विकासन्युज

सवारी हाँक्नेमा निगरानी बढ्दै, गाँजा खाएर सवारी चलाए पनि कारबाही

काठमाडौं ३०, कात्तिक । मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ । मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले प्रहरीले उनीहरूलाई पनि कारबाही गर्न थालेको हो । नगरकोट सडक क्षेत्रमा गाँजा सेवन गरेर सवारी चलाउनेको संख्या धेरै रहेको खुलेपछि प्रहरीले कारबाही गर्न थालेको हो । ‘धेरैले गाँजा सेवन गरेर सवारी चलाउने र दुर्घटनामा पर्ने गरेको देखियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले भनिन्, ‘गाँजा खाएर सवारी चलाउनेलाई पनि हामीले पक्राउ गरी कारबाही गर्न थालेका छौँ ।’ काठमाडौं उपत्यकाका धेरै युवायुवती गाँजा तथा अन्य लागुऔषध सेवन गर्न नगरकोट पुग्ने गरेको खुलेको छ । लागुऔषधमा लट्ठिएर उनीहरू सवारीसाधन चलाएर फर्कने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । हाल एक दिन थुनेर अभिभावकलाई जिम्मा लगाइएको एसपी बज्राचार्यले बताइन् । लागुऔषध सेवनकर्तालाई लागुऔषध मुद्दामा छुट्टै कारबाहीसमेत हुन सक्छ । नगरकोट क्षेत्रमा जाने युवायुवतीमाथि प्रहरीले निगरानी बढाएको छ । नगरकोटका कतिपय होटेलकै कर्मचारीले गाँजा बिक्री गर्ने सूचना प्रहरीले पाएको छ । गत ११ असोजमा चाँगुनारायणमा भएको बस दुर्घटना चालकले गाँजा पदार्थ सेवन गरेकै कारण भएको खुलेको थियो । दुर्घटनामा एकको मृत्यु र २२ जना घाइते भएका थिए । सजिलो बाटोमा चालकको लापरबाहीका कारण बस दुर्घटना भएको थियो । बसचालक गाँजा दुव्र्यसनी भएको प्रहरीले जनाएको छ । मदिराभन्दा लागुऔषधको नशा कडा हुन्छ, जसका कारण सवारी चलाउँदा दुर्घटनामा पर्ने धेरै सम्भावना हुन्छ । तर, नेपालको कानुनअनुसार लागुऔषध सेवन गरी सवारी चलाउँदा जरिवाना हुने प्रावधान छैन । ‘लागुऔषध सेवन गरेर सवारी चलाएको कसरी थाहा पाउनु रु’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्ल भन्छन्, ‘लागुऔषध सेवन गरेर सवारी चलाउँदा जरिवाना र कारबाही गर्ने हाम्रो कानुनी प्रावधान पनि छैन ।’ नयाँ पत्रिका दैनिकबाट ।

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा, नेपालीसमेत प्रभावित हुने

काठमााडौं ३०, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि सिबिएस समाचार संस्थालाई दिएको पहिलो अन्तरवार्तामा ट्रम्पले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रबासीलाई अमेरिकाबाट निकाल्ने बताएका हुन । चुनावी क्रममै ट्रम्पले आफू विजयी भए पहिलो काम नै आप्रवासी हटाउने रहेको बताएका थिए । गत ८ नोभेम्बरमा ट्रम्प ४५ औं अमेरिकन राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । उनले डेमेक्रयाटिककी हिलारी क्लिन्टनलाई हराएका थिए । नयाँ पत्रिका दैनिकबाट।

नेपालमा प्रतिबन्धित भारु १५ अर्व रुपैयाँ, आधिकारीकता राष्ट्र बैंकसँग छैन

काठमाडौं ३०, कात्तिक । नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने नेपाल राष्ट्रबैंकको प्रारम्भिक अनुमान रहेको छ। राष्ट्रबैंकको बिदेशी बिनिमय तथा अनुसन्धान बिभागका बहालवाला र अवकासप्राप्त कर्मचारीहरुले यस्तो अनुमान गरेका हुन् । उनीहरुका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने गरेकाले १० देखि १५ अर्व रुपैयाँसम्मका भारु ५०० र १००० का नोटहरु नेपाली बजारमा छन् । राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने यो आधिकारीक तथ्यांक नभएको बताए ।

देश माफियाले चलाइरहेको डा. केसीको भनाई, परिवर्तन देख्न नचाहनेले देश विगारको आरोप

काठमाडौं ३०, कात्तिक । डा. गोविन्द केसीले मुलुक माफियाले चलाइरहेकाले विकृति विसंगतिहरू देखिएको आरोप लगाएका छन् । नौवटा माग राखेर दसौं अनशन सुरु गरेका डा.केसीले भने, ‘मुलुकमा अहिले लुटतन्त्र छ, देश माफियाले चलाइरहेको छ, राजनीतिकर्मी उनीहरूका प्यादा मात्र हुन् ।’ नेपाली राजनीतिमा गैरजिम्मेवारपन अपराध, भ्रष्टाचार, दण्डहीनता संस्थागत भइसकेको आरोपसमेत डा.केसीको छ । नेता, माफिया र राजनीतिक भागबन्डाबाट पद ओगटेकाहरूमा मुलुकप्रति अलिकति पनि माया नभएकाले उनीहरूले संस्थानहरूलाई आफ्नो ‘पुख्र्यौली’, सम्पत्ति ठान्ने गरेको दाबी डा.केसीको छ । ‘उनीहरूले मुलुकका उत्कृष्ट संस्थानहरूलाई आफ्नो कार्यकर्ता आसेपासेका लागि मागी खाने भाडो बनाए, अब चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) तिर पनि आँखा लगाएका छन्,’ डा।केसीले संस्थानलाई ध्वस्त पार्न नै पार्टी कार्यकर्ता रहेका त्रिवि उपकुलपति तीर्थ खनियाँले वरिष्ठताको आधार मिचेर भविष्यमा नियुक्ति प्रक्रियालाई आफ्नो मालिकहरूको अनुकूल बनाएको बताए । स्वास्थ्य शिक्षा, सेवा मात्र नभई सुशासनको क्षेत्रमा समेत हाल देखिँदै गरिएको विकृति, विसंगति, गडबडी, अपारदर्शिता, अन्योल, माफियाकरणको चक्रब्यूँहलाई शक्ति केन्द्रहरूले जसरी भए पनि जारी राख्ने प्रयासमा रहेको आरोप उनको छ । जनताद्वारा नेता चुनिए पनि उनीहरू ‘पावर हंग्री’ मात्र भएकाले मुलुकमा सार्थक परिवर्तन देख्न नसकिएको उनी बताउँछन् । नेतालाई जनताको आवाज सुन्नुसँग मतलब नभई कुर्सीमा पुग्न मात्र हतार हुनुका साथै उनीहरू जनताप्रति जिम्मेवार नभएर कुर्सीमा जान जे गर्न पनि तत्पर भएकाले मुलुकको हाल यस्तो स्थिति भएको उनको धारणा छ । कान्तिपुर दैनिकबाट ।

कुलेखानी नचलाई उपत्यका लोडसेडिङमुक्त भएको प्राधिकरणको भनाइ, भएको विद्युत् व्यवस्थित गरिएको दाबी

काठमाडौं ३०, कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ । लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिए पनि त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको सतहचाहिँ कम रहेको प्राधिकरणले जनाएको छ । सञ्चित अवस्थामा रहेको कुलेखानीको पानी रित्याएर ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी चलाई प्राधिकरणले लोडसेडिङ हटाएको आरोप कतिपयले लगाउने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।

नेपालमा रहेका भारु नसाटिने, ५ सय र हजारका भारु नेपालमै पनि कागजको खोस्टोसरह

काठमाडौं ३०, कात्तिक । नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने भएको छ । भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो । आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो । राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ । नागरिक दैनिकबाट।

कुमारी बैंकद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं, २९ कात्तिक । कुमारी बैंकको बिशेष साधारण सभाद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंककोद विषेष साधारण सभाले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि लगानीकर्तालाई ५० प्रतिशत हकप्रदल सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । विषेष साधारणसभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा शंसोधन प्रस्ताव समेत सर्व सम्मतिले पारित गरेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४ अर्ब ५ करोड पुग्नेछ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट बैंकले २०७४ साल आषाढ मसान्त भित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन दिएको निर्देशन अनुरुप चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसैगरी, कुमारी बैंक लिमिटेडले यसअघि नै काष्ठमण्डप डेभलपमेन्ट बैंक लि., पश्चिमाञ्चल फाइनान्स कम्पनी लि., महाकाली विकास बैंक लि. र काँक्रेबिहार विकास बैंक लि.लाई प्राप्ति (एक्वायर) गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । बैंकले चार वटा संस्थाहरुको प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढनुका साथै शाखा संजाल, निक्षेप, कर्जा आदिमा बृद्धि हुने जनाएको छ । उक्त प्राप्ति पछि बैंकको शाखा संजाल ७४ पुग्ने छ भने बैंकको निक्षेप र कर्जा लगानी क्रमशः करिब रु. ५० अर्ब र रु.४० अर्ब हुनेछ ।

होन्डा नाभी नेपाली बजारमा आगमनसंगै टेस्ट राईड सम्पन्न

काठमाडौं, २९ कात्तिक । नेपालमा होन्डा मोटरसाइकल, मोटर र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा नाभीको नेपाली बजारमा आगमनसंगै स्याकार सेफ्टी राइडिंग ट्रेनिङ्ग सेन्टर, ग्वार्कोमा नाभी एक्पिरेन्स इभेन्टको आयोजना गरेको छ । सो इभेन्टमा होन्डा नाभी मोटर साइकलहरुलाई टेस्ट ड्राइभको लागि जीम खानामा आधारित ट्रयाकमा राखिएको थियो । यसले नेपाली टु व्हीलर सेग्मेन्टमा नयाँ सेग्मेन्टको शुरुवात गरेको छ र युवा ग्राहकहरुलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ । नाभी साधारण मोटरसाईकल र एडभेन्चर बाईक बीचको क्रस जस्तो देखिन्छ । यो ब्राण्डका मोटरसाइकल विभिन्न ५ वटा कलर अप्सनहरुमा उपलब्ध छ । स्ट्रीट, एडभेन्चर र अफ रोड भेरियन्टहरुमा उपलब्ध नाभीमा विभिन्न कस्टमाइज्ड अप्सनहरुमा रहेको छ । यसको मेकानिकल र सफा डिजाईनले बाईक चलाउनेलाई आराम र परफरमेन्स दुवै दिने कम्पनीले जनाएको छ । होन्डा नाभी ११० सीसी सिंगल सिलिन्डर ट्रान्समिसनमा छ जसलाई अटोमेटिक गियरबक्ससंग मेटेड गरिएको छ । १५६ एमएमको हाई ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले खाल्डाखुल्डी भएको सडकमा बाइक ठोक्निे जोखिम कम हुन्छ । बाईकको तौल १०१ केजी र फ्युल ट्यांक क्यापसिटी ३.८ लिटर रहेको छ । अधिकतम पावर ७००० आरपीएममा ७.८ बीएचपी छ ।