१० हजार रुख रोप्दै काठमाडौं महानगरपालिका, नि:शुल्क विरुवा उपलब्ध गराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवद्र्धनका लागि १० हजार विरुवा रोप्ने भएको छ । विश्व वातावरण दिवसमा २ हजार ३ सय ७१ वटा विरुद्ध रोपेको महानगरपालिकाले चालु आर्थिक बर्षभित्र थप १० हजार विरुवा रोप्न लागेको हो । ‘यसै बर्ष १० हजार नयाँ विरुवा रोप्दै छौं, उपत्यकालाई हरियाली र स्वच्छ बनाउनका लागि यो अभियान थालेका हौं’, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने । उनले वातावरण दिवसका दिन २ हजार ३ सय ७१ वटा विरुवा रोपेको जानकारी पनि दिए । विभिन्न विद्यालय, संघ संस्थाहरुको सहयोगमा सो वातावरण दिवसमा विरुवा रोपिएको बताए । महानगरपालिका भित्र सडकको किनारा, ट्राफिक आईल्याण्ड र बगैँचाहरुमा रुख रोपिसकेको पनि दावी गरे । थप १० हजार विरुवा भने विद्यालय, संघ संस्थाहरु र टोल सुधार समितिहरुको सहयोगमा रोप्ने बताए । महानगरपालिकाले वृक्षारोपण गर्नेहरुका लागि निःशुल्क विरुवा उपलब्ध गराउने घोषणा पनि गरे ।‘विरुवा माग्न आउनुस, हामी निःशुल्क उपलब्ध गराउँछौं, रोपेर हुर्काउने जिम्मेवारी तपाईहरुको भयो’, शाक्यले भने । महानगरपालिकाले स्कुल, पोखरी र बगैँचा लगायतका ८ ठाउँमा रेन हार्भेष्टिङ तथा ग्राउण्ड वाटर रिचार्जको अध्ययन पनि अघि बढाएको छ । यसले आकाशे पानीलाई संकलन गरेर जमिनमुनी पठाउनेछ । त्यस्तै, ढल खोल्ने तथा सडक सरसफाई गर्ने ५ वटा जेट मेसिन खरिद गरेर उपयोगमा ल्याईसकेको छ भने ५ वटा ब्रुमर खरिदको प्रक्रिया पनि अघि बढाईसकेको छ । आगामी ३ महिनाभित्र ब्रुमरहरुले सडक सफाई अघि बढाउने मेयर शाक्यले बताए ।
क्यासिनो महाजोंगले प्राप्त गर्यो सर्वोत्कृष्ट पुरस्कार
काठमाडौं । काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री के जे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री बिजय गोयलको प्रमुख आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक बिनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका महाप्रवन्धक अमुल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योग सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो । २०६९ पुस १२ गते क्यासिनो महाजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रुपैयाँ चुक्ता सेयर पुँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि.आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आइरहेको छ । यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । कुनैपनि राजश्व रकम बुझाउन बाँकी नभएको दावी व्यवस्थापनले जनाएको छ । हालसम्म कम्पनीले २८ करोड भन्दा बढी राजश्व दाखिला गरिसकेको छ । यस क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स सुर्खेतमा
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतको विरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश सभासदस्य पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइले संयुक्त रुपमा गरेका हुन् । इन्स्योरेन्सले जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त स्थानमा शाखा सञ्चालन गरेको हो ।
सर्वसाधारण समेतको शेयर लगानीमा १०४ मेगावाटको तल्लो सेती आयोजना बन्दै, २० महिनाभित्र डीपीआर
काठमाडौं । १४० मेगावाटको तनहुँ सेती जलाशययुक्त आयोजना बनाउन सुरु गरेको तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाटको तल्लो सेती पनि बनाउने भएको छ । तल्लो सेती आयोजना निर्माणका तनहुँ हाइड्रोले विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु गर्न लागेको छ । उसले आयोजनाको डीपीआर र बोलपत्र कागजात (टेण्डर डकुमेन्ट) तयार पार्नका लागि आधा दर्जन परामर्शदाताको पुर्व छनौट गरेको छ । तनहुँले डीपीआर तयारीका लागि बोलपत्र आव्हान समेत गरेको छ । छनौट भएका आधा दर्जन कम्पनीले ४५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ । एफ कन्सल्ट स्वीटरजरल्याण्ड लिमिटेड र इटको नेपाल प्राइभेट लिमिटेड, छ्यानजियाङ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च कम्पनी लिमिटेड चीन, डोलसार इंक र सानिमा एन्ड इन्जिनियरिङ, ल्याहमेयर इन्टरनेसनलसँग टोटल म्यानेजमेन्ट सर्भिस नेपाल, एमडब्ल्यु इन्टरनेशनल इंकसँग जेड कन्सल्ट नेपाल रहेका छन् । यस्तै, मल्टिकन्सल्ट नोरज नर्वे, पकिस्तान इन्जिनियरिङ सर्भिससँग फुलब्राइट कन्सल्टेन्सी र टोटल म्यानेजमेन्ट सर्भिस र वापकोस इण्डिया लिमिटेड र निप्पेन कोइ कम्पनी लिमिटेडसँग जीओइसी कन्सल्ट र टोटल म्यानेजमेन्ट सर्भिस रहेका छन् । डीपीआरका लागि एसियाली विकास बैंक (एडीबी) को ३३ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । काम सुरु गरेको २० महिनामा आयोजनाको डीपीआर तयार पारिने तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । उनका अनुसार आयोजना सन् २०२३ देखि निर्माण सुरु हुनेछ । आयोजनामा एडीबी र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यद्यपी सम्झौता भएको छैन । कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ सेतीमा एडीबी र जाइकाको लगानी छ । आयोजना बनाउन २२ करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत लागत डीपीआर तयारपछि मात्र आउने छ । आयोजना आर्थिक रुपमा आकर्षक भएकाले सर्वसाधारणको लगानी पनि हुने उनले जानकारी दिए । १४० मेगावाटको सट्टा तल्लो आयोजनामा प्रभावित र सर्वसाधारणलाई सेयर लगानी गर्न दिने उनले बताए । तल्लोसेतीमा मादी नदीको पनि पानी मिसिने छ । आयोजनाको बाँध सानो बनाए हुने अध्ययनले देखाएको छ । तल्लो सेतीको अध्ययन अनुमतिपत्र पाएको छ । कम्पनीले १ सय ५ मेगावाटका लागि आवेदन दिए पनि १ सय ४ मेगावाट अध्ययन गर्न अनुमति पाएको हो । कात्तिक १३ गतेको ऊर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले कम्पनीलाई अनुमतिपत्र दिएको हो माथिल्लो सेतीको लागत महँगो भएकाले श्रृंखला (क्यासकेड) का रूपमा तल्लो सेती निर्माण गर्दा लागत कम हुने कम्पनीको तर्क छ । आयोजनाको प्रतिफल करिब २० प्रतिशत हुनेछ ।
सडक स्तरोन्नति गर्दै ललितपुर महानगरपालिका
काठमाडौं। ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको छ । महानगरपालिकाका भित्री बस्तीमा धेरै यस्ता साँघुरा सडक रहेका छन् । कतिपय सडक पर्यटकीय मार्गमा समेत पर्दछन् । ती सडक सुधारले स्थानीयवासी र पर्यटक दुबैलाई सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। यो वर्षभरमा काम गर्ने योजनामा परेका सडकमध्ये चार किलोमिटरमा काम सकिएको छ । शहरका भित्री भागमा पर्ने सडक कालोपत्रे भन्दा पनि ढुङ्गा र इँटा छाप्ने कामलाई प्राथमिकता दिइएको र आवश्यक भएका कतिपय स्थानमा भने ढलान गर्ने गरी बोलपत्र भएको उनले बताए। उनले भने, “हामीले सकेसम्म पुरानोस्वरुप बिग्रन नदिने कुरामा विशेष ध्यान दिएका छौं ।” पाटनका भित्री भागका धेरै सडकमा पहिले इँटा वा ढुङ्गा छापिएकामा मर्मत नहुँदा भत्किएको हो । मुख्य सडकसँगै यो वर्ष सहायक सडकका रुपमा रहेका बस्तीभित्रका सडक निर्माणलाई महानगरपालिकाले प्राथमिकतामा राखेको हो । स्थानीय निकायले सहायक सडकलाई बेवास्ता गरेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । रासस
सनराइज बैंकको शाखा चैनपुर र जुम्लामा
काठमाडौं । सनराइज बैंकले बझाङको चैनपुर र जुम्लामा नयाँ शाखा संचालनमा ल्याएको छ । शुक्रबार जय पृथ्वी नगरपालिकाका मेयर विरेन्द्रबहादुर खड्काले चैनपुर शाखा तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जुम्ला शाखाको उद्घाटन गरेका छन् । यी सहित बैंकको शाखा संख्या ९७ वटा पुगेको छ । साथै बैंकले ११० वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ् सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसैगरी, सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।
वाल स्ट्रिटमा आएको मन्दीको असर एसियाली सेयर बजारमा, भारी गिरावट
सिंगापुर । अमेरिकी सेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली सेयर बजारमा बिहीबार देखिएको छ । चीनको सेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको सेयर बजारमा पनि कमी आएको छ । चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ । लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थिए। जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए । अमेरिकी-चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ । टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवान समेतका अन्य मुलुकको सेयर बजारमा पनि मन्दी आएको छ । रासस/एपी
एनसीसी बैंकको ४० प्रतिशत हकप्रद सेयरलाई आवेदन परेन, ९९ लाख कित्ता लिलामीमा जाने
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले निष्काशन गरेको हकप्रद सेयरमा ६० प्रतिशतलाई मात्र आवेदन परेको छ । बाँकी ४० प्रतिशत लिलामीमा जाने भएको छ । एनसीसीले चुक्ता पुँजी बढाउन निष्कासन गरेको २ अर्ब ३३ करोड ९५ लाख २९ रुपैयाँको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता मध्ये १ अर्ब ३५ करोड रुपैयाँलाई मात्र आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । अझै विवरण आउन बाँकी भएकाले केही थप हुने संभावना रहेको क्यापिटलले जनाएको छ । पहिलो चरणमा न्युन आवेदन परेपछि १५ दिन म्याद थप गरिएको थियो । बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ । यस्तै ३८ लाख कित्ता संस्थापक हकप्रद सेयर बिक्री भएको छैन। एनबी ग्रुपले आवेदन नदिएपछि संस्थापक हकप्रद सेयर बिक्री नभएको हो । संस्थापक हकप्रद सेयर खरिद गर्न कर्मचारी संचय कोषले चासो देखाएको छ ।