गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको सातौं शाखा दमकमा
काठमाडौं, ९ मंसिर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले दमकमा सातौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको दमक उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेज्द्र ढकालबाट शुभारम्भ गरिएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । आर्थिक वर्ष २०७१/२०७२ मा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ८७ करोड प्रवाह गरेको यस संस्थाले २ करोड ३० लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ५० प्रतिशत हकप्रद शेयर तथा १२ प्रतिशत बोनस शेयर जारी पश्चात ४९ करोड ३५ लाख तथा जगेडा कोषमा ९ करोड १६ लाख रुपैयाँ रहेको छ ।
भारु साट्न सिमा घटाइयो, पढ्न र औषधोपचारका लागि २५ हजार मात्र पाउने
काठमाडौं । नेपाल राष्ट्र बैकले मनिचेन्जरलाई उपलब्ध गराउँदै आएको भारतीय रुपैयाँ (भारु) पूर्ण रुपमा बन्द गरेको छ । बजारमा भारुको माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न कठिन हुने भएपछि राष्ट्र बैंकले भारु व्यवस्थापनका लागि मनीचेन्जरलाई भारु दिन बन्द गरेको नेपाल राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार मनीचेन्जरहरुले राष्ट्र बैकबाट कुनै पनि दरका भारु सटही सुविधा पाउदैनन् । त्यस्तैगरी नेपाल राष्ट्र बैंकले साना दरको भारती रुपैयाँ (भारु) सटहीको सिमा घटाएको छ । केन्द्रिय बैंकले अवदेखि प्रत्येक व्यक्ति दुई हजारसम्म मात्र भारु साट्न पाउने भएका छन् । नागरिकताको आधारमा भने १० हजार प्रतिव्यक्ति साट्न पाउने व्यवस्था गरेको छ । यसअघि केन्द्रिय बैंकले लाइन बस्दा मात्र पनि प्रतिव्यक्ति पाँच हजारसम्म भारु सटहीको सुविधा दिएको थियो भने नागरिकताको आधारमा २५ हजार भारु साट्न सकिने व्यवस्था थियो । त्यस्तै भारतमा पढ्न र औषधोपचार गर्न जानेहरुले पनि २५ हजार रुपैयाँ मात्र भारु साट्न पाउनेछन् । यसअघि राष्ट्र बैंकले पढ्न र औषधोपचार गर्न जाने प्रमाण भएको खण्डमा ५० हजार भारु उपलव्ध गराउदै आएको थियो । राष्ट्र बैंकले ५० हजार भारुमध्ये २५ हजार नगद र बाँकी २५ हजार सम्बन्धित अस्पताल तथा कलेजलाई भुक्तानी गरिदिन्थ्यो । अब प्रयोजन खुल्दा पनि २५ हजार नगद मात्र उपलब्ध गराउने छ । अस्पतालाई भुक्तानी गरिदिँदैन। ठूला दरका भारु प्रतिबन्ध भएपछि भारतमा नै सानो दरका भारु पाउन छाडेकोले भारत जान लागेकाहरुले १०० दरका भारु साट्न लाइन बस्न थालेका हुन् ।
५६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एनबी इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, ९ मंसिर । बिहीबार मात्र करिब ५६ लाख ७६ हजार ४०१ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २० लाख ३९ हजार ५६७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार ५७० दशमलब ५३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यी दुबै बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । त्यसैगरि रिलायन्स डेभलपमेन्ट बैंकको ७ लाख ५ हजार ७१४ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको २ लाख ८८ हजार ९ सय कित्ता र भक्तपूर फाइनान्सले २ लाख ४२ हजार ६५० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस तिनवटै कम्पनीको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ । त्यस्तै विहीबार नै एनबी इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले यसै साल निष्काशन गरेकाे हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।
भारतमा प्रचलनमा आएको ५०० र दुई हजार दरका नयाँ नोट नेपालमा नचल्ने
काठमाडौं ,९ मंसिर । भारतमा प्रचलनमा आएको ५०० र दुई हजार दरका नयाँ नोट नेपालमा नचल्ने भएको छ । नेपालमा भारतीय ५०० र दुई हजारका नयाँ नोटहरु देखिन थालेपछि नेपाल राष्ट्र बैंकले ति दरका नोटहरु नचल्ने बताएको हो । “नयाँ भारतीय ५०० र दुई हजार दरका नोटहरु नेपालमा कारोबार हुन सक्तैन”, राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले भने —“जवसम्म भारतको केन्द्रिय बैंक रिजर्व बैंक अफ इन्डिया (आरवीआई) ले ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरर्गत विदेशी विनिमय सम्बन्धी परिपत्र (फेमा नोटिफिकेशन) जारी गदैन तव सम्म नेपालमा ति दरका नोटहरु चल्दैनन् ।” फेमा नोटिफिकेशन जारी गरेपछि मात्र भारतीय ५०० र दुई हजारले नेपालमा वैधानिकता पाउँछ । भारतले भुटान र नेपालमा निश्चित परिमाणसम्म भारु बोक्न तथा कारोबार गर्न सक्ने गरी ‘फेमा नोटिफिकेशन’ जारी गर्ने गर्दछ । “ नोटिफिकेसन जारी गरेपछि मात्र नेपालमा भारतीय नयाँ नोटहरु चल्ने गर्दछन् ”,प्रबक्ता पौडेलले भने । पहिले पनि एक हजार र ५०० दरका नोट चल्दा भारतले फेमा नोटिफिकेसन जारी गरेपछि मात्र नेपालमा ति दरका नोटहरु चलेका थिए । भारतले हाल पुरानो ५०० र एक हजार दरका नोटहरुमा प्रतिबन्ध लगाइसकेको छ । पौडेलका अनुसार ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ५०० र दुई हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । अहिले नेपालमा एक सय भन्दा मुनीका भारतीय नोटहरु मात्र चलनचल्तिमा रहेका छन् ।
‘उपयुक्त नीति नहुँदा बजेट कार्यान्वयन भएन, हतारिएर बजेट खर्च गर्दा मुलुकको विकास सुस्ताएको’
काठमाडौं, ९ मंसिर । उपयुक्त नीति र प्रणालीको अभावका कारण हरेक वर्ष प्रभावकारी रुपमा बजेट कार्यान्वयन हुन नसकेको पूर्व अर्थमन्त्रीहरुले बताएका छन् । आर्थिक वर्षको अन्त्यमा हतारिएर बजेट खर्च गर्ने परिपाटीले समग्र मुलुकको विकास सुस्ताएको उनीहरुको भनाई थियो । मिडिया इन्टरनेसनलले काठमाडौँमा आयोजित ‘बजेट कार्यान्वयनको अवस्था र पुँजीगत खर्च’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीहरुले सांसदहरुको भागबण्डाका आधारमा बिना तयारी बजेट विनियोजन गरिने प्रवित्तिले प्रभावकारी रुपमा बजेट कार्यान्वयन हुन नसकेको बताएका हुन् । कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालय भन्दा बढी अन्य मन्त्रालयहरुको कमजोरी रहेको औँल्याए । उनले भने, –‘अर्थ मन्त्रालयले त बजेट छुट्याउने मात्रै हो उर्जा, स्थानीय विकास, शिक्षालगायतका मन्त्रालयले खर्च नगर्ने प्रवित्तिले बजेट कार्यान्वयनमा समस्या आएको हो ।’ स्थायी सरकार, कमजोर नीति र प्रणालीको अभावमा पनि हरेक वर्ष बजेट कार्यान्वयनको अवस्था निराशाजनक भएको उनको भनाई थियो । ‘गएका २५ बर्षमा २३ वटा सरकार परिवर्तन भए,’ डा. महतले प्रतिप्रश्न गरे, ‘शान्ति प्रक्रियापछि मात्रै पनि ८/९ वटा सरकार परिवर्तन भइसकेका छन् । यसरी सरकार र कर्मचारी फेरबदल भईरहेपछि कसरी हुन्छ प्रभावकारी बजेट कार्यान्वयन ?’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीले बजेट कार्यान्वयनका लागि विधि र प्रक्रियाको आवश्यक तयारी नगरी बजेट बिनियोजन गर्ने प्रवित्तिले समस्या भएको बताए । उनले भने –‘बजेट कार्यान्वयमा बर्षेनी समस्या आउँछ तर के कारणले बजेट कार्यान्वयन भईरहेको छैन र के गर्दा हुन्छ भन्ने बिषयमा कसैले ध्यान नदिँदा पनि हरेक वर्ष एउटै समस्या दोहोरिएको हो । समयमा बजेट कार्यान्वयन नहुँदा हरेक वर्ष बजेट फ्रिज हुनुका साथै बिदेशबाट आएका सहयोग पनि धेरै फिर्ता जाने गरेको उनको भनाई थियो । बजेट कार्यान्वयन नहुनुमा राजनीतिक नेतृत्वलाई दोष दिँदै पूर्व अर्थमन्त्री अधिकारीले भने– ‘चाहे जुनसुकै पार्टीको नेतृत्व होस् बजेट कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ ।’ कार्यक्रममा बोल्दै अर्का वक्ता पुर्वअर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले विगतका बर्षहरुभन्दा यस बर्ष बजेट कार्यान्वयनको अवस्था अझै निराशाजनक भएको जिकिर गरेका छन् । ‘यो वर्षको बजेट कार्यान्वयनकोे अवस्था विगतको भन्दा निकै कमजोर हो ।’ उनले भने– ‘अस्थीर राजनीतिक अवस्थाका कारण बजेट कार्यान्वयन कमजोर भयो ।’ सांसदहरुको भागबण्डाको आधारमा बजेट विनियोजन गर्ने परिपाटी गलत भएको औँल्याउँदै उनले भने– ‘सांसदहरुले भने अनुसार १० करोडका दरले बजेट उनीहरुको क्षेत्रलाई पारिन्छ तर त्यो रकम कुन शिर्षकको लागि खर्च गरिन्छ भन्नेबारे कुनै अध्ययन वा तयारी गरिँदैन ।’ कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले राजनीतिक दलकै कमजोरीका कारण मुलुक आर्थिक रुपमा झन् कमजोर हुँदै गएको टिप्पणी गरे । ‘भागबण्डाको राजनीतिक प्रणालीको विकास भएको छ ।’ उनले भने, ‘चालू आर्थिक वर्षको चौमासिक सकिदासम्म जम्मा १५ प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन जुन दूर्भाग्यपूर्ण छ ।’
नेपाल एसबीआई बैंकले प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ निष्काशन गर्ने, ६ करोड रुपैयाँ प्रिमियम संकलन हुने
काठमाडौं, ९ मंसिर । नेपाल एसवीआई बैंकले प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ निष्काशन (फर्दर पब्लिक अफरिङ) गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकिल सेयरमा ८८४ रुपैयाँ प्रिमियम रकम जोडर नयाँ सेयर निश्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृत लिएर प्रिमियम मूल्य निर्धारण गरिएको एसवीआाई बैंकले जनाएको छ । बैंकले ६७ हजार ७६७ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकको नियम र नेपाल एसवीआई बैंकको प्रबन्ध पत्र तथा नियमावलीको व्यवस्थाअनुसार बैंकमा प्रमोटरको सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशत हुनु पर्ने छ । सोही व्यवस्था मिलाउनको लागि थोरै मात्रामा बैंकले एफपीओ जारी गर्न लागेको जनाएको छ । नयाँ सेयर निष्काशनबाट बैंकले ५ करोड ९९ लाख ६ हजार रुपैयाँ प्रिमियम संकलन गर्ने भएको छ भने ६७ लाख ७६ हजार ७०० रुपैयाँ सेयर पुँजी वृद्धि हुनेछ । नयाँ सेयर निष्काशनले बैंकको जगेडा कोषमा करिव ६ करोड रुपैयाँ स्वत वृद्धि गर्ने भएको छ ।
लियागो स्टाईलिस फोन नेपाली बजारमा लञ्च हुँदै, मूल्य ५० हजार रुपैयाँ मात्र
काठमाडौं, ९ मंसिर । विश्व बजारमा उत्कृष्ट रहेको लियागो स्टाईलिस फोन अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । चाईनाको विश्वप्रख्यात लियागो ईन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाईलिस फोनका बिभिन्न चार सिरिजका ११ मोडलहरु जेएसएस ग्रुपले नेपाली बजारमा ल्याउन लागिएको छ । यो मोबाइल अन्य मोवाईलको तुलनामा सस्तो र सुलभ दरमा नेपालमा बिक्रि हुने जेएसएस ग्रुपका प्रवन्ध निर्देशक मोहन वंशलले जानकारी दिएका छन् । उनले बजारमा आउन लागेका उक्त फोनहरु बिश्वका मलेसिया , बेलायत , क्यानडा लगाएत २० मुलुकमा बिक्रि वितरण हुदै गएको बताए । लियागो स्टाईलिस मोवाईल फोन ५० हजार रुपैयाँ सम्मका छन् । सबै मोवाइलहरु शुक्रबार काठमाडौंबाट सार्वजनिक हुने र आईतवारबाट सहज रुपमा नेपाली बजारमा उपलव्ध हुने वंशलले बताएका छन् ।
भूकम्पपछिको भौतिक संरचनाको बीमा दावी भुक्तानी ७५ प्रतिशत, सवैभन्दा बढी दावी भुक्तानी दिनेमा नेपाल इन्सुरेन्स
काठमाडौं, ९ मंसिर । भूकम्प पश्चात् क्षती भएका भौतिक संरचनाहरुको बीमा दावी गरिए अनुसार १२ अर्व ३७ करोड दावी भुक्तानी भएको छ । भौतिक संरचना क्षतिको बीमादावी १६ अर्व ११ करोड रुपैयाँ थियो । बीमा समितिका अनुसार १६ वटा निर्जिवन बीमा कम्पनीहरुले हालसम्म दावी रकमको ७४.८२ प्रतिशत रकम दाबी भुक्तानी गरिसकेको छ । समितिका निर्देशक राजुरमण पौडेलले नेपालका बिमा कम्पनीहरुले विश्वमा नै सवैभन्दा बढी दावी भुक्तानी दिएको बताए । उनले भने—“विश्वमा सवैभन्दा बढी जापानमा विमाको दावी हुने भएपनि ७५ प्रतिशतसम्म दावी भुक्तानी दिएको तथ्यांक छैन । ” कतिपय मुद्धा मामिलाका कारण पनि बिमाको दावी भुक्तानी हुन ढिलाई भइरहेको उनले बताए । समितिका अनुसार भूकम्पपछि भौतिक संरचनाहरुको क्षति भएको भन्दै नेपाल इन्सुरेन्स कम्पनीमा ७७ करोड २० लाख बराबरको दावी परेको थियो सो कम्पनीले ७० करोड ४९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । यो कम्पनीको कुल विमा दावीको ९१.३१ प्रतिशत हो । सवैभन्दा बढी दावी भुक्तानी गर्ने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स रहेको छ । त्यस्तै दि ओरियन्टल इन्सुरेन्स कम्पनीमा विमाकर्ताहरुको ७३ करोड ७७ लाख रुपैयाँको दावी परेकोमा ४२ करोड २५ लाख मात्र दावी भुक्तानी गरेको छ । यो ६९.९६ प्रतिशत हो । सरकारी संस्थानको रुपमा रहेको राष्ट्रिय विमा कम्पनीमा बिमाकर्ताहरुको जम्मा ११ करोड ६० लाख मात्र दावी परेको थियो कम्पनीले अहिलेसम्म ७ करोड २२ लाख बराबरको मात्र दावी भुक्तानी दिएको छ । नेशनल इन्सुरेन्स कम्पनीको पनि ९१ करोड २० लाखको दावी परेकोमा ४७ करोड ७४ लाख रुपैयाँ भुक्तानी भएको छ । हिमालयन जनरल इन्सुरेन्सको ४ अर्व ९९ करोड ११ लाख रुपैयाँको दावी परेकोमा ३ अर्व ७७ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । समितिका अनुसार सवैभन्दा बढी दावी भने हिमालयन जनरल इन्सुरेन्सको नै परेको छ । युनाइटेड इन्सुरेन्स कम्पनीको पनि ६६ करोड ४७ लाखरुपैयाँ दावी परेकोमा ५० करोड ९५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । प्रिमियर इन्स्योरेन्स नेपालमा पनि एक अर्व ५८ करोड रुपैयाँ दावी परेकोमा ९३ करोड ९९ लाख रुपैयाँ दावी भुक्तानी भइसकेको छ । एभरेष्ट इन्सुरेन्स कम्पनीको पनि १५ करोड १३ लाख रुपैयाँ बिमा दावी परेकोमा १२ करोड ६२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । नेको इन्सुरेन्सले पनि ६४ करोड २९ लाख दावी मध्ये ५५ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सगरमाथा इन्सुरेन्सको पनि १ अर्व ५२ करोड ९१ लाख दावी परेकोमा एक अर्व ३२ करोड ४९ लाख रुपैयाँ भुक्तानी भएको छ । प्रभू इन्सुरेन्सको पनि ६६ करोड ५० लाखको दावी परेको थियो ४६ करोड ६० लाख रुपेयाँ भुक्तानी भइसकेको छ । प्रुडेन्सियल इन्सुरेन्सको पनि ४७ करोड १८ लाख बरबरको दावी परेकोमा ४० करोड ९९ लाख रुपेयाँ भुक्तानी भइसकेको छ । शिखर इन्सुरेन्स कम्पनीको पनि एक अर्व ६ करोड १८ लाख रुपैयाँ दावी परेको छ । एक अर्व २३ करोड ५४ लाख रुरुपैयाँ दावी भुक्तानी भएको छ । त्यस्तैगरी लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीको पनि २६ करोड ८३ लाख रुपैयाँ दावी परेकोमा २३ करोड ८४ लाख रुपैयाँ भुक्तानी भएको छ । एनएलजी इन्सुरेन्स कम्पनीको ६५ करोड २५ लाख रुपेयाँ दावी परेकोमा ३५ करोड २६ लाख भुक्तानी भएको छ । त्यस्तै सिदार्थ इन्स्योरेन्स कम्पनीको पनि ८९ करोड ८१ लाख रुपैयाँ दावी परेकोमा ६७ करोड २८ लाख रुपैयाँ भुक्तानी भएको छ ।