काठमाडौं । निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गुनासो आईरहेको बेला रसुवा कन्सट्रक्सन कंम्पनी प्राइभेट लिमिटेडले भने निर्धारित समय भन्दा १८ महिनाअघि नै एक पुलको निर्माण सम्पन्न गरेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्माण गरिएको पूल निर्धारित समय भन्दा अघि सम्पन्न भएको कम्पनीले जनाएको छ । वि.सं. २०७३ असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको रसुवा कन्सट्रक्सनले २०७६ पुस मसान्तमा पुल निर्माण सम्पन्न गरी उच्च व्यवसायिकता प्रस्तुत गरेको हो । पुल २४ करोड ६० लाख रुपैयाँमा रसुवाले सम्पन्न गरेको हो ।
२५० मिटर लम्बाई र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन प्रयोगमा आएको छ । ‘पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो’ निर्माण कम्पनीका अध्यक्ष तथा ईन्जिनियर राजेन्द्रराज आचार्यले सञ्चारकर्मी भने, “हामीले रातदिन मिहिनेत गयौँ त्यसैले निर्धांरित समय भन्दा १८ महिना अधिने पुल निर्माणको कार्य सकिएको छ ।”
राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा (पाया) भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो। आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०÷१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्छ ।