीको नाम लिनु त्यति उपयुक्त नहोला । तर ब्राण्डका कारण केही समस्या भने आएको थियो । जुन बस्तुको ब्राण्ड एम्बेसडर बन्नुहुन्छ, त्यसको प्रयोग गर्नुहुन्छ ? अधिकांश ब्राण्डका उत्पादनको आफैँ पनि प्रयोग गर्छु । सामान्यतया म चुरोट र रक्सीको विज्ञापनमा खेल्दिन । आफूले प्रमोशन गरेका उत्पादन प्रयोग गर्छु नै । धेरै पहिले चौधरी समुहको साहसी चुरोट र बियरको ब्राण्ड एम्बेसडर बनेको थियो । त्यसपछि रक्सी र चुरोटको विज्ञापनमा खेलिँन । म जुन जुन उत्पादनको विज्ञापनमा खेल्छु ती सामान मैले आफैं पनि प्रयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । मैले राग पानको विज्ञापनमा काम गरेँ । त्यसमा टोबाको छैन भन्ने पुष्टि भएपछि मात्रै काम गरेको थिएँ । चलचित्रमा नायकहरुले काम गर्ने टिम रोज्छन, कर्पाेरेट सेक्टरको काममा चाँँही के हुन्छ ? विज्ञापनमा चाँही उत्पादक वा वितरक कम्पनीले भन्दा पनि विज्ञापन बनाउने कम्पनीले काम गर्नेहरुको छनौट गर्छ । कम्पनीको छबि अनुसार विज्ञापनका लागि पात्र छनौट गर्ने हो । त्यसका लागि सहयोगी टिम पनि त्यसकै आधारमा चयन हुन्छ । मैले खासै यस्तो व्यक्ति ल्याउनुस भनेर भन्ने गरेको छैन् । एनएमबी बैंकको टिभिसीमा हामी त औठा छाप भनिएको छ, आजको दुनियाँमा त्यसले समाजको चित्रण गर्छ ? नेपालमा अझै पनि औठा छाप मात्रै प्रयोग गर्न सक्ने ठुलो समुदाय छ । हामी शिक्षा र विकासमा धेरै अघि बढिसकेका छैनौं । अघि बढ्ने प्रयास जारी छ । अर्काे कुरा भनेको औठा छाप भन्ने शब्द राखेर आम नेपाली मनोविज्ञानलाई समेट्न खोजिएको पनि हो । तपाईँले एनएमबी बैंकमा खाता खोल्नु भयो ? अहिलेसम्म छैन । अब खोल्छु । आफुले ब्राण्ड एम्बेसडर भएर काम गरेको बैंकमा खाता त खोल्नै पर्यो नि । दुई बर्षको सम्झौता गरेको हुँ एनएमबीसँग । एउटै प्रकृतिका दुई ब्राण्डसँग एकै पटक काम गर्नु भएको छ ? म त्यस्तो गर्दिनँ । एउटा चाउ चाउको काम गरेपछि सोही अवधीमा अर्काे चाउचाउ कम्पनीमा काम गर्दिनँ । पहिलो पटक बैंकको काम एनएमबीसँग गर्दैछु । यहि अवधीमा अर्काे बैंकको काम गर्दिनँ । एकै पटक एकै प्रकारका बस्तु तथा सेवाको प्रमोशनमा काम गर्दिन् । अहिले कति वटा कर्पाेरेट हाउमा काम गरिरहनु भएको छ ? म अहिले नेपाः टप, डाबर च्यावनप्रास, लाइफब्याय साबन र अहिले एनएमबी बैंकको काम गरिरहेको छु । राजेश हमाललाई कम्पनीका लागि अफर गर्दा रेट कति छ ? मैले पैसाको रेट भन्दा पनि कम्पनीको भ्याल्यु र रेपुटेशन हेर्ने गरेको छु । कम्पनीको कमर्सियल भ्याल्यु हेर्छु । कमर्सियल इन्ट्रेस्ट भएका कम्पनीमा अलि बढि माग गरिन्छ । सामाजिक उत्तरदायित्वको काममा अलि कम । कतिपयमा निशुल्क काम पनि गरिन्छ । सबै भन्दा धेरै फि लिएको कम्पनी कुन हो ? साधारणतया ८ देखि ११ लाख रुपैंयाँमा काम गर्ने गरेको छु । एनएमबीमा कतिमा काम गर्नुभयो ? मैले भने नि । साधारणतया ८ देखि ११ लाख रुपैयाँ लिन्छु । एनएमबीसँग पनि यसैको हाराहारीमा रहेछ भनेर मान्नुस् । डाबर च्यावनप्रासमा तपाई धेरै देखिनुहुन्छ, सबै भन्दा बढि रकम त त्यसबाटै लिनुहुन्छ होला ? डाबर नेपाल भनेको मल्टिनेशनल कम्पनी हो । त्यसको कमर्सियल भ्याल्यु धेरै छ । नेपाली कम्पनी हो भने त्यसै अनुसार हुने हो । मल्टिनेशनल कम्पनीले त्यसै अनुसार अफर गर्छ । कमर्शियल फिल्म बनाएर देश बिदेशमा देखाउने भनियो भने अलि बढि पैसा लिइन्छ । कला संस्कृतिको जगेर्ना गर्ने हो भन्यो भने त्यसै अनुसार काम गर्ने हो । डब्लुडब्लुएफको काम निःशुल्क गरेको थिएँ । राजेश हमालको नाममा प्यान दर्ता छ ? हामीलाई प्यान लिनु पर्ने व्यवस्था गरिएको छ । तर मैले प्यान लिएको छैन । मैले श्रोतबाटै कर कट्टा गर्ने गरेको छु । हाम्रो आम्दानी मासिक रुपमा हुने होइन । त्यसकारण प्यान नलिएको हुँ । कारोबार गर्दा श्रोतबाट नै कति कर तिर्नु पर्ने हो त्यो कटाउने गरेको छु । सबै भन्दा धेरै कर तिर्ने हिरोमा राजेश हमाल पर्छ ? म सबै भन्दा धेरै कर तिर्ने हिरोमा पर्दिन । हाम्रो कमाई भनेको स्यंवसेवी जस्तै हो । महिनामा यति कमाई हुन्छ भन्ने एकिनै हुँदैन । आफ्नो कुल आम्दानीमा ब्राण्ड एम्बेसडरको हिस्सा कति छ ? मुल आम्दानी चलचित्रबाटै हो । ब्राण्ड एम्बेसडरबाट खासै आम्दानी छैन । जसरी सुरुमा चलचित्रमा कमाई थिएन, त्यसैगरी अहिलेसम्म ब्राण्ड एम्बेसडरमा पनि खासै पैसा छैन् । सुरुमा मलाई पत्रकारले तपाई चलचित्र खेल्नु हुन्छ, खास काम चाँही के गर्नुहुन्छ ? भन्थे । सेयरमा लगानी गर्नु भएको छ ? छैन तपाईको लगानी के केमा छ ? मैले आफ्नो आम्दानी बैंकमा डिपोजिट गर्ने गरेको छु । अन्त कतै लगानी गरेको छैन । नवलपरासीमा केहि पुर्खाैली जमिन छ । त्यसमा खेतिपाती भैरहेको छ । रेगुलर खर्च चाँही कति हुन्छ ? मेरो खर्च त्यति धेरै छैन । साधारण खर्च मात्रै हो । तपाई कुन गाडी चढ्नु हुन्छ ? म किया स्पोर्टी चढ्छु । पछिल्लो दश बर्षदेखि यही गाडी चढिरहेको छु । महानायकले १० बर्षदेखि एउटै गाडी चढ्ने ? म अर्काे गाडी किन चढौं ? म आफ्नो जीवनको मापदण्ड आफैं बनाउँछु । नयाँ गाडी किन्दा अहिलेको गाडीले भन्दा के बढि फाइदा दिन्छ भनेर हेर्छु । मेरो गाडी दैनिक जम्मा ५ देखि १० किलोमिटर मात्रै गुडछ् । अनि किन अर्काे गाडी किन्नु ?
नेपाल गरिब हुनै सक्दैन- प्रधानमन्त्री दाहाल
नयाँ दिल्ली, भारत, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अथाह सम्भावना भउको नेपाल गरिब हुनै नसक्ने बताएका छन् । नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन” प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ । ” उनले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको पनि बताएका थिए । प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे । उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे । भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिएका थिए। शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको दाहालको दावी थियो । ।रासस
यो बर्ष पनि आर्थिक बृद्धि ५ प्रतिशत ननाघ्ने एडिबीको प्रक्षेपण, मूल्य बृद्धि हुन सक्ने चेतावनी
काठमाडौँ, ३१ भदौ। एसियाली विकास बैंक(एडिबी) ले चालु आर्थिक बर्षमा नेपालकोअार्थिक बृद्धिदर ५ प्रतिशतवाट नबढ्ने जनाएको छ।बैंकले शुक्रबार सार्वजनिक गरेको नेपालको कन्ट्री रिपोर्टमा चालु आर्थिक बर्षमा नेपालले चार दशमलव आठ प्रतिशत मात्र आर्थिक बृद्धिदर हासिल गर्ने उल्लेख गरेको हो। मुलुकको समग्र आर्थिक अवस्था, पुनः निर्माणको गति र राजनीतिक परिदृष्यका कारण सरकारले लक्ष गरे बमोजिम आर्थिक बृद्धिदर हासिल गर्न नसक्ने रिपोर्टमा उल्लेख छ। सरकारले बजेट मार्फत चालु आर्थिक बर्षमा साढे छ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष लिएको छ। शुक्रबार आयोजित कार्यक्रममा बैंकका नेपाल निर्देशक केनेची योकोहामाले संविधानमा अझै विवाद कायम रहेको र दलहरु विकास केन्द्रित हुन नसकेको कारण आर्थिक बृद्धिदर माथि जाने र सरकारी लक्ष पुरा हुने संम्भावना नरहेको बताए। यो बर्ष रेमिट्यान्स आप्रवाहमा कमि आउने भन्दै बैंकले चिन्ता व्यक्त गरेको छ। रेमिट्यान्स घट्दा सेवा क्षेत्र प्रभावित हुने र त्यसले आर्थिक विकासमा थप सिथिलता ल्याउने उल्लेख गरिएको छ। आर्थिक बृद्धिमा सुधार नभए पनि मूल्य बृद्धि भने उच्च हुने बैंकको प्रक्षेपण छ। रेमिट्यान्स आप्रवाहमा तत्काल ठूलो गिरावट नदेखिए पनि मध्य र दिर्घकालमा भने यो उच्च दरले घट्ने संभावना रहेको बैंकले जनाएको छ। नेपालीहरुले रोजगारी पाउने खाडी मुलुकको अर्थतन्त्रमा आएको सुस्तता र तेलको घट्दो मूल्यका कारण रेमिट्यान्स आप्रवाह घट्ने बैंकले जनाएको हो।
अायल निगमले हवार्इ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटायो, डिजेल, पेट्रोल र ग्याँसमा यथावत
काठमाडौं, ३१ भदौ। । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य घटाएको छ । निगमले आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालले चाडपर्वमा उपभोक्तालार्इ सहुलियत दिन हवार्इ इन्धनको मूल्य घटाएको बताए। आन्तरिकतर्फ हवार्इ इन्धनको मूल्य ९४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलर घटेको छ । अन्तर्राष्ट्रियतर्फ अब हवार्इ इन्धनको मूल्य प्रतिकिलो लिटर ८ सय ३१ डलर कायम भएको छ । निगमका प्रवक्ता खनालले अरु पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने बताए । चाडपर्वका लागि हामीले ग्यास र हवार्इ इन्धनको मूल्य घटाइसकेका छौ, उनले भने, तत्कालै अरु पेट्रोलियम पदार्थको मूल्य घट्दैन। हवाइ भाडा पनि घट्ने ! निगमले भाडा घटाएसँगै अब अान्तरिक तथा वाह्य तर्फका उडानहरुमा पनि भाडा घट्नेछ। हवाई कम्पनीहरुले पनि भाडा घटाउनेछन्। चाडवाडको अवसर पारेर सरकारले जनतालाई केहि भएपनि राहतको महसुस गर्ने ठाउँ दिएको हो।