चीनले पठायो पेट्रोलियम खानीको ल्याब रिपोर्ट, भित्री कुरा गाेप्य रहेकाे उद्योग मन्त्रीकाे भनार्इ
काठमाडौं, २९ कात्तिक । चीनले नेपालका तीन वटा पेट्रोलियम खानीहरुको ल्याब रिपोर्ट नेपाललाई बुझाएको छ । चीनियाँ सरकारको चाइना जियोलोजिकल सर्भेका बिशेषज्ञहरुले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका खानीहरुमा ल्याब रिपोर्ट परराष्ट्र मन्त्रालय मार्फत नेपाललाई बुझाएको हो । ‘चीनले नेपालका पेट्रोलियम खानीको ल्याब रिपोर्ट हामीलाई बुझाएको छ, जटिल प्रक्रिया भएकाले हामी अध्ययन गरिरहेका छौं’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने । सो प्रतिवेदन केहि दिन पहिले मात्रै उद्योग मन्त्रालयमा आइपुगेको हो । चाइना जिओलोजिकल सर्भेको टोलीले गत अप्रिलमा नेपालमा रहेका तीन वटा पेट्रोलियम खानीहरुको स्थलगत अवलोकन गरेको थियो । अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चिनियाँ टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् । एक महिना भित्र नेपाललाई रिपोर्ट पठाउने भन्दै चीन गएको टोलीले ढिलो गरि रिपोर्ट पठाएको हो । उद्योग मन्त्री जोशीले चीनले पठाएको ल्याब रिपोर्टमा के छ भन्नेबारे भने केहि बोल्न नमिल्ने बताए । ‘रिपोर्ट आइपुगेको छ, के लेखिएको छ भनेर अहिले नभनौं, त्यो विस्तृतमै सार्वजनिक गरौँला’, मन्त्री जोशीले भने । यद्यपी खानी विभागका एक अधिकारीले भने ल्याब रिपोर्ट सकारात्मक रहेको दावी गरे । ‘हामीसँग चिनियाँ टोलीले अनौपचारिक कुरा गर्दा ल्याब रिपोर्ट सकारात्मक छ भनेको छ’, खानी विभागका ती अधिकारीले विकासन्युजसँग भने । कसरी हुन्छ उत्खनन ? तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।
नेपाली बजारमा टेलिम्याटिक सिस्टमको जेसीबी लाइभलिंक सार्वजनीक
काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई टाढै बाटपनि नियन्त्रण गर्न सक्ने भएकोले महत्वका साथ नेपाली बजारमा पहिलो पटक सार्वजनीक गरिएको हो । जेसीवी लाइभलिंक अत्याधूनिक टेलिम्याटिक मनिटरिङ सिस्टमबाट चल्ने भएकाले मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई ब्यवस्थित गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्रविधिले जेसीवी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्यूरिटीबारे महत्वपूर्ण जानकारी दिने कम्पनीका प्रबन्ध निर्देशक विष्णु अग्रवालले जानकारी दिए । उनले भने– ‘यस प्रविधिमार्फत उपभोक्ताले मेसिनलाई प्रभावकारी र सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् । साथै यसको प्रयोगले मेसिनको अनधिकृत प्रयोग र चोरी हुनबाट समेत बचाउँछ ।’ जेसीवी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीवी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइभलिंकको प्रयोगले जेसीवीका मेसिन चोरीएको खण्डमा भूउपग्रहका माध्यमबाट सजिलै ट्रयाक गर्न सकिनेछ । यसले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोवाइल फोन प्रविधिमार्फत सूचना उपलब्ध गराउँछ । यसको प्रयोगले तोकिएको परिधिभन्दा बाहिर गएर मेसिन संचालन भएको खण्डमा प्रयोग अवधि, इन्धन खपत, इन्जिनको लोडलगायतका बारेमा सूचना दिनेछ । जसले गर्दा न्युनतम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सक्ने कम्पनीले दावी गरेको छ । नेपालमा जेसीवीका ब्याकहो लोडर, ह्वील लोडिङ शोभेल, ट्रयाक्ट एक्साभेटर, भाइब्रेटरी कम्प्याटर, स्किड स्टिर लोडर र डिलर जेनसेटलगायतका उत्पादनहरु उपलब्ध रहेको जनाइएको छ । सन् २००३ मा वेलायती हेभी इक्विपमेन्ट ब्राण्ड जेसीवीलाई एमएडब्लु अर्थमुभर्सले आभिकारीक डिलरसिप लिएर नेपालमा भित्र्याएको थियो । नेपालमा जेसीवीका साढे दुईसय जना कर्मचारीहरु छन् भने दुई हजार भन्दा बढीलाई अपरेटर तालिम दिएर दक्ष जनशक्ति तयार पारिसकेको छ । जेसीवीले बिक्रिलाई नभइ बिक्रिपछिको सेवालाई बढी जोड दिएका कारण आफुलाई नेपालकै नम्वर वान हेभी इक्विपमेन्ट ब्रण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । उनका अनुसार एमएडब्लु अर्थमुभर्सले ११ वटा शाखामार्फत जेसीवीका ग्राहकलाई देशभरी सेवा पु¥याइरहेको छ ।
नबिल बैंक फ्रष्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड”बाट सम्मानित
काठमाडौ, २९ कात्तिक । नबिल बैंंक फ्रस्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड २०१६ ”को उत्कृष्ट वित्तिय संस्थाबाट सम्मानित भएको छ । सो सम्मान पूर्व अर्थमन्त्री डा.रामशरण महतद्धारा प्रदान गरिएको थियो । नबिल बैंक सन् २०१६ मा नै “उत्कृष्ट वित्तिय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले १९ अगष्टमा पनि “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो । बैंकको तर्फबाट सम्मान थाप्न जोखिम अधिकृत अनिलकुमार खनाल गएका थिए । उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले ग्राहको माग अनुसार आफ्ना सेवाहरु उपलब्ध गराउँदै आएको बताउँदै त्यो नै बैंक सफल हुनुको एक मात्र सुत्र भएको बताए । सम्मान कात्तिक २४ गते प्रदान गरिएको थियो ।
चार रुटमा गुड्दै छन् साझाका बस, थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै
काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ । साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते बाटो अनुमति (रुट पर्मिट) का लागि पत्राचार गरेको थियो । सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटामा ३० वटा नयाँ र हाल सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले भने – “अब, एक÷दुई दिनमै रुट पर्मिट पाउने विश्वास लिएका छौँ । पर्मिट पाएलगत्तै बस सञ्चालन गर्ने तयारीमा छौँ ।” कार्यकारी अधिकृत पाण्डेका अनुसार उपत्यकाका प्रमुख गन्तव्यलाई समेटेर चारवटा रुटमा सेवा सञ्चालन गर्ने गरी रुट पर्मिट मागिएको छ । रुट नं १ मा लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी चोक हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी बस सञ्चालन हुनेछ । त्यस्तै, रुट नं २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगङ्गा, गौशाला, रातोपुल, जैनभवन, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, नयाँसडक, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार, बालाजु वाइपास हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी हुनेछ । रुट नं ३ अन्तर्गत कोटेश्वर, तीनकुने, मीनभवन, बानेश्वर, माइतीघर, सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, रविभवन, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म बस चल्नेछ । यी तीनवटै रुटमा नयाँ बस सञ्चालन हुने साझाले जानकारी दिएको छ । त्यसैगरी, रुट नं ४ मा ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, नयाँसडक, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, सहिद गङ्गालाल, हात्तीगौडा हुँदै बूढानीलकण्ठसम्म दुईतर्फी आठवटा पुराना बस सञ्चालन गरिने छ । साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् । थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० वटा डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै उपत्यकामा एक ‘सेमी डिलक्स’ नमुनाका रुपमा सञ्चालन गरिँदै छ । साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए । रासस
बढेरै बन्द भयो नेप्से, एभरेष्ट बैंकको सेयरमा नै खनिए लगानीकर्ता
काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको छ । विकास बैंक, जलविद्युत र अन्य बाहेक बाँकी उपसुचकहरु पनि यसदिन बढेको छ । बैकिङ ८ दशमलव ९४ अंकले, होटल ७ दशमवल शुन्य ९ अंकले, फाइनान्स ७ दशमलव ६२ अंकले, विमा ४३ दशमलव २५ अंकले र उत्पादनमूलक १२ दशमलव ५५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ५ दशमलव २८, जलविद्युत ३ दशमलव ५६ र अन्य १ दशमलव ४५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यसदिन सवैभन्दा धेरै कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । बैंकको दिनभरमा १२ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ७५ लाख, शिखर इन्सुरेन्स कम्पनी ६ करोड र बैंक अफ काठमाडौं लुम्वीनी लिमिटेले चार करोडको कारोबार गरेका छन् । गरिमा विकास बैंक र अरुण फाइनान्सले करिव १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै नागवेली लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र प्रभु इन्सुरेन्स लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् । त्यस्तै गुमाउनेहरुमा साझा विकास बैंक,बेष्टर्न डेभलपमेन्ट बैंक,मुक्तिनाथ विकास बैंक र रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताहरु रहेका छन् ।
बीमा समितिमा प्रतिगमन, विजय शाहकाे नियुक्ती बदर, संस्थागत सुशासन निर्देशिकाको भूतलक्षित व्याख्या
काठमाडौं, २९ कात्तिक । बीमा समितिले बीमकको संस्थागत सुशासन निर्देशिकाको भूतलक्षित व्याख्या गर्दै प्रतिगामी निर्णय गरेको छ । समितिले निर्देशिकाको भूत लक्षित व्याख्या गर्दै एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा विजयबहादुर शाहलाई नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई अस्वीकृत गरिदिएको छ । बीमा समितिको यो निर्णयसँगै बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु परिवर्तनको लहर देखिने भएको छ । भूत लक्षित व्याख्या बीमकको संस्थागत सुशासन निर्देशिका २०६९ भदौ १ गतेदेखि लागू भएको हो । सो निर्देशिकामा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा एउटै व्यक्ति दुई कार्यकाल मात्र रहन सक्ने व्यवस्था गरिएको छ । संस्थागत सुशासन निर्देशिका आएको करिब एक महिनापछि एनएजली इन्स्योरेन्सले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः ४ वर्षको लागि नियुक्ती गरेको थियो । निर्देशिका आउनुपूर्व एक कार्यकाल काम गरिसकेको र संस्थागत सुशासन निर्देशिका आएपछि दोस्रो कार्यकाल बिताएको व्याख्या गर्दै बीमा समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सञ्चालक समितिको निर्णय खारेज गरेको हो । स्रोतका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले असोज १ गतेदेखि लागू हुने गरी शाहलाई आगामी चार वर्षको लागि शाहलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । उक्त निर्णय लागू हुन नसक्ने अवस्था भएमा बीमा समितिले १५ दिनभित्र कम्पनीलाई आवश्यक निर्णय दिनु पर्ने थियो । तर बीमा समितिले १५ दिनको म्याद नाघेपछि अर्थात एक महिनापछि शाहलाई नियुक्त नगर्न निर्देशन दिएको पाइएको छ । बीमा समितिको उक्त निर्णय भूतलक्षित र गलत भएको अधिवक्ता जगदीश दाहाल बताउँछन् । ‘भूतकाल लक्षित कानुनको निर्माण हुन पनि सक्दैन र कानुनको व्याख्या पनि भूतलक्षित हुन सक्दैन’ दाहाल भन्छन्–‘संविधान पनि भूतलक्षित निर्माण हुन सक्दैन, संसदले पनि भूतलक्षित कानुन निर्माण गर्न सक्दैन । पूर्ण रुपमा सरकार नियन्त्रित बीमा समितिले कसरी भूत लक्षित निर्देशिका बनाउन सक्छ र भूत लक्षित व्याख्या गर्न सक्छ ?’ अनूहार हेरर निर्णय गर्ने र बलमिच्याई गर्ने प्रशासकले मात्र कानुनको भूतलक्षित व्याख्या गरेर आफ्नो आफू अनुकूल निर्णय गर्ने उनले बताए । चार वर्षअघि आएको निर्देशिकाको आधारमा कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतले ८ वर्ष वितायो वा १२ वर्ष बितायो भनेर व्याख्या गर्न नमिल्ने दाहालको भनाई छ । व्यक्तिको प्राकृतिक न्यायको अधिकार र संबैधानिक अधिकार खोसिने गरि नियामक निकाय वा कुनै पनि संस्थाले निर्णय लिनु गम्भिर गल्ती हुने उनको भनाई छ । पक्षपाती नेतृत्व फत्तबहादुर केसी ‘बीमा क्षेत्रको नियामक बीमा समितिले पक्षपातपूर्ण ढंगले काम गर्नु बीमा क्षेत्रको लागि ठूलो दुर्भाग्य हो ।’ बीमा समिति अध्यक्ष डा फत्तबहादुर केसीले मान्छेकाे अनुहार हेरेर पक्षपात पूर्ण व्यवहार गर्दै आएका छन् । बीमकका संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा ‘यो निर्देशिका तत्काल लागू हुने छ’ भनिएको छ । तर त्यसको कार्यान्वयन बीमा समितिले आफ्नो सुविधा अनुसार लागू गर्दै आएको छ । निर्देशिकामा सञ्चालकको योग्यतामा ‘कुनै पनि विषयमा स्नातक तह वा सो सरह उपाधि हासिल गरेको हुनुपर्ने’ उल्लेख छ । अहिले पनि २५ वटा बीमा कम्पनीमा आईए वा सो सरह मात्र उत्तीर्ण गरेका सञ्चालकहरु एक दर्जन भन्दा बढी छन् । उनीहरुको योग्यताको विषयमा बीमा समिति अहिलेसम्म आँखा चिम्लेर बसेको छ । तर सिद्धार्थ इन्स्योरेन्स कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकत एसके तमोटलाई बीमा समितिले तत्काल अयोग्य भनेर पुन नियुक्ती दिएन । तमोट जस्तो पीडित अरु पनि भएको जानकारहरु बताउँछन् । ‘एउटै निर्देशिका, एकैदिन आयो, एकै दिनदेखि लागू भयो । सो निर्देशिकामा सञ्चालकको पनि योग्यता तोकिएको छ, प्रमुख कार्यकारीको पनि योग्यता तोकिएको छ । तर सञ्चालकको योग्यता निर्देशिका जारी भएको ४ वर्षपछि पनि लागू नहुने, प्रमुख कार्यकारीको योग्यता निर्देशिका आउनुभन्दा ४ वर्षअघि देखि लागू हुने ? अधिवक्ता दाहालले प्रश्न गर्दै भने, ‘बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसरी पक्षपातपूर्ण ढंगले काम गर्नु बीमा क्षेत्रको लागि ठूलो दुर्भाग्य हो ।’ आलोचकको पतनले मौन छन् पीडित केवलकृष्ण श्रेष्ठ ‘बीमा समितिको अध्यक्ष डा फत्तबहादुर केसीको भूमिकाबारेमा आलोचात्मक टिप्पणी गरेकै कारण एभरेष्ट इन्स्योरेन्स कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई बीमा क्षेत्रमा फर्कनै नसक्ने गरि समितिले कारवाही गर्यो । कम्पनीलाई उठ्नै नसक्ने गरी कारवाही गरे’ बीमा क्षेत्रका एकजना जानकारले भने–‘तर सरकारी लोगो र कागजपत्र किर्ते गरी ठगी गरेको आरोपमा सरकारबादी मुद्दा खेपिरहेका र धरौटीमा रिहा भएको शेखर बराललाई यूनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएर काम दिईरहेको छ । बीमा समिति उनलाई संरक्षण गर्दै आएको छ । नियामक निकायबाट यस्तो पक्षपातपूर्ण निर्णय हुन थालेपछि कसरी काम गर्ने ?’ समितिबाट पीडित एक कम्पनीका सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने । ‘बीमा समितिले गलत काम गर्यो भनेर मैले बोलेँ भने कुनै न कुनै विषय उठाएर मेरो कम्पनीलाई बीमा समितिले कारवाही गर्छ, कम्पनी ढुब्न सक्छ, मेरो लगानी नै ढुक्छ’ दविएर बसेका ती सञ्चालकले पीडा खोले–‘कम्पनीको कार्यकारी प्रमुख गर्ने अधिकार कम्पनी ऐनले सञ्चालक समितिलाई दिएको छ, बीमा समितिको ऐनले पनि बीमा कम्पनीलाई दिईएको छ । तर निर्देशिका ल्याएर सञ्चालक समितिको अधिकार बीमा समितिले खोसेको छ । हामीले त्यसको विरोध गर्न पनि सकेका छैनौ ।’
क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च !
चितवन, २९ कात्तिक । गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ । अस्पतालभित्र रहेको प्रहरी बिटले गरेको पूजा खर्चको बिल भने आउन बाँकी रहेको अस्पतालको लेखा शाखाले जनाएको छ । अस्पताल परिसरमा जलदेवीको मन्दिर छ । मन्दिरमा पूजा गर्न सुरक्षागार्ड, कर्मचारी, सवारी चालकलगायतलाई प्रसादका लागि अस्पतालले रकम बाँड्ने गर्दछ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार, दसैँमा मन्दिरमा पूजा र प्रसाद शीर्षकमा कर्मचारीका लागि रु एक लाख २५ हजार, सुरक्षागार्डका लागि रु ३० हजार, सवारी पूजाका लागि रु २० हजार र विश्वकर्मा पूजा गर्न चालकलाई रु २० हजार ५७७ दिइएको छ । गत वर्ष सोही पूजाका लागि रु ८७ हजार ५०० खर्च गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशकको सोझोपनबाट फाइदा उठाउँदै कर्मचारी, सुरक्षागार्ड र चालकले मनोमानी रकम लगेको अस्पतालभित्रकै अन्य कर्मचारी बताउँछन् । त्यसैगरी, अस्पतालका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेल्ने भन्दै जुत्ता, टिसर्ट, मोजा, ट्याकसुटलगायतमा रु एक लाखभन्दा बढी खर्च गरेको, धरानमा चिकित्सक सङ्घको कार्यक्रमका लागि भन्दै रु एक लाख लगेको, हरेक वर्ष झैँ यस वर्ष पनि वृत्तचित्र बनाउने भन्दै बिना प्रतिस्पर्धा रु एक लाख ५० हजार दिइएको, एपोलो अस्पतालका चिकित्सकहरुसँग दुई वर्षअघि अन्तक्र्रिया गर्दा होटल होलिडेजमा भएको खर्च विभिन्न शीर्षक बनाएर भुक्तानी गर्न थालिएको स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले आफूकहाँ आएका बिलको कतिपयको भुक्तानी भएको र कतिपय भुक्तानी हुने क्रममा रहेको बताउनुभयो । अनावश्यक खर्च भएको भए समिति बनाएर छानबिन गर्ने उनले बताए । पछिल्लो समय व्यवस्थापन चुस्त दुरुस्त नहुँदा एसियाकै नमुना अस्पतालका रुपमा चीन सरकारले निर्माण गरिदिएको यहाँको क्यान्सर अस्पताल अस्तव्यस्त बन्न थालेको चिन्ता व्यक्त गर्न थालिएको छ । रासस
पारिश्रमिक बढाउनु भन्दा महंगी नियन्त्रण तर्फ लाग्नुपर्ने सांसदहरुको भनाइ
काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को सोमाबर बसेको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सदनसमक्ष प्रस्तुत गरेको सो प्रस्तावमाथि सुझाव दिँदै सांसद कृष्णभक्त पोखरेलले सांसद अर्कै लोकका प्राणी र जनता अर्कै भूमिका मानिस हुन् भने जसरी सांसदहरुको मात्र सुविधा बढाउने ढङ्गले आएको प्रस्तावलाई संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे । सांसद डिल्लीराज काफ्लेले मुलुकभित्र भएका उद्योगधन्दा बन्द गराएर सांसदलाई मात्रै सेवा सुविधा बढाउने विषय जायज नभएको, महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सांसद सुबोधकुमार पोखरेलले समयअनुसार संसद् पदाधिकारी र सदस्यको जायज तवरले सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे । रामअयोध्याप्रसाद यादव, विक्रम थापा, बुद्धिराम भण्डारी, प्रेमप्रसाद साह तेली, रुक्मिणी चौधरी, कमला पन्त, श्यामकुमार श्रेष्ठ ९काभ्रे०, लोकमणि ढकाल लगायतका सांसदले २०५२ सालयता सांसद एवम् पदाधिकारीको सुविधामा बढोत्तरी नभएको सन्दर्भमा सुविधा वृद्धि मनासिव भए पनि प्रस्तुत विधेयकले जनभावना सम्बोधन नगरेकाले त्यसमा संशोधन अपरिहार्य भएको बताए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री नायकले जनताका तहमा विधेयकमाथि प्रश्न उठ्ला भन्ने सांसदहरुको सोच स्वाभाविक भएको बताए । उनले धरातलीय यथार्थ बुझेर नयाँ परिवेशमा देशमा केही गरौँ भन्ने भावनाका साथ विधेयक प्रस्तुत गरिएको जानकारी दिए । रासस