विकासन्युज

नेप्से परिसूचक ६ अंकले वृद्धि, होटल र फाइनान्स बाहेक सबै समूह ओरालो

काठमाडौं, २९ मंसिर । बुधबार सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक ६ दशमलब ६५ अंकले बढेर १५१६ अंकमा अडिएको छ । सो दिन बजारमा निकै उतारचढाव भएको देखिन्छ । बजार खुलेको एक घण्टामा १५०२ अंकमा झरेको बजार बन्द हुँदा बढेर १५१६ अंकमा पुगेको छ । बुधबार बजारमा १३७ कम्पनीको ७५ लाख ३५ हजार कित्ता सेयर ४८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार होटल र फाइनान्स समूहबाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ् समूहको परिसूचक क्रमशः १५ र ७ अंकले उकालो लागेका छन् । होटल र फाइनान्स समूहको परिसूचक क्रमशः १३ र ०.६४ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सो दिन बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । ९ करोड बढी रुपैयाँको कारोबार भएको बैंकको प्रतिकित्ता सेयर मूल्य ३ हजार २३० रुपैयाँ रहेको छ । बुधबार हिमालयन डिस्टीलेरी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी अरुण फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

२७ अर्ब बजेटको भार नबोक्ने भन्दै अर्थ मन्त्रालयले शिक्षा नियमावलीमा सहमति दिएन

काठमाडौं, २९ मंसिर । शिक्षा मन्त्रालयले तयार पारेको शैक्षिक नियमावलीलाई अर्थमन्त्रालयले बजेट अभावको कारण देखाउँदै स्विकृत गर्न नसक्ने जनाएको छ । नियमावली स्विकृत गर्दा  राज्यलाई चालु बजेटमा २७ अर्ब रुपैयाँ अतिरिक्त भार पर्ने भन्दै अर्थले शिक्षा नियमावली कार्यान्वयनमा लान स्विकृत दिन नसक्ने जनाएको हो । राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणिकरण भएको पाँच महिना वितिसक्दा पनि नियमावलीले पूर्णता पाउन सकेको छैन । नियमावली कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले झण्डै २७ अर्ब रुपैंयाँ बजेट विनियोजन गर्न अर्थमन्त्रालयमा ड्राफ्ट पठाएको थियो । अर्थले ठूलो मात्रामा आर्थिक भार पर्ने देखेपछि नियमावलीमा सहमति दिन नसक्ने स्पष्ट पारेको छ । शिक्षा क्षेत्रको सुधारको लागि अनिवार्य मानिएको नियमावलीलाई अर्थको सहयोग नहुँदा कार्यान्वयनमा जान अप्ठ्यारो परिरहेको शिक्षा मन्त्रालय स्रोतको दावी छ । स्रोतका अनुसार यतिखेर अर्थले बजेटको कारण देखाए पनि भित्रिरुपमा निजी क्षेत्रका विद्यालय तथा कलेज संचालक र शैक्षिक परामर्श व्यवसायीहरुले नियमावलीमा सहमति नदिन  दवाव दिएका कारण अप्ठ्यारो परिरहेको छ । अर्थले सहमति नदिनु नै शिक्षा नियमावली लागू गर्ने विषयमा सहयोग नगर्नु रहेको शिक्षा मन्त्रालयलको बुझाई छ । शिक्षामन्त्री धनीराम पौडेलले बजेटलाई आधार मानेर व्ययभार बढ्ने भन्दै अर्थ मन्त्रालयले नियमावलीलाई पास गर्न ढिलाई गरेको गुनासो गरे । उनले भने–‘नयाँ परिवेषमा संरचनागत परिवर्तन गर्न नियमावली ल्याउन लागिएको हो । यसको कार्यान्वयमा जान ठूलै बजेट आवश्यक पर्ने भएकाले अर्थले बजेट दिन सकिंदैन भन्नु नियमावलीको विरोध गरिहेकाहरुलाई फाइदा पुग्नु हो ।’ चालु आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयलाई एक खर्ब तीन अर्ब रुपैंयाँ छुट्याइएपनि त्यसले मात्र ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न नसक्ने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले सहमतीका लागि अर्थ मन्त्रालयमा पठाएको नियमावलीको मस्यौदामा विभिन्न सरोकारवाला संघसंस्थाले विरोध गर्दै अझै संसोधनको माग गरिरहेकै छन् ।

दर्ता बिनाका र नवीकरण नभएका स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने

काठमाडौं, २९ मंसिर । दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपालमा बहुसङ्ख्यक निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिकलगायतका स्वास्थ्य संस्थाले मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा सञ्चालन अनुमतिपत्र नलिएको र दर्ता भएकामध्ये धेरैले नवीकरण नगरेको पाइएकाले निर्देशिका संशोधन गर्न लागिएको बताए । उनले सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेर संसदको विधेयक समितिमा छलफलका लागि पठाइ सकेको पनि जानकारी दिए । धेरै क्लिनिक तथा फार्मेसीले मापदण्ड पूरा नगरी सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले अनुगमनका क्रममा समयमा उपत्यका र उपत्यका बाहिर ६० प्रतिशत भन्दा बढी त्यस्ता क्लिनिक तथा फार्मेसी दर्ता नभएका र समयमा नवीकरण नभएका पाइएको मन्त्रालयले जनाएको थियो । रासस

रिलायबल सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २९ मंसिर । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव वडालले हुने र नहुनेबीच असमानताको खाडल भएको विश्व अर्थ व्यवस्थामा सहकारी नै सहयोगी सिद्ध हुने बताए । काठमाडौंबाट नजिकैका बस्तीमा पनि कर्णालीको जस्तो आर्थिक विपन्नता देखिने बताउँदै अध्यक्ष वडालले यस्तो स्थितिको अन्त्य गर्न सहकारी अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताए । कार्यक्रममा अतिथि पूर्वसहकारी सचिव शङ्कर पाण्डेले सहकारीका पदाधिकारी र कर्मचारीको मेहनतले संस्थाले प्रगति गर्न सफल भएको बताउँदै सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्न सकिने बताए । प्रतिवेदन प्रस्तुत गर्दै सांसद तथा संस्थाका अध्यक्ष ओमदेवी मल्लले संस्थाका बचतकर्ता तथा ऋणी एवम् कर्मचारीको लगनशीलताले संस्थाले राम्रो कार्य गरिरहेको र आगामी दिनमा योजनाबद्ध रुपले घरजग्गा लगायतमा लगानी गरिने जानकारी गराएका छन्। कार्यक्रममा संस्थाका कर्मचारी लेखापाल कृष्णप्रसाद अधिकारी र शान्ति श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा तथा उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पनि सम्मान गरिएको थियो ।

सुजुकी सुपर क्यारी अब नेपाली बजारमा, काठमाडौंको दुई स्थानबाट खरिद गर्न सकिने

काठमाडौं, २९ मंसिर । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी नेपाली बजारमा सार्वजनिक गरेको छ । साथै, कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ । सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । सीजी मोटोकर्पले काठमाडौंमा कम्पनीको महाराजगञ्ज र बालकुमारी स्थित बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराउने छ । त्यसैगरी, उपत्यका बाहिर भने पोखरा, विरगञ्ज, विराटनगर र बुटवल बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आउने महिनाहरुमा आफ्नो बिक्री सञ्जाल थप बृहत बनाउँदै लैजाने बताएको छ । कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुजुकी सुपर क्यारीलाई फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्छ । कम्पनीका अनुसार सुपर क्यारीले ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । त्यसैगरी, सार्वजनिक नयाँ गाडीले एआरएआई प्रमाणित २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ‘उपभोक्ताको फाइदा तथा आवश्यकतालाई दृष्टिगत गर्दै सवारीको डिजाइनमा गहन अध्ययन तथा विशेष ध्यान दिइएको छ । सुपर क्यारीले अधिकतम भारवहन क्षमता अत्यधिक शक्तिका साथै उत्कृष्ट माइलेज समेत प्रदान गर्ने छ ।’

सप्तकोशी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं, २९ मंसिर । सप्तकोशी डेभलपमेन्ट बैंकले सेयरधनीलाई शतप्रतिशत(१ बराबर १ को अनपात) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णयलाई राष्ट बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ । बैठकको उक्त निर्णयलाई पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

हाम्रो विकास बैंकले २५ प्रतिशत बोनस र २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं, २९ मंसिर । हाम्रो विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । नुवाकोट केन्द्रीय कार्यालय रहेको यस बैंकले बोनस सेयर जारी गरेपछि २०० प्रतिशत (१ बराबर २ अनुपातमा ) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले गरेको हो । बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २९ गते ८औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ । हाल बैंकको चुँक्ता पूँजी १२ करोड ५७ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात बैंकको पूँजी १५ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । बुधबार बजारमा बैंकको प्रतिकित्ता सेयर करिब ५६१ रुपैयाँमा कारोबार भइरहेको छ ।

दरबारमार्गमा रहेको याक एण्ड यतिले तिरेन कर, महानगरपालिकाले कारवाही थाल्ने

काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको काठमाडौ महानगरपालिकाले जानकारी दिएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम पहिलो चरणमा कामपाबाट उक्त होटललाई दिने सबै सेवा रोक्का गर्ने, दोस्रो चरणमा होटलको प्रशासन र लेखामा तालाबन्दी गर्दा पनि कर नतिरे तेस्रो चरणमा विद्युत् र खानेपानी सेवासमेत ठप्प पारी दिने महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धुब्र काफ्लेले चेतावनी दिएको बताए । उक्त होटलले करको विवरण बुझाइसकेको भएपनि उक्त विवरणसमेत गलत रहेको काठमाडौ महानगरपालिकाको ठहर छ । उनका अनुसार याक एन्ड यतीले कर तिर्नुपर्ने समय २० वर्ष पुगिसकेको भएपनि दुई वर्षअघि रु १० लाख मात्र दिएको छ, त्यो त एक वर्षको पनि पुग्दैन । होटलबाट वार्षिक करिब रु १० लाखदेखि १२ लाखसम्म कर उठ्ने महानगरले जानकारी दिएको छ । महानगरका अनुसार याक एन्ड यतीले संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गासमेत भाडामा लिएकाले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ । महानगरले ती सबै कर तिर्न निर्देशन दिएपनि अटेरी गर्दै आएको उनले जानकारी दिए । अन्य तारे होटल भने महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाल करमा कडाइ गरेसँगै करको दायरामा आएका छन् । काफ्लेका अनुसार आर्थिक वर्ष २०७२र७३ मा होटलले करिव रु सात करोड बराबरको कर तिरेका छन् । काठमाडौँमा हाल १३ ओटा तारे होटल सञ्चालनमा छन् । यता अन्नपूर्ण, सोल्टी, द्वारिका होटल, ¥याडिसनलगायतका अन्य होटलले भने कर तिरिसकेका छन् । विसं २०५७ सालदेखि घरजग्गा कर असुल गर्न थालिएको हो । रासस