चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरी भन्छन् : जिम्मा दिए कलंकी–नागढुँगा सडक ३ महिनामा बनाइदिन्छु

<p>स्थानीय तहको चुनाव हुनुभन्दा १० दिन अघि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका घनश्याम गिरी अन्तत चन्द्रागिरी नगरपालिकाका मेयर बनेरै छाडे । उनी मेयर भएको डेढ वर्ष पुरा भएको छ । देशको महत्वपुर्ण कलंकीदेखि नागढुङा सडकखण्ड निर्माण सम्पन्न नहुँदा उनीमाथी केहि दबाब बढेको छ । सडक नबन्दा धुलो उडेर सास्ती खेप्नु परेको छ । यसको आरोप [&hellip;]</p>

स्थानीय तहको चुनाव हुनुभन्दा १० दिन अघि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका घनश्याम गिरी अन्तत चन्द्रागिरी नगरपालिकाका मेयर बनेरै छाडे । उनी मेयर भएको डेढ वर्ष पुरा भएको छ । देशको महत्वपुर्ण कलंकीदेखि नागढुङा सडकखण्ड निर्माण सम्पन्न नहुँदा उनीमाथी केहि दबाब बढेको छ । सडक नबन्दा धुलो उडेर सास्ती खेप्नु परेको छ । यसको आरोप पनि नगरप्रमुखलाई नै लाग्ने गरेको छ । पछिल्लाे समयमा नगरपालिकाले जथाभावी कर लिएको आरोप लाग्दै आएको छ । प्रस्तुत छ, सडक, कर र नगर विकास योजनाकाे विषयमा केन्द्रीत रहेर मेयर गिरीसंग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानी

चन्द्रागिरी नगरपालिकाले सञ्चालन गर्ने ठुला आयोजना के के छन् ?

चन्द्रागिरी नगरपालिकाको सबै भन्दा ठुलो मेगा आयोजना थानकोट सुरुगङ मार्ग नै हो । यो सुरुङ मार्ग २.८ किलोमिटरको छ । २.६ किलोमिटरको भित्री सुरुङ पर्छ । बाँकी ०.२ किलोमिटर राजमार्गसँग जोडन बाहिरी बाटो हुन्छ । खानेपानी, सडक, फोहरमैला व्यवस्थापन र स्वास्थ्यलाई पनि मेगा प्रोजेक्टको रुपमा अगाडी बढाएका छौं । कंलकी–नागढुंगा सडक पनि मेगा प्रोजेक्ट नै हो । तर यो नगरपालिकाको क्षेत्र भित्र पर्दैन ।

तपाई नगरप्रमुख भएपछि जनताले कर वृद्धिको मार खेप्नु परेको छ । कर किन बढाउनु भएको हो ?

एक वा एक भन्दा बढि नगरपालिकामा पर्ने व्यवसायमा नगरपालिकाबीच समन्वय गर्नु पर्ने ऐनमा व्यवस्था छ । त्यही ऐन अनुसार समन्वय भएर कर उठाएको हो । चन्द्रागिरी हिल्स इन्द्रसरोवर गाँउपालिका, थाहा नगरपालिक र चन्द्रागिरी नगरपालिकामा छ । २ वटा नगरपालिका, एउटा गाँउपालिका र जिल्ला समन्वय समीतिका सभापतिबीच छलफल गरेर नै २ प्रतिशत करबाट ३ प्रतिशत उठाने सहमती भएको हो ।तर नगरपालिका बोर्डमा ५ प्रतिशत नै कर लिनुपर्छ भनेर निर्णय भएको छ । निर्णय कार्यन्वयन गराउने दायित्व मेरो हो । नगरसभामा मैले कर २ प्रतिशतबाट ३ प्रतिशत बढाउन प्रस्तुत गरे तर मेरो विरोध भएन । सबैले मेरो कुरा ठिक हो भनेर पन्छिए ।

चन्द्रागिरी हिल्समा थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकबीच करमा एकरुपता नभएको हो ?

इन्द्रसरोवर गाँउपालिकार र थाहा नगपालिकाले ३ प्रतिशत र चन्द्रागिरी नगरपालिकाले ५ प्रतिशत कर उठाउने भनेपछि करको विषयमा बिमेल भएको छ । त्यसलाई म पुनरावलोकन गर्ने पक्षमा छु । विशेष नगरसभाको बैठक बसेर परिमार्जन गर्ने बिचारमा छु । यो वर्ष ३ प्रतिशत र वर्षेनी बढाए २ वर्षपछि ५ प्रतिशत पुग्छ ।

चन्द्रागिरी हिल्सबाट उठेको कर कति प्रतिशत चन्द्रागिरी नगरपालिकाले पाउछ ?

चन्द्रागिरी हिल्समा उठेको सबै कर चन्द्रागिरी नगरपालिकाले पाउदैन । चन्द्रागिरी नगरपालिकाल ६० प्रतिशत मात्रै पाउछ । बाँकि ४० प्रतिशत थाहा नगरपालिका र इन्द्रसरोवर गाँउपालिकाले बाँडेर लिन्छन ।

संघीयताले गाँउगाँउमा सिंहदरबार पु¥यायो भने थियो । तपाई निर्वाचित भएपछि नगरमा के काम गर्नुभयो ?

जनताका लागि गर्नुपर्ने नियमित काम कार्वाही गरिरहेको छु । जनताका लागि दिनुपर्ने सेवासुविधा प्रदान गरिरहेको छु । प्रत्येक घरघरमा खानेपानी पु¥याउने लक्ष्यकासाथ काम भैरहेको छ । १ वर्ष भित्रमा सबै घरघरमा खानेपानीको व्यवस्था हुन्छ । फोहरमैला व्यवस्थापनका लागि हामीले लगानी बोडलाई जिम्मा दिन लागेका छौँ । बोर्ड र कम्पनीबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । केही समयपछि यो कार्यान्वयनमा आउने छ । नगरपालिकाको क्षेत्राधिकार भएको ठाउमा ढल र सडकको काम भैरहेको छ । जनताको गुनासोलाई हामीले सम्बोधन गरिरहेका छौँ ।

चन्द्रागिरी नगरपालिकाका नयाँ योजना के छन् ?

हामीले नागढुगाबाट छिर्ने नाकामा नै प्रसुती अस्पताल खोल्ने तयारीमा छौं । अस्पतालका लागि अध्यन भैसकेको छ । कंलकी–नागढुंगाको सडक सुधार भएपछि नयाँ तरिकाले यातायात व्यवस्थित हुन्छ । अहिले सबै भन्दा ठुलो समस्या यातायात हो । प्रतिक्षालय र शौचालयको पनि व्यवस्था चन्द्रागिरीले गर्छ ।

पर्यटक आकर्षणका लागि नगरपालिकाले के गर्दै छ ?

हामीले पर्यटन प्रवद्र्धनका लागि चन्द्रागिरी हिल्स, इन्द्रदह र मच्छेनारायण लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको व्यवथित गर्दै लैजाने योजना बनाएका छौं । त्यसमा होमस्टेको पनि व्यवस्था हुन्छ । सम्पदा बस्ती पनि हामीले निर्धारण गरेका छौँ ।

कंलकी–नागढुंगा सडक किन यस्तो बिजोक भएको ?

आजकाल सबैको प्रश्न नै यही हो । मेयर गाडीमा चडेर हिडछन् जनतालाई जस्तो भए पनि के भयो र भन्ने गुनोसो व्याप्त छ । यो सडक चन्द्रागिरी नगरपालिकाको कार्यक्षत्र भित्र पर्दैन । यो त सरकारको कार्यक्षेत्र भित्र पर्छ । नगरपालिकाले यो राजमार्गमा कुनै पनि काम गर्न पाँउदैन । धुलो उडेर बिजोग भएको राजमार्गमा पानी हल्दा पनि बजेट बेरुजु देखिन्छ । जनमानसले चन्द्रागिरीको मेयर र वडा अध्यक्षले हेरदिनु प¥यो भन्छन् । तर हामीले हाइवेमा काम गर्न कानुनले दिदैन । हामीलाई यो सडकको जिम्मा दियो भने ३ महिनाम निर्माण सक्छौ ।

तपाईले ३ महिनामा नै कंलकी नागढुंगा सडकको जिम्मा दिए निर्माण सक्छौँ भन्नु भयो । यो कसरी सम्भव छ, सरकारले ३ वर्षमा सकेको छैन ?

जनतामा यही बाटोको कारणले आक्रोस बढिरहेको छ । यो बाटोको जिम्मा चन्द्रागिरी नगरपालिकालाई दिइयो भने प्रत्येक वडाका जनप्रतिनीधिहरुले नै जिम्मा लिएर ३ महीनामा नै सम्पन गछौँ । यो सडकले ११ वटा वडा भित्र पर्दछ । ११ वटा वडाले आफ्नै जिम्मा निर्माण गर्छ ।

तपाईले यो बाटो निर्माणको जिम्मेवारी लिएकालाई बोलाएर जनगुनासो सुनाउनु भएन ?

महिले सैयाँै पटक छलफल गरिसके तर जति छलफल गरे पनि बाटोको निर्माणले कुनै गति लिएको छैन । यो बाटोमा धेरै मुद्धा परेको छ । सहजीकरण भैसकेको ठाँउमा बाटो निर्माणका लागि भनिरहेका छौँ । अब सडकका लागि भनेर आवाज उठाउन बाँकि छैन । बाटो निर्माण भैरहेको ठाउँमा पनि ४ जना मात्रै कामदार हुन्छन । महिले केही दिन पहिले काम गरिरहेको सडकमा गएर आधुनिक सामाग्रीहरुको प्रयोग गर्नु भनेको थिए । धेरै पटक समय थप गरि सकियो भनेको समयमा काम भएको छैन् । मन्त्रीलाई नै बोलाएर पनि बाटोको अवस्था देखाइसकेको छु ।

चन्द्रागिरी नगरपालिकालाई आर्थिक संक्षम बनाउन तपाँइले के गर्दै हुनुहुन्छ ?

आर्थिक रुपमा संक्षम बनाउन स्थानीय स्रोत र साधनलाइ नै परिचालन गर्नै हो । हामीले उठाउने करको लक्ष्यलाई नै पुरा गर्ने हो । यो वर्ष १९ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएका छौ । सहि तरीकाले नगरपालिकाको अधिकार क्षत्र भित्र रहेर ३० करोड कर उठाउन सकिन्छ ।

चन्द्रागिरी नगरपालिको बजेट कति छ ?

चन्द्रागिरी नगरपालिकाको बजेट १ अर्ब रुपैयाँ छ । सरकारको नियम अनुसार बजेट प्रयोग गर्ने हो ।

तपाईहरुले चुनावअघि घरघरमा लगेर बृद्धा भत्ता दिन्छु भन्नु भएको थियो । यो कार्यान्वयन भयो त ?

बैँकहरुलाई व्यवस्थापन गरेर हामीले वृद्धभत्ता घरघरमा नै गएर दिएका छौँ । नमानेका बैँकहरुलाई कार्वाही गर्ने भनेपछि अहिले सबै बैकहरुले घरघरमा नै गएर दिएका छन् ।

Share News