विकासन्युज

कतार एयरवेजको ‘ट्राभल टूगेदर, सेभ टूगेदर’ क्याम्पेन सञ्चालनमा

काठमाडौं, १३ मंसिर । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेदर, सेभ टूगेदर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ३ देखि ९ जनाको समूह बनाइ यात्रा गर्ने यात्रुले योजना मार्फत आकर्षक डिल्सबाट लाभान्वित हुन सक्नेछन् । २८ नोवेम्बर देखि ५ डिसेम्बर २०१६ सम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ताले १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जानकारी दिएको छ । यात्रूहरुले फ्लाइटको खरिदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । साथै, अनलाइन माध्यमबाट टिकट बुक गर्ने यात्रूहरुले हमाद ईन्टरनेशनल एयरपोर्टको कतार ड्युटी फ्रि रिटेल्समा सपिङ गर्नका लागि २५ प्रतिशत सम्म छुट उपलब्ध हुने कतार ड्यूटी फ्रि भाउचर्स समेत प्राप्त गर्न सक्नेछन् । तर, योजनामा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि उपभोक्ताले qatarairways.com/travel together मा गई बुकिङ गर्दा थप जानकारी प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत छानिएका ट्राभल एजेन्ट मार्फत विभिन्न विशेष टूर प्याकेजको ब्यवस्था समेत गरिएको छ । यसका लागि उपभोक्ताले आफ्नो पायक पर्ने ट्राभल एजेन्ट वा कतार एयरवेजको सेल्स अफिस मार्फत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकको एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

काठमाडौं, १३ मंसिर । माछापुच्छ्रे बैंकले नारायणचौर नक्सालमा करिब २ सय जनाको निःशुल्क प्रभातकालीन स्वास्थ्य परीक्षण गरेको छ। मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको छ। बढ्दो चिसो सँगै मुटु सम्बन्थी समस्या पनि बढ्ने हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था सँग सहकार्य गरेर निःशुल्क शिविरका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ । बैंकले वर्षैभरी देशका बिभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व वहन गर्दै बिभिन्न कार्यहरु गरिने जनाएको छ ।

बेष्ट रेमिट र जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, १३ मंसिर । बेष्ट रेमिट नेपाल र जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र जनउत्थानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकका बिभिन्न शाखाहरुबाट भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । गैर आवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ । जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।

सोमबार मात्रै कञ्चनको तीन लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, कसमसको हकप्रद नेप्सेमा सूचिकृत

काठमाडौं, १३ मंसिर । सोमबार कञ्चन डेभलपमेन्ट बैंकको मात्र करिब ३ लाख ७६ हजार १७६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । त्यस्तै सोमबार नै कसमस डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४४५ रुपैयाँमा कारोबार भएको छ ।

एडीवीबाट शिक्षा मन्त्रालयलाई करिव १३ अर्व ऋण सहयोग, शिक्षा क्षेत्रमा वर्षेनी ऋण माग्दै सरकार

काठमाडौं,१३ मंसिर । सरकारले हरेक बर्ष शिक्षा क्षेत्रको विकासको लागि अर्बौ रुपैंयाँ लगानी गर्दै आएपनि सँधै अपुग भएको भन्दै शिक्षा मन्त्रालयले विभिन्न माध्यमबाट ऋण सहयोग लिन छाडेको छैन । यसै अनुरुप मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) संचालन गर्न बजेट अभाव रहेको जनाउँदै कार्यान्वयनका लागि अपुग रकम मध्ये एसियाली विकास बैंक (एडीवी)बाट करिब १३ अर्ब रुपैयाँ ऋण सहयोग लिने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले एडीवीबाट १२ अर्व ८४ करोड ऋण सहयोग र ५ करोड ३० लाख प्राविधिक सहयोग लिने निर्णय गरेको हो । एसएसडीपी संचालनका लागि विभिन्न संस्थाहरुले पहिले नै ऋण सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको रकममध्ये सरकारले एडीवीको ऋण सहयोग स्विकार गर्ने निर्णय गरेको शिक्षा मन्त्री धनीराम पौडेलले जानकारी दिए । उनका अनुसार एडीवीको सहयोग मात्रै नभएर जाईका, विश्व बैंक लगायतका संस्थाहरुबाट पनि लगानीको प्रस्ताव आएकाले त्यसको कार्यान्वयनको लागि पनि सरकारले विस्तारै निर्णय गर्दै जानेछ । मन्त्री परिषद्ले ऋण सहयोग स्विकार गर्ने निर्णय गरेसँगै एसएसडीपी संचालन गर्न सहज हुने मन्त्री पौडेलले बताए । विद्यालय शिक्षा सुधार कार्यक्रम सोचेजस्तो आजको भोलि परिवर्तन नहुने भन्दै क्रमिक रुपमा विकास गर्नको लागि सहयोग अनिवार्य भएको मन्त्री पौडेललेको भनाइ थियो । विद्यालय शिक्षा सुधारको लागि पञ्च बर्षिय योजना अगाडी सारिएको भएपनि यसले छिटै उदेश्य प्राप्ति गर्ने र शैक्षिक गुणस्तर बृद्धि संगै विद्यालय शासन प्रणालीमा समेत सुधार आउने मन्त्री पौडेलले दावी गरे । कार्यक्रम संचालन गर्न ४ सय ४३ मिलियन डलरको प्रतिवद्धता प्रस्ताव आएपनि झण्डै २ सय ७९ मिलियन अमेरिकी डलर बराबरको रकम अपुग हुने देखिएपछि सरकारले उक्त निर्णय गरेको जनाएको छ । कार्यक्रममार्फत शैक्षिक पद्धतीमा व्यापक पुनरावलोकन, शिक्षकको क्षमता वृद्धि, र शिक्षाको गुणस्तर सुधारमा जोड दिने भनिएपनि बर्षैपिच्छे सरकारले छुट्याएको अर्वौ रकम कहाँ खर्च हुन्छ भन्ने प्रतिवेदन सार्वजनीक हुन सकिरहेको छैन ।

सेन्ट्रल फाइनान्सले २३ प्रतिशत लाभांश दिने, पूँजी ३० करोड ४९ लाख रुपैयाँ पुग्ने

काठमाडौं, १३ मंसिर । सेन्ट्रल फाइनान्सले लगानीकर्तालाई २३ दशमलब ६८ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले २२ दशमलब ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशलमब १८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव गरेको छ । कम्पनीको उक्त प्रश्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । बैंकको स्वीकृत प्रश्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । २३ दशमलब ६८ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ३० करोड ४९ लाख रुपैयाँ पुग्ने छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर २१४ रुपैयाँमा किनबेच भएको छ ।

उचित मूल्य नपाएपछि कृषकले सुन्तला टिपेनन्, प्रतिकिलो १० देखि ३५ रुपैयाँ मात्र

पाल्पा, १३ मङ्सिर । सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँ र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने ८० देखि ९० रुपैयाँ प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् ।  प्रतिकिलो ३५ रुपैयाँमा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् । तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताए । मुझुङ गाविसबाट गत वर्ष ३३ लाख रुपैयाँ, छहरा गाविसबाट मात्र एक करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट एक लाखभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ । गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् । तीनसय बोटका सुन्तलाले कार्कीको बगैँचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । पाँच सात वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ दुई लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उनले बताए । अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित हुनुहुन्छ । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन । छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ । रासस

भृकुटीमण्डपमा देश चिनाउने उत्पादन (फोटोफिचर सहित)

काठमाडौं, १३ मंसिर । नेपाल हस्तकला महासंघले आयोजना गरेको व्यापार मेलाको तेश्रो दिन सोमबार करिब ३० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका छन् । उक्त मेलामा सोमबार मात्रै करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् । उक्त मेला वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा भृकुटीमण्डपमा आयोजना गरिएको छ । आयोजकका अनुसार मेलाको पहिलो दिन ५० हजार जना अबलोकन गरेका थिए भने दोश्रो दिन आइतबार करिब ३० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका थिए । तीन दिनमा १ लाखभन्दा बढीले मेला अबलोकन गरेको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । बंगलादेश, पाकिस्तान, चीनको स्वसासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले समेत मेलामा भाग लिई रहेका छन् । मेलामा आइतबार नेवा डे मनाईएको छ । यसमा प्रतिभा समूह नकबहिल ललितपुरद्वारा नेवारी संस्कृति झल्किने डाफा भजन, नौ बाजा, अष्टमातृका नाच र धिमे नाच प्रस्तुत गरिएको थियो । मेलाको चौंथो दिन सोमबार तराई दिवस मनाईएको थियो  ।  यसमा थारु संस्कृतिअनुसारको कार्यकमहरु प्रस्तुति गरिएको संयोजक उपाध्यायले बताए । मेलाको तेश्रो दिन बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्याय, नेपाल स्थित चिनीया राजदुतावासका अधिकृतहरु, तिब्बेत विश्वविद्यालयका प्राध्यापकहरु, स्वीडेनका व्यापारीलगायतले मेलाको अवलोकन गरेका थिए । व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरेका थिए । उक्त प्रतिस्पर्धा अवलोकन गर्नेहरुको पनि ठूलो भीड लागेको थियो ।